रूसमा प्रभावशाली मन्त्रीको मृत्युले गरायो सोभियतकालीन समयको सम्झना

    • Author, सर्गे गर्यास्क
    • Role, बीबीसी न्यूज रसियन

युक्रेनसँगको जारी युद्धमाझ रुसका पूर्व यातायात मन्त्री रमान स्टारभोइटको अप्रत्याशित मृत्युले देशैभर तरङ्ग फैलाइदिएको छ। सोमवार पदमुक्त गरिएको केही घण्टापछि उनको शव फेला परेको थियो।

आफ्नो कारभित्र आफैँले चलाएको गोली लागेर ती ५३ वर्षीय पूर्वमन्त्रीको मृत्यु भएको आशङ्का गरिएको छ तर मृत्युको समय भने स्पष्ट छैन।

अनुसन्धानसँग निकट रहेका नाम नखुलाइएको स्रोतलाई उद्धृत गर्दै रुसको व्यापारसम्बन्धी प्रकाशन फोर्ब्सले स्टारभोइटको मृत्यु एक दिनभन्दा अगाडि नै भएको जनाएको छ।

यदि पुष्टि भएमा, गत ३० वर्षभन्दा बढी समययता आत्महत्यामार्फत ज्यान गुमाउने उनी पहिलो मन्त्री हुने छन्। सन् १९९१ मा आन्तरिक मामिला मन्त्री बोरिस पुगोले तत्कालीन राष्ट्रपति मिखाइल गोर्बाचोफविरुद्धको असफल सैन्य विद्रोहमा सहभागी भएपछि आत्महत्या गरेका थिए।

यद्यपि, स्टारभोइटको कथा भने अर्का सोभियत आन्तरिक मामिला मन्त्री निकोलाइ चलिकोफसँग बढी मिल्दो देखिन्छ। चलिकोफलाई पदबाट हटाइएपछि उनीविरुद्ध भ्रष्टाचार, चोरी र शक्तिको दुरुपयोगको अभियोग लागेको थियो। उनले सन् १९८४ मा आफूलाई दिइएका सबै सरकारी मानपदवीहरू खोसिएको भोलिपल्ट गोली हानेर आत्महत्या गरेका थिए।

स्टारभोइटले एक वर्षभन्दा बढी समयदेखि यातायातमन्त्रीका रूपमा काम गर्दै आएका थिए। त्यसअघि, उनी पाँच वर्षभन्दा बढी समयका लागि कुर्स्क क्षेत्रका गभर्नर भएर काम गरेका थिए। उनले छोडेको केही समयमै सन् २०२४ को अगस्टमा उक्त क्षेत्रको केही भूभागमा युक्रेनले कब्जा जमाएको थियो। रुसलाई त्यहाँबाट युक्रेनी फौजलाई निकाल्न करिब ८ महिना लागेको थियो।

एप्रिल महिनामा स्टारभोइटका पूर्व सहायक एलेक्सी स्मीरनोफलाई उनका उत्तराधिकारीका रूपमा कुर्स्क क्षेत्रमा नियुक्त गरिएको थियो। तर त्यसको केही सातामा उनलाई रक्षा कोषबाट एक अर्ब रूबल (१२.८ मिलियन डलर) हिनामिना गरेको आरोपमा पक्राउ गरिएको थियो।

आफ्नो जीवनका पछिल्ला तीन महिना स्टारभोइट सम्भवतः डरमा बाँचेका थिए। यद्यपि उनलाई पदमुक्त गर्न क्रमेलिनले जारी गरेको आदेशमा प्राय: अन्य भ्रष्ट अधिकारीहरूलाई बर्खास्त गर्दा प्रयोग गरिनेजस्तो "विश्वास गुमाएको" भन्ने जस्तो भयकारी शब्दहरूको प्रयोग गरिएको थिएन। विगतमा त्यस्ता शब्दहरूको प्रयोग गरेर पदमुक्त भएका अधिकारीहरूले गम्भीर परिणामहरू भोग्नुपरेको थियो।

रुसको न्याय प्रणालीमा थुनामा रहेका व्यक्तिहरूले आफूले मातहतमा काम गरेका वरिष्ठ अधिकारीहरूविरुद्ध बयान दिने घटनाहरू सामान्यजस्तै छन्। तर अहिलेसम्म अधिकारीहरू कि त आफ्नो उच्च तहसम्म रहेको पहुँचको प्रयोग गरेर जोगिन सकिने आशामा गिरफ्तारीलाई पर्खने गर्दथे कि त विदेशतर्फ भागेर ज्यान जोगाउन प्रयास गर्थे।

रुसी समाचारपत्र कोमरसान्ट र व्यापारिक समाचार एजेन्सी आरबीसीका अनुसार स्टारभोइटविरुद्ध फौजदारी मुद्दा सुरु हुनै लागेको थियो। उनका पूर्व सहायक स्मीरनोफले पनि उनी विरुद्ध बयान दिएको भन्ने विवरण प्राप्त भएको पनि कोमरसान्टले जनाएको छ।

विगतको दशकमा कयौँ अधिकारीविरुद्ध ठगी र रकम हिनामिनाको आरोपमा अभियोग लागेको छ र थुनामा राखिएको छ। गत वर्षयता प्रतिरक्षासँग सम्बन्धित मुद्दाहरूको सङ्ख्या बढिरहेको छ।

जुलाईको सुरुमा रुसी पूर्व उप-रक्षामन्त्री टिमुर इभानोफलाई एउटा बहुचर्चित मुद्दामा रकम हिनामिना र सम्पत्ति शुद्धीकरणको आरोपमा १३ वर्ष कैद सजाय सुनाइएको थियो।

स्टारभोइटको मृत्युले गिरफ्तारीको जोखिममा रहेका वरिष्ठ अधिकारीहरूमाझ बढ्दो त्रासको वातावरणलाई उजागर गरेको छ। रुसमा निर्देोष ठहरिने दर एकदमै कम भएको र जेलमा हुने जीवन अत्यन्तै कठोर हुने उनीहरूलाई राम्रोसँग थाहा छ।

यो रहस्यात्मक घटनाक्रमले स्टालिन युगको पनि झल्को दिन्छ जति बेला अधिकारीहरू गिरफ्तारी र त्यसपछिको मृत्युदण्डको डरले आत्महत्या रोज्थे।

कुर्स्क क्षेत्रको केही भागमा युक्रेनले कब्जा गरेको घटना भ्लादिमिर पुटिनको प्रतिष्ठामाथि पुगेको धक्काको रहेको थियो।

कोही न कोही त्यसका निम्ति जिम्मेवार ठहरिने नै थिए। खाली प्रश्न भनेको त्यस्तो व्यक्ति सेनाका जेनरलहरू वा सरकारी अधिकारीहरूमध्ये को हुन्छन् भन्ने मात्र थियो।

र राज्य संयन्त्रले सरकारी अधिकारीहरूलाई दोषी ठहर्याउने विकल्प रोजेको जस्तो देखिन्छ। र उनको गृह क्षेत्रमा विदेशी अतिक्रमण भएपछि त्यसका निम्ति मुख्य जिम्मेवार ठहरिने अवस्थामा रमान स्टारभोइट परेको जस्तो देखिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।