एम्बाप्पे साउदी अरब जालान् कि रेआल मड्रिड

एम्बाप्पे

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, एम्बाप्पे अहिले २४ वर्षका भए

किलियान एम्बाप्पे अब कता जालान् भन्ने विषय ठूलो समाचार र चासोको विषय बनेको छ।

उनी फ्रान्सको राष्ट्रिय टोलीका कप्तान हुन्। उनले फ्रान्सको क्लब प्यारिस साँ-जेर्माँ (पीएसजी)सँग करार नवीकरण गर्न अस्वीकार गरेका छन्। त्यसैले घरेलु लीग विजेता उक्त क्लबले सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका यी प्रतिभाशाली खेलाडीलाई त्यसै नफुत्काउने प्रयास गरिरहेको छ।

साउदी अरबको अल-हिलाल क्लबले सोमवार विश्वकप विजेता यी खेलाडीका लागि अहिलेसम्मकै सर्वाधिक रकम २५.९ करोड पाउन्ड (४३.६९ अर्ब रुपैयाँ) मा दिने प्रस्ताव गरेको छ।

तर अब के हुन्छ?

के उनी च्याम्पिअन्स लीग छाडेर साउदी प्रो लीगमा जालान्? अनि यी स्ट्राइकर कहाँ जाने सम्भावना छ?

कसरी आयो यो स्थिति?

एम्बाप्पेलाई सन् २०१७ मा पीएसजीले मोनाकोबाट सापटीमा लिएको थियो। त्यस क्रममा उसले १८ करोड युरो शुल्क तिरेको थियो। एम्बाप्पले अहिलेसम्म २१२ खेलमा २६० गोल गरिसकेका छन्।

घरेलु प्रतिस्पर्धाहरूमा सफलता हात पारे पनि संसारका तीन शक्तिशाली फुटबल एम्बाप्पे, नेयमार र लियोन मेसीको समूह तयार पार्दा समेत कतारी स्वामित्वको उक्त क्लबले च्याम्पिअन्स लीग जित्ने आफ्नो मूल लक्ष्य हासिल गर्न सकेको छैन।

एम्बाप्पेको करार सन् २०२४ को जुनसम्म छ। गत महिना उनले उक्त क्लबलाई आफू यो ‘सीजन’ सम्म क्लबमा बस्ने तर त्यसपछि करार नवीकरण नगर्ने बताएको खुलासा भएको थियो।

तर त्यसपछि दुईबीच सम्बन्ध केही तितो भयो। फलतः पीएसजीले उनलाई जापान र दक्षिण कोरियाको ‘प्री-सीजन टूर’ बाट सहभागी गराएन।

साउदी अरबको अल-हिलालले उनमा रुची देखाएको छ

तस्बिर स्रोत, PA

तस्बिरको क्याप्शन, साउदी अरबको अल-हिलालले उनमा रुचि देखाएको छ

आफ्नो यात्राको पहिलो खेलमा पीएसजीले अर्को साउदी टोली अल-नासरसँग गोलरहित बराबरी खेलेको थियो।

“किलियान एम्बाप्पे महान् खेलाडी हुन् र उनी यहाँ छैनन्,” पीएसजीका रक्षापङ्क्तिका खेलाडी डानिलो परेराले खेलपछि भनेका थिए।

“यो क्लबको निर्णय हो, म प्रतिक्रिया जनाउन सक्दिनँ।”

पीएसजीका अध्यक्ष नासेर अल-खलेफीले कडा अडान लिने स्पष्ट पारेका छन्। अहिलेको गतिरोध भङ्ग गर्न एम्बाप्पे तयार नभए उनलाई यो वर्षभरि छनोट नगरिने विवरणहरू आएका छन्।

उक्त फ्रान्सेली क्लबले साउदी अरबको सार्वजनिक लगानी कोषको स्वामित्वमा रहेको चारमध्ये एउटा क्लब अल-हिलाललाई एम्बाप्पेसँग कुरा गर्न अनुमति दिएको छ।

पीएसजीले अरू युरोपेली क्लबहरूले पनि दाबी पेस गर्ने अपेक्षा गरेको छ।

एम्बाप्पे साउदी अरब जालान् त? अल-हिलालमा उनले कति कमाउलान्?

