तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमसिङ्घका ती गल्ती जसले उनलाई १ वर्षमै सत्ताबाट हिरासतमा पुर्यायो
- Author, फ्लोरा ड्रुरी
- Role, बीबीसी न्यूज
श्रीलङ्कका पूर्वराष्ट्रपति रनिल विक्रमसिङ्घलाई विदेश भ्रमणका बेला सरकारी कोषको दुरुपयोग गरेकोसम्बन्धी आरोपको अनुसन्धानका क्रममा पक्राउ गरिएको प्रहरीले बताएको छ।
राष्ट्रपति भएकै बेला भएको उनको विदेश भ्रमणसँग जोडिएका तीनवटा अभियोग उनीमाथि लगाइएको छ।
शुक्रवार राजधानी कोलम्बोको मजिस्ट्रेट कोर्टमा उनी उपस्थित भएका थिए। यसअघि शुक्रवारै उनले अपराध अनुसन्धान विभागसमक्ष बयान पनि दिए।
के भएको थियो?
सन् २०२३ मा उनी राष्ट्रपति भएकै बखत भएको ब्रिटेन भ्रमणका सम्बन्धमा उनलाई शुक्रवार हिरासतमा लिइएको हो।
अमेरिका र क्युबाको आधिकारिक भ्रमणपछि स्वदेश फर्कने क्रममा उनी र उनकी पत्नीले केही दिन निजी भ्रमणमा बिताएको र सरकारी कोषलाई व्यक्तिगत काममा प्रयोग गरेको आरोप लागेको थियो।
विक्रमसिङ्घले भने कुनै गल्ती नगरेको बताएका छन्। ब्रिटेनमा रोकिँदा पनि कैयन् आधिकारिक बैठक भएको उनले बताए।
त्यतिखेर उनी र उनकी पत्नीले यूनिभर्सिटी अफ वूल्भर्ह्याम्प्टनको समारोहमा भाग लिएका थिए।
श्रीलङ्काली अधिकारीहरूले यो निजी भ्रमण भएको र यसमा राज्यकोष खर्च भएको आरोप लगाएका छन्।
बीबीसी सिंहालाका अनुसार ७६ वर्षीय उनले राष्ट्रपति कार्यकालका दौरान २३ वटा विदेश भ्रमण गरे जसमा २० लाख डलर खर्च भयो।
वर्तमान सरकारले चलाएको भ्रष्टाचारविरोधी अभियानअन्तर्गत पक्राउ परेका उनी सबभन्दा वरिष्ठ अधिकारी हुन्।
श्रीलङ्कामा पूर्वराष्ट्रपति पक्राउ परेको यो पहिलो घटना हो।
विक्रमसिङ्घको राजनीतिक पृष्ठभूमि कस्तो?
सन् २०२२ देखि २०२४ सम्म उनी राष्ट्रपति थिए।
श्रीलङ्कामा हालसम्मकै खराब आर्थिक सङ्कटका कारण उर्लिएको आन्दोलनका कारण तत्कालीन राष्ट्रपति गोटाबाय राजापक्ष भागेपछि विक्रमसिङ्घले उक्त पद सम्हालेका थिए।
दक्षिण एशियाको यस टापु राष्ट्रलाई आर्थिक पुनरुत्थानको मार्गमा फर्काएको श्रेय उनलाई दिने गरिन्छ।
सन् १९९० ताकादेखि उनले विभिन्न पटक गरी छ चोटि त्यहाँको प्रधानमन्त्रीको कार्यभार सम्हालेका थिए।
सन् १९७७ मा पहिलोपटक सांसद निर्वाचित भएयता उनी श्रीलङ्काको राजनीतिमा रहँदै आएका छन्।
पेसाले वकिल उनी राजनीतिज्ञ तथा व्यापारीहरूको सम्पन्न परिवारका हुन्।
सन् १९९४ मा यूनाइटेड न्याश्नल पार्टी (यूएनपी)को नेतृत्वको बागडोर सम्हालेपछि उक्त पार्टीमा अनुशासन समिति बनाएर भ्रष्ट सदस्यहरूको निष्काशन गरेर उनले चर्चा कमाएका थिए।
त्यसपछिका वर्षहरूमा उनले पटकपटक आफूलाई राष्ट्रपतिको दाबेदारका रूपमा प्रस्तुत गरेका थिए। उनले त्यो भूमिका सन् २०२२ मा राजापक्ष भागेपछि बहन गर्न पाए।
वास्तवमा सन् २०२० को निर्वाचनमा उनको दलले अत्यन्तै फितलो प्रदर्शन गरेको थियो। उक्त दलको उनी नै एक मात्र निर्वाचित सांसद थिए।
सन् २०२४ सेप्टेम्बरमा भएको निर्वाचनमा उनी वामपन्थी धारका अनुरा कुमारा दिशानायकेसँग पराजित भए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।