राम मन्दिरको प्राणप्रतिष्ठामा शङ्कराचार्यहरू अयोध्या किन गइरहेका छैनन्?

तस्बिर स्रोत, FB/JAGADGURU SHANKARACHARYA SWAMI SHREE NISHCHALANAND SARASWATI
अयोध्याको निर्माणाधीन राम मन्दिरमा ज्यानुअरी २२ मा प्राणप्रतिष्ठा हुने मिति तय भएसँगै उक्त समारोहमा को-को सहभागी हुन्छन् भन्ने चर्चा पनि भइरहेको छ।
धेरै दिनदेखि सोधिएको यस प्रश्नको गत साता भारतीय राष्ट्रिय कङ्ग्रेसले जवाफ दिएको छ।
भारतीय जनता पार्टीलेले राम मन्दिरलाई राजनीतिक परियोजना बनाएको आरोप लगाउँदै कङ्ग्रेसले उक्त कार्यक्रममा सहभागी नहुने जनाएको छ।
कङ्ग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ: "भगवान् रामलाई करोडौँ भारतीयहरूले पूजा गर्छन्। धर्म मान्छेको व्यक्तिगत कुरा हो तर वर्षौँदेखि भाजपा र आरएसएसले अयोध्याको राम मन्दिरलाई राजनीतिक परियोजना बनाएको छ। यो अहिले अर्धनिर्मित मात्र रहेको स्पष्ट छ। चुनावी फाइदा उठाउनका लागि मात्रै मन्दिर उद्घाटन भइरहेको छ।”
"सर्वोच्च अदालतको सन् २०१९ को निर्णयलाई स्वीकार गर्दै, जनआस्थाको सम्मान गर्दै, मल्लिकार्जुन खरगे, सोनिया गान्धी र अधीर रञ्जन चौधरीले उक्त कार्यक्रमका लागि भाजपा र आरएसएसले गरेको निमन्त्रणालाई सम्मानपूर्वक अस्वीकार गर्नुभएको छ।"
विश्व हिन्दू परिषद्ले चाहिँ राम मन्दिर प्राणप्रतिष्ठा समारोहमा भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणी समेत सहभागी हुने पुष्टि गरेको छ। यसअघि आडवाणी कार्यक्रममा सहभागी नहुने खबर आएको थियो।
कङ्ग्रेसबाहेक दुई जना शङ्कराचार्यले पनि राम मन्दिर प्राणप्रतिष्ठा कार्यक्रममा जान अस्वीकार गरेका छन्।
यद्यपि अन्य दुई शंकराचार्यले विज्ञप्ति जारी गर्दै सबैलाई कार्यक्रममा उपस्थित हुन आग्रह गरेका छन्।

तस्बिर स्रोत, SHURAIH NIYAZI/BBC
शङ्कराचार्यको महत्व
धार्मिक मान्यताअनुसार शङ्कराचार्य हिन्दू धर्म गुरुको सर्वोच्च पद हो।
हिन्दू धर्ममा शङ्कराचार्यलाई सम्मान र आस्थाको नजरले हेरिन्छ।
आदि शङ्कराचार्य हिन्दू धर्मको दार्शनिक व्याख्याका लागि पनि परिचित छन्।
आदि शङ्कराचार्यले हिन्दू धर्मको प्रचारप्रसारका लागि चारवटा मठ स्थापना गरेका थिए। ती मठहरूको काम धर्म प्रचार गर्नु थियो।
ती चार मठहरू हुन्:
- श्रृङ्गेरी मठ, कर्नाटक- शङ्कराचार्य भारतीतीर्थ महाराज
- गोवर्धन मठ, पुरी ओडिशा- शङ्कराचार्य निश्चलानन्द सरस्वती महाराज
- शारदा मठ, द्वारका गुजरात- शङ्कराचार्य सदानन्द महाराज
- ज्योतिर्मठ, बदरिका उत्तराखण्ड- शङ्कराचार्य अविमुक्तेश्वरानन्द महाराज
हिन्दू धर्ममा यी मठहरूको ठूलो महत्व छ।
त्यसैले राममन्दिर प्राणप्रतिष्ठा कार्यक्रमको मिति तय भएपछि शङ्कराचार्यको अडान पनि जान्ने प्रयास भएको थियो।

तस्बिर स्रोत, Getty Images
शङ्कराचार्य किन जाँदैनन्?
ज्योतिर्मठका शङ्कराचार्य अविमुक्तेश्वरानन्द सरस्वतीले उक्त प्राणप्रतिष्ठा कार्यक्रममा देशका चारवटै मठका शङ्कराचार्य सहभागी नहुने बताएका छन्।
उनका अनुसार त्यो कार्यक्रम शास्त्रबमोजिम आयोजना हुन गइरहेको छैन।
तर शृङ्गेरी मठले विज्ञप्ति जारी गर्दै शङ्कराचार्य भारती तीर्थको तस्बिरसहित सन्देश पोस्ट गरिएको भन्दै शृङ्गेरीका शङ्कराचार्यले प्राणप्रतिष्ठाको विरोध गरेको आशङ्काप्रति स्पष्टिकरण दिएको छ।
उक्त मठका अनुसार शङ्कराचार्यले त्यस्तो कुनै सन्देश दिएका छैनन् र अहिले भइरहेको प्रचार गलत हो।
प्राणप्रतिष्ठा कार्यक्रममा सहभागी हुन शृङ्गेरी शङ्कराचार्यको तर्फबाट अपिल गरिएको छ।
यद्यपि शङ्कराचार्य आफैँ अयोध्या जाने र सहभागी हुने वा नहुने भन्ने विषयमा विज्ञप्तिमा स्पष्ट रूपमा केही भनिएको छैन।
अर्कोतर्फ शङ्कराचार्य अविमुक्तेश्वरानन्दको भने एउटा भिडियो सामाजिक सञ्जालमा शेअर भइरहेको छ।
उक्त भिडिओमा शङ्कराचार्य अविमुक्तेश्वरानन्द भन्छन्: "यदि यो रामानन्द सम्प्रदायको मन्दिर हो भने चम्पत राय त्यहाँ के गर्दै हुनुहुन्छ?" यी मानिसहरू त्यहाँबाट हट्नुपर्छ। हटेर रामानन्द सम्प्रदायलाई पहिले प्रतिष्ठा सुम्पिदिनुहोस्। हामी मोदी विरोधी होइनौँ तर धर्मशास्त्रविरोधी पनि हुन चाहँदैनौँ।”

तस्बिर स्रोत, X
श्रीराम जन्मभूमि ट्रस्टका महासचिव चम्पत रायले हालै राम मन्दिर रामानन्द सम्प्रदायको भएको बताएका थिए।
शङ्कराचार्य अविमुक्तेश्वरानन्दले भनेका छन्, "चारै शङ्कराचार्यहरूले कुनै आसक्ति वा घृणाका कारण होइन तर शास्त्रको पालना गरेर त्यसलाई पूरा गर्ने जिम्मेवारी शङ्कराचार्यको हो।"
“अहिले त्यहाँ शास्त्रलाई बेवास्ता गरिएको छ। मन्दिर अझै पूर्ण छैन र प्रतिष्ठा भइरहेको छ। अचानक गर्नु पर्ने अवस्था देखिँदैन।”
“कुनै बेला त्यहाँ रातमा मूर्ति राखिएको थियो त्यो एउटा विशेष परिस्थिति थियो। सन् १९९२ मा संरचना भत्काउँदा कसैले शुभ-मुहूर्त हेरेको थियो र? त्यसबेला कुनै पनि शङ्कराचार्यले प्रश्न उठाएनन् किनभने परिस्थिति त्यस बेला त्यस्तै थियो।''
शङ्कराचार्य अविमुक्तेश्वरानन्दले भने, “आज हामीसँग प्रतिष्ठा राम्रोसँग गर्ने मौका छ। त्यसैले म बोलिरहेको छु अनि मलाई मोदीविरोधी भनिरहेका छन्। हामी आफैँ धर्मशास्त्रको पालना गर्न चाहन्छौँ र जनतालाई पनि पालन गराउन चाहन्छौँ।”
“धर्मशास्त्रले नै राम छन् भनी बताएको छ। जुन शास्त्रबाट हामीले रामलाई चिनेका छौँ त्यही शास्त्रबाट प्राणप्रतिष्ठा पनि जान्दछौँ। त्यसैले त्यहाँ कुनै शङ्कराचार्य जाँदैनन्।”

तस्बिर स्रोत, ANI
पुरीको गोवर्धन मठका शङ्कराचार्यले के भने?
गोवर्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतीले एक च्यानललाई भनेका छन्, “प्राणप्रतिष्ठा कार्यक्रममा निम्तो दिएमा गर्व हुने र निमन्त्रणा नगरेमा रिस उठ्ने खालको मेरो हृदय होइन।”
“शास्त्रअनुसार रामको प्रतिष्ठा हुनु आवश्यक छ। अहिले शास्त्रअनुसार प्रतिष्ठा हुन सकेको छैन, त्यसैले त्यहाँ जानु उचित हुँदैन। एकजना व्यक्तिसँग आउन सक्नुहुन्छ भन्ने निमन्त्रणा त आएको छ।”
उनले थप भनेका छन्, "कसले मूर्तिलाई छुने र कसले नछुने भन्ने कुरामा सचेत हुनुपर्छ। पुराणमा विधिवत भएमा मात्र देवता (मूर्ति) प्रतिष्ठित हुन्छन् भनिएको छ।”
“यदि यो ठीकसँग गर्न सकिएन भने देवी-देवताहरू क्रोधित हुन्छन्। यो खेलवाड गर्ने कुरा होइन। ठीकसँग गरे मात्रै देवताको तेज सबैका लागि कल्याणकारी हुन्छ, नत्र विस्फोटक हुन्छ।”
उनले भने, "मोदीजीले मूर्तिको उद्घाटन गर्नेछन्, प्रतिमा छुनेछन् अनि म चाहिँ त्यहाँ ताली बजाउने र जयजयकार गर्नेछु? मैले सबैभन्दा उच्च पद पाएको छु। मलाई आफ्नो पदको गरिमाको बारेमा थाहा छ।”
“म त्यहाँ गए भने बढीभन्दा बढी पाउने भनेको मोदीजीको नमस्कार त हो नि हैन र? म अयोध्याको विरोधी होइन। त्यहाँ मेरो सम्बन्ध टुट्ने छैन। तर यस अवसरमा जानु उचित होइन।”

तस्बिर स्रोत, X
प्रधानमन्त्री मोदीले गर्ने प्राणप्रतिष्ठाबारे उनी भन्छन्, “दुई वर्षपछि मोदीजीले प्रतिष्ठा गरेको भए पनि मूर्तिलाई उचित रूपमा प्राणप्रतिष्ठा हुनुपर्छ भन्ने प्रश्न उठाउने थिएँ। अहिले अयोध्यामा शास्त्रको पालना भइरहेको छैन। अरु कुनै कारण छैन। म कुनै पार्टीमा आबद्ध छैन। मलाई पटक्कै रिस उठ्दैन।”
यस सम्बन्धमा शारदापीठका तर्फबाट शङ्कराचार्यको सामाजिक सञ्जालमा धारणा शेअर गरिएको छ।
त्यसमा भनिएको छ, “शङ्कराचार्य सदानन्द महाराजको कुनै वक्तव्य जारी गरिएको छैन। हाम्रा गुरुदेवले राम मन्दिरका लागि धेरै प्रयास गर्नु भएको थिए र यो विवाद ५०० वर्षपछि अन्त्य भएको छ।”
“वेद, शास्त्र र धर्मको मर्यादालाई ध्यानमा राखी प्राणप्रतिष्ठा समारोह सम्पन्न होस् भन्ने हाम्रो चाहना छ।”
तर उक्त विज्ञप्तिमा पनि द्वारका मठका शङ्कराचार्य स्वयम् अभिषेकमा सहभागी हुने कि नहुने भन्ने उल्लेख छैन।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








