इमरान खानलाई मुक्त गर्न र कम्तीमा दुई साता फेरि पक्राउ नगर्न अदालतको आदेश

तस्बिर स्रोत, Getty Images
पाकिस्तानको एउटा अदालतले भ्रष्टाचारको अभियोगमा पक्राउ परेका पूर्वप्रधानमन्त्री इमरान खानलाई जमानतमा रिहा गर्न र कम्तीमा दुई साता फेरि नपक्रिन आदेश दिएको छ।
सर्वोच्च अदालतले उनको गिरफ्तारीलाई अवैध ठहर गरेको भोलिपल्ट इस्लामाबाद उच्च अदालतले त्यस्तो आदेश दिएको हो।
न्यायाधीशहरूले उनलाई कम्तीमा दुई साता सुरक्षित हुनेगरी जमानत दिएका हुन्।
यसअघि खानले बीबीसीलाई रिहा भएलगत्तै आफूलाई पुन: पक्राउ गरिने बताएका थिए।
बिहीवार अदालतमा प्रधानन्यायाधीश उमर अता बन्दियालले खानको गिरफ्तारीलाई "अवैध" ठहर गर्दै "पूरा प्रक्रियाबाट पछाडि हट्नुपर्ने" आदेश दिएका थिए
सत्तरी वर्षीय यी नेताको गिरफ्तारीसँगै पाकिस्तानी सेनासँगको उनको तनाव बढेको थियो।


प्रधानमन्त्रीद्वारा अदालत र खानको आलोचना

तस्बिर स्रोत, Reuters
धेरै विश्लेषकहरू सन् २०१८ मा खानले सेनाको सहयोगमा चुनाव जितेको ठान्छन्। तर दुवै पक्षले त्यसलाई नकार्दै आएका छन्।
प्रधानमन्त्री पदबाट हटेपछि खान सेनाको सबैभन्दा प्रखर आलोचक बनेका छन्।
गत वर्ष एप्रिलमा विश्वासको मत प्राप्त गर्न विफल भएपछि देशको आर्थिक सङ्कटमाझ उनी सत्ताबाट हटेका थिए।
चार वर्षभन्दा कम समय सत्तामा रहेर खान बाहिरिएपछि सेनाको लोकप्रियता खस्किएको विश्लेषकहरू बताउँछन्।
खानपछि शक्तिमा आएका पाकिस्तानका वर्तमान प्रधानमन्त्री शहबाज शरिफले सरकारी टेलिभिजनमा दिएको एक मन्तव्यमा इमरान खानलाई रिहा गर्ने सर्वोच्च अदालतको आदेशको आलोचना गरेका छन्।
उनले न्यायाधीशहरूले खानको पक्षमा लागेको आरोप लगाउँदै उनीहरूको आदेशले "पाकिस्तानमा न्यायलाई मृत पारेको" बताएका छन्।
उनले खान र उनको दलको आलोचना गर्ने क्रममा उनीहरूले प्रदर्शनकारीहरूलाई सडकमा उत्रन उकासेको भनेका छन्।
प्रधानमन्त्री शरिफले भने, "इमरान खानले देशलाई विभाजित पारेका छन्।"


खान के भन्छन्?
मङ्गलवार खान पक्राउ परेपछि पाकिस्तानभरि चर्किएको प्रदर्शनका क्रममा कम्तीमा १० जनाको मृत्यु भइसकेको छ भने २,००० जनाभन्दा बढी मानिस पक्राउ परेका छन्।
बीबीसीसँगको कुराकानीमा खानले केही समर्थकहरूबाट भएका हिंश्रक प्रदर्शनका लागि आफूलाई जिम्मेवार ठहर्याइन नमिल्ने बताए।
उनले हिरासतमा भएकाले त्यसबेलाको अवस्थालाई आफूले नियन्त्रण गर्न नसक्ने तर्क गरे।
तीन दिनअघि उनलाई नाटकीय रूपमा इस्लामाबादस्थित उच्च अदालत परिसरबाटै पक्राउ गरिएको थियो।
प्रहरीले सबैखाले जमघट गर्न प्रतिबन्ध लगाएको छ तर खानको दल पीटिआईले इस्लामावादमा प्रदर्शनका लागि आफ्ना हजारौँ कार्यकर्ताहरू जम्मा हुने जनाएको छ।
खानको दल पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई)ले उनी प्रधानमन्त्री छँदा पाएका उपहारबारे लगाइएका अभियोगहरू राजनीतिक रूपमा प्रेरित रहेको जनाएको छ।
उनीविरुद्ध अन्य कैयौँ अभियोगहरू दर्ता गरिएका छन्।
को हुन् इमरान खान?

तस्बिर स्रोत, Reuters
इमरान खान भूतपूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी हुन्।
राजनीतिमा प्रवेश गरेको दुई दशकपछि उनी पाकिस्तानका प्रधानमन्त्री बन्न सफल भए।
देशको इतिहासमा विश्वासको मत प्राप्त गर्न विफल भएर सत्ताबाट बाहिरिने उनी प्रथम प्रधानमन्त्री समेत हुन्।
सन् १९९६ मा उनले आफ्नो दल पाकिस्तान तहरिक-ए-इन्साफ (पीटिआई) स्थापना गरे तापनि सन् २०१३ को आमनिर्वाचनबाट मात्र उक्त दल राष्ट्रिय रूपमा गम्भीर शक्तिका रूपमा देखिन थालेको हो।
‘नयाँ पाकिस्तान’को नारा दिएर भ्रष्टाचारविरुद्ध लड्ने र अर्थतन्त्रलाई लयमा ल्याउने बाचासाथ सन् २०१८ को जुलाईमा उनी देशको प्रधानमन्त्री निर्वाचित भएका थिए।
तर सन् २०२२ को एप्रिलमा विश्वासको मत प्राप्त गर्न विफल भएपछि उनको सरकार ढलेको थियो।









