पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामनामा दिएका पाँच सन्देश

पूर्वराजा ज्ञानेन्द्र शाहले विगतमा जस्तै यस वर्षको बडादशैँको उपलक्ष्यमा पनि शुभकामना सन्देश दिएका छन्।
तर परिवर्तित राजनीतिक परिस्थितिमा त्यसले अर्थपूर्ण सन्देशहरू बोकेको अर्थ लगाइएको छ।
आफूलाई गद्दीबाट च्युत गरेका प्रमुख राजनीतिक दलहरू जेन जी आन्दोलनबाट सत्ताको मूलधारबाट हुत्याइएका बेला उनको शुभकामनाका सन्देशलाई महत्त्वका साथ अर्थ्याइँदै छ।
शुभकामना सन्देशमा पूर्वराजाले जेन जी आन्दोलनदेखि विगत र वर्तमान सत्ता सञ्चालक अनि अन्तर्राष्ट्रिय परिस्थिति लगायतका विषय छोएको देखिन्छ।
कतिपय जानकारहरूका अनुसार पूर्वराजाको सन्देशमा मुख्य रूपमा पाँचवटा विषयमा आफ्नो मत सार्वजनिक गरिएको छ।
जेन जीप्रति समर्थन?
उनले विगत केही समयदेखि 'देश र जनताको सर्वोत्तम हितका खातिर' आफूले 'गम्भीर चिन्ता, चासो तथा सङ्लो दृष्टिकोण अगाडि सार्दै आएको' सन्दर्भ शुभकामना सन्देशमा उल्लेख गरेका छन्।
"नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्य व्यवस्थाले समेट्नै पर्दछ," शाहको शुभकामनामा भनिएको छ, "युवा पुस्ता हाम्रा भविष्यका आधार आधार स्तम्भ हुन्। उनीहरूमा निहित देशभक्तिको भावना, ऊर्जा शक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने गर्छ।"

तस्बिर स्रोत, Getty Images
कतिपयले त्यसलाई उनले हालै आन्दोलन गरेको नवयुवा जेन जीका मागप्रति समर्थन गरेको अर्थ लगाएका छन्।
अनलाइन समाचार संस्था देश सञ्चारका सम्पादक युवराज घिमिरेका भनाइमा पूर्वराजाले शुभकामनामा प्राकृतिक विपद् र आन्दोलनमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्कालीन अवस्थाबारे पनि मत जाहेर गरेका छन्।
"निषेध र बहिष्कार नगरेर आवाज सुन्नुपर्यो, उचित माग स्वीकार गर्नुपर्यो भन्ने सन्देश देख्छु," ज्यान गुमाएका युवाहरूप्रति सहानुभूति जनाइएको तर पूर्वराजा संयम देखिएको बताउँदै घिमिरे भन्छन्, "त्यसलाई राजनीतिक दल वा सत्तालाई दोष दिने किसिमको छैन, एउटा बृहत् परिवेशमा त्यो ठूलो घटना र त्यसबाट सिक्नुपर्ने पाठबारे अभिव्यक्ति छ।"
पुरानो सत्ता सञ्चालकप्रति लक्ष्यित?
यो अवस्थामा नेपाललाई शान्त र एकताबद्ध देख्न नचाहने विदेशी शक्तिहरू पक्कै पनि सक्रिय हुन्छन्, त्यो उनीहरूको निम्ति अनुकूल परिस्थिति हो, त्यसबारे सचेत गराएको जस्तो लाग्छ
पूर्वराजा शाहको शुभकामनामा 'हाम्रै देशको दर्पणमा हामी हाम्रो अनुहार हेरौँ' भन्ने उल्लेख छ।
"बिगार्ने, भत्काउने, जलाउनेतिर नै हाम्रो राजकाज धेरै खटी परे," शुभकामनामा भनिएको छ, "अब बिगार्ने होइन सपार्नेतिर हाम्रा कार्यक्रम अघि बढ्नु पर्दछ।"
आफूले प्रत्यक्ष शासनकालको जिम्मेवारी लिँदै शाहले गल्ती स्वीकार गरेको उल्लेख गर्दै पत्रकार घिमिरे त्यसै गरी हरेक घटनाको जिम्मेवारी पनि तत्कालीन सत्ता र प्रमुख दलकै हुने बताउँछन्।
"दर्पणको अगाडि जो मान्छे उभिन्न त्यसको अनुहार देखिन्छ त्यसैले वस्तुनिष्ठ तरिकाले आफ्नो भूमिका केलाउनुपर्छ भनिएको हो," घिमिरेको बुझाइ छ, "त्यो समग्र बेथिति हुनुमा न पूर्वराजा खुसी छन्, न त्यो परिस्थितिको फाइदा लिने कोसिस गरेका छन्, बरु त्यसमा कुनै न कुनै आफ्नो पनि जबाफदेहिताको आभास उनले दिएका छन्।"
'नमीठो अतीत बिर्सिएर अघि बढौँ'

