राजावादीहरूको विरोध प्रदर्शनका बेला गोली लागेर घाइते भएका १३ जनाको 'मेजर शल्यक्रिया'

तस्बिर स्रोत, EPA
- Author, विनिता दाहाल
- Role, संवाददाता, बीबीसी न्यूज नेपाली
राजावादीहरूको आयोजनामा गत शुक्रवार भएको विरोध प्रदर्शन हिंसात्मक बन्न पुग्दा प्रहरीले चलाएको गोली तिघ्रामा लागेपछि उदयपुरकी रेबिका खत्रीको अहिले काठमाण्डूस्थित निजामति कर्मचारी अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको छ।
विरोध प्रदर्शनमा सहभागी नभइ कामबाट घर फर्किन खोजिरहेकी उनी र उनलाई लिन आएका दाइ दिनेशकुमार खत्री(ठूलो बुवाका छोरा) लाई गोली लागेको थियो।
गोली लागेपछि कोटेश्वरबाट नजिकै पर्ने उक्त अस्पतालमा पुर्याइएका उनीहरूमध्ये दिनेशकुमार मङ्गलवार डिस्चार्ज भएर डेरा फर्किए भने बहिनी रेबिकाको उपचार जारी छ।
"भेन्टिलेटरबाट निकालेर आइसीयूमा राखेको छ। तर घाउ निको नभएसम्म शल्यक्रिया गर्न मिल्दैन भनेर डाक्टरले भन्नुभएको छ," छोरी रेबिकालाई गोली लागेको थाहा पाएपछि भोलिपल्टै उदयपुरबाट काठमाण्डू आएका बुवा तुलसीराम खत्रीले बीबीसीसँग भने।
"अहिलेको अवस्था हेरेर कहिले शल्यक्रिया हुन्छ भन्ने टुंगो छैन। थोरै होसमा आएपछि छोरी अब मेरो काखमा आउँछिन् भन्ने लागेको छ।"

तस्बिर स्रोत, Rebika Khatri/Facebook
उनका अनुसार अहिलेसम्म छोरीको उपचारमा अन्दाजी साढे तीन लाख रूपैयाँ खर्च भइसकेको छ।
सरकारले नि:शुल्क उपचार गर्ने बताएपछि आफूहरूले अस्पतालमा निवेदन दिइसकेको र बुधवारमात्रै 'अब अस्पतालले आफैँ बेहोर्छ भन्ने सुन्नमा आएको' उनले बताए।
घाइतेहरूको अवस्था कस्तो छ?

शुक्रवार नै विरोध कार्यक्रम 'हेर्न' पुगेका भनिएका भोजपुरका डिल्लीप्रसाद लुईँटेलको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
सत्ताइस वर्षीय उनको पेटमा गोली लागेको छ र एकचरण पेटको आन्द्राको शल्यक्रिया भइसकेको उनका आफन्त लेखनाथ घिमिरेले बीबीसीलाई बताए।
उनका अनुसार अझै अर्को शल्यक्रिया गर्नुपर्ने चिकित्सकहरूले बताएका छन् तर कहिले भन्ने चाहिँ टुङ्गो छैन।
"आमाको पोहोरमात्रै क्यान्सरका कारण मृत्यु भएको हो। बुवा गाउँमा हुनुहुन्छ। भाइबहिनीको पढाइको जिम्मा उसैले लिइरहेको थियो, उसैलाई यस्तो भयो," घिमिरेले भने।
डिल्लीप्रसादको उपचारमा अहिले अस्पतालले नै खर्च गरिरहेको भए पनि अस्पतालमा उपलब्ध नभएका औषधिहरूका लागि करिब ४० हजार रूपैयाँ खर्च भइसकेको घिमिरेले बताए।

तस्बिर स्रोत, SHAMBHU DARJI
राष्ट्रिय ट्रमा सेन्टरमै उपचार गरिरहेका भोजपुरकै ३० वर्षीय शम्भु दर्जीको दाहिने कुममा गोली लागेको थियो।
मङ्गलवार (हिजो) कतार जाने मिति तय भएकाले म्यानपावरलाई पैसा बुझाउनका लागि उनी पैसाको जोहो गर्न कोटेश्वर पुगेका थिए।
फर्किने क्रममा उनलाई तीनकुनेको चौर नजिकै प्रहरीको गोली लागेको उनले बताए।
"पुलिस कहाँ थियो थाहा भएन। पछाडिबाट कुममा गोली लागेपछि मैले कराएँ," उनले भने, "नचिनेका मानिसहरूले मलाई मोटरसाइकलमा राखेको याद छ। मलाई होस आउँदा म यही अस्पतालमा आइसकेको थिएँ।"
उनको पनि उपचार पूर्ण रूपमा निको हुन कति समय लाग्छ भन्ने चिकित्सकहरूले बताएका छैनन्।
उनको उपचार अहिले अस्पतालले नै गरिरहेको र औषधिहरूमात्रै बाहिरबाट किन्नुपर्दा त्यसका लागि खर्च भएको उनले बताए।
कति घाइते भएका थिए, कति उपचाररत छन्?

