के–पप सङ्गीतमा एआईको प्रयोग कति सफल होला?

तस्बिर स्रोत, Getty Images
- Author, मेगन लटन
- Role, आर्थिक संवाददाता
एउटा विषयले अहिले के–पप सङ्गीतका प्रशंसकहरूलाई सदस्यहरूलाई विभाजित गराइराखेको छ– त्यो हो आर्टिफिशल इन्टेलिजन्स (एआई)।
उक्त विधाका केही ठूला कलाकारहरूले गीत र भिडिओको उत्पादनका निम्ति एआईको प्रयोग गर्न सुरु गरेका छन्। यसमा युवकहरूको ब्यान्ड 'सेभन्टीन' पनि सामेल छ।
यो समूहले गत वर्ष १ करोड ६० लाख प्रति एल्बम बेच्यो, जसले उनीहरूलाई के-पपको इतिहासकै सबैभन्दा सफल बनायो। तर मानिसहरू अहिले उनीहरूको पछिल्लो एल्बम तथा गीत ‘मेइस्ट्रो’ को बारेमा चर्चा गरिराखेका छन्।
उक्त गीतको भिडिओमा एआईद्वारा निर्मित दृश्यको प्रयोग गरिएको छ। सोलमा भएको एल्बम विमोचन कार्यक्रममा संवाददातासमक्ष उक्त ब्यान्डका एक जना सदस्य वूजीले यसको सङ्गीर सिर्जना गर्ने क्रममा एआईको ‘परीक्षण’ गरिएको बताए।
“हामीले एआईमार्फत् गीत बनाउने अभ्यास गर्यौँ। हामी प्रविधिको बारेमा गुनासो गर्नुभन्दा सँगसँगै विकसित हुन चाहन्छौँ,” उनले भने।
“प्राविधिक विकासप्रति हामी असन्तुष्ट हुने होइन, त्यसबाट फाइदा लिनुपर्छ। मैले एआईको प्रयोग गर्ने अभ्यास गरेँ र यसका राम्रा तथा नराम्रा पक्षलाई केलाउने प्रयत्न गरेँ।”
यद्यपि त्यसयता वूजीले इन्स्टाग्राममार्फत् 'सेभन्टीन'का सबै गीतका शब्द तथा सङ्गीत मानव–रचित भएको बताएका छन्।
प्रशंसकहरूको प्रतिक्रिया

तस्बिर स्रोत, Ashley Peralta
के-पपबारे बहस हुने विभिन्न पेजहरूमा प्रशंसकहरू भने दुःखी देखिएका छन्। कतिपयले उक्त प्रविधिको प्रयोग सामान्य बन्नुअगावै यसबारे नियमन हुनुपर्ने माग गरेका छन्।
यसलाई सामान्य रूपमा लिनेहरू पनि छन्। तीमध्ये के–पपकी प्रशंसक २६ वर्षीय एश्ली पेराल्टा पनि हुन्। "यदि एआईले कलाकारको रचनात्मक अवरोधलाई हटाउन मद्दत गर्छ भने त्यो मलाई ठिक लाग्छ," उनी भन्छिन्।
यद्यपि पेराल्टा एआईबाट लेखिएका गीतहरूले पूरै एल्बम बनेमा प्रशंसकले आफूलाई मन पर्ने सङ्गीतकारसँग निकटता महसुस गर्न नसक्ने भन्दै चिन्ता व्यक्त गर्छिन्।
“मलाई कलाकारका भावना प्रतिबिम्बित भएका गीतसङ्गीत मन पर्छ्न,” उनी भन्छिन्, "आफैँले शब्द, नृत्य र सङ्गीत संयोजन गर्ने के–पप कलाकारलाई अधिक सम्मान गर्ने गरिन्छ किनभने तपाईँ त्यसमा उनीहरूको सोच र भावना भेट्टाउनुहुन्छ।"
“एआईले प्रशंसक र कलाकारलाई जोड्ने त्यही महत्त्वपूर्ण कडीलाई हटाइदिन सक्छ।”
पेराल्टा आफ्नी साथी चेल्सी टोलेडोसँग मिलेर ‘स्पिल द सोजु’ शीर्षकको के-पपमा आधारित पड्कास्ट सञ्चालन गर्छिन्। टोलेडो ‘सेभन्टीन’ समूहको बहुआयामिक रचनात्मकताको प्रशंसा गर्छिन्। त्यो भनेको उनीहरू आफैँ गीत लेख्नुका साथै नृत्य संयोजन पनि गर्छन्। तर उनी उक्त समूहको प्रतिष्ठामाथि एआईले पारिरहेको असरबारे भने चिन्तित छिन्।
