ब्ल्याक होलको अध्ययन गर्न भारतले अन्तरिक्षमा पठायो विशेष भूउपग्रह

इसरोले ब्ल्याक होलजस्ता खगोलीय पिण्डको अध्ययन गर्ने उद्देश्यसहित एउटा भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ

तस्बिर स्रोत, ISRO

तस्बिरको क्याप्शन, इसरोले ब्ल्याक होलजस्ता खगोलीय पिण्डको अध्ययन गर्ने उद्देश्यसहित एउटा भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ

भारतको अन्तरिक्ष अन्वेषण निकाय इसरोले ब्ल्याक होलजस्ता खगोलीय पिण्डको अध्ययन गर्न विशेष उपकरण बोकेको एउटा रकेट प्रक्षेपण गरेको छ।

उक्त रकेट श्रीहरिकोटाबाट स्थानीय समयानुसार सोमवार बिहान ९ः१० बजे प्रक्षेपण गरिएको हो।

यसअघि सन् २०२१ मा अमेरिकी अन्तरिक्ष अन्वेषण निकाय नासाले यस किसिमको अध्ययन गर्न पहिलो पटक अन्तरिक्ष अभियान थालेको थियो। भारत ब्ल्याक होल अध्ययन गर्नका लागि अन्तरिक्षमा आफ्नो अभियान थाल्ने दोस्रो देश बनेको छ।

ब्ल्याक होलबारे वैज्ञानिकहरूको ज्ञान अभिवृद्धि गराउन सघाउने आफ्नो उद्देश्य रहेको नासाले जनाएको थियो।

"अबको समय उत्साहजनक हुने छ," इसरोका अध्यक्ष एस सोमनाथले रकेट प्रक्षेपणपछि सोमवार भने।

ब्ल्याक होल के हो?

ब्ल्याक होल अन्तरिक्षको त्यस्तो क्षेत्र हो जहाँ हरेक वस्तु आफैँ विलीन हुन्छ।

त्यहाँ गुरुत्वाकर्षण यति शक्तिशाली हुन्छ कि त्यहाँबाट प्रकाशसमेत बाहिर निस्किन सक्दैन।

सूर्यभन्दा अर्बौँ गुना बढी पिण्डमान भएको विशाल ब्ल्याक होल केन्द्रमा देखिने आकाशगङ्गाको काल्पनिक चित्र

तस्बिर स्रोत, NASA, ESA and J Olmsted/Reuters

तस्बिरको क्याप्शन, सूर्यभन्दा अर्बौँ गुना बढी पिण्डमान भएको विशाल ब्ल्याक होल केन्द्रमा देखिने आकाशगङ्गाको काल्पनिक चित्र

केही ठूला ताराहरू विस्फोट भएपछि ब्ल्याक होल बन्छ। केही ब्ल्याक होल निकै विशाल हुन्छन्।

तिनको पिण्डमान हाम्रो सूर्यभन्दा अर्बौँ गुना बढी हुन्छ।

ब्ल्याक होल किन आकाशगङ्गाको बीचमा छन् भन्ने कारण भने पत्ता लागेको छैन।

तर तिनले आकाशगङ्गालाई ऊर्जा दिने र त्यसको विकासलाई प्रभावित गर्ने ठानिन्छ।

अहिले पठाइएको उपकरण के हो?

इसरोले अहिले रकेटमा हालेर 'एक्स-रे पोलरिमिटर स्याटलाइट' ('एक्सपोस्याट') अन्तरिक्षमा पठाएको छ।

यो भूउपग्रहको प्रयोग गरी ब्ल्याक होलबारे गहन अनुसन्धान गर्ने उद्देश्य इसरोको छ।

यो उपकरण बनाउन झन्डै २.५ करोड भारतीय रुपैयाँ मात्र खर्च भएको थियो।

'एक्सपोस्याट'को आयु झन्डै पाँच वर्षको भएको अनुमान गरिएको छ।

भारतले सन् २०२३ मा अन्तरिक्षमा दुई ठूला उपलब्धि हात पारेको थियो।

अगस्ट महिनामा भारतको चन्द्रयान-३ चन्द्रमाको दक्षिणी ध्रुवनजिकै अवतरण गरेको थियो। उक्त भागमा यसअघि कोही पनि पुगेको थिएन।

त्यसको केही महिनापछि भारतले सूर्यको निगरानी गर्ने आदित्य-एल१ अभियान प्रक्षेपण गर्‍यो।

अन्तरिक्षमा भारतको योजना

यो वर्ष भारतले अन्तरिक्षमा विभिन्न गतिविधि गर्ने योजना बनाएको छ।

"सन् २०२४ गङ्गायान तयार हुने वर्ष पनि हो," इसरो प्रमुख सोमनाथले भने। इसरोले पृथ्वीको तल्लो कक्षमा तीन अन्तरिक्ष पठाउने र तीन दिनपछि फिर्ता ल्याउने योजनालाई सङ्केत गर्दै उनले त्यसो भनेका हुन्।

इसरोले उक्त अभियानका लागि अक्टोबर महिनामा परीक्षण उडानहरू गरेको थियो।

मानवसहितको अभियान भने सन् २०२५ सम्म तयार पार्ने इसरोको योजना छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।