भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा हुँदा नेपालमा किन बढ्यो चासो

अयोध्यामा नवनिर्मित राम मन्दिरको प्रतिरूप, मुम्बई

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, भारतका विभिन्न स्थानमा अयोध्यामा नवनिर्मित राम मन्दिरको प्रतिरूप बनाइएका छन्

भारतको अयोध्यामा आउँदो सोमवार ८ गते राम मन्दिरको प्राणप्रतिष्ठा हुँदा तालिका हेरफेर नभएमा पूर्वराजा ज्ञानेन्द्र शाह मधेश प्रदेशमा रहने छन्।

वीरगन्जमा माघ १३ गते हुने गरिने आफ्नो अभिनन्दनको निम्ति उनी मधेश प्रदेश पुगेर विभिन्न जिल्लाको भ्रमण गरिरहेका छन्।

कतिपय भारतीय महन्तले ‘हिन्दू-सम्राट’को उपाधि दिने गरेकाले पनि भारतमा निकै महत्त्व साथ हेरिएको राम मन्दिरको प्राणप्रतिष्ठामा उनको सहभागिताबारे चासो पाइन्छ।

मधेश प्रदेशमा पूर्वराजासँगै रहेका उनका स्वकीय सचिव सागर तिमिल्सिनाले त्यसबारे आफूलाई कुनै जानकारी नभएको बताउँदै संवाद सचिवसँग बुझ्न भने।

काठमाण्डूमा रहेका संवाद सचिव फणिराज पाठक भन्छन्, “अहिलेसम्म मैले केही थाहा पाएको छैन।”

अयोध्यामा हुन लागेको प्राणप्रतिष्ठामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत देश र विदेशका विशिष्ट पाहुना सहभागी हुने बताइएको छ।

‘हिन्दू-सम्राट’ र योगी आदित्यनाथ

राम जन्मभूमि अयोध्या भारतको उत्तर प्रदेशमा पर्छ जहाँका मुख्यमन्त्री योगी आदित्यनाथ भएकाले पनि पूर्वराजा ज्ञानेन्द्रको सहभागिताप्रति थप चासो बढेको बताइन्छ।

मुख्यमन्त्री आदित्यनाथ प्रधानमन्त्री मोदीकै दलका हुन्। मुख्यमन्त्री बन्नुअघि योगी आदित्यनाथले सन् २०१६ मा काठमाण्डूमा आयोजित अन्तर्राष्ट्रिय विराट हिन्दू महासम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गरेका थिए।

उनले ज्ञानेन्द्र शाहलाई ‘दुनियाँका एक सय करोडभन्दा धेरै हिन्दूहरूका हृदय सम्राट, हिन्दू सम्राट श्री ५ महाराज’ र कोमल शाहलाई ‘सम्माननीय हिन्दू साम्राज्ञी’ भनेर सम्बोधन गरेका थिए।

आदित्यनाथ र ज्ञानेन्द्र शाह

तस्बिर स्रोत, Twitter/Yogi Adityanath

तस्बिरको क्याप्शन, फाइल तस्बिर

सन् २०१७ मा उत्तर प्रदेशको मुख्यमन्त्री बनेका योगी आदित्यनाथसँग शाहले सन् २०१८ को ज्यानुअरीमा भेट गरेका थिए।

उनीहरूबीच सन् २०२३ को मे महिनामा पनि भेटवार्ता भएको थियो। नेपालका शाह वंशीय राजा र भारतको गोरखनाथ मन्दिरबीच पुरानो सम्बन्ध छ।

सत्ताधारी भारतीय जनता पार्टी (भाजपा)का अध्यक्षसमेत रहिसकेका भारतीय रक्षामन्त्री राजनाथ सिंहले पनि मन्त्री हुनु अघि नेपालमा राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापनाको पक्षमा खुला रूपमा बोल्थे।

शङ्कराचार्यको असन्तुष्टि र पूर्वराजाको सम्बन्ध

भारतमा आउँदो आम चुनावलाई मध्यनजर राखेर मोदीले ‘धार्मिक राजनीतिको निम्ति अयोध्यालाई प्रयोग गर्न खोजिरहेको’ आरोप विपक्षी दलहरूले लगाइरहेका छन्।

कतिपय शङ्कराचार्य र महन्तहरूसमेत अयोध्यामा हुन थालेको प्राणप्रतिष्ठालाई लिएर सन्तुष्ट छैनन्।

