एआई र टिकटक प्रयोग गरेर भूकम्प पीडितको नाममा ठगी

एआई निर्मित तस्बिर

तस्बिर स्रोत, Panagiotis Kotridis

तस्बिरको क्याप्शन, एआई निर्मित तस्बिर
    • Author, हाना गेल्बर्ट
    • Role, ग्लोबल डिस्इन्फर्मेशन रिपोर्टर

ठगी गर्नेहरूले टर्की र सिरियामा गएको भूकम्पलाई बहाना बनाई मिथ्या कारण देखाउँदै मानिसहरूसँग आर्थिक सहयोग आह्वान गरिरहेको सुरक्षा विज्ञहरूले चेतावनी दिएका छन्।

ठगीको यस्ता घटनामा संलग्नहरूले ३५,००० भन्दा बढी मानिसको ज्यान लिएको भूकम्प र प्रकोपपछि स्वच्छ पिउने पानी र घर तातो पार्ने उपायबाट वञ्चित मानिसहरूका लागि रकम सङ्कलन गरेको दाबी गर्छन्।

तर, अभावमा रहेकाहरूलाई सहयोग गर्नुको साटो त्यसरी सङ्कलित चन्दा वास्तविक परोपकारी संस्थाहरूमा नभई ठगी गर्नेहरूको पेपाल खाता र र क्रिप्टोकरेन्सी वालेटहरूमा गैरहेका छन्।

हामीले ठगहरूले प्रयोग गर्ने केही प्रमुख तरिका ‍र कसैले आर्थिक सहयोग गर्नुअघि दोहोरो जाँच गर्न प्रयोग गर्न सकिने उपायहरूका बारेमा बताउने छौँ।

टिकटकको प्रत्यक्ष प्रसारणमा ‘टर्कीको लागि कामना’

टिकटकमा प्रत्यक्ष प्रसारण गरेर त्यस भिडिओ साझा गर्ने एपका प्रयोगकर्ताले डिजिटल उपहारहरू प्राप्त गर्न सक्छन्। ती उपहार पछि नगदमा साट्न सकिन्छ। अहिले, केहीले टिकटक खातामार्फत् विनाशका तस्बिरहरू, अतिरञ्जित दृश्य र उद्धार प्रयासहरू देखाउने टिभीका भिडिओहरू सार्वजनिक गर्दै चन्दा मागिरहेका छन्।

त्यस्ता सामग्रीहरूका क्याप्सनमा "टर्कीलाई मद्दत गरौँ", "टर्कीको लागि कामना गरौँ" र "भूकम्प पीडितहरूको लागि दान" जस्ता वाक्यांशहरू प्रयोग भएका छन्।

एउटा खाता जुन तीन घण्टा भन्दा लामो समयसम्म प्रत्यक्ष प्रसारणमा थियो, त्यसमा विस्फोटको आवाजसहित ध्वस्त भवनहरूको आकाशबाट खिचिएका अस्पष्ट (पिक्सेलेटेड) तस्बिर देखाइएको थियो। पृष्ठभूमिमा एक जना पुरुष हाँस्छन् र चिनियाँ भाषामा केही बोल्छन्। उक्त भिडिओको क्याप्सन थियो "टर्कीलाई मद्दत गरौँ। दान गरौँ।"

टिकटकमा प्रत्यक्ष प्रसारणको दृश्य
तस्बिरको क्याप्शन, टिकटकमा प्रत्यक्ष प्रसारणको दृश्य

अर्को भिडिओमा विस्फोटबीच दौडिरहेको एक भयभीत बालकको तस्बिर देखाइएको छ। प्रत्यक्ष प्रसारण गरिरहेका व्यक्तिले सन्देश दिन्छन् "कृपया हामीलाई उद्देश्य प्राप्तिको लागि सहयोग गर्नुहोस्"- उनले सोझै भर्चुअल उपहारको लागि आग्रह गर्छन्।

तर ती बालकको तस्बिर गत साता गएको भूकम्प प्रभावितको भने होइन। एक रिभर्स इमेज सर्च अनुसार सोही तस्बिर सन् २०१८ मा ट्विटरमा "अफ्रिन नरसंहार रोकियोस्" भन्ने क्याप्सनसहित पोस्ट गरिएको थियो।

टिकटकमा प्रत्यक्ष प्रसारणको दृश्य

तस्बिर स्रोत, UGC

तस्बिरको क्याप्शन, टिकटकमा प्रत्यक्ष प्रसारणको दृश्य

टिकटकमा प्राप्त हुने उपहारबारे सतर्क हुनुपर्ने अर्को जानकारी: बीबीसीको अनुसन्धानले टिकटकले डिजिटल उपहारहरूबाट हुने आम्दानीको ७० प्रतिशतसम्म लिने देखाउँछ। यद्यपि टिकटकले त्योभन्दा कम लिने दाबी गरेको छ।

टिकटकका एक जना प्रवक्ताले बीबीसीलाई भने: "हामी टर्की र सिरियामा गएको विनाशकारी भूकम्पबारे निकै दुःखी छौँ र राहत कार्यमा सहयोग पुर्‍याई रहेका छौँ।"