तस्बिर स्रोत, MOHP
प्रदर्शनका बेला एक निजी घरमा भएको आगलागीमा परेर एकजना टेलिभिजनकर्मीको पनि ज्यान गएको थियो।
प्रहरीले "अनावश्यक घातक बल प्रयोग गरेका कारण" गोली लागेर एकजनाको ज्यान गएको र अन्य थुप्रै मानिसहरू घाइते भएको भन्दै आलोचना पनि भइरहेको छ।
प्रहरीले शुक्रवारका दिन घटनामा के कस्ता गतिविधि भएका थिए भन्नेबारे बुधवार एक पत्रकार सम्मेलन गरेर "अनावश्यक बल प्रयोग गरेको भन्ने आरोप" अस्वीकार गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले भने, "उपलब्ध भिडिओ फुटेजहरू हेर्दा प्रहरीले भयावह अवस्था नियन्त्रणका लागि न्यूतमन बल प्रयोग गरेको अवस्था छ। केही अराजक र आपराधिक गतिविधि नियन्त्रणका लागि न्यूनतम बल प्रयोग गरेको म जानकारी गराउन चाहन्छु।"
शुक्रवारको घटनामा प्रहरी, प्रदर्शनकारीसहित सर्वसाधारण गरेर १ सय २९ जना घाइते भएका र त्यस दिन अस्पताल पुगेका मध्ये ५७ जना भर्ना नै भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
तीमध्ये १३ जनाको जटिलस्तरको शल्यक्रिया गरिएको र अहिले १० जनाको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए। उनका अनुसार अहिले ४ जना भने सघन उपचार कक्षमै छन्।
मन्त्रालयका अनुसार प्रहरीको रबर र सक्कली गोली लागि १६ जना घाइते भएकामा दुईजना गम्भीर अवस्थामा रहेका छन्।
प्रहरीले भने गोली लागेर २० जना मानिसहरू घाइते भएका र त्यसमध्ये दुई जना महिला र १८ जना पुरुष रहेको जनाएको छ।
मन्त्रिपरिषद्को शुक्रवार अबेर बसेको बैठकले घाइतेहरूको उपचार नि:शुल्क गर्ने निर्णय गरेपछि त्यसअनुसार स्वास्थ्य मन्त्रालयले घाइतेहरू उपचाररत सबै अस्पतालहरूमा नि:शुल्क गरिदिन र खर्चको विवरण स्वास्थ्य मन्त्रालयमा बुझाउन निर्देशन दिएको जनाएको छ।
तर केही अस्पतालले भने बिरामीलाई नै तिराइरहेको र पछि 'रिफन्ड' गर्नुहोला भन्ने गरेको भन्ने गुनासो आएपछि आफैँ व्यक्तिगत रूपमा ती अस्पतालहरूलाई भनेको डाक्टर बुढाथोकीले बताए।
मन्त्रालयका अनुसार अहिले पनि घाइते वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, निजामती अस्पताल, पाटन अस्पताल, बीएन्डबी अस्पताल, प्रहरी अस्पताल र काठमाण्डू मेडिकल कलेजमा उपचाररत छन्।
"ती सबै अस्पतालका निर्देशकहरूलाई हामीले प्रेस बिज्ञप्ति निकालेर र मैले व्यक्तिगत रूपमा फोन गरेर पनि उपचार सहज गरिदिन भनेको छु," प्रवक्ता डाक्टर बुढाथोकीले बीबीसीसँग भने।
"तपाईँहरूको जेजति खर्च हुन्छ बिरामीलाई नतिराउनुस् त्यसको विवरण पत्रसहित स्वास्थ्य मन्त्रालयमा पठाउनुस् त्यसपछि हामी मन्त्रिपरिषद्मा लैजान्छौँ भनेर व्यक्तिगत रूपमा मैले भनिसकेको छु।"
बिरामीले उपचार नि:शुल्क पाउन के प्रक्रिया पूरा गर्नुपर्छ?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार घाइते पक्षले उपचार भएको अस्पतालमा विवरण खुलाएर नि:शुल्क उपचारका लागि निवेदन दिनुपर्छ।
"यो दिन, यो समय र यो स्थानमा घाइते भएको भनेर पूरा विवरण बिरामी पक्षले अस्पताललाई बुझाएपछि अस्पतालले भेरिफाइ गर्छ र अस्पतालभित्र भएका उपचार र औषधिहरू सबै नि:शुल्क हुन्छ," प्रवक्ता बुढाथोकीले बताए।
"अस्पतालमा उपलब्ध नभएर बाहिरबाट किन्नुपर्यो भने त्यो बिल राखेर रिफन्डका लागि सम्बन्धित अस्पताललाई बुझाउने र अस्पतालले स्वास्थ्य मन्त्रालयलाई पठाउँछ र मन्त्रालय आफैँ वा मन्त्रिपरिषद्मा पठाएर भुक्तानी गर्छ।"
तर कुनै बिरामीले बाहिरबाट किन्न सक्ने आर्थिक अवस्था नभए उनको परिवारले सामाजिक सुरक्षा इकाइमा "म विपन्न हुँ" भन्ने परिचयपत्र देखाएर निवेदन दिइ सहयोग लिनसक्ने मन्त्रालयले जनाएको छ।
यी सबै प्रक्रिया पूरा गर्न अस्पतालबाट खर्चको विवरणसहितको पत्र आइसकेपछि दुई सातादेखि एक महिनासम्म लाग्ने उनले बताए।
घटना भएकै दिन मन्त्रिपरिषद्बाट निर्णय नहुँदासम्म बिरामीलाई अप्ठ्यारो परे पनि त्यसपछि भने आफूहरूले निर्देशन दिइसकेको उनले बताए।
घटनाका सम्बन्धमा मानव अधिकार आयोगको छानबिन

मानव अधिकार आयोगले भने घटना लगत्तै आफूहरूले सरकारलाई निष्पक्ष छानबिनका लागि आह्वन गरिसकेको र सुझाव सहितको प्रतिवेदन तयारीको क्रममा रहेको जनाएको छ।
आयोगकी सदस्य लिलि थापाले आयोगले अब दुई तीन दिनमा प्रतिवेदन तयार गर्ने र यसबीच मृतकलगायत बिरामीलाई भेट्न तथा क्षतिबारे बुझ्ने काम भएको बताएकी छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








