आज रातीबाटै मतगणना, 'एक हप्ताभित्र भावी संसद्को खाका’

नेपाल निर्वाचन

तस्बिर स्रोत, ECNOfficial/Twitter

तस्बिरको क्याप्शन, बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राजधानी सहित यातायातको सहज पहुँच भएका कतिपय सुगम ठाउँहरूमा मत बाकसहरू एक ठाउँमा ल्याएर आइतवार रातीबाटै मतगणना सुरू गरिने बताएका छन्।

मतदानको समय सकिएपछि बीबीसीसँग कुरा गर्दै उनले रातीबाटै मतगणना सुरू हुने बताएका हुन्।

त्यसअघि प्रतिनिधिसभा र प्रदेशसभाका लागि भोट खसालेपछि उनले झन्डै २० प्रतिशत स्थानीय तहको मतगणना राती आठ बजेबाटै सुरु हुने दाबी गरेका थिए।

उनले दुर्गम क्षेत्रहरूको हकमा भने सोमबार अपरान्हसम्म एक ठाउँमा मतपेटिका ल्याइसक्ने र २ बजेबाट देशभरका सबै स्थानीय तहमा मतगणना प्रारम्भ गर्ने लक्ष्य राखिएको बताए।

उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा झन्डै ७० प्रतिशत मत खस्ने विश्वास व्यक्त गरे।

प्रतिनिधिसभा र सात वटै प्रदेशका प्रदेशसभाका सदस्य चयनका लागि भइरहेको चुनावमा प्रत्यक्ष र समानुपातिक प्रणालीमा गरी ५,६०० भन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन्।

कूल मतदाताको सङ्ख्या १,७९,८८,५७० रहेको छ जसको ५० दशमलव ८१ प्रतिशत पुरुष रहेका छन्।

मतगणनाबारे उनले के भने?

मतगणना

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, मतदाताहरू भोट खसाल्न लामवद्ध भइरहेका छन्

प्रमुख निर्वाचन आयुक्त थपलियाले समानुपातिक र प्रत्यक्ष दुवैको अन्तिम परिणाम मङ्सिर २२ गतेभित्र सार्वजनिक गर्ने लक्ष्य राखिएको बताए।

उनले भने, ‘हामीले आठ दिनभित्रमा सम्पूर्ण नतिजा प्रकाशित गरिसक्ने र अब बन्ने संसद्को एउटा खाका प्रस्तुत गर्नेछौँ। यद्यपि आयोगले मतगणना सम्पन्न गर्दैमा सम्पूर्ण जनप्रतिनिधिहरू निर्वाचित भइसक्नुहुन्न। समानुपातिक प्रणालीतर्फ कुन दललाई कति मत प्राप्त भयो भनेर आयोगले पत्राचार गर्नुपर्छ र त्यो आइपुग्ने भएकाले त्यो सम्पूर्ण काम मङ्सिर २२ गते सक्ने गरी रणनीति बनाएर हामीले काम गरिरहेका छौँ।’

उनले समानुपातिक र प्रत्यक्ष चुनाव प्रणालीको मतगणना सँगसँगै गर्नसक्ने अधिकार पनि स्थानीय प्रमुख निर्वाचन अधिकृतहरूलाई दिइएको बताए।

दुर्गम स्थानबाट मत बाकस सङ्कलनका लागि हेलिकोप्टरको प्रयोग गरिने उनको भनाइ छ।

तराईका जिल्ला, यातायात सुगम भएका जिल्ला र काठमाण्डू उपत्यकामा आइतवार नै सबै मतपेटिका सङ्कलन गर्ने र सर्वदलीय छलफल गरेर मतगणना थाल्ने उनले बताए।

मतगणना चाँडो गर्ने कर्मचारीहरूलाई विशेष प्रोत्साहनको व्यवस्था गरिएको उनको भनाइ छ।

निर्वाचन सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको बताएका उनले चुनावमा हुने कुनै पनि किसिमको हिंसालाई आयोगले लोकतन्त्रमाथिको अपमानका रूपमा लिइने धारणा राखे।