दक्षिण कोरियाली किशोर किशोरी जो उत्तरसँग लडाइँको तयारी गर्दैछन्

- Author, जुना मुन
- Role, बीबीसी कोरियन
उत्तर कोरियासँग युद्ध भइहालेको खण्डमा आवश्यक पर्ने ठानेर किम जुङ-होले घरमा नै जीवन रक्षाका लागि आवश्यक सामग्रीहरूको जोहो गरेका छन्।
३० वर्षका उनी उक्त अकल्पनीय परिस्थिति आइपरे पहिलो ७२ घण्टासम्म बाँच्न त्यसले सघाउने ठान्छन्।
सङ्कटको अवस्थामा आवश्यक पर्ने पानी र डिहाइड्रेटेड कुक्ड राइस (निर्जलित पकाइएको भात)बाहेक उनले मोबाइल फोन सञ्जाल या सार्वजनिक यातायत नचलेको अवस्थामा आवश्यक पर्ने नक्सा र कम्पासपनि साथै राखेका छन्।
उनले शरीरलाई सुरक्षा दिने बडी आर्मर र एउटा ग्यास मास्क पनि साथै राखेका छन्। सेनासँग पर्याप्त सुरक्षा कवच नहुने भएकाले जुनसुकै बेलामा लडाइँमा बोलाइनसक्ने ३१ लाख जगेडा सैनिक मध्ये एक भएकाले त्यो राख्नु उपयुक्त भएको उनले सुनाए।
“म सोलको केन्द्रमा बस्छु। एउटा क्षेप्यास्त्र आक्रमण मात्रैले सबै कुरा बिलाउन सक्छ भन्ने सोचले नै मलाई डर लाग्छ,” हाइड्रोजन ऊर्जाबारे अध्ययन गर्दै गरेका यी स्नातक तहका विद्यार्थीले भने।
दक्षिण कोरियाको राजधानी सन् १९५३ मा कोरियाली युद्ध सम्बन्धी आर्मिस्टिस (युद्धविराम सहमति)ले स्थापना गरेको ‘डिमिलिटराइज्ड जोन’ भन्दा ३० माइल उत्तरमा पर्छ।
तर कोरियाली प्रायद्विपमा तनाव चर्किदैँ गएको छ। परमाणु अस्त्रले सज्जित उत्तर कोरियाले यो वर्ष चारवटा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो।
गएको एप्रिलमा उसले ग्वामसम्म पुग्ने एउटा ठोस इन्धन प्रयोग गर्नसकिने नयाँ हाइपरसोनिक बलिस्टिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको जनाएको थियो।

किम उत्तर कोरियासँगको सम्भावित युद्धका लागि तयारी गरिरहेका सानो तर बढ्दो सङ्ख्यामा रहेका दक्षिण कोरियालीहरूमध्ये एक हुन्।
दक्षिण कोरियाको एउटा लोकप्रिय मेसेजिङ एप काकाओमा रहेका त्यस्ता पूर्वतयारी गरिरहेका कम्तीमा ४ वटा समूहमा करिब ९०० जना छन्। त्यसबाहेक सन् २०१० देखि चलिरहेको ‘द सर्भाइभल स्कूल डाउम क्याफे’ नामक अर्को समुदाय छ जसका २५,००० भन्दा बढी सदस्य छन्।
उत्तर कोरिया आक्रामक भइरहेको समयमा यस्ता समूहहरूको बढ्दो सङ्ख्याले कोरियाको अन्तरसम्बन्धलाई लिएर बढिरहेका चिन्तालाई देखाउँछ।
गएको ज्यानुअरीमा उत्तर कोरियाका नेता किम जङ अनले दक्षिणलाई एक नम्बर शत्रु घोषणा गरेका थिए। उनले दुई कोरियाबीचको शान्तिपूर्ण पुनर्एकीकरण असम्भव भएको घोषणा गरेका थिए।
कोरिया विश्वविद्यालयमा राजनीतिक अर्थतन्त्र अध्यापन गराउने नाम सुङ वोक त्यसलाई एउटा ‘अभूतपूर्व’ कदम भन्छन्। त्यसको अर्थ उत्तर कोरियाले अब उप्रान्त दक्षिण कोरियालाई आफ्नो जातिय रूपमा निकट बन्धु ठान्दैन र दक्षिणमाथि परमाणुअस्त्र पनि प्रयोग गर्नसक्छ।
केबीएस पब्लिक मिडिया रिसर्च इन्स्टिच्युटको एउटा सर्वेक्षणमा जबाफ दिएका ७५ प्रतिशतले सुरक्षा अवस्थालाई लिएर आफूहरूलाई चिन्ता परेको बताएका थिए। सन् २०२१ मा उक्त सर्वेक्षण सुरु भए यता सो सङ्ख्या १९ प्रतिशतले बढेको छ।

