इमरान खान: पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्रीको गिरफ्तारी गैरकानुनी रहेको आदेश

इमरान खान

तस्बिर स्रोत, TWITTER/PTI OFFICIAL

पाकिस्तानको सर्वोच्च अदालतले देशका पूर्वप्रधानमन्त्री इमरान खानको गत मङ्गलवार गरिएको गिरफ्तारी गैर कानुनी रहेको आदेश दिएको छ।

अदालतले खानलाई तत्काल रिहा गर्ने आदेश दिएको छ।

भ्रष्टाचार सम्बन्धी एक मुद्दालाई लिएर यसै साता उनलाईनाटकीय रूपमा अदालत परिसरबाटै पक्राउ गरिएको थियो।

मङ्गलवारयता खानलाई राजधानी इस्लामावादस्थित एक प्रहरी गेस्टहाउसमा राखिएको छ।

उनलाई त्यहाँबाट निस्किन दिइन्छ या दिइँदैन भन्ने कुरा अझै प्रस्ट भएको छैन।

आफ्नै निवास फर्कन खानले गरेको आग्रहलाई न्यायाधीशहरूले अस्वीकार गर्दै आफ्नै सुरक्षाका लागि अहिलेकै ठाउँमा बस्नुपर्ने बताएका छन्।

लाइन
लाइन

तनाव

खानको गिरफ्तारीसँगै पाकिस्तानभर चर्किएको प्रदर्शनका क्रममा कम्तीमा १० जनाको मृत्यु भएको छ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, खानको गिरफ्तारीसँगै पाकिस्तानभर चर्किएको प्रदर्शनका क्रममा कम्तीमा १० जनाको मृत्यु भएको छ

उनका वकिलहरूले उक्त गिरफ्तारी गैर कानुनी रहेको तर्क गरेका थिए भने उनको दल पाकिस्तान तहरिक-ए-इन्साफ (पीटिआई)ले त्यो राजनीतिक रूपमा प्रेरित रहेको जनाएको थियो।

खानको पक्राउसँगै पाकिस्तानभर चर्किएको प्रदर्शनका क्रममा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै २,००० भन्दा धेरै मानिसहरू पक्राउ परेका थिए।

मङ्गलवारको गिरफ्तारीले खान र सेनाबिच समेत तनाव उत्पन्न गराएको थियो।

गत वर्ष एप्रिलमा विश्वासको मत प्राप्त गर्न विफल भएपछि सत्ताबाट हटेका विपक्षी नेता खानलाई प्रधानन्यायाधीशको आदेशमा अदालतमा प्रस्तुत गरिएको थियो।

प्रधानन्यायाधीश उमर अता बन्दियालले खानलाई भने: "तपाईँको गिरफ्तारी अवैध थियो त्यसैले पूरा प्रक्रियाबाट पछाडि हट्नुपर्ने हुन्छ।"

लाइन
लाइन

उतारचढाव

पूर्व क्रिकेट खेलाडी खानले न्यायाधीशहरूलाई आफूलाई उच्च अदालतबाट अपहरण गरिएको र "लठ्ठीले हिर्काइएको" बताए।

चार वर्षभन्दा कम समय सत्तामा रहेका खानको गिरफ्तारीपछि समर्थकहरूले पाकिस्तानमा दुर्लभ रूपमा हुने सरकारी तथा सैन्य भवनहरूमा आक्रमण गरेका थिए।

उनको गिरफ्तारीपछि पक्राउ पर्नेमा सातजना शीर्ष पीटिआई नेताहरू समेत छन्।

जसमध्येका पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीले "हिंसा उकासेको" प्रहरीले जनाएको छ जसलाई उनले अस्वीकार गरेका छन्।

धेरै विश्लेषकहरूले सन् २०१८ मा खानले सैन्य सहयोगमा चुनाव जितेको ठान्छन्।

तर पदबाट हटेपछि उनी सेनाको सबैभन्दा प्रखर आलोचक बनेका छन्।

सन् २०२२ को नोभेम्बरमा एक विरोध जुलुसका क्रममा खानको खुट्टामा गोली प्रहार भएको थियो।

उनले वरिष्ठ गुप्तचरहरूले उक्त हमला गराएको आरोप लगाएका थिए जसलाई सेनाले कडा रूपमा अस्वीकार गरेको छ।

पाकिस्तान