“यदि उनीहरूले आफैँले व्यक्तिगत रूपमा नलेखेका गीतहरूले भरिएको एल्बम सार्वजनिक गरे भने मलाई ती गीतहरू 'सेभन्टीन'को जस्तो लाग्छ वा लाग्दैन थाहा छैन। प्रशंसकहरूले वास्तवमै उनीहरूकै आधिकारिक रचना चाहिरहेका छन्।”
'एक कदम अगाडि'

तस्बिर स्रोत, Chris Nairn
के-पपको उत्पादन क्षेत्रमा काम गरिरहेकाहरूले भने कलाकारहरू नयाँ प्रविधितर्फ अघि बढ्नुलाई नौलो मानेका छैनन्।
क्रिस नेर्न निर्माता, गीतकार तथा सङ्गीतकार हुन् जो 'अजोडी'को नामले सक्रिय छन्। विगत १२ वर्षमा उनले किम वूजीनजस्ता के-पप कलाकार तथा एसएम इन्टर्टेन्मन्टजस्ता शीर्ष एजेन्सीका निम्ति गीत लेखेका छन्।
हाल यूकेको ब्राइटनमा बस्ने 'अजोडी'ले के-पपका कलाकारसँग काम गर्नुको अर्थ उनले धेरै समय दक्षिण कोरियामा बिताउनु पनि हो। उनी त्यहाँको सङ्गीत उद्योग प्रगतिशील रहेको बताउँछन्।
“सोलमा रहँदा मैले बुझेको कुरा कोरियालीहरू आविष्कारका विषयमा धेरै माथि छन्। यसपछि अब अर्को कुरा के हुन सक्छ त भन्नेबारे उनीहरू धेरै सोच्छन्। त्यसलाई थप एक कदम अगाडि कसरी लैजान सकिन्छ भनेर सोधखोज गर्छन्। म त्यहाँ रहँदा यो कुराले साँच्चै प्रभावित गरेको थियो,” उनी भन्छन्।
“त्यसैले मेरो लागि उनीहरूले गीत लेखनमा एआईको प्रयोग गरिरहेको कुरा कुनै नौलो होइन। यो भनेको प्रविधिसँग ताल मिलाउने कुरा हो।”
'संवेदनशील विषय'

तस्बिर स्रोत, Getty Images
के एआई के-पपको भविष्य हो? नेर्न यसबारे स्पष्ट छैनन्। स्वयं एआईको परीक्षण गरिरहेका उनी एआई सिर्जित रचनाहरू दिग्गज कलाकारहरूका निम्ति उपयुक्त नहुन सक्ने बताउँछन्।
“एआईले गुणस्तरीय सामग्रीहरू दिइरहेको छ। तर जब तपाईँ गीत लेखनको शीर्ष स्थानमा हुनुहुन्छ, सामान्यतया: त्यस्तोमा उत्कृष्ट रचना गर्ने मान्छेले नितान्त मौलिक र नयाँ सिर्जना गर्छन्। एआईले पहिले नै इन्टरनेटमा उपलब्ध सामग्रीहरूमा आधारित भएर काम गर्छ। यसले आफैँले आविष्कार गर्न सक्दैन।”
नेर्न अरू केही नभए पनि एआईको प्रयोगले के–पपको क्षेत्रमा व्यक्तिगत रूपमा लेखिएका गीतहरूको माग भने बढाउने आकलन गर्छन्।
“कलाकारहरूमाथि उनीहरूको हृदयबाट सिर्जना भएका गीत सुन्नका निम्ति प्रशंसकहरूको दबाव हुनेछ। त्यस्ता गीतहरू एआई सिर्जित गीतभन्दा भिन्न सुनिने छन्।”
एआईबारे परीक्षण गरिरहेका साङ्गीतिक समूहमा 'सेभन्टीन' मात्रै पर्दैन। युवतीहरूको समूह ‘एस्पा’ मा पनि केही एआई सदस्य र केही मानव सदस्यहरू छन्।
यो समूहले पनि आफ्नो पछिल्लो भिडिओमा एआईको प्रयोग गरेको छ। ‘सुपरनाेभा’ नामक गीतमा एआईबाट निर्मित दृश्यहरूको प्रयोग गरिएको छ, जहाँ साङ्गीतिक समूहका सदस्यहरूको अनुहार नचले पनि उनीहरूको मुख भने चलेको देखिन्छ।