“हामीले मानिसहरूलाई मद्दत गर्न चाहने प्रयोगकर्ताहरूलाई ठग्न र भ्रामक जानकारी दिनबाट रोक्न सक्रिय रूपमा पहल गरिरहेका छौँ।“

redline
यो पनि पढ्नुहोस्
redline

क्रिप्टोकरेन्सी प्रतिको चासो र एआईले बनाएको तस्बिरहरू

ट्विटरमा मानिसहरूले भावविह्वल बनाउने तस्बिरहरूसहित चन्दा माग्दै क्रिप्टोकरेन्सी वालेटका लिङ्कहरू साझा गरिरहेका छन्। एउटा खाताबाट एउटै आह्वान, भत्किएका भवनहरू बीच एउटा सानो बच्चा बोकेर उभिएको अग्नि नियन्त्रकको तस्बिरसहित १२ घण्टामा आठ पटकसम्म प्रस्तुत भएका छन्।

ट्विटरमार्फत् आह्वान

तस्बिर स्रोत, UGC

यद्यपि, प्रयोग भएको तस्बिर वास्तविक भने होइन। ग्रीकको पत्रिका ओईएमएका अनुसार उक्त तस्बिर अजिअन फायर ब्रिगेडका मेजर जनरल पानायोटिस कोटराइडिसले आर्टिफिसिअल इन्टेलिजेन्स सफ्टवेअर 'मिडजर्नी' प्रयोग गरेर बनाएका हुन्।

'एआई'का तस्बिर बनाउने माध्यमहरूले प्रायः गल्ती गर्छन्। ट्विटर प्रयोगकर्ताहरूले निकै छिटो तस्बिरमा देखिएका अग्नि नियन्त्रकको दाहिने हातमा छ वटा ‍औँला पहिचान गरे।

यसलाई थप पुष्टि गर्न हामीले बीबीसीको 'टेक रिसर्च हब' 'द ब्लू रूम'का सहकर्मीहरूसँग त्यही सफ्टवेअर प्रयोग गरेर त्यस्तै तस्बिर बनाउन आग्रह गर्‍यौँ।

उनीहरूले उक्त सफ्टवेअरमा "भूकम्पपछि बच्चाको उद्धार गर्ने र ग्रीक झन्डा अङ्कित हेलमेट लगाएको अग्नि नियन्त्रकको तस्बिर" माग गरे। त्यसपछि तस्बिरका निम्न विकल्पहरू प्राप्त भयोः

यसबाहेक, क्रिप्टो वालेटहरू मध्ये एउटा सन् २०१८ देखि ठगी र विषयसँग सम्बन्ध नराख्ने ट्विटहरूमा प्रयोग गरिएको थियो। त्यस्तै अर्को चाहिँ रुसी सामाजिक सञ्जालको वेबसाइट 'भीके'मा अश्लील सामग्रीसँगै राखिएको थियो।

जब बीबीसीले सहयोग आह्वान गरिरहेको व्यक्तिलाई सम्पर्क गर्‍यो, उनीहरूले त्यो ठगी हो भन्ने कुराको खण्डन गरे। उनीहरूले आफूकहाँ कनेक्टिभिटी राम्रो नभएको बताए तर हामीले ट्विटरमा सोधेको प्रश्नहरूको जवाफ गुगल ट्रान्सलेट प्रयोग गर्दै दिएका थिए।

“मेरो उद्देश्य आर्थिक सङ्कलन गर्न सकेँ भने भूकम्प पीडितहरूलाई सहयोग गर्ने हो,” जवाफमा भनियो। “अहिले प्रकोपग्रस्त क्षेत्रमा मानिसहरू चिसोमा बसेका छन्। विशेषगरी बालबालिकाहरूले खान पाएका छैनन्। म यस प्रक्रियालाई रसिदसहित पुष्टि गर्न सक्छु।”

यद्यपि, उनीहरूले हामीलाई अझैसम्म कुनै रसिद वा उनीहरूको परिचयपत्र उपलब्ध गराएका छैनन्।

एआईले बच्चा उद्दार गरेका अग्नि नियन्त्रकको तस्बिरहरूको विकल्प

तस्बिर स्रोत, Midjourney

तस्बिरको क्याप्शन, एआईले बनाएर प्रस्तुत गरेको बच्चा उद्दार गरेका अग्नि नियन्त्रकको तस्बिरहरूको विकल्प

ट्विटर र पेपाल

ट्विटरमै ठगी गर्ने अन्य केहीले राहत सङ्कलन गर्न खाताहरू बनाएर 'पेपाल' खाताको लिङ्क पोस्ट गरेका छन्।

सोनाटाइपका साइबर सुरक्षा विज्ञ एक्स शर्माका अनुसार ती खाताहरूले 'भिजिबिलिटी' बढाउन समाचार सामग्रीहरू रिट्विट गर्छन् र चर्चित व्यक्तिहरूको ट्विटमा प्रतिक्रिया दिन्छन्।

