राष्ट्रसङ्घको अदालतद्वारा गाजामा खाद्यान्न जान दिन इजरेललाई आदेश

गाजामा खाली भाँडा बोकेर खाद्यान्न लिन आएका बालबालिका

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, गाजामा खाली भाँडा बोकेर खाद्यान्न लिन आएका बालबालिका (फाइल तस्बिर)

संयुक्त राष्ट्र सङ्घको माथिल्लो अदालतले गाजामा भोकमरी हुन नदिन इजरेललाई बिनाअवरोध सहायता सामग्री पुग्ने सुनिश्चित गर्न आदेश दिएको छ।

इन्टरन्याश्नल कोर्ट अफ जस्टिस (आईसीजे)ले सर्वसम्मत निर्णय गर्दै यो निर्णय गरेको हो।

आईसीजेले इजरेललाई विलम्ब नगरी "आपत्कालीन रूपमा आवश्यक आधारभूत सेवा र मानवीय सहयोग" जान दिन काम गर्न आदेश दिएको छ।

गाजामा केही सातामा नै भोकमरी सुरु हुन सक्ने चेतावनीमाझ यो निर्णय आएको हो। इजरेलले आफूले सहायता सामाग्रीमा अवरोध पुर्‍याएको भन्ने आरोप "पूर्णतः निराधार" भएको भन्दै खण्डन गरेको छ।

बरु संयुक्त राष्ट्रसङ्घका कारण सहायता सामग्री वितरणमा समस्या देखिएको इजरेलको दाबी छ।

यो निर्णय कतिको बाध्यकारी

द हेगस्थित उक्त अदालतको पछिल्लो फैसला दक्षिण अफ्रिकाले नरसंहार रोक्न सबै कदम चाल्न दिइएको आदेशलाई सुदृढ पार्ग ज्यानुअरीमा अनुरोध गरेपछि आएको हो।

आईसीजेले गरेको आदेश कानुनी रूपमा बाध्यकारी हुन्छ। यद्यपि त्यसलाई कार्यान्वयन गराउने शक्ति भने उक्त अदालतसँग छैन।

गत साता विश्व खाद्य कार्यक्रम र अन्य संस्थाले एकीकृत खाद्य सुरक्षासहितका विषय समेटेर तयार पारेको प्रतिवेदनले गाजामा "भयावह" परिस्थिति बनिनरहेको चेतावनी दिएको थियो।

उक्त प्रतिवेदनले गाजामा रहेका २२ लाख मानिसले "उच्च तहको चरम खाद्य असुरक्षाको सामना गरिरहेको" जनाउँदै मे महिनाको अन्त्यसम्म भोकमरीले त्यहाँको उत्तरी क्षेत्रलाई असर पार्ने चेतावनी दिइएको थियो।

आईसीजेले गाजामा भोकमरीको जोखिम भएको भन्दा पनि त्यहाँ भोकमरी सुरु भइसहेको टिप्पणी गरेको छ। आईसीजेले संयुक्त राष्ट्रसङ्घका पर्यवेक्षकका अनुसार २७ बालबालिकासहित ३१ जनाले कुपोषण र शरीरमा पानीको मात्रा कमी भएका कारण ज्यान गुमाउनुपरेको जनाएको छ।

गाजामा संरचनाहरू ध्वस्त भएका छन्

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, गाजामा संरचनाहरू ध्वस्त भएका छन्

संयुक्त राष्ट्रसङ्घका मानवअधिकार उच्चायुक्तले गत साता गाजामा देखिएको ‘भोक, खाद्य सङ्कट र भोकमरी" इजरेलका कारण मानवीय सहयोग र व्यावसायिक सामग्रीको प्रवेश र वितरणमा पुगेको "व्यापक अवरोध", अधिकांश मानिसहरूको विस्थापन र महत्त्वपूर्ण गैरसैनिक पूर्वाधारहरूको क्षतिको परिणाम भएको धारणा राखेको कुरा पनि उक्त अदालतले जानकारीमा लिएको छ।

उसले इजरेलले संयुक्त राष्ट्रसङ्घसँग पूर्ण सहकार्य गर्दै आवश्यक र प्रभावकारी कदमहरू चाल्नुपर्ने जनाएको छ।

त्यहाँ अत्यावश्यक सहायता सामाग्रीमा खानेकुरा, पानी, बिजुली, इन्धन, आवास र लत्ताकपडा अनि सरसफाइ र स्वास्थ्य सामग्रीहरू पर्ने उसको भनाइ छ।

उक्त अदालतले इजरेलले "आफ्नो सेनाले गाजामा प्यालिस्टिनीमाथि कुनै पनि अधिकार हनन हुने कदम नचाल्ने सुनिश्चित" गर्नुपर्ने आफ्नो फैसलामा उल्लेख गरेको छ।

हालैका महिनाहरूमा सहायता सामग्री बोकेका ट्रकहरू इजिप्टबाट गाजा प्रवेश गर्ने क्रममा लामबद्ध भएको देखिएको छ। त्यस्ता सामग्रीहरूको जटिल र स्वेच्छाचारी जाँच गराएको आरोप इजरेलमाथि छ।

इजरेल के भन्छ?

गाजामा आकाशबाट राहत सामाग्री खसालिदैँ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, गाजामा आकाशबाट राहत सामाग्री खसालिँदै

गत साता बुझाइएको विवरणमा इजरेलले दक्षिण अफ्रिकाले आफूमाथि लगाएको आरोप "तथ्य र कानुनका आधारमा पूर्ण आधारहीन रहेको" जनाएको थियो। उसले उक्त आरोपलाई "नैतिक रूपमा आपत्तिजनक" भनेको थियो।

इजरेलले नरसंहारसम्बन्धी महासन्धिअन्तर्गत आफूमाथि लगाइएका आरोपलाई पनि "आधारहीन’ भन्ने गरेको छ।

इजरेलले गाजामा प्रवेश गर्ने अधिकांश सहायता सामाग्री हमासले लिने गरेको बताउँदै बाँकी सामग्री गैरसैनिक मानिसलाई वितरण गर्न विफल भएको आरोप उसमाथि लगाएको छ।

हमास नेतृत्वका बन्दुकधारीको समूहले अक्टोबर ७ मा इजरेलमा आक्रमण गरी १,२०० जनाको हत्या गरेपछि इजरेलले गाजामा सैन्य कारबाही थालेको थियो।

हमासले इजरेलबाट २५० जनाभन्दा बढीलाई बन्धक बनाएर आफूसँगै लगेको थियो। तीमध्ये १३० जना अझै बेपत्ता छन्। कम्तीमा ३४ जनाको ज्यान गएको ठानिएको छ।

गाजाको स्वास्थ्य मन्त्रालयले इजरेली कारबाहीमा परेर गाजामाअहिलेसम्म ३२,५५२ जनाको ज्यान गएको जनाएको छ। यसै महिनाको सुरुमा अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले ज्यान गुमाउनेमध्ये २५,००० जनाभन्दा बढी महिला र बालबालिका रहेको बताएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।