रुसमा प्रतिष्ठित मानव अधिकारवादीलाई जेलसजाय

तस्बिर स्रोत, Reuters
- Author, स्टिभ रोजनबेर्ग
- Role, रुस सम्पादक
रुसका एकजना प्रतिष्ठित मानव अधिकारकर्मीलाई अदालतले दुई वर्ष ६ महिनाको जेलसजाय सुनाएको छ।
मुद्दाको दोहोर्याएर सुनुवाइ गर्नुअघि सत्तरी वर्षीय अधिकारकर्मी ओलेग आर्लोभलाई जरिवाना मात्रा सुनाइएको थियो।
न्यायाधीशको आदेशको प्रतीक्षामा आर्लोभ अदालतभित्र शान्तिपूर्वक बसिरहेका देखिए।
अदालतको कोठा नं ५१८ उनका शुभचिन्तक, विदेशी राजदूतहरू र पत्रकारहरूले खचाखच थियो।
न्यायाधीश इजलासभित्र छिरिन् र आदेश पढेर सुनाउन थालिन्।
अनुभवी मानव अधिकारकर्मी आर्लोभलाई रुसी फौजविरुद्ध “निरन्तर अविश्वास फैलाउँदै आएको” अभियोगमा दोषी ठहर गरिन्।
पुनः सुनुवाइ

तस्बिर स्रोत, Reuters
उनले गरेको अपराधको किटान गर्दै न्यायाधीशले सजाय घोषणा गरिन्, “नोबेल शान्ति पुरस्कार विजेता मानव अधिकार समूह मेमोरीअलका सहअध्यक्ष ओलेग आर्लोभलाई साढे दुई वर्षको जेलसजाय दिइएको छ।”
हत्कडीमा देखिएका आर्लोभलाई केही मिनेटपछि प्रहरीले इजलासबाट बाहिर लगे।
उनीविरुद्ध चलाइएको मुद्दामाथि दोहोर्याएर सुनुवाइ गरिएको हो।
यसअघि सन् २०२३ को अक्टोबरमा एउटा अदालतले उनलाई दोषी ठहर गरेको थियो।
तर अदालतले उनलाई हल्का खालको सजाय सुनाएको थियो।
उनलाई डेढ लाख रुबल तिर्न लगाइएको थियो। अभियोजनकर्ताहरूले त्यो सजाय निकै नरम रहेको तर्क गरे।
एउटा उच्च अदालतले त्यो आदेशलाई खारेज गरिदियो र मुद्दाको पुनः सुनुवाइ गर्न आदेश दियो।
असहिष्णु सरकार

तस्बिर स्रोत, Reuters
पछिल्लो आदेशलाई सार्वजनिक आलोचनाप्रति रुसी अधिकारीहरू निकै असहिष्णु बन्दै गएको रूपमा हेरिँदै छ।
आफूविरुद्ध दोहोर्याएर गरिएको मुद्दाको सुनुवाइको अन्त्यतिर यसै साता आफ्नो धारणा राख्ने क्रममा ओलेग आर्लोभले रुस “झन् गहिरो अन्धकारभित्र फस्दै गएको” टिप्पणी गरे।
सो क्रममा उनले विपक्षी नेता एलेक्सी नभाल्नीको जेलमा निधन हुनु, सरकारका आलोचकहरूविरुद्ध न्यायिक प्रतिशोध लिनुलाई उदाहरणका रूपमा अघि सारे।
रुसमा भइरहेका घटनाक्रमलाई आर्लोभले “स्वतन्त्रता निसासिएको” रूपमा अर्थ्याए।
आलोचकहरू सरकारी निशानामा
रुसमा सजाय थप गरिएका सरकाका आलोचकको सूचीमा ओलेग आर्लोभ मात्रै छैनन्।
गत वर्ष नाम चलेका एकजना समाजशास्त्री बोरिस कार्गिस्तेभलाई रुसले क्राइमियाको पुलमा गरेको आक्रमणको आलोचना गरेको कसुरमा मुद्दा चलाइएको थियो। उनलाई पाँच वर्षको जेल सजाय सुनाइएको छ।
युक्रेन युद्धबारे सरकारी नीतिको विरोध गर्नेहरूलाई सजाय दिन रुसमा कानुनी संरचनामै कडाइ गरिएको छ।
क्रेमलिनका आलोचकहरूलाई दबाउन ‘ल अफ् फेक्स’ भनिने कानुन प्रयोग गरिने गरिएको जानकारहरू बताउँछन्।
गत वर्ष क्रेमलिनका अर्का आलोचक भ्लादिमिर कारा-मुर्जालाई देशद्रोहको आरोपमा २५ वर्षको जेल सजाय सुनाइएको थियो।
क्रेम्लिनका प्रखर आलोचक नभाल्नीको जेलमै निधन भइसकेको छ भने अन्य अग्रणी आलोचकहरू कि जेलमा छन् कि भागेर देशबाहिर पुगेका छन्।
अहिलेका लागि राष्ट्रपति भ्लादिमिर पुटिनका प्रखर आलोचक तथा सम्भावित प्रतिस्पर्धीहरूलाई राजनीतिक मञ्चबाट हटाइएको जस्तो देखिन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