तस्बिर स्रोत, EPA/Shutterstock
पूर्वराजाले 'सही, सत्य, अग्रजहरूको आदर गर्ने, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने राष्ट्रिय सोच एवम् चेत पनि हामीमा हुनै पर्ने' पनि शुभकामनामा उल्लेख गरेका छन्।
"जे भयो भयो, जेजे नहुनु थियो सबै भयो," शुभकामनामा भनिएको छ, "अबको नयाँ पुस्ता, आउँदै गरेको नयाँ समय, आशा, विश्वास र भरोसाका साथ अघि बढोस्।"
त्यसो भनेर उनले जेन जी मात्र आग्रह वा आह्वान गरेको ठान्दैनन् पत्रकार घिमिरे।
"विभिन्न राजनीति समूह, पक्ष र विपक्ष भयो, अतीतको नमीठो प्रसङ्ग बिर्सिएर सबै मिलेर अघि बढौँ," सम्पादक घिमिरेको बुझाइ छ, "राष्ट्रिय गन्तव्य र राष्ट्रिय मार्गहरूको निर्माणमा सबै लागौँ, र त्यसमा मुलुकका भविष्य भावी पुस्तालाई पनि नछोडौँ भन्ने आशय बुझ्छु।"
शाहले 'राज्य पद्धति र गतिशील व्यवस्थापनको प्रबन्ध परिपाटीमा जन मनोभावनाको ख्याल राखेर समय सापेक्ष सुधार' को खाँचो औँल्याएका छन्।
भूराजनीतिक चक्रव्यूहको जोखिम किन?

जेन जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडमा घुसपैठ भएको बताइने गरेको छ। कतिपयले सत्ता पलट गरिदिएको आन्दोलनका क्रममा विभिन्न शक्तिले चलखेल गरेको आशङ्का पनि गरेको पाइन्छ।
सत्ताच्युत दलका नेताहरूले त जेन जीको नाममा अन्तर्राष्ट्रिय शक्तिले त्यो भूमिका खेलेको आरोप पनि लगाउने गरेका छन्। तर उनीहरूले कुनै देश वा शक्तिको नाम लिएको पाइँदैन।
यस्तो बेला आएको पूर्वराजाको शुभकामनामा उल्लेखित एउटा वाक्यलाई थप अर्थपूर्ण मानिएको छ। जसमा भनिएको छ, "कुनै परनिर्भरता वा भूराजनीतिक चक्रव्यूहमा नफसी आफ्नो बाटो आफैँ तय गर्ने सामर्थ्य राख्दै अखण्ड नेपाललाई नवनिर्माण गर्नुपरेको छ।"
पत्रकार घिमिरे पहिल्यैदेखि विदेशी चक्रव्यूहमा परेकै कारण नेपालमा राजसंस्था उन्मूलन लगायतका विषयमा नेपालीहरूको संलग्नता नरहेको ठान्ने गर्छन्।
"अहिले पनि युवाहरू उद्वेलित छन्, त्यसो तत्कालीन मूल्य पनि हामीले देख्यौँ," घिमिरे भन्छन्, "यो अवस्थामा नेपाललाई शान्त र एकताबद्ध देख्न नचाहने विदेशी शक्तिहरू पक्कै पनि सक्रिय हुन्छन्, त्यो उनीहरूको निम्ति अनुकूल परिस्थिति हो, त्यसबारे सचेत गराएको जस्तो लाग्छ।"
'आफूलाई अभिभावकीय भूमिकामा प्रस्तुत'

तस्बिर स्रोत, Getty Images
पूर्वराजा शाहले 'हाम्रा पूर्वजहरूले नेपालको एकता, अखण्डता, सार्वभौमिकता र सम्प्रभुताको रक्षा गर्न दिएका त्याग र बलिदान नै हाम्रो अस्तित्व, स्वाभिमान र गौरवशाली संस्कृतिको मेरुदण्ड' भएको उल्लेख गरेका छन्।
"यही आधारमा नेपाल सदा स्वतन्त्र र स्वाभिमानी राष्ट्रको रूपमा उभिएको छ," उनले भनेका छन्।
पत्रकार घिमिरेका बुझाइमा पूर्वराजाले आफूलाई राजनीतिक, सांस्कृतिक र सामाजिक भूमिकाबाट पृथक् नरहेको सन्देश दिएका छन्।
राजा भइसकेको हैसियतले उनले आफ्नो अभिभावकीय भूमिका मानेको र त्यही हैसियतमा शान्ति र प्रगतिको कामना गरेको घिमिरे बताउँछन्।
"उनको नियत र मन सङ्लो छ, सबैले अहिलेको गम्भीर परिस्थितलाई सबै मिलेर मिलाउनु पर्छ, नेपालको अखण्डतालाई कुनै आघात पुग्नु हुँदैन," घिमिरे भन्छन्, "र, त्यसको रक्षा गर्ने दायित्व हामी सबैको हो भनेर उनले आफूलाई पनि अभिभावककै रूपमा प्रस्तुत गरेका छन्।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