हिन्दू सम्मेलन

तस्बिर स्रोत, Getty Images

भारतको ज्योतिर्मठका शङ्कराचार्य अविमुक्तेश्वरानन्द सरस्वतीले ‘अहिले त्यहाँ शास्त्रलाई बेवास्ता गरिएको, मन्दिर अझै पूर्ण नभएको र प्रतिष्ठा भइरहेको, अचानक गर्नु पर्ने अवस्था नदेखिएको’ भन्दै असन्तुष्टि जनाएका छन्।

गोवर्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती पनि सहभागी नहुने बताइएको छ। हुन लागेको प्राणप्रतिष्ठा शास्त्रअनुसार नहुने भन्दै उनले त्यहाँ जानु उचित नभएको बताएका छन्।

हिन्दूहरूका चार धाममध्ये जगन्नाथ मन्दिर रहेको पुरीमा गोवर्द्धन, रामेश्वरममा श्रृङ्गेरी, द्वारकामा शारदा र बद्रीनाथमा ज्योतिर्मठ छन्।

राम मन्दिर

तस्बिर स्रोत, Getty Images

गोवर्द्धन मठ रहेको जगन्नाथ मन्दिरसँग पनि नेपाली राजसंस्थाको पनि पुरानो सम्बन्ध छ।

स्वामी निश्चलानन्दले आफू मठको शङ्कराचार्य नियुक्त भएको २५ ‌औँ वर्ष गाँठको अवसरमा पूर्व राजा शाहलाई २०७४ सालमा निम्त्याएका थिए।

उनी नेपाल हिन्दू राष्ट्र नै भएको बताउँदै आएका शङ्कराचार्य हुन्। भारतीय सञ्चार माध्यमका अनुसार उनले सन् २०२५ सम्ममा भारत हिन्दू राष्ट्र बन्ने घोषणा पनि गरेका छन्।

नेपालबाट को को निम्त्याइए?

भाजपाले पनि त्यसमा सघाउन खोजिरहेको अनुमान र विश्लेषण नेपालमा गरिन्छ। कतिपय विश्लेषणहरू भारतको हिन्दूवादी सङ्गठन राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) ले पनि नेपालमा हिन्दूवादी गतिविधिलाई सघाइरहेको ठान्छन्।

विश्व हिन्दू परिषद् नेपालका अध्यक्ष टीकाबहादुर पहारीले प्राणप्रतिष्ठामा नेपालबाट करिब तीन सय जनाको सहभागिता हुने चर्चा सुनेको बताए।

“भारत सरकारसँग सुरक्षा लगायतबारे सल्लाह गरेर मन्दिरको समितिले नै आमन्त्रणको चाँजोपाँजो मिलाएको छ।”

नेपालमा रहेका सम्बन्धित महन्त, सम्प्रदाय र अखडा लगायतलाई श्रीराम जन्मभूमि तीर्थ क्षेत्रले निम्ता दिइरहेको बताइन्छ।

हिन्दू स्वयंसेवक सङ्घ नेपालको कोशी संभाग, विराटनगरका प्रचारक मुकेशकुमार साहका अनुसार त्यस प्रदेशमा चारजना सन्तलाई निम्ता दिइएको छ।

निम्तो

तस्बिर स्रोत, जगतगुरु नेपाल संचार केन्द्र

उनले विराटनगरस्थित लक्ष्मी नारायण मन्दिरका पीठाधीश स्वामी अच्युत प्रपन्नाचार्य, सुनसरीको चतरास्थित स्वामी बाल सन्त मोहनशरण देवाचार्य, चतराकै स्वामी सिद्धबाबा र झापाको शिवसताक्षी धामका पीठाधीश स्वामी नन्दकिशोर भारद्वाजलाई प्राण प्रतिष्ठामा सहभागी हुन निम्ता हस्तान्तरण गरिएको जानकारी दिए।

त्यस्तै पशुपतिनाथ र जानकी मन्दिरका महन्तका साथै धार्मिक गतिविधिमा सक्रिय र योगदान दिएका व्यक्तिहरूलाई पनि निम्ता आएको बताइएको छ।

निम्ता पत्र

प्राणप्रतिष्ठा माघ ८ गते हुँदै छ। पत्रमा माघ ७ गते अघि नै पुग्ने योजना बनाउन आग्रह गरिएको छ। जति छिटो पुग्यो त्यति सुविधा हुने भन्दै पत्रमा ढिलो गर्दा झन्झटको सामना गर्नु पर्ने हुनसक्ने उल्लेख छ।

