कोरियाली पप स्टारले गरे एकैदिनमा १,००० प्रशंसकसँग अङ्कमाल

के-पप समूह बीटीएसका जिन सैन्य सेवाबाट मुक्त भएपछि सोही समूहका अन्य सदस्य आरएमसँग

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, के-पप समूह बीटीएसका जिन सैन्य सेवाबाट फर्किएपछि उनलाई सोही समूहका अर्का सदस्य आरएमले स्वागत गरेका थिए

दक्षिण कोरियाली सेनामा अनिवार्य सेवा सकेर डेढ वर्षपछि फर्किएका के-पप साङ्गीतिक समूह बीटीएसका सदस्य जिनले राजधानी सोलमा आयोजित एउटा कार्यक्रममा प्रशंसकहरूसँग प्रत्यक्ष भेटघाट गरेका छन्।

त्यस क्रममा उनले लामबद्ध १,००० प्रशंसकहरूलाई अङ्कमाल पनि गरे।

उनलाई अङ्कमाल गर्न पाउने मानिसहरूलाई गोलाप्रथाबाट छानिएको थियो।

"जिनलाई भेट्न पाउने भएकाले म निकै खुसी छु," गत सप्ताहान्तमा बिहीवारको कार्यक्रममा सहभागी हुने अवसर पाउने जानकारी पाएपछि एक युवतीले भनेकी थिइन्।

एकतीस वर्षीय जिन के-पप समूह बीटीएसका सबैभन्दा जेठा सदस्य हुन्। उनी डिसेम्बर २०२२ मा सेनामा भर्ती भएका थिए।

दक्षिण कोरियाली सेनाको एउटा तालिम केन्द्रमा उनले कवाज सहायक प्रशिक्षक भएर काम गरे।

दक्षिण कोरियामा तन्दुरुस्त शरीर भएका १८ देखि २८ वर्षसम्मका साङ्ग पुरुषहरूले अनिवार्य सैन्य सेवा गर्नुपर्छ।

बीटीएस स्थापनाको वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको विशेष कार्यक्रम 'बीटीएस फेस्टा २०२४' मा सहभागी हुने हजारौँ प्रशंसकहरू सोल पुगेका छन्।

गत वर्ष बीटीएसको वार्षिकोत्सवको कार्यक्रममा चार लाख मानिस सहभागी भएका थिए। यसपालि उक्त सङ्ख्या अझै बढी हुन सक्ने समाचारसंस्था एएफपीले जनाएको छ।

उक्त कार्यक्रमस्थलनजिकै जिनले आफ्ना प्रशंसकहरूलाई अङ्कमाल गरेका हुन्।

फेस्टा आयोजनास्थलमा जान स्थानीय समयानुसार बिहान ७ बजेदेखि नै मानिसहरूको घुइँचो लागेको थियो। उनीहरूको पङ्क्ति तीन किलोमिटर लामो देखिएको समाचारसंस्था एएफपीले जनाएको छ।

बीटीएसकी एक प्रंशक

तस्बिर स्रोत, Reuters

बीटीएसका प्रशंसकहरू

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, थाईल्यान्डबाट आएका प्रशंसकहरू बीटीएसको वार्षिकोत्सवका अवसरमा सोलस्थित एउटा रङ्गशालामा आयोजित '२०२३ बीटीएस फेस्टा'मा उक्त के-पप समूहका सदस्यहरूको तस्बिर र अन्य चिनोसहित पुगेका थिए

जिनलाई स्वागत गर्न अरू छ जना बिदा लिए

जिन सैन्य सेवा पूरा गर्ने बीटीएसका प्रथम सदस्य हुन्।

अरू छ सदस्य - जे-होप, भी, आरएम, जिमिन, जङ कूक र सुगा - अझै सैन्य सेवामा छन्।

सैन्य पोसाकमा बीटीएसका जिन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, जिन डेढ वर्षको सैन्य सेवा सकेर जिन बुधवार सामान्य जीवनमा फर्किएका हुन्
बीटीएसका सबै सदस्य

तस्बिर स्रोत, @BTS_twt

तस्बिरको क्याप्शन, जिनको सैन्य सेवा सकिएपछि बीटीएसका अन्य छ सदस्यले पनि बिदा मिलाएर उनलाई स्वागत गर्न गएका थिए