"उनीहरूले प्रकोप पीडितलाई राहत सङ्कलन गर्ने नाममा नक्कली खाताहरू बनाउँछन्। ती वास्तविक सङ्गठन वा समाचार संस्थाजस्तै देखिन्छन् तर सङ्कलित कोष आफ्नो पेपाल ठेगानामा पठाउँछन्," उनले बीबीसीलाई भने।

Screenshot of a fraudulent Twitter account

एउटा उदाहरण @TurkeyRelief हो जुन ट्विटर खाता ज्यानुअरीमा खोलिएको हो र यसका ३१ जना 'फलोअर्स' छन्। उक्त खातामा पेपालमार्फत् सहयोग माग गरिएको छ। सम्बन्धित पेपाल खातामा हालसम्म नौ सय अमेरिकी डलर जम्मा भइसकेको छ। तर, त्यसमध्ये पाँच सय डलर खाता बनाउने व्यक्तिको हो जसले आफ्नै अभियानको निम्ति सहयोग गरे। शर्माका अनुसार “सहयोग सङ्कलक आधिकारिक हो भन्ने देखाउन” त्यसो गरिएको हुनुपर्छ।

PayPal appeal

भूकम्पबाट प्रभावितहरूलाई सहयोग गर्न चन्दा माग्दै हालसालै सुरु गरिएका १०० भन्दा बढी पेपाल कोषहरूमध्ये यो एक हो। त्यसरी खोलिएका खाताहरूमध्ये केही नक्कली छन्।

दाताहरू विशेषगरी “आफू टर्कीमा रहेको उल्लेख गर्ने खाताहरूबाट” सजग रहनु पर्ने शर्मा बताउँछन्। किनकि सन् २०१६ देखि टर्कीमा पेपाल सञ्चालनमा छैन।

"टर्की बाहिरबाट पनि पेपाल प्रयोग गरी वास्तविक अभियान सञ्चालन गर्ने संस्थाहरू छन्। तर जब कसैले पेपाल प्रयोग गरेका छन् र आफू टर्कीमा रहेको बताउँछन् तब त्यो सचेत हुनुपर्ने अवस्था हो,” उनी भन्छन्।

नाम नखुलाइएका र निकै कम रकम सङ्कलन भएका खाताहरूबारे पनि सतर्क रहनु पर्ने उनी सुझाव दिन्छन्। वास्तविक सहयोगमा “उल्लेख्य कोष” हुनुपर्ने उनको तर्क छ। तर पनि धेरै पेपाल कोष सङ्कलनकर्ताहरूको खातामा एक सय पाउन्डभन्दा कम देखिने बताइन्छ।

More than 100 fundraisers have launched on PayPal since the earthquakes struck

पेपालले ठगीसँग संलग्न खाता निलम्बन गरेको छ। पेपालका एक प्रवक्ताले बीबीसीसँग भने: "सहयोग सङ्कलनका निम्ति ‍पेपाल प्रयोग गर्ने अधिकांश सङकलनकर्ताहरूको नियत असल छ। तर, त्यहाँ केही यस्ता व्यक्तिहरू‌ पनि छन् जसले मानिसहरूको सहयोगी भावना र उदारतामाथि टेकेर व्यक्तिगत लाभ लिने प्रयास गर्छन्।"

"पेपाल लगनशीलताका साथ त्यस्ता खाताहरू छानबिन गर्न र प्रतिबन्ध लगाउन काम गरिरहेको छ। विशेष गरी टर्की र सिरियामा गएको भूकम्पजस्ता घटनाहरूको परिप्रेक्ष्यमा सहयोग रकम आवश्यक कारणहरूमा जाओस् भन्ने हाम्रो उद्देश्य हो।" यसैगरी ट्विटरले @TurkeyRelief ह्यण्डल भएको ट्वीटर खातालाई पनि प्रतिबन्ध लगाएको छ, तर कम्पनीले यस विषयमा कुनै प्रतिक्रिया जनाएन।

line

ठगीबाट कसरी जोगिने र कसरी सुरक्षित रूपमा सहयोग गर्ने?

  • आफ्नो देशमा सञ्चालित सहयोग अभियानबारे खोज्नुहोस्
  • यदि तपाईँलाई कुनै कुरा शङ्कास्पद लागे त्यसबारे राज्यको कुनै निकाय वा सामाजिक सञ्जालमा रिपोर्ट गर्नुहोस्
  • भावुक बनाउने भाषा, तस्बिर र भिडिओहरू प्राय: तपाईँको ध्यानाकर्षणको लागि राखिएको हुन्छ
  • केही ठगहरूले उनीहरू वास्तविक अभियान वा सरकारसँग सम्बन्धित रहेको बताउन सक्छन्। यदि तपाईँ सहयोग गर्न चाहनुहुन्छ भने उनीहरूको आधिकारिक वेबसाइटमार्फत वा प्रत्यक्ष सहयोग गर्नुहोस्
line