श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महासचिव चम्पत रायको हस्ताक्षर रहेको निम्ता पत्रमा भनिएको छ, “हाम्रो प्रबल इच्छा छ कि तपाईँ यस पुनीत अवसरमा अयोध्यामा उपस्थित भएर प्राणप्रतिष्ठाको साक्षी बन्नुहोस् र महान् ऐतिहासिक दिवसको गरिमा अभिवर्धन गर्नुहोस्।” (निम्ता हिन्दी भाषामा छ।)

नेपालभित्र पनि आन्तरिक तयारी

विश्व हिन्दू परिषद् नेपालका राष्ट्रिय सङ्गठन सचिव प्रह्लादकुमार रेग्मीका अनुसार त्यस दिन नेपालमा पनि साइत अनुसार कार्यक्रमहरू निर्धारण गरिएका छन्।

हिन्दू स्वयंसेवक सङ्घ नेपालका प्रचारकसमेत रहेका रेग्मीले भने, “नेपाल भरका पाँच हजार मन्दिरहरूमा त्यो दिन मध्यान्ह १२ बजेदेखि १ बजेसम्म सत्सङ्ग भजन कीर्तन गर्ने, विजय महामन्त्र जप, आरती तथा प्रसाद वितरण अनि साँझ सबै हिन्दूहरूले दीप उत्सव गर्न आह्वान गरिएको छ।”

मोटरसाइकल र्‍यालीको निम्तो

तस्बिर स्रोत, विश्व हिन्दू परिषद नेपाल

उनका अनुसार सामूहिक रूपमा कलस यात्रा गर्ने जस्ता योजना पनि बनाइएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना नागरिकलाई ‘रामज्योती बाल्न र दीपावली मनाउन’ आग्रह गरेका छन्।

“जब अयोध्यामा प्रभु राम विराजमान हुनेछन्…२२ ज्यानुअरीको साँझ पूरै हिन्दुस्तानमा जगमग जगमग हुनु पर्ने छ,” मोदीले भनेका छन्।

नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अयोध्यामा हुन लागेको प्राणप्रतिष्ठामा नेपालबाट औपचारिक सहभागिताको निम्ति कुनै तह र निकायलाई गरिएको निमन्त्रणाबारे जानकारी नभएको बताएको छ।

मन्त्रालयका सूचना अधिकारी रामकृष्ण श्रेष्ठले भने, “त्यस सम्बन्धमा मलाई कुनै जानकारी छैन।”

भारतमा लामो विवादपछि अयोध्यामा राम मन्दिरको निर्माण सुरु भएको हो। त्यो विषय धार्मिक मात्र नभई कानुनी र राजनीतिक मुद्दा पनि बन्दै आएको छ।

राम मन्दिर

तस्बिर स्रोत, ANI

मुख्य घटनाक्रम: कहिले के भयो?

सन् १५२८: अयोध्यामा हिन्दूहरूले भगवान् रामको जन्मस्थान रहेको भनेको स्थानमा मस्जिदको निर्माण

सन् १८५३: सो स्थानमा पहिलो पटक धार्मिक हिंसा भएका विवरण

सन् १८५९: औपनिवेशकालीन ब्रिटिश शासकहरूद्वारा तारबार निर्माण। भित्री स्थलमा मुस्लिमलाई प्रार्थना अनि बाहिरी भेगमा हिन्दूलाई पूजा गर्न स्वीकृति दिनेगरी व्यवस्थापन

सन् १९४९: मस्जिदभित्र भगवान् रामका मूर्तिहरू देखा पर्छन्। हिन्दूहरूले ती मूर्ति राखिदिएको आशङ्काका माझ मुस्लिमद्वारा विरोध। दुवै पक्षद्वारा अदालतमा मुद्दा। सरकारले उक्त स्थान विवादित भन्दै ढोका बन्द गरिदिन्छ

सन् १९८४: विश्व हिन्दू परिषद्को अगुवाइमा हिन्दूहरूले भगवान् रामको जन्मस्थानलाई 'मुक्त' गर्न भन्दै समिति गठन। भारतीय जनता पार्टीका तत्कालीन नेता लालकृष्ण आडवाणीद्वारा अभियानलाई नेतृत्व प्रदान

सन् १९८६: जिल्ला न्यायाधीशद्वारा विवादित मस्जिदको ढोका खोलेर हिन्दूहरूलाई पूजा गर्न अनुमति प्रदान। मुस्लिमहरूद्वारा विरोधका निम्ति बाबरी मस्जिद एक्शन कमिटी गठन

