भारतीय नेपालीभाषीबीच 'लोकप्रिय' छन् आदिकवि भानुभक्त आचार्य 

भानुभक्त

तस्बिर स्रोत, Pradeep Bashyal/BBC

तस्बिरको क्याप्शन, दार्जिलिङस्थित भानुभक्तको प्रतिमा
    • Author, नीतेश आर प्रधान
    • Role, सिक्किम

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती भारतका नेपालीभाषी भएका सिक्किम, दार्जिलिङ लगायत क्षेत्रमा भव्य तरिकाले मनाउने गरिएका खबर बर्सेनि सार्वजनिक हुने गर्छन्। सिक्किममा त भानु जयन्तीका दिन सार्वजनिक बिदा पनि दिइन्छ।

भानु जयन्तीको सन्दर्भमा सिक्किमका वर्तमान मुख्यमन्त्री र पूर्वमुख्यमन्त्रीले बीबीसी नेपालीसँग गरेको कुराकानीमा भानु जयन्तीलाई विशेष महत्त्व दिने गरेको झल्किन्छ।

भानु जयन्ती, सांस्कृतिक र साहित्यिक महोत्सवका रूपमा सिक्किम, दार्जिलिङका पहाडमा नेपालीभाषी समुदायबीच उत्साहका साथ मनाइन्छ।

नेपाली भाषालाई लोकप्रिय बनाउन महत्त्वपूर्ण भूमिका खेलेका आदिकविलाई यहाँ प्रख्यात कवि, अनुवादक र प्राज्ञका रूपमा हेरिन्छ।

असार २९ गते नेपालको तनहुँ जिल्लाको चुँदी रम्घामा जन्मिएका भानुभक्तको सबैभन्दा ठूलो योगदान वाल्मिकी रामायणलाई संस्कृतबाट नेपालीमा अनुवाद गरेर ठूलो जनसङ्ख्यामा पुर्‍याउनु रहेको मानिन्छ।

नेपाल र नेपालीभाषी भारतीय क्षेत्रमा भाषा तथा साहित्यमा उनको ठूलो प्रभाव छ।

कैयौँ कार्यक्रम

सिक्किममा ठूलो सङ्ख्यामा नेपालीभाषी भारतीय बस्छन्।

उनीहरूका लागि भानु जयन्तीले विशेष महत्त्व राख्छ। यो दिनमा कैयौँ सांस्कृतिक र साहित्यिक कार्यक्रमको आयोजना गरिन्छ।

भानुभक्तका रचना पाठ गरिन्छ। कविता प्रतियोगिता गरिन्छ। साङ्गीतिक कार्यक्रम गरिन्छ। उनका योगदानमाथि छलफल गर्न सभा सम्मेलन पनि गरिन्छ।

साङ्केतिक तस्बिर

तस्बिर स्रोत, Nitesh R Pradhan

स्कूल र कलेजमा पनि उनको सम्मानमा र नेपाली भाषा र साहित्यको प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम गरिन्छन्।

त्यसैगरी नेपालीभाषीबहुल पश्चिम बङ्गालको दार्जिलिङमा पनि भानु जयन्ती निकै उत्साहका साथ मनाइन्छ।

सांस्कृतिक समूहरू, शैक्षिक संस्थाहरू र सामुदायिक संस्थाहरूले भानुभक्त आचार्यको सम्झनामा विभिन्न कार्यक्रम गर्छन्।

'सम्मान गर्ने अवसर'

साङ्केतिक तस्बिर

तस्बिर स्रोत, Nitesh R Pradhan

यी उत्सवले नेपाली समुदायको सांस्कृतिक पक्षको समृद्धि झल्काउँछन् र युवा पुस्तामा साहित्यिक भोक जगाउँछन् भन्ने आयोजकहरू ठान्छन्।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले भानु जयन्तीको प्रंशसा गर्दै भने, “भानु जयन्तीले गहिरो सांस्कृतिक महत्त्व बोकेको छ। यो दिन ठूला साहित्यिक कार्यक्रम हुन्छन्। सांस्कृतिक कार्यक्रम हुन्छन्। लेखक, उपन्यासकार र नेपाली साहित्यका प्रशंसकहरूले उत्साहका साथ भाग लिन्छन्।”

उनले थपे, “रामायणलाई संस्कृतबाट नेपालीमा अनुवाद गरेर भानुभक्तले महान् काम गरेका छन्। भानुभक्त साहित्यकारका लागि मात्र प्रेरणाका स्रोत होइनन् । हामी आफ्नो मातृभाषाको शक्ति एवं महत्त्व जगाउन र आदिकविको विरासतलाई संरक्षण गर्न तथा अगाडि बढाउन दत्तचित्त रहौँ।”

भारतमा सबैभन्दा लामो समय मुख्यमन्त्री रहेका विपक्षी नेता पवन चामलिङले भानुभक्तका कृतिबारे भने, “भानुभक्तले सबैले बुझ्ने नेपाली भाषामा रामायण लेखेर एउटा नयाँ दिशा दिएका थिए। 'लोकको गरुँ हित' भन्ने उनको कविता सामाजिक कल्याणका लागि समर्पित थियो। भानु जयन्ती मनाउनु भनेको हाम्रा सबै लेखकको सम्मान गर्ने अवसर पनि हो।”

गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (जीटीए) का प्रमुख कार्यकारी अनित थापाले भानु जयन्तीका अवसरमा शुभकामना दिँदै समुदायको पहिचान जोगाउन भाषा र संस्कृतिको महत्त्वमा जोड दिएका छन्।

साङ्केतिक तस्बिर
यो पनि हेर्नुहोस्
साङ्केतिक तस्बिर

विशेष महत्त्व

उनले भने, “भाषाले संस्कृति फैलाउन महत्त्वपूर्ण भूमिका खल्छ। त्यसैले भारतीय गोर्खाका लागि भानु जयन्तीको विशेष महत्त्व छ।”

सिक्किममा भानु जयन्तीका दिन सार्वजनिक बिदा दिइन्छ। स्थानीय सरकारले भव्य रूपमा मनाउन सार्वजनिक र्‍याली आह्वान गर्छ।

नेपाली संस्कृति झल्काउने पहिरनमा मानिसहरू र्‍यालीमा सहभागी हुन्छन्। उनीहरू नाचगान गर्छन्।

साङ्केतिक तस्बिर
यो पनि हेर्नुहोस्
साङ्केतिक तस्बिर

सिक्किमका गभर्नर लक्ष्मण आचार्यले भानु जयन्तीको महत्त्वमा जोड दिँदै भने, “यो महोत्सवले सिक्किमकै महत्त्व झल्काउँछ। किनभने नेपाली भाषीहरूमा रामायणको अनुवादले सर्वसाधारणलाई रामायणमाथिको पहुँच स्थापित गरिदिएको छ। त्यसमा निहित भातृत्व र सेवाको महत्त्व दर्शाएको छ र सिक्किममा विविधतामा एकता दर्शाएको छ।”

“उनको साहित्यिक योगदानले नेपाली भाषा र संस्कृतिलाई धनी बनाएको छ। आदिकवि भानुभक्त आचार्यले संसारकै नेपालीभाषी समुदायलाई भावनात्मक रूपमा एक बनाएका छन्।”

विश्वभरि रहेका नेपालीभाषी समुदायमा आदिकवि भानुभक्त आचार्यको ठूलो प्रभाव रहेको मानिन्छ।

उनको साहित्यिक योगदानले नपाली भाषा र संस्कृतिलाई धनी बनाएको र आगामी पुस्तालाई पनि प्रेरणा दिने ठानिन्छ।