विशेषज्ञ डाक्टर कुरिरहेको देशकै ‘विशिष्ट विशेषज्ञ अस्पताल’

- Author, प्रकाश पार्की
- Role, डडेल्धुरा
सुदूरपश्चिम प्रदेशमा सङ्घीय सरकार मातहत रहेको ‘विशिष्ट विशेषज्ञ अस्पताल’को रूपमा सञ्चालित डडेल्धुरा अस्पताल नाममा मात्रै सीमित जस्तो भएको छ।
विशिष्ट विशेषज्ञसहितका सेवा दिनेगरी स्थापना भएको अस्पतालमा दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सक नहुँदा बिरामीहरू धनगढी र भारतका विभिन्न निजी अस्पतालमा महँगोमा उपचार गराउन बाध्य भएको बताउँछन्।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा रहेको यो सुदूरपश्चिमकै ठूलो सरकारी अस्पताल हो।
पाँच पटक प्रधानमन्त्री भएका देउवाको गृह जिल्लाको अस्पतालमा दरबन्दीअनुसार एकजना पनि विशेषज्ञ चिकित्सक छैनन्।
कसरी बन्यो विशिष्ट विशेषज्ञ अस्पताल?
डडेल्धुरामा अमेरिकी डा. मेनार्ड सिमनले १२ शय्याबाट अस्पताल सुरुवात गरेका थिए। त्यस बेला टीबी, लेप्रोसी वार्ड स्थापना गर्दै सेवा सञ्चालन गरिएको थियो।
२०४५ सालमा टिम अस्पतालका नाममा २५ शय्यामार्फत् मानिसलाई स्वास्थ्य सेवा दिइन्थ्यो।
उक्त अस्पताल २०५१ सालमा ५० शय्यामा स्तरोन्नति भयो र २०७० सालमा जिल्ला अस्पताल र टिम अस्पताललाई मिलाएर १०० शय्याको उपक्षेत्रीय अस्पताल बनाइयो।
डडेल्धुरा उपक्षेत्रीय अस्पताललाई ३ फागुन २०७५ सालको मन्त्रिपरिषद् बैठकले विशिष्ट सेवा प्रवाह गर्नेगरी डडेल्धुरा अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गर्यो।
तत्कालीन सरकारले मोरङको कोशी अञ्चल अस्पताल, पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल, चितवनको भरतपुर अस्पताल, बाँकेको भेरी अञ्चल अस्पताल र डडेल्धुरा उपक्षत्रीय अस्पताल, डडेल्धुरालाई ‘विशिष्ट विशेषज्ञ अस्पताल’का रूपमा स्तरोन्नति गर्ने निर्णय गर्यो।

डडेल्धुरा अस्पताललाई सुदूरपश्चिम प्रदेशका पहाडी ७ जिल्लाको केन्द्रमा रहेर सेवा दिनेगरी स्तरोन्नति गर्ने निर्णय गरिएको थियो।
विशिष्ट विशेषज्ञ अस्पताल ५०० शय्याको हुनुपर्ने भनिए पनि यो अस्पतालमा १०० शय्या सञ्चालन भइरहेको छ।
अस्पतालले हाल १४ वटा विभाग कायम गरी त्यसैअनुरूप सेवा प्रदान गरिरहेको व्यवस्थापनले जनाएको छ।
विशिष्ट विशेषज्ञ अस्पताल भनिए पनि पुरानै उपक्षेत्रीय अस्पताल छँदाको दरबन्दी पनि झन्डै आधा खाली छ।
उपक्षेत्रीय अस्पताल सञ्चालनका लागि सङ्घीय सरकारबाट १०९ जनाको दरबन्दी स्वीकृत भएको थियो।
स्वीकृत दरबन्दी कति?
यहाँ विशेषज्ञ चिकित्सकको मात्रै स्वीकृत स्थायी दरबन्दी १७ जनाको रहेको अस्पतालले जनाएको छ जसमा सबै पद रिक्त रहेको अस्पतालका सूचना अधिकारी डा.आशिष अधिकारीले बताए।
उनका अनुसार छात्रवृत्ति करारमा गाइनोक्लोजिस्ट र एनेस्थेसिया गरी दुईजना विषेशज्ञ चिकित्सक कार्यरत रहेका छन्।
“हाम्रो अस्पतालमा एकजना ईएनटी विषेशज्ञ र अर्का जनरल सर्जन हुनुहुन्छ,” डा. अधिकारीले भने, “मेडिकल अधिकृतको स्वीकृत दरबन्दी १८ जना हो। त्यसमध्ये स्थायी पदमा सातजना कार्यरत छन्।”
अस्पतालमा स्टाफ नर्सको स्वीकृत स्थायी दरबन्दी ३० जना रहेकोमा हाल २८ जना कार्यरत छन्। दुई जनाको पद अझै रिक्त रहेको सूचना अधिकारी डा. अधिकारीले बताए।
छात्रवृत्ति करारमा पाँचजना र करार सेवामा कार्यरत मेडिकल अधिकृत ११ जना मेडिकल अधिकृत कार्यरत छन्। अस्पतालले करार सेवामा २० जना स्टाफ नर्स भर्ना गरेको छ।
नौजना अध्ययन बिदामा