फ्रान्सकी फुटबल पत्रकार लिजा लरू २५.९ करोड पाउन्डको प्रस्तावबाट एम्बाप्पे "एउटा युगलाई प्रतिविम्बित गर्ने खेलाडी" भएको देखिएको बताउँछिन्। तर एम्बाप्पे पैसाकै लागि त्यहाँ नजाने उनको विश्वास छ।

यदि साउदी अरब गएको खण्डमा एम्बाप्पे फुटबलको अहिलेसम्मकै सर्वाधिक महँगा खेलाडी बन्ने छन्। अनि त्यससँगै यसअघि डिसेम्बरमा म्यान्चेस्टर यूनाइटेडबाट अल-नासर सर्दा १७.७ कडरो पाउन्ड प्रतिवर्ष लिएर पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले बनाएको कीर्तिमान भङ्ग हुने छ।

एम्बाप्पे

तस्बिर स्रोत, Reuters

तलबबाहेक अन्य व्यावसायिक व्यवस्थापन र तस्बिरहरूको सर्वाधिकारसहितका आधारमा उनले एक वर्षमा ७० करोड युरोसम्म आम्दानी गर्न सक्ने ठानिएको छ।

“कुनै पनि खेलाडीलाई यति तलब फुटबलमा दिइएको छैन र मलाई लग्छ एक वर्षमा खेलको इतिहासमा नै कसैले पनि यति पाएको छैन,” लरू भन्छिन्, “उनले प्राप्त गर्ने तलब ऐतिहासिक र ज्यादै आकर्षक हुने छ।”

“त्यो भनेको प्रतिमहिना ५.९ करोड युरो र प्रतिदिन झन्डै २० लाख युरो हुन्छ।”

रेखा
रेखा

फ्रान्सका फुटबलविज्ञ जुलियाँ लोँरान्स त्यसमा सहमत छन्। उनी पनि एम्बाप्पे साउदी अरब नजाने ठान्छन्।

उनले बीबीसीको रेडिओ फाइभ लाइभसँग भने, “उनी त्यहाँ जान चाहँदैनन्। जब पीएसजीले हामीले एम्बाप्पेसँग कुरा गर्न अनुमति दियौँ भनेर भन्यो, उनले अल-हिलालसँग कुरा गर्न चाहेनन्। यो उनका लागि पैसाको कुरा होइन।”

“उनी सम्भव भएसम्म सबै ट्रफी जित्न चाहन्छन्,” उनले भने। अहिले २४ वर्ष भएका एम्बाप्पेको चाहनामा साउदी लीगमा जानु नपर्ने उनको ठम्याइ छ।

साउदी अरब नभए कहाँ?

रेआल मड्रिडले लामो समयदेखि यी खेलाडीको प्रशंसा गर्दै आएको छ। पीएसजीसँग पोहोर नयाँ सम्झौता गर्नुअघि उनी स्पेन जाने सहमतिनजिक पुगेका थिए।

उनले यसै गर्मीयाममा आफू रेआलमा आबद्ध हुन चाहेको विवरणहरूलाई मिथ्या भनेका थिए।

चेल्सी, म्यान्चेस्टर यूनाइटेड, टोट्नम, इन्टर मिलान र बार्सिलोनाले पनि एम्बाप्पेमा रुचि देखाएका छन्।

पीएसजी यो गर्मीयाममा एम्बाप्पेलाई सापटमा दिएर उनको करारको अन्तिम वर्ष अन्यत्र कतै हुने अवस्थाका लागि पनि खुला छ।

एम्बाप्पे

तस्बिर स्रोत, Reuters

यसबाट केही पनि नलिईकन १२ महिना रेआलमा आबद्ध हुन र यो सीजन खेलेर सापट लिएबापतको भुक्तानी प्राप्त गर्ने अवस्थामा पीएसजी पुग्न सक्छ।

“हामीलाई थाहा छ, उदाहरणका लागि, बार्सिलोनाले हिजो पीएसजीसँग फोनमा कुरा गर्‍यो र भन्यो हामी उनलाई कुनै ‘ट्रान्सफर शुल्क’ दिन सक्दैनौँ, हामी उनको ज्यालासम्म पनि तिर्न सक्दैनौँ,” लोँरान्स भन्छन्।

“एम्बाप्पेले वर्षमा ७.२ करोड युरो कुल आम्दानी गर्छन् तर कसैले पनि त्यो तिर्न सक्दैन। त्यहीँ भएर उनले तलब कटौती स्वीकार गर्नुपर्छ र त्यसबारे उनी जानकार छन्।"

"तर बार्सिलोनाले भनेको छ - एम्बाप्पेका लागि के हामी खेलाडी साटफेर गर्न सक्छौँ? हाम्रो टोलीबाट तपाईँ कसलाई चाहनुहुन्छ?”

उनले थपे, “युरोपको सबै ठूला क्लबले सम्भवतः पहिला पीएसजीलाई (एम्बाप्पेलाई) आफूलाई बिक्री गर्न र त्यसपछि एम्बाप्पेलाई आफ्नोमा आबद्ध हुन मनाउने प्रयास गर्ने छन्।”

“यूनाइटेडदेखि लिभरपुल र सबै इङ्ग्लिश क्लब र सम्भवतः इटलीका क्लबले पनि त्यसो गर्ने छन्। तर रेआल मड्रिड रोजाइमा पर्न सक्छ किनभने उनीहरूसँग पैसा छ। उनी त्यहाँ जान चाहन्छन् र उनीहरू पनि उनलाई लिन चाहन्छन्।”

“हामीले विगतमा पनि भनिरहेका छौँ - उनीहरूले एम्बाप्पे ११ वर्षको हुँदादेखि नै उनलाई पछ्याइरहेका थिए। रेआल सबैभन्दा ठूलो रोजाइको हो किनभने उनीहरू १२ महिना पर्खिनु र उनलाई प्राप्त गर्नु वा नगर्नुभन्दा पीएसजीले चाहना राखेको १५ करोड युरो तिर्न तयार छन्।”

के रेआल मड्रिडसँग पक्का अनुबन्ध ‍होला?

लोँरान्सका विचारमा रेआलले उनी ‘स्वतन्त्र हुन्जेल कुरेर शुल्क र पारिश्रमिकको बोलकबोलको प्रतिस्पर्धाको जोखिम उठाउनुभन्दा’ यसै गर्मीयाममा एम्बाप्पेलाई लिन अघि सर्नुपर्छ।

“यदि उनीहरूले उनलाई अहिले हस्ताक्षर गराए भने उनीहरूको टोली अझ बलियो बन्ने छ। उनीहरूसँग पैसा छ भने किन कुर्ने?”

एम्बाप्पे

तस्बिर स्रोत, Getty Images

“स्वतन्त्र भएको अवस्थामा पनि उनलाई हस्ताक्षर गर्नका लागि तपाईँले ठूलो राशि दिनुपर्ने हुन्छ। रेआलका लागि अहिले अघि बढ्नुको अर्थ छ। दुई क्लबबीच कहिले कुराकानी हुन्छ त्यो एउटा कुरा हो, यो गर्मीयाममा उनलाई लिनसक्ने उनीहरू सर्वाधिक मन पराइएका टोली हुन्।”

“जुड बेलिङ्गमका लागि १०.३ करोड युरो तिरे पनि उनीहरूसँग ज्याला र ट्रान्सफर शु्ल्कका लागि खुला अवस्था छ। यदि उनीहरूले १५ करोड पाउन्ड तिरे भने त्यसले करारको समय अवधिभरि समेट्छ।”

आर्थिक स्वच्छताको नियम के साउदी अरबले पनि पालना गर्नुपर्छ?

जुनमा साउदी अरबका चारवटा अग्रणी क्लबहरू अल-इत्तिहाद, अल-नासर, अल-हिलाल र अल-अह्लीलाई न्यूकाशल यूनाइटेडको पनि स्वामित्व भएको त्यहाँको पब्लिक इन्भेस्टमन्ट फन्डले लिएको थियो।

चर्चित खेलाडी रोनाल्डोलाई अनुबन्ध गरेयता लीगका १८ वटा टोलीले युरोपका कतिपय चर्चित खेलाडी, जस्तै - करिम बेन्जमा, एन्ड्गोलो कान्टे र रुबेन निभ्ज - लाई आकर्षित गरिसकेको छ। लिभरपुलका कप्तान जोर्डन हेन्डर्सनले पनि त्यस्तै गर्न लागेको चर्चा छ।

युरोपेली फुटबल क्लबहरूले 'फाइन्यान्शल फेअर प्ले' भनिने आर्थिक स्वच्छताका नियमहरू मान्नुपर्ने हुन्छ। त्यसले क्लबहरूलाई उनीहरूले गर्ने आम्दानीभन्दा बढी खर्च गर्नबाट रोक्छ।

तर त्यो नियम साउदी अरबको हकमा लागु नहुने एशियाली फुटबल महासङ्घमा खेलेका फुटबलका वित्तीय विज्ञ कीरन मग्वायर बताउँछन्।

उनले भने, “साउदी प्रो लीग युरोपेली फुटबलभन्दा यो अर्थमा भिन्न छ कि त्यहाँ फाइन्यान्शल फेअर प्लेको बन्देज छैन।”

“प्रेमिअर लीगका क्लबहरूले थप रकम दिए पनि त्योभन्दा पनि बढी मूल्य लगाइन सक्छ किनभने उनीहरू (साउदी क्लबहरू)लाई खर्च नियन्त्रणसम्बन्धी कुनै बन्देज छैन।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।