तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पदबाट हटाउने सबै प्रयासको यूकेका प्रधानमन्त्री स्टार्मरले 'प्रतिकार गर्ने'
- Author, क्रिस मेसन
- Role, राजनीतिक सम्पादक
- Author, हेन्री जेफ्मन
- Role, प्रमुख राजनीतिक संवाददाता
यूकेका प्रधानमन्त्री किअर स्टार्मरलाई लेबर पार्टीको नेतृत्वबाट हटाउन आफ्नै सांसदहरूले गर्न सक्ने प्रयासको स्टार्मरले प्रतिकार गर्ने उनका सहयोगीहरूले बताएका छन्।
अबको १५ दिनपछि पेस हुने बजेटलगत्तै स्टार्मरको पद जोखिममा पर्ने सक्ने डर उनका सहयोगीहरूमा उत्पन्न भएको छ।
आलोचकहरूले यो डाउनिङ स्ट्रीटस्थित प्रधानमन्त्रीको कार्यालय "पूरै प्रतिरक्षात्मक" बनेको प्रमाण भएको भन्दै त्यसले सरकारलाई "सङ्कटबाट बाहिर निस्किन नसघाउने" बताएका छन्।
स्टार्मरलाई पदबाट हटाउने षड्यन्त्र भएको दाबी गर्दै उनका सहयोगीहरूले नेतृत्व परिवर्तन गर्दा अवस्था झन् बिग्रिन सक्ने जोखिम रहेको चेतावनी दिएका छन्।
लेबर पार्टीका सांसदहरूले किअर स्टार्मरलाई हटाएर पार्टीको नेतृत्व लिन सक्ने सम्भावित व्यक्तिका रूपमा छलफल गरेकामध्ये उनीसँग निकट केही मन्त्रीहरू पनि छन्। त्यसका लागि स्वास्थ्यमन्त्री वेस स्ट्रीटिङ र गृहमन्त्री शबाना महमूदको नाम पनि चर्चामा छ। कतिपयले ऊर्जामन्त्री एड मिलिब्यान्ड र भूतपूर्व यातायातमन्त्री लुईस हेगले पनि लेबर पार्टीको नेतृत्व लिन सक्ने अनुमान गरेका छन्।
"उनले [स्टार्मरले] यसको प्रतिकार गर्ने छन्," एक मन्त्रीले भने। उनले सन् २०२१ मा भएको एउटा महत्त्वपूर्ण उपनिर्वाचनमा लेबर पार्टीले कन्जर्भेटिभ पार्टीसँग हार बेहोरेको र त्यस बेला स्टार्मर आफैँले लेबर नेताबाट राजीनामा दिनेबारे छलफल चलाएको उदाहरण दिए।
तर अहिले त्यस्तो अवस्था नरहेको उनको तर्क छ।
"लेबर पार्टीलाई चुनाव जिताउने र अहिले जीवित रहेका दुई नेतामध्ये उनी पनि एक हुन्। सत्र महिनापछि उनविरुद्ध उभिनु मूर्खता हुन्छ।"
आसन्न सङ्कटको डर
स्कटल्यान्ड र वेल्सका संसदीय चुनाव र आगामी मे महिनामा इङ्ल्यान्डका धेरै भागमा हुने स्थानीय निर्वाचनपछि सरकार अप्ठ्यारोमा पर्न सक्ने कुरा लेबर पार्टीका कैयौँले केही महिनायता बुझेका छन्।
यी निर्वाचनमा लेबर पार्टीले नराम्रो परिणाम भोग्न सक्ने ठानिएको छ। तर ती निर्वाचनसम्म कुर्दा निकै ढिलो भइसक्ने चिन्ता व्यक्त गर्दै पार्टीभित्र केहीले अहिले नै शीर्ष नेतृत्व फेर्ने विषयमा सोच्नुपर्ने धारणा राखेका छन्।
डाउनिङ स्ट्रीट पनि त्यस्तो सम्भावित सङ्कटबारे सचेत छ।
एक वरिष्ठ लेबर सांसदले बीबीसीसँग भने, "स्थानीय निर्वाचनसम्म पर्खौँ भन्ने सुझाव राम्रो हो। तर त्यसो गर्दा पार्टीका कार्यकर्ताहरूलाई जोखिमतिर धकेल्नुपर्छ। हामी सबै स्थानीय प्रतिनिधिहरू गुमाउन सक्दिनँ।"
स्वास्थ्यमन्त्री वेस स्ट्रीटिङ के चाहन्छन्
लेबर पार्टीकै अर्को स्रोतका अनुसार बजेटपछि स्टार्मरको विकल्प खोज्नेहरूको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ।
"यदि वेस स्ट्रीटिङले आँट गरे र अघि बढे भने उनले क्रिस्मससम्म प्रधानमन्त्री बन्न सक्छन्," उक्त स्रोतले भन्यो।
प्रधानमन्त्रीप्रति निकट मानिएका केही स्ट्रीटिङ महत्त्वाकाङ्क्षी बनेको ठान्छन्। यद्यपि स्ट्रीटिङका एक प्रवक्ताका अनुसार त्यस्ता दाबीहरू पूर्णतः असत्य हुन्।
"वेसको प्राथमिकता एनएचएस (राष्ट्रिय स्वास्थ्य सेवा)मा १५ वर्षमा पहिलो पटक प्रतीक्षा सूची घटाउने, अढाई हजार थप चिकित्सक भर्ना गर्ने र उनको ज्यान बचाएको एनएचसलाई पुनर्निर्माण गर्नेमा मात्रै केन्द्रित छ," उनले भने।
स्वास्थ्यमन्त्री स्ट्रीटिङले बुधवार केही सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने तयारी गरेका छन्। उनको अन्तर्वार्ताले इङ्ग्ल्यान्डको एनएचएसमा परिवर्तन गर्ने योजनामा केन्द्रित हुने ठानिएको छ।
सहयोगीहरूमाथि प्रश्न
सरकारमा रहेको एक स्रोतका अनुसार डाउनिङ स्ट्रीट पूरै प्रतिरक्षात्मक अवस्थामा पुगेको छ र बिनाकारण अतिनिष्ठावान् मन्त्रीहरूमाथि पनि खनिन थालेको छ।
"किअर स्टार्मरका सहयोगीहरूको टोलीले आफ्नै मान्छेहरूविरुद्ध प्रधानमन्त्रीलाई ब्रीफ गर्नु दुर्भाग्यको कुरा हो। एङ्गेला, लीसा र लुसीसँग पनि त्यस्तै भएको थियो। अहिले वेसको पालो आएको छ," स्रोतले भन्यो।
उक्त सरकारी स्रोतले भूतपूर्व उपनेता एङ्गेला रेनर, वर्तमान उपनेता लुसी पावेल अनि संस्कृतिमन्त्री लीसा नन्दीलाई डाउनिङ स्ट्रीटले विश्वास नगरेको प्रसङ्ग निकाल्दै भन्यो।
प्रधानमन्त्रीका समर्थकहरू नेतृत्वको प्रतिस्पर्धाले पार्टीलाई कन्जर्भेटिभ पार्टीको कार्यकालको अन्तिम वर्षहरूजस्तै अव्यवस्था निम्त्याउने र जनादेश नपाएका व्यक्ति नेता बन्न सक्ने बताएका छन्।
नेतृत्वको खेलका कारण अन्तर्राष्ट्रिय बजार पनि अस्थिर हुने र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग स्टार्मरले स्थापित गरेको सम्बन्ध पनि बिग्रिन सक्ने उनीहरूको तर्क छ।
मतसर्वेक्षणहरूमा किअर स्टार्मर निकै अलोकप्रिय देखिएका छन्। केही महिनायता लेबर पार्टीको पक्षमा २० प्रतिशतभन्दा बढी मतदाता नभएको देखिन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।