फिफासँगको विवादमा केही विश्वकप फुटबल समर्थक

क्रोएशियाका समर्थक

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, क्यानडाका गोलरक्षकविरुद्ध अपमानजनक व्यवहार गरेकोमा क्रोएसियाका समर्थकमाथि अनुसन्धान भइरहेको छ

विश्वकप फुटबल भन्ने बित्तिकै समर्थकहरू आफूले मन पराउने टोलीलाई पूर्ण समर्थन गर्नका लागि उनीहरूले कुनै कसर बाँकी राख्दैनन्।

समर्थन, आँसु र ब्यानर सर्वत्र देखिन्छन् तर कतिपय अवस्थामा उत्साहले नराम्रो व्यवहारलाई पनि