सरकारले इजरेलविरुद्ध जितिरहेको बताइरहँदा इरानका जनतामा त्रास र अन्योल हुनुको कारण

तस्बिर स्रोत, ABEDIN TAHERKENAREH/EPA-EFE/Shutterstock
- Author, बीबीसी न्यूज पर्सिअन
इरानको परमाणु कार्यक्रमलाई निसाना बनाउँदै इजरेलले केही वर्षयताकै व्यापक हवाई हमलाहरू गरेको छ। त्यसले इरानलाई प्रतिकारतर्फ डोर्याएको छ र दुवै देशले अहिले एकअर्कामाथि आक्रमण जारी राखेका छन्।
इरानको राजधानी तेहरानमा आवासीय भवनहरूसहित कैयौँ स्थान इजरेली हमलामा परेका छन्।
तेहरानका मानिसहरू के गर्ने अथवा कसरी प्रतिक्रिया जनाउने भन्ने रनभुल्लमा छन्।
'अड्किएको' जनजीवन

तस्बिर स्रोत, ABEDIN TAHERKENAREH/EPA-EFE/Shutterstock
बीबीसी न्यूज पर्सिअनसँग कुरा गरेका धेरैले इरानमा जनजीवन अहिले "अड्किएको" जस्तो रहेको बताएका छन्।
बीबीसीसँग कुरा गरेकी एक महिलाले दुई रातदेखि सुत्न नसकेको बताइन्। "म साँच्चिकै कठिन अवस्थाबाट गुज्रिएकी छु।"
आफू बाल्यकालमै रहेका बेला सन् १९८० को दशकमा इरान-इराक युद्ध हुँदा भएका बमबारी र मानिसहरू सुरक्षित स्थलमा जाने गरेको अवस्थालाई उनी सम्झन्छिन्।
"त्यति बेलाको र अहिलेको अवस्थामा फरक के छ भने त्यस बेला साइरन बज्थ्यो अथवा हमला हुनुअघि कम्तीमा चेतावनी जारी हुन्थ्यो। तर अहिले हुने गरेका बमबारी अथवा हवाई हमला हुनुअघि त्यस्तो केही साइरन बज्ने वा चेतावनी जारी केही हुने छैन…"
"यस्तो लाग्छ कि उनीहरू [सरकारी अधिकारीहरू] लाई हाम्रो ज्यानको मतलब नै छैन।"
त्यति बेला कस्तो थियो भन्ने अनुभव युद्धपछि जन्मेका मानिसहरूलाई नभएको बीबीसी न्यूज पर्सिअनकी गोन्चेह हबिबियाजाद भन्छिन्।
तेहरानका अर्का बासिन्दा भन्छन्, "पेट्रोल पम्प खोज्न म घरदेखि निकै टाढासम्म पुग्नुपर्छ। किनकि पेट्रोल पम्पहरूमा लामा लाइनहरू हुन्छन्।"
सहरका कतिपय मानिसहरूले इरानी अधिकारीहरूको निवास स्थलहरूदेखि टाढा जाने प्रयास गरिरहेका छन्।
हाम्रा संवाददाताहरूका अनुसार इन्टरनेट सेवा एकदमै अस्थिर छ, जसका कारण मानिसहरूबीच सम्पर्क कायम गर्न गाह्रो भइरहेको छ।
देशबाहिर भएका मानिसहरूले जवाफ आउने आसमा आफन्तहरूलाई सन्देश पठाउने गरेका छन्।
तेहरानकी एक महिलाले आक्रमणबाट जोगिनका लागि सहर छोड्ने विचार गरेको बताइन्।
"सानो सहर अथवा गाउँ जाने हामीले सोचेका हौँ। तर हाम्रा केही आफन्तलाई छोडेर जान सक्ने अवस्था छैन," उनले भनिन्।
"हामीले जे अनुभव गरिरहेका छौँ, त्यो इरानमा कसैका लागि पनि ठिक होइन।"
"हामीलाई क्षोभ छ कि हाम्रो देशका नेताहरूलाई हामी र हाम्रा जीवनप्रति कुनै वास्ता रहेनछ। यो समय निकै कठिन र पीडादायी छ।"

तस्बिर स्रोत, Reuters
तेहरानका अर्का बासिन्दा भन्छन्, "म तेहरान छोड्न सक्दिनँ। लामो यात्रा गर्न नसक्ने मेरा आमाबुवालाई म छोड्न सक्दिनँ। त्यसबाहेक मैले जागिर पनि खानु छ। म के गर्न सक्छु?"
इजरेली सेनाले कतिपय मानिसहरूलाई सैनिक क्षेत्रनजिक नबस्न चेतावनी पनि दिएका छन्। तेहरानका मानिसहरू त्यसबारे निकै चिन्तित देखिन्छन्।
"हो, दुर्भाग्यवश मैले यो सबै पहिला पनि देखिसकेको छु," अर्काले भने। "सैनिक उपस्थिति कहाँ हुन्छ र कहाँ हुँदैन भन्ने कुरा तपाईँले कसरी भन्न सक्नुहुन्छ?"
छुट्टै प्रसङ्गमा आक्रमणको दोस्रो दिन इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानका मानिसहरूलाई बाहिर निस्किन र त्यहाँको सत्ता फाल्न अपील गरे।
तथापि बीबीसी न्यूज पर्सिअनका दारयूश करिमीका अनुसार अहिलेसम्म इरानका जनताले सुरक्षित रूपमा बस्न चाहेका छन् र नेतन्याहूको अपीलको भुइँतहमा असर परेको खासै प्रमाण देखिँदैन।
सरकारी भाष्य

तस्बिर स्रोत, Getty Images
बीबीसी न्यूज पर्सिअनका पौयान कलानीका अनुसार इरानका मानिसहरूलाई सबैभन्दा धक्का लागेको कुरा परमाणु केन्द्रहरू र हवाई अखडाहरूमा भएका भन्दा आवासीय भवनहरूमा भएको क्षति हो। आमनागरिक र सरकारी अधिकारी सबैका लागि यो अनपेक्षित हो।
भग्नावशेषमा थिचिएका बालक, सडकमा धुलोमैलोले लतपतिएको टेडी बेअर र छरपस्ट स्केचबुक – यस्ता दृश्य उनीहरूले इरान-इराक युद्धयता देखेका थिएनन्। राजधानीका सडकहरूमा त झन् देखेकै थिएनन्।
यस्तो हमलापछि धेरैलाई यी प्रश्नहरू सोध्ने "अग्रपङ्क्ति"मा उभ्याइदियो : आखिर के भइरहेको छ, यो कति व्यापक छ अनि आफू र परिवारलाई कसरी जोगाउन सकिन्छ?
केही घण्टाभित्र इजरेलले संवेदनशील ठाउँहरूमा बमबारी गर्न सक्ने गरी इरानको हवाई प्रतिरक्षा प्रणाली कसरी निष्प्रभावी भयो भन्ने कुरा बुझाउन अधिकारीहरू विफल देखिएका छन्।
इजरेलले शुक्रवार सखारै पहिलो हमला गरेको कैयौँ घण्टापछि त्यसबारे कुनै सूचना अथवा वक्तव्य जारी गरिएन। कैयौँको मनमा प्रश्न उठ्यो : के देश युद्धमा गइसकेको हो?
सबै कुरा "नियन्त्रणमा रहेको" कुरामा जोड दिँदै सरकारी अधिकारीहरूले केही गम्भीर नभएको टेलिभजनमा बताइरहे।
बिना कुनै अवरोध इजरेली लडाकु विमानहरूले राजधानी तेहरान र अरू सहरहरूमा कसरी हमला गर्न सके भन्नेबारे कुनै पनि अधिकारीले स्पष्ट पारेनन्।
इरानका सर्वोच्च नेताका तर्फबाट एउटा लिखित र अर्को भिडिओ सन्देश जारी भएपछि शुक्रवार अपराह्नपछि बल्ल प्रस्तोता तथा विशेषज्ञहरूले "कडा बदला" को डङ्का बजाउन थाले।

तस्बिर स्रोत, WANA/Reuters
आफ्नो भिडिओ सन्देशमा सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले "सशस्त्र फौजहरूले शक्तिका साथ अगाडि बढ्ने र दुष्ट यहुदी सत्तालाई घुँडा टेकाउने" घोषणा गरे।
साँझ पर्नासाथ इरानले तेल अभिभतर्फ बलिस्टिक क्षेप्यास्त्रहरू हान्न थाल्यो र सरकारी सञ्चारमाध्यमले तेल अभिभका दृश्यहरू प्रसारण गर्न थाले। विश्लेषकहरूसँगको कुराकानीका पृष्ठभूमिमा ती दृश्यहरू प्रसारण गर्न थालियो।
तेल अभिभमा डरका कारण साइरनहरू बज्न थालेको भन्दै जितको भाष्य तयार पारियो।
यो सबै त्यति बेला भइरहेको थियो, जति बेला इजरेलले नतान्ज, फोर्दो र इस्फाहानस्थित इरानी हवाई अखडा र परमाणु केन्द्रहरूमा हमला गरिरहेको थियो। शनिवार बिहानसम्म इजरेली ड्रोनहरू तेहरानको आकाशमा उडिरहेका थिए।
सम्भवतः तेहरान छोड्ने तयारीस्वरूप तेल भर्न कतिपय मानिसहरू पेट्रोल पम्पहरूअगाडि लाइनमा बस्न थाले। अभाव हुन सक्ने भन्दै अरूहरू खानेकुरा किन्न अथवा चामल र तेल जगेडा राख्ने कुरा गर्न थाले।
कैयौँ घण्टापछि इरानका आन्तरिक मामिलामन्त्रीले सरकारी सञ्चारमाध्यमलाई सार्वजनिक सम्बोधन गर्दै भने, "शान्त रहनुहोस्; इन्धनबारे तनाव नलिनुहोस्; आधिकारिक सूचनामा मात्र विश्वास गर्नुहोला; अनावश्यक यात्रा नगर्नुहोला र आपत्कालीन सेवासँग समन्वय गर्नुहोला।" तर ती कुरा स्थिरता कायम राख्नुपर्नेमा जोड दिइएको रूपमा आए।
इस्लामिक रिभोलुशनरी गार्ड कोर (आईआरजीसी) का थुप्रै वरिष्ठ कमान्डरहरू र परमाणु वैज्ञानिकहरू मारिएका घोषणाबाहेक आंशिक मिडिया रिपोर्टहरूका रूपमा मात्रै आधिकारिक सूचना आयो।
बरु सरकारी अधिकारीहरूदेखि धार्मिक सङ्गठन र अन्य सङ्घसंस्थासम्मले "दबाइएको तर जब्बर देश" भन्ने आशयका भाष्य बाहिर ल्याए अनि "कठोर प्रतिवाद"का लागि सर्वोच्च नेतालाई आह्वान गरे।
यद्यपि ती रिपोर्टहरूको समीक्षा गरिएपछि पनि सो स्तरमा आक्रमणहरू कसरी भयो, कति अधिकारी तथा वैज्ञानिकहरू मारिए, कति सर्वसाधारण मारिए, खास कुन केन्द्रमाथि हमला भयो, वास्तविक क्षतिको विवरण र के तेहरान तथा अरू सहरहरू सुरक्षित छन् लगायतका प्रश्नको जवाफ पाउन असम्भव देखिन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