तस्बिर स्रोत, KCNA
रुस-युक्रेन युद्ध र इजरेल-हमास युद्ध जस्ता विश्वव्यापी द्वन्द्वको बढ्दो प्रभावले युवा उमेरका कोरियालीहरूलाई बढ्दो भूराजनीतिक जोखिमबारे संवेदनशील बनाएको ‘द सर्भाइभल स्कूल-डाउम क्याफे’का एक जना एडमिन वु सिईओङ यीओप बताउँछन्। एउटा च्याट समूह युक्रेन युद्ध सुरू भए लगत्तै खुलेको थियो। त्यसका सदस्यहरू १० गुणाले बढेर ५०० पुगेका छन्।
“मैले मेरो जीवनमा युद्धको तयारी गर्नुपर्ला भनेर कहिले पनि सोचेको थिइनँ। तर संसार भर हेर्नुस, कैयौँ युद्ध अहिले नै चलिरहेको छ,” अघिल्लो वर्ष सीपीआर ट्रेनिङ पूरा गरेका फिटनेश ट्रेनर पार्क ह्वी बिनले भनिन्।
कतिपय सदस्यहरू उत्तर कोरियासँग द्वन्द्व सुरु हुनु अगावै देश छाड्न चाहन्छन्। भाषा सिक्ने, रकम जोगाउने र सुरक्षित देशहरूमा बसोबास अनुमतिपत्र प्राप्त गर्ने दक्षताहरू हासिल गर्नु उनीहरूको रणनीति हो।
“मैले सुनेको छु, पराग्वेमा करिब १ करोड वन अर्थात् ९ लाख ६७ हजार रुपैयाँ भन्दा बढी तिर्दा स्थायी बसोबास प्राप्त गर्नसकिन्छ,” एक जना सदस्यले लेखेका छन्।
आफ्नो नाम खुलाउन नचाहेका एक जना ४२ वर्षका व्यक्तिले अन्यले आफ्नो घरमा बङ्कर निर्माण गरिसकेको बताए।
बलियो कङ्क्रीटले बनेको सो बङ्करमा पावर जेनेरेटर र पकाउने उपकरणसहितका सामग्री छन्। त्यहाँ उनकी श्रीमती र ६ वर्षका छोरालाई लामो समय बस्न मिल्ने बन्दोबस्त गरिएको छ।
प्योङटेकको अमेरिकी सैनिक अखडाबाट उक्त स्थान केही पर रहेको छ।

अधिकांश कोरियालीहरू यस्ता समूहहरू चाहिने भन्दा धेरै संवेदनशील रहेको ठान्छन्। जीवन रक्षक सामग्रीहरूका लागि ‘अनावश्यक रकम’ खर्च गरेकोमा किमकी आमाले उनलाई गाली गरेकी थिइन्।
“उत्तर र दक्षिण कोरियाबीचको सम्बन्ध हिजो आज राम्रो छैन, मैले कहिले पनि युद्धलाई लिएर चिन्ता लिएको छैन र मैले आफ्नो जीवनलाई साधारण रूपमा बिताएको छु,” २८ वर्षका उद्यमी ली योङ अले भनिन्।
पहिलेको कोरिया युद्ध कुनै शान्ति सम्झौता विना केवल युद्धविरामबाट रोकिएको हुनाले दुई कोरियाबीच प्राविधिक रूपमा अझै पनि लडाइँ चलिरहेको सन्दर्भका माझ दक्षिण कोरिया समृद्ध र जीवन्त लोकतन्त्रका रूपमा विस्तार भएको छ।
दशकौँको शान्तिका कारण अधिकांश दक्षिण कोरियाली ‘युद्धलाई बेवास्ता गर्छन्’ र यसले भविष्यमा समस्यालाई थप जटिल बनाउनसक्ने ठान्छन्।
तर भूराजनीतिक तनावहरूका कारणले गर्दा मानिसहरूको धारणा विस्तारै बदलिँदै गएको उनलाई लाग्छ।
किम आफ्नो कदमको बचाउ गर्छन्। “जब तपाईँ प्लेन चढ्नुहुन्छ, के उनीहरूले तपाईँलाई सुरक्षा उपकरण दिँदैनन्? यस्तो सुरक्षा उपकरण किन्नु सीट बेल्ट लगाउनुजस्तै हो।”
पार्क यसलाई बिमा खरिद गर्नुसँग तुलना गर्छिन्। तर अरू बिमाजस्तै कसैले पनि यसको प्रयोग गर्ने स्थिति चाहिँ नआओस् भन्ने ठान्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