पड्कास्ट सञ्चालक तथा के-पप प्रशंसक चेल्सी यसले धेरै जनालाई ‘आक्रोशित’ बनाएको बताउँछिन्।
“के-पप चिनिएकै व्यापक उत्पादन र सम्पादनले हो। त्यसैले पूरै एआईले बनाएका दृश्य प्रयोग हुनुले त्यो आकर्षण नै हराउँछ,” उनी भन्छिन्।
चेल्सी कलाकारले उपयुक्त श्रेय पनि नपाउने चिन्ता गर्छिन्। “एआई भिडिओहरूमा कसैको मौलिक कलाकर्म चोरिएको छ कि भनेर थाहा पाउन कठिन हुन्छ। यो एकदमै संवेदनशील विषय हो।”
नियमनको चाहना
आफूलाई के-पप प्रशंसकका रूपमा चिनाउने अर्पिता आध्या सङ्गीत पत्रकार हुन्। उनी यो क्षेत्रमा एआईको प्रयोगले नयाँ सिर्जनाका निम्ति कलाकारहरू कति दबावमा हुन्छन् भन्ने कुरा दर्साउने धारणा राख्छिन्।
“धेरै कलाकारहरूले दुई वर्षमा एउटा एल्बम ल्याउँछन्। तर के-पप समूहले हरेक छदेखि आठ महिनामा एल्बम निकालिरहेका छन् किनभने उनीहरूको बारेमा व्यापक चर्चा हुने गर्छ।”
यूट्यूबमा गीतका एआई–सिर्जित 'कभर' संस्करणहरूको व्यापकता आएसँगै गीतसङ्गीत उद्योगमा एआईको प्रयोग सामान्य भइसकेको उनी बताउँछिन्। के–पपका प्रशंसकहरूले त्यस्ता 'कभर ट्रयाक' बनाएका छन् र अन्य कलाकारको आवाजको नक्कल गर्न प्रविधिको प्रयोग भइरहेको छ।
अर्पिताले नियमन चाहेको पनि यिनै प्रवृत्तिमा हुन्। केही पश्चिमा कलाकारहरूले पनि यस्तै नियमनको आह्वान गर्दै आएका छन्।
गत महिना मात्रै बिली आइलिस र निकी मिनाजजस्ता दिग्गज कलाकारले खुला पत्र लेख्दै गीतसङ्गीत उद्योगमा भइरहेको एआईको "संहारकारी" प्रयोगमा रोक लगाउन आह्वान गरेका थिए।
उनीहरूले प्रविधि कम्पनीहरूलाई “गीतकार र कलाकारको मानवीय रचनात्मकतालाई प्रतिस्थापन गर्ने, बेवास्ता गर्ने र उपयुक्त पारिश्रमिक नदिने” किसिमले एआई प्रविधिको विकास नगर्न आग्रह गरेका हुन्।
अर्पिताको विचारमा भने नियमनको अभावको अर्थ प्रशंसक स्वयंले नै ठिक–बेठिक छुट्टाएर नियमनको बाध्यता महसुस गर्नु हो।
“कलाकारले एआईको प्रयोग कति गर्न पाउने र कति नपाउने भन्ने बारेमा स्पष्ट नीति नहुँदा हामी स्वयं सीमा निर्धारण गर्न सङ्घर्ष गरिरहेका छौँ। हामी सधैँ ‘के ठिक हो र के बेठीक’ भन्नेमा जिज्ञासु छौँ।"
के-पप कलाकारहरू जनचासोबारे सचेत रहेकोमा उनी अनुग्रहित छिन्। उनी त्यसले परिवर्तन ल्याउने (मौलिक रचना नमर्ने)मा आशावादी समेत छिन्।
“प्रशंसकहरू के–पप क्षेत्रको ठूलो हिस्सामध्येका हुन्। कलाकारहरूमाथि उनीहरूको ठूलो प्रभाव रहन्छ। उनीहरू सधैँ सिक्न र सुन्न लालायित छन्। यदि 'सेभन्टीन' र 'एस्पा'ले आफूले प्रशंसकहरूमाथि चोट पुर्याइरहेको महसुस गर्छन् भने उनीहरूले सम्भवतः यो विषयलाई सम्बोधन पनि गर्नेछन्।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