अस्पतालमा स्थायी दरबन्दी भएका नौजना अध्ययन बिदामा रहेको अस्पताल प्रशासनले जनाएको छ।
स्थायी दरबन्दीमा कार्यरतमध्ये तीनजना मेडिकल अधिकृत र ६ जना स्टाफ नर्स अध्ययन बिदामा रहेको अस्पतालका सूचना अधिकारी डा. अधिकारीले बताए।
डडेल्धुरा अस्पतालमा एघारौँ तहको मेडिकल सुपरिन्टेन्डेन्टको दरबन्दी छ। तर विशिष्ट विशेषज्ञ अस्पताल घोषणाको पाँच वर्ष पूरा हुँदा पनि दरबन्दीअनुसारको मेडिकल सुपरिन्टेन्डेन्ट अस्पतालले पाएको छैन।
अस्पताल एघारौँ तहको मेडिकल सुपरिन्टेन्डेन्टविहीन छ। अहिले नवौँ तहका डा.सन्तोषकुमार गुप्ता निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट छन्।
गत साउन महिनाको तेस्रो सातादेखि उनले मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी सम्हालिरहेका छन्। यसअघि अस्तापलका निमित्त मेसुमा आठौँ तहका डा.चेतराज भट्ट थिए।
स्वीकृत दरबन्दी १०९, कार्यरत ५८
अस्पतालमा सरकारबाट स्वीकृत स्थायी दरबन्दी १०९ जनाको रहेको छ। तर हाल ५८ मात्रै कार्यरत छन्।
सूचना अधिकारी डा.आशिष अधिकारीका अनुसार अस्पतालमा ५१ जनाको स्थायी पद रिक्त छ।
त्यसमा नवौँ/दशौँ तहका कन्सल्टेन्ट जनरल फिजिसियन, कन्सल्टेन्ट न्युरोलोजिस्ट, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, कन्सल्टेन्ट रेडिओलोजिस्ट, कन्सल्टेन्ट सर्जन, कन्सल्टेन्ट न्यूरो सर्जन लगायत पद रहेका छन्।
अस्पतालमा दरबन्दीअनुसार नवौँ/दशौँ तहको अस्पताल नर्सिङ प्रशासक पनि रिक्त छ।
‘पटकपटक आग्रह गर्दा पनि बेवास्ता’

डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले स्थायी दरबन्दीमा विशेषज्ञ चिकित्सक पठाउन पटकपटक स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिएको बताए।
अस्पतालका समस्या लिएर धेरै पटक काठमाण्डू धाउँदा पनि नतिजा नआएको उनी बताउँछन्।
“बारम्बार मन्त्री, सचिवज्यूसहित सबैलाई आग्रह गर्यौँ। हामीले अहिले पनि विशेषज्ञ चिकित्सक ल्याउनका लागि पहिल गरिरहेकै छौँ,” अध्यक्ष ओझाले भने।
“हाम्रो अपेक्षा अनुरूप मन्त्रालयबाट डाक्टर पठाउने काम भइरहेको छैन। छात्रवृत्ति करार र करार सेवामा उपलब्ध रहेका विशेषज्ञ डाक्टर साहबहरूले सेवा दिइराख्नुभएको छ।”
स्थायी दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक अभाव हुँदा अस्पतालले प्रदान गर्ने सेवा प्रभावित भएको उनले बताए।
ओझाले भने, “स्वास्थ्य मन्त्रालयबाट जति विशेषज्ञ डाक्टर उपलब्धता हुनुपर्ने हो त्यो भएको अवस्था छैन। जसका कारण डडेल्धुरा अस्पतालले विशेषज्ञ र गुणस्तरीय सेवालाई प्रवाह गर्ने सवालमा एकदमै समस्या देखिएको छ।”
हाल १०० शय्यामा सञ्चालन भइरहेको अस्पताल ३०० शय्यामा स्तरोन्नति गर्न सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरेर मन्त्रालयमा पठाइएको ओझाले बताए।
“ओएनएम स्वीकृत भएर अहिले ३०० शय्याको अस्पताल सञ्चालन भएमा केही हदसम्म यहाँको स्वास्थ्य समस्यालाई समाधान गर्न सकिएला। ओएनएम अर्थ मन्त्रालयमा होल्ड छ।”
‘दुर्गम जान मान्दैनन्’

डडेल्धुरा अस्पताल दुर्गम ठाउँमा रहेको हुँदा यहाँ विशेषज्ञ चिकित्सक आउन नमान्ने गरेको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.सन्तोषकुमार गुप्ता बताउँछन्।
“यो ठाउँ अलि दुर्गम भएकाले धेरै चिकित्सक यहाँ नआउने, आउन नमान्ने गरेका छन्। दुर्गम र सुगममा काम गर्नेलाई सेवासुविधा समान भयो। दुर्गममा रहेका अस्पताललाई हेर्ने दृष्टिकोण फरक हुनुपर्छ भन्ने मलाई लाग्छ।”
उनले स्थायी दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको पनि बताए।
“धेरै विभागमा विशेषज्ञ चिकित्सक छैन्, ती विभागबाट हामी सेवा दिन असमर्थ छौँ,” मेसु डा.गुप्ताले भने, “त्यसैले अस्पतालमा आउने सेवाग्राहीले गुनासो गर्नु र असन्तुष्टि पोख्नु जायज नै हो।”
सरकारले डडेल्धुरा अस्पताललाई हेर्ने दृष्टिकोण फरक हुनुपर्ने उनको भनाइ छ।
मन्त्रालय के भन्छ?
सरकारी सेवाप्रति विशेषज्ञ चिकित्सकको खासै आकर्षण नहुँदा दरबन्दीअनुसार चिकित्सक पठाउन नसकिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी बताउँछन्।
विशेषज्ञ चिकित्सकलाई एक वर्षका लागि भए पनि डडेल्धुरा गएर सेवा गरिदिन मन्त्रालयले अनुरोध गरिरहेको उनले बताए।
“विगत केही वर्षदेखि सरकारी सेवामा विशेषज्ञ चिकित्सकहरूको आकर्षण देखिएन। त्यस कारण पनि त्यहाँ दरबन्दी खाली भएका हुन्,” बुढाथोकीले बीबीसीसँग भने।
“सुदूरपश्चिमका जनतालाई पनि विशिष्ट विशेषज्ञ सेवा चाहिन्छ भनेर मन्त्रालयले उत्तीर्ण भएर आएका विशेषज्ञ चिकित्सकलाई डडेल्धुरा जानुहोस् भनेर अनुरोध गरिरहेको छ।”
यद्यपि डडेल्धुरा र सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा विशेषज्ञ चिकित्सक पठाउन मन्त्रालय प्रयासरत रहेको उनले बताए।
उनी भन्छन्, “दुर्गम, अति दुर्गम र हिमाली जिल्लामा सेवा गर्नेहरूलाई केही थप प्रोत्साहन भत्ता वा दुर्गम भत्ता तथा विदेश भ्रमणको पनि मौका दिनुपर्छ भनेर मन्त्रालयमा गृहकार्य भइरहेको छ।”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