सन् १९८९: विश्व हिन्दू परिषद्को अभियान तीव्र। विवादित मस्जिदसँगैको भूमिमा राम मन्दिरको जग निर्माण

सन् १९९०: परिषद्का कार्यकर्ताद्वारा मस्जिदमा आंशिक क्षति। विवादको वार्ताद्वारा हल गर्ने तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरको प्रयास अर्को वर्ष विफल

सन् १९९१: उत्तर प्रदेश राज्यमा भारतीय जनता पार्टीको सरकार गठन

सन् १९९२: विश्व हिन्दू परिषद्, शिवसेना तथा भारतीय जनता पार्टीका समर्थकहरूद्वारा मस्जिद ध्वस्त। लगत्तै देशभरि फैलिएको हिन्दू-मुस्लिम दङ्गामा दुई हजारभन्दा धेरै मानिसको मृत्यु

सन् १९९८: प्रधानमन्त्री अटल बिहारी वाजपेयीको नेतृत्वमा भारतीय जनता पार्टीको गठबन्धन सरकार निर्माण

सन् २००२ फेब्रुअरी: १५ मार्चको समयसीमाभित्र मन्दिर निर्माण थाल्ने विश्व हिन्दू परिषद्को चेतावनी। सयौँ स्वयंसेवक अयोध्यामा भेला। अयोध्याबाट फर्किरहेका हिन्दू अभियानकर्मी चढेको रेलमा गोधरामा आगजनी हुँदा कम्तीमा ५८ जनाको मृत्यु

सन् २००२ मार्च: रेलमा भएको आक्रमणपछि पश्चिमी राज्य गुजरातमा भएका दङ्गामा अधिकांश मुस्लिम सहित एकदेखि दुई हजार मानिसको मृत्यु

सन् २००२ एप्रिल: सो धार्मिक स्थल कसको स्वामित्वमा छ भन्ने जान्न तीन उच्च अदालतका न्यायाधीशहरूद्वारा सुनुवाइ थालनी

सन् २००३ ज्यानुअरी: अदालतको आदेशमा पुरातत्त्वविद्हरूद्वारा विवादित स्थलमा भगवान् रामको मन्दिर रहे नरहेकोबारे सर्वेक्षण थालनी

सन् २००३ अगस्ट: पुरातात्त्विक सर्वेक्षणमा त्यहाँ मस्जिदमुनि मन्दिर रहेको प्रमाण भेटिएको जानकारी। मुस्लिमहरूद्वारा त्यसको विरोध। हिन्दू अभियानकर्मी रामचन्द्रदास परमहंसको अन्तिम संस्कारका बेला बोल्दै वाजपेयीद्वारा उनको सपना साकार पार्दै अयोध्यामा राम मन्दिर निर्माण गर्ने वाचा। तर पहिले अदालत तथा वार्ताबाटै समस्याको समाधान निस्कने आशा प्रकट

सन् २००३ सेप्टेम्बर: बाबरी मस्जिद ध्वस्त पार्न उक्साएको आरोपमा सात हिन्दू नेताविरुद्ध मुद्दा चलाउन एक अदालतको आदेश। तर त्यतिखेरका उपप्रधानमन्त्री आडवाणीविरुद्ध कुनै अभियोग लगाइएन

सन् २००४ अक्टोबर: आडवाणीले आफ्नो पार्टीभित्र अयोध्यामा मन्दिर बनाउने अविचलित सङ्कल्प रहेको र त्यहाँ मन्दिर निर्माण अवश्यम्भावी रहेको भनाइ

सन् २०१०: इलाहावाद उच्च अदालतद्वारा विवादित जमिनलाई बराबर तीन भागमा बाँडेर मुस्लिम समुदाय, हिन्दू समुदाय र हिन्दू सन्न्यासीहरूको एउटा सम्प्रदाय निर्मोही अखडालाई दिनुपर्ने आदेश

सन् २०११: सर्वोच्च अदालतद्वारा उच्च अदालतको फैसला स्थगन

सन् २०१४: प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टीको पूर्ण बहुमत सहित सत्तारोहण

सन् २०१९: मोदीको नेतृत्वमा भारतीय जनता पार्टी पुन: विजयी

सन् २०१९ नोभेम्बर: भारतको सर्वोच्च अदालतद्वारा विवादित स्थलमा राम मन्दिर निर्माण गर्न बाटो खुला

सन् २०२० अगस्ट ५: विवादित स्थलमा भव्य राम मन्दिर निर्माणको आधारशीला राख्ने साइत तय

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।