मलेशियालाई हराउँदै नेपाल बन्यो च्याम्पिअन

तस्बिर स्रोत, ACC
नेपालले १६ वर्ष मुनिका खेलाडीहरूको एशियाली क्रिकेट प्रतियोगिता 'एसीसी यू-१६ इस्ट जोन कप'को उपाधि जितेको छ।
नेपाली टोली पूर्णतः हाबी भएको मङ्गलवार सम्पन्न फाइनल खेलमा युवा खेलाडी नरेन भट्टको शतकको मद्दतले नेपालले जित हासिल गरेको हो।
नेपालले पहिलो ब्याटिङ गर्दै मलेशियाविरुद्ध ३५ ओभरमा ८ विकेट गुमाएर २५२ रनको चुनौतीपूर्ण स्कोर बनाएको थियो।
जबाफमा मलेशियाका खेलाडीहरूले नेपाली बलरको सामना गर्न सकेनन्।
नेपालले कुन-कुन देशलाई हरायो?

तस्बिर स्रोत, ACC
कप्तान अभिषेक तिवारीले पाँच विकेट लिएपछि मलेशिया १४.५ ओभरमा ३१ रनको न्यून स्कोरमा सीमित हुन पुग्यो। र, नेपाल २०१ रनले विजयी भयो।
नेपाली युवा टोली प्रतियोगिता अवधिभर कुनै खेल नहारिकन अपराजित पनि रह्यो।
यसअघि टोलीले समूह चरणमा मलेशियालाई ८४ रन तथा थाइल्यान्डलाई २२५ रनले हराएको थियो भने सेमिफाइनलमा सिङ्गापुरलाई ९७ रनले पराजित गरेको थियो।
नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पिअन पनि हो।
भट्टको शतक

तस्बिर स्रोत, CAN
टस जितेर पहिलो ब्याटिङ रोजेको नेपाल मलेशियाको बायोमास ओभलमा भएको खेलमा विपक्षी बलरमाथि हाबी रह्यो।
त्यसको सुरु ओपनर नरेन भट्टले गरेका हुन्। सानदार ब्याटिङ गरेका उनले ८२ बलमा आफ्नो शतक पूरा गरेका थिए।
जारी प्रतियोगितामा नेपाली खेलाडीको यो पहिलो शतक हो।
भट्टले अविजित ११२ रन बनाए, जसमा १० चौका र २ छक्का सामेल छ।
यसअघि प्रारम्भिक ब्याटर निरज यादवले ४७ रन तथा सूर्यान्सु कोइरालाले १८ रन बनाएर खेल अगाडि बढाएका थिए।



तस्बिर स्रोत, CAN
तीव्र गतिमा रन जोड्ने काम भने भट्ट र यादवको जोडीले दोस्रो विकेटका लागि गरेका हुन्। यी दुईले ७६ बलमा १०३ रनको साझेदारी गरे।
खेलको एक भाग भट्टले मज्जाले सम्हालेका थिए। अर्को भागमा भने सन्तोष यादवले २६ रन र अशोक धामीले १२ रन जोडेका हुन्।
एशियाली क्रिकेट परिषद् एसीसीले १६ वर्ष मुनिको टोलीको लागि आयोजना गर्ने यो नै ठूलो प्रतियोगिता हो।
यसमा एशियालाई पूर्वी र पश्चिम क्षेत्रमा छुट्टाइएको छ। पश्चिम क्षेत्रमा खाडीका राष्ट्रहरू छन्।
यो प्रतियोगितामा कुल सात टोली सहभागी थिए।








