निर्माण व्यवसायमा जोडिने त्यो निर्णय जसले महिलाहरूलाई 'खाडी भासिन'बाट रोक्यो

गिता शाही
    • Author, कृष्णमाया उपाध्याय
    • Role, बीबीसी न्यूज नेपाली

आजकाल कर्णालीका विकट गाउँहरूमा स्थानीय सरकारको उपस्थिति उनीहरूले प्रदान गर्ने सेवा र सुविधासँगै निर्माणाधीन संरचनाहरूमा पनि झल्कन थालेको छ। कहीँ कार्यालयका निम्ति अग्ला भवन बनिरहेका छन् त कतै अस्पताल। सडकको विस्तार र राजमार्गहरूमा पुल थपिँदो छ।

भौतिक विकासका यी पाटाहरूले त्यहाँका जनतामा आशा र उत्साह थपिदिँदा कालिकोटकी तारा शाह गौरवान्वित महसुस भएको सुनाउँछिन्। किनकि निर्माण व्यवसायीका रूपमा त्यस्ता संरचनाहरूमध्ये धेरैको जिम्मेवारी आफूले लिएको उनी बताउँछिन्।

उनका अनुसार कालिकोटसँगै हुम्ला, दैलेख तथा सुर्खेत जिल्लाका धेरै सरकारी संरचना निर्माणको ठेक्का आफूले पाएको उनको दाबी छ।

“आफूले जिम्मा लिएर गरेको काम, चाहे त्यो पुल होस् या बाटो देख्दा गर्व महसुस हुन्छ,” उनले बीबीसीसँग भनिन्।

भौतिक विकासमा महत्त्वपूर्ण निर्वाह गर्ने सीमित महिलाहरू मध्येकी एक शाहले “महिला हरेक काममा सक्षम छन् भन्ने उक्तिलाई व्यवहारमा उतार्न” आफू यस क्षेत्रमा लागेको बताउँछिन्।

विगत १५ वर्षदेखि निर्माण कार्यमै रमाएकी उनी बेरोजगारी वा बाध्यताका कारण यस क्षेत्रमा होमिएकी भने होइनन्। पहिले उनी स्थानीय विद्यालयमा अध्यापन गराउँथिन्।

बन्दै गरेको सडक

“शिक्षण पेसा छोडेर निर्माण व्यवसायी बन्नु जोखिमपूर्ण कार्य थियो। महिलाले त झन् ठूला चुनौतीहरू पार लगाउनु पर्छ। तर इच्छाशक्ति भएपछि जति कठिन काम पनि गर्न सकिँदो रहेछ,” उनले आफ्नो अनुभव सुनाइन्।

पहिले आफू महिला भएकै कारण “निर्माण कार्य गर्न सक्दैनस्” भन्ने कार्यालय र समाजले आफ्नो काममा विश्वास गर्न थालेको उनले सुनाइन्।

हाल उनी सुपरस्टार नामक कम्पनी सञ्चालन गर्छिन्।

चुनौती स्वीकार्दै सडक बनाउँदै

यसरी कम्पनीमार्फत् निर्माण व्यवसायलाई अघि बढाएकी अर्की पात्र हुन् पुष्पा गिरि। बाह्र वर्ष भयो उनले पीआरजी निर्माण सेवामार्फत् जुम्लामा सिँचाई कुलोदेखि सडकहरू फराकिलो बनाएकी छन्।

जुम्लामा सरकारी निर्माण कार्यका लागि टेन्डर आह्वान हुँदा त्यसमा आफ्नो पनि अवसर दाबी गरेको सम्झन्छिन् उनी।

“मैले पनि काम गर्न पाउनु पर्छ भनेर गएको थिएँ। त्यति बेला पुरुष व्यवसायीहरूले कहाँ हामीलाई विश्वास गर्नु? तीता मिठा अनुभवहरू सँगाल्दै अहिले ठूला जिम्मेवारीहरू सम्हाल्न थालेकी छु,” उनले बीबीसीसँग भनिन्।

कार्यस्थलमा खट्ने उनलाई कहिले काहीँ मानिसहरूले अविश्वाससहित वचन लगाउने गरेको सुनाउँछिन्। “कर्णाली जस्तो भौगोलिक विकटता भएको ठाउँमा एक्लै कार्यक्षेत्रमा गएर काम गर्न साह्रै गाह्रो छ। विवाहित महिलालाई त कहिले काहीँ श्रीमान् वा परिवारले पनि साथ दिएको देख्छौँ,” गिरिले भनिन्।

तारा शाह
तस्बिरको क्याप्शन, तारा शाह

“तर, हामीजस्तो अविवाहितले यो क्षेत्रमा हात हाल्दा नानाथरीका कुरा सुन्न पर्छ। अहिले त्यस्तो कुराको वास्ता नगरी काम गर्छु। धेरै हदमा सबैले विश्वास गर्ने वातावरण बनिसकेको छ। खुसी छु,” उनले भनिन्।

कर्णालीका निर्माण व्यवसायी महिलाहरू आफ्नै प्रदेश वा जिल्लामा सीमित छैनन्। दश वर्ष भयो जुम्लाकी गीता शाही ललितपुरमा रहेर निर्माणको काम गर्दै आएको।

जुम्लाबाट पैसा कमाउन खाडी जान हिँडेकी उनको देशको राजधानीमा पसेपछि यात्रा मोडियो। वैदेशिक रोजगारीको साटो यहीँ भएका सम्भावनाहरू पहिल्याइन्। अहिले उनी एसएल् निर्माण कम्पनीमार्फत् सडक निर्माणको काम गर्दै आएकी छन्।

राष्टु कठायत

“सुरुसुरुमा त निकै दुःखको काम रहेछ भन्ने लाग्थ्यो। काम गर्दै जाँदा अन्य निर्माण व्यवसायी सरहको गुणस्तरीय काम गर्न सफल भएको छु। काम पाउन सहज भएको छ,” उनले सुनाइन्।

राष्टु कठायत जुम्लामा बस्छिन्। उनी निर्माण कार्यको मात्र नभई नेपाली सेनाको रासन ल्याउने ठेक्कासमेत लिन्छिन्। अहिले उनले हाँकेको कम्पनीमा धेरै पुरुषहरूले रोजगार पाएका छन्। नेतृत्वदायी भूमिकामा भएपछि मानिसहरूले महिलाप्रति गर्ने व्यवहार नै परिवर्तन हुने उनले महसुस गरेकी छन्।

“हिकमत जुट्दै गएको छ। तर, हरेक क्षेत्रमा महिला अगाडि बढ्नका लागि घरपरिवारदेखि समाजसम्मको सहयोग बीना सम्भव छैन,” उनले भनिन्।

redline
यो पनि पढ्नुहोस्
redline

प्रविधि र प्रवृत्तिमा परिवर्तन

महिलाहरूलाई निर्माण कार्यमा संलग्न हुन प्रविधिले निकै सहज बनाइदिएको उल्लेखित पात्रहरूले बताएका छन्। पहिले कार्यालयमै पुगेर प्रस्तावना पेस गर्नु पर्नेमा अहिले अनलाइनमार्फत बोलपत्र आह्वान हुन्छ।

त्यस्तै पहिलेजस्तो पहुँच र पैसाको आधारमा निर्माण ठेक्का प्रवृत्तिको अन्त्यले पनि राहत दिलाएको उनीहरू बताउँछन्।

“धेरै पटक सुरक्षाकर्मीहरूको साहयता लिएर टेन्डर हाल्न जानु पर्थ्यो तर अहिले त्यो समस्याबाट मुक्त भएका छौँ,” पुष्पा गिरीले बताइन्।

“त्यति बेला एक निर्माण व्यवसायीले अर्कोलाई दबाब र धम्की दिने अवस्था थियो। अहिले अनलाइनमार्फत प्रस्तावना पेस गर्न मिल्छ। धेरै झन्झटहरू रहेनन्,” उनले भनिन्।

२०७४ साल देखि अनलाइनमार्फत बोलपत्र आह्वान हुन थालेको हो।

निर्माण कार्यमा संलग्न महिला
तस्बिरको क्याप्शन, निर्माण कार्यमा संलग्न महिला

न्यून उपस्थिति

नेपाल निर्माण व्यवसायी महासङ्घको तथ्याङ्क अनुसार देशमा २३ हजार ८ सय ३८ निर्माण कम्पनी दर्ता भएका छन्। तीमध्ये जम्मा ७ प्रतिशत कम्पनीहरू मात्र महिलाको नाममा दर्ता भएका छन्।

महासङ्घका कार्यकारी प्रमुख प्रेमसिंह एैरका अनुसार “महिलाको नाममा कम्पनी दर्ता गरेर पुरुषहरूले सञ्चालन गर्ने” भएकाले करिब ५ सय जना महिला मात्रै प्रत्यक्ष रूपमा यस काममा संलग्न छन्।

“जति निर्माण स्थलमा खटेका छन्। उनीहरूले विभिन्न चुनौती झेलेर काम गर्दै आएका छन्,“ उनले भने।

अहिले नेपालमा क वर्गका निर्माण कम्पनी ३४१ वटा, ख वर्गका २७३ वटा र ग वर्गका २२ हजार १५२ वटा निर्माण कम्पनी दर्ता भएर काम गरिरहेका छन्। सङ्ख्याको हिसाबमा त्यहाँ पनि महिलाको उपस्थिति न्यून रहेको उनी बताउँछन्।

राज्यका अन्य क्षेत्रमा महिलालाई प्रोत्साहन गर्नको लागि अनुदान तथा सहुलियत भए पनि निर्माण क्षेत्रमा सरकारले त्यो व्यवस्था नगरेको हुनाले धेरै समस्या उत्पन्न भएको महिला व्यवसायीहरूले बताएका छन्।

यहीँ क्षेत्रमा निरन्तरताका लागि आफूहरूको सुरक्षा र राजश्व छुटदेखि अन्य सहुलियत अपेक्षित भएकोबारे यी सबै निर्माण व्यवसायीहरू एकमत सुनिन्छन्।