मेलम्चीको खानेपानीले काठमाण्डूको ‘स्थिति केही सहज बन्छ तर माग धान्दैन’

तस्बिर स्रोत, RSS
मेलम्चीको खानेपानी शुक्रवारबाट काठमाण्डू उपत्यकामा पुन: वितरण सुरु भएको छ।
राजधानीको महाँकाल चौरमा आयोजित एक कार्यक्रममा खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको खानेपानी पुन: वितरणको सुरुवात् गरेका हुन्।
फेरि पानी वितरण भएपछि धेरैलाई हर्षित बनाए पनि त्यसले अझै पनि काठमाण्डू उपत्यकाको माग पूर्ण रूपमा धान्न नसक्ने अधिकारीहरूले बताएका छन्।
“मेलम्ची आयोजनाले काठमाण्डू उपत्यकाको व्यापक माग त धान्दैन तर चाप केही सहज बनाउँछ। साथै उपभोक्ताहरूले एक सातादेखि १२ दिनसम्म पानी पर्खनु पर्ने स्थिति छ त्यो अवधि पनि केही कम हुन सक्छ,” काठमाण्डू उपत्यका खानेपानी लिमिटेड केयूकेएलका व्यवस्थापक प्रकाशकुमार राईले बीबीसीसँग भने।
केयूकेएलले पानी वितरणका निम्ति सम्पूर्ण व्यवस्था मिलाएको उनको दाबी छ।
‘काठमाण्डूको समस्या सम्बोधन गर्ने प्रयास’

तस्बिर स्रोत, RSS
यसअघि वर्षायामको जोखिम बढेसँगै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूल द्वार बन्द गरिएको थियो।
सुख्खा याम लागेर नदीमा सफा पानी आएसँगै पानी पठाउन सुरु गरिएको विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए।
काठमाण्डू उपत्यका खानेपानी लिमिटेड केयूकेएलका अनुसार उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ।
तर बर्खायाममा ११ करोडदेखि १२ करोड लिटर र सुक्खयाममा आठ करोडदेखि नौ करोड लिटरसम्म पानी वितरण गर्न सकिने केयूकेएलको भनाइ छ।
त्यसैले मेलम्चीबाट दैनिक १७ करोड लिटर छोडिने परिमाण जोड्दा समेत माग धान्न पर्याप्त नहुने जानकारहरूको आकलन छ।
“उपत्यकावासीलाई केही राहत हुन्छ कि भनेर पानी वितरण गर्न लागेका हौँ। बढीमा एक सातामा सबै तयारी सकिन्छ,” उनले भने।
के भइरहेको छ?

समितिका प्रवक्ता पन्तले मेलम्चीको पानी सुन्दरीजल ल्याउन सुरुङ पखालेर भर्ने काम गरिएको बताए।
त्यहाँबाट पानीलाई प्रशोधन केन्द्रमा पठाइन्छ अनि सङ्क्रमणमुक्त गरी प्रणालीहरूमा पठाइन्छ।
वितरण सुरु भएपछि पनि कतिपय ठाउँमा प्राविधिक एवं संरचनागत समस्याहरूका कारण पानी पुर्याउन कठिन हुने केयूकेएलका व्यवस्थापक प्रकाशकुमार राईले बताए।
वर्षौँअघि सीमित घरहरूमा पानी पठाउन प्रयोग भएका पूराना प्रणालीहरूबाट हाल बढेको बस्ती र उपभोक्तालाई पुग्ने मात्रा वितरण गर्न गाह्रो हुने उनको भनाइ छ।
“अनियोजित सहरीकरणका कारण प्रणाली र संरचनाहरू अगाडि नै बने। त्यसले तत्कालको माग धान्यो र अहिले चाप व्यवस्थापन गर्न असहज भयो।"
मेलम्ची आयोजनाको सब प्रोजेक्ट टूको नयाँ वितरण सञ्जाल पूर्ण रूपमा सञ्चालनमा नआएसम्म उक्त समस्या जस्ताको त्यस्तै रहने उनको धारणा छ।
यद्यपि, अहिले गर्न लागेको वितरणलाई वर्षा नलागुन्जेल मात्र निरन्तरता दिइन्छ।
मौसमी बन्दै आयोजना
२०७८ असारमा गएको “अकल्पनीय” बाढीका कारण आयोजनाको प्रमुख उपकरणमा ठूलो क्षति पुगेको छ।
त्यसको स्थायी समाधान तयार नहुन्जेलसम्म पानी सुख्खा याममा मात्र वितरण गरिने बताइएको छ।
हाल निर्मित अस्थायी संरचनाहरू पानी नपर्दा मात्र प्रयोग हुनेगरी निर्माण गरिएको बताइएको छ।
“ती संरचना बर्खायाममा चलाउँदा धमिलो पानी सुरुङमा जान्छ। त्यस्तो फोहोर पानी भित्र गए सफा गर्न समय लाग्छ। त्यस्तै अन्य उपकरणहरूमा पनि असर पर्न सक्ने सम्भावना बढी छ,“ पन्तले प्रस्ट्याए।
मेलम्ची खानेपानी आयोजना निर्माण सुरु भएको झन्डै २२ वर्षमा पानी काठमाण्डू आइपुगेको थियो। विसं २०७७ फागुन २२ गते मेलम्चीको पानी सुन्दरीजल आइपुगेको थियो। र, सोही वर्षको चैतमा मेलम्चीको पानी परीक्षण वितरण स्वरूप उपत्यकावासीको धारामा पुग्यो।
लगत्तै आयोजनाको उद्घाटन भएको तीन महिना पनि नपुग्दै सिन्धुपाल्चोकमा गएको बाढीले योजनाको रफ्तारलाई धिमा बनाइदिएको थियो।