सबै जनाको सेवा सकिएपछि बीटीएसका सदस्यहरूको आगामी वर्ष जुन महिनामा साङ्गीतिक पुनर्मिलन हुने ठानिएको छ।

यद्यपि जिनको सेवा सकिएको उपलक्ष्यमा बुधवार सबै जनाले बिदा लिएर रमाइलो गरेका थिए।

उनीहरूको भेटघाटका बेला खिचिएका तस्बिर देखेर प्रशंसकहरू निकै उत्साहित बनेका छन्।

सामान्य जीवनमा फर्किएपछि जिनले बुधवार लाइभस्ट्रीममा आफ्ना प्रशंसकहरू कुरा गरे। "मलाई पर्खिनुभएकोमा धन्यवाद। म तपाईँहरूलाई माया गर्छु। म भोलि आफ्नो अनुभूति अभिव्यक्त गर्ने प्रयास गर्छु," उनले भने।

बुधवार जिनले प्रशंसकहरूलाई अङ्कमाल गर्ने अवधारणा आफ्नो भएको र आफूले पहिला त ३,००० जनालाई अङ्कमाल गर्न चाहेको बताएका थिए।

जिनकी एक प्रशंसक

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, बीटीएसकी एक प्रशंसक बीटीएसका तस्बिरहरूले आफ्नो गाडी सिँगारेर बीटीएसको ११औँ वार्षिकोत्सवका अवसरमा बिहीवार '२०२३ बीटीएस फेस्टा'मा कार्यक्रममा भाग लिन गएकी थिइन्

अङ्कमाल गर्ने अवसरबारे विवाद

उक्त कार्यक्रममा सहभागी हुन पाउने अवसरका प्रावधानबारे असन्तुष्टि पनि व्यक्त भएको थियो। सुरुमा सहभागी हुने अवसर पाउन प्रशंसकहरूले "आर्मी" नामक ग्रूपमा सदस्य बनेको हुनुपर्ने बताइएको थियो। उक्त समूहमा २.५ करोड सदस्य छन्। अनि गोलाप्रथाका लागि योग्य हुन उनीहरूले एउटा निश्चित वेबसाइटबाट बीटीएसका एल्बमहरू किनेको हुनुपर्थ्यो।

धेरै एल्बम किन्नेले जिनलाई अङ्कमाल गर्न पाउने सम्भावना बढी हुने बताइएको थियो।

त्यस्तो व्यवस्थाका कारण असन्तोष चुलियो। अनि बीटीएसका कार्यक्रमहरूक व्यवस्थापन गर्ने कम्पनी 'हाइब'माथि एल्बम बिकाउन खोजेको आरोप लाग्यो। हाइबले पछि क्षमा माग्यो र बीटीएसका एल्बम जहिलेसुकै किनेका व्यक्तिलाई पनि गोलाप्रथामा समावेश हुन दिइने बनायो।

जिनले बुधवार उक्त विवादबारे बोले। "उक्त कम्पनी र मैले राम्रो उद्देश्यले त्यसो गरेका थियौँ। त्यसैले कृपया बुझिदिनुहोला," उनले भने।

बीटीएस के अझै के-पपमा चम्किन सक्ला?

दक्षिण कोरियाली साङ्गीतिक समूह 'बीटीएस'का सदस्यहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, दक्षिण कोरियाली साङ्गीतिक समूह 'बीटीएस' विश्वभरि लोकप्रिय छ

जिनको पुनरागमनलाई प्रशंसकहरूले बीटीएस फेरि के-पपमा चम्किने आशाको आधार मानेका छन्।

तर कोरियाली साङ्गीतिक उद्योगभित्रका मानिसहरू यति लामो विरामपछि विश्वविख्यात उक्त समूह पहिला जसरी नै सफल होला कि नहोला भन्ने प्रश्न गर्छन्।

"बीटीएसलाई बूढो मानिने छ," सङ्गीत समीक्षक लिम ही‍-युन भन्छन्। तर उमेरलाई उक्त ब्यान्डको छविमा असर पार्ने उनको धारणा छ।

"बीटीएस एक दशकभन्दा लामो समय सक्रिय रह्यो। त्यसले नयाँ र तन्नेरी प्रशंसकहरूलाई आकर्षित गर्न सक्दैन। तर यसका विद्यमान प्रशंसकहरू आधार भने कायम रहने छन्। ब्यान्डसँगै उनीहरूको उमेर पनि ढल्किँदै छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।