तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
थाई संसद्को तल्लो सदनबाट समलिङ्गी विवाहलाई मान्यता दिने विधेयक पारित
- Author, जोनाथन हेड र केली नाङ
- Role, बैङ्कक र सिङ्गापुर
संसद्को तल्लो सदनले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने एउटा विधेयक पारित गरेसँगै थाईल्यान्डले पनि वैवाहिक समानतासम्बन्धी एउटा ऐतिहासिक कदम चालेको छ।
उक्त विधेयक कानुन बन्नका लागि भने माथिल्लो सदन (सिनेट) र शाही अनुमोदन आवश्यक पर्छ।
यद्यपि यसै वर्षको अन्त्य सम्ममा त्यस्तो अनुमोदन हुने अपेक्षा गरिएको छ। त्यो सँगै थाइल्यान्ड समलिङ्गी विवाहलाई मान्यता दिने पहिलो दक्षिण पूर्व एशियाली देश बन्नेछ।
यो कदमले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूका लागि तुलनात्मक रूपमा उक्त क्षेत्रको सबैभन्दा उदार मानिने थाईल्यान्डलाई थप खुला बनाउनेछ।
'समानताको सुरुवात'
"यो समानताको सुरुवात हो। यो हर समस्याको सर्वस्वीकार्य हल होइन तर समानता तर्फको पहिलो पाइला हो," सांसद तथा तल्लो सदनस्थित वैवाहिक समानतासम्बन्धी समितिका अध्यक्ष न्यानुफोर्न पुनकान्तले विधेयकको मस्यौदा प्रस्तुत गर्ने क्रममा भने।
"यो कानुनले लक्षित समूहलाई अधिकार दिने होइन कि उनीहरूको अधिकार उनीहरूलाई फिर्ता दिन चाहन्छ।"
तल्लो सदनमा उपस्थित ४१५ सांसदमध्ये ४०० जनाले उक्त विधेयकको पक्षमा मतदान गरे।
त्यो विधेयकले विवाहलाई महिला र पुरुषबीचको भन्दा पनि दुई व्यक्तिबीचको साझेदारीको रूपमा परिभाषित गरेको छ।
त्यसले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक जोडीहरूलाई विवाहका कारण पाइने कर छुट सुविधा लिन, सम्पत्ति जोड्न र उपचारका लागि आफ्नो सहयात्रीका निम्ति मञ्जुरी दिन पाउने व्यवस्था गरेको छ।
नयाँ कानुन अनुसार विवाहित समलिङ्गी जोडीले सन्तानका रूपमा धर्मपुत्र-पुत्री पाल्न सक्नेछन्।
तर थाई संसद्को तल्लो सदनले "बाआमा"को साटोमा त्यस्ता जोडीलाई "अभिभावक" शब्द प्रयोग गर्नुपर्ने भनी समितिले दिएको सुझावलाई स्वीकार गरेन।
व्यापक जनसमर्थन
व्यापक जनसमर्थन हुँदाहुँदै पनि समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने विगतका प्रयासहरू असफल भएका थिए।
गत वर्षको अन्त्यमा गरिएको एउटा सरकारी सर्वेक्षणले त्यसमा सहभागीमध्ये ९६.६ विधेयकको पक्षमा देखिएका थिए।
आफूले संसदीय बहस हेरेको बताउने आफूलाई समलिङ्गी भनेर खुला रूपमा चिनाउने एक जना प्रहरी अधिकारी फिसिट सिरीहिरुनचाईले आफू संसद्को निर्णयबाट खुसी भएको बताए।
उनले भने, "म खुसी र उत्साहित छु किनभने यो वास्तवमै हुन गइरहेको छ। म मेरो सपना साकार भइरहेको देख्दैछु।"
उनले आफू र पाँच वर्षभन्दा बढीदेखि सँगै रहेको आफ्नो जोडीले कानुन लागु भएसँगै बिहे गर्ने योजना बनाएको बताए।
"मलाई लाग्छ आज समानता प्राप्त भएको छ। एलजीबीटीक्यूआईप्लसको अधिकारका लागि लड्न थाई संसद् खडा छ भन्ने देखिएको यो ऐतिहासिक दिन हो," विपक्षी मुभ फर्वार्ड पार्टीका समलिङ्गी सांसद टुन्यावाज कमोलवोङवाटले भने।
उनले विवाहसम्बन्धी समानताका लागि पछिल्लो दशकमा अभियान चलाइरहेका छन्।
चुनावी अभियान
धेरै राजनीतिक दलहरूले गत वर्षको चुनावी अभियानमा समलिङ्गी विवाहलाई मान्यता दिने वाचा गरेका थिए।
गत वर्ष सेप्टेम्बरमा कार्यभार सम्हालेदेखि प्रधानमन्त्री सेटाटा वीसिनले पनि त्यसको समर्थन गरेका थिए।
गत डिसेम्बरमा तल्लो सदनले समलिङ्गी विवाहको पहिचान गर्ने खालका दिने चारवटा प्रस्तावित विधेयकहरू पारित गरेको थियो।
त्यसमध्ये सरकारका तर्फबाट एउटा विधेयक प्रस्तुत गरिएको थियो भने तीनवटा विपक्षीका तर्फबाट प्रस्तुत गरिएको थियो।
बुधवार ती सबै विधेयकलाई एकीकृत गरिएको एउटा विधेयक संसद्ले पारित गरेको हो।
बैङ्ककबाट थान्यायारात डोक्सानको थप रिपोर्टिङ
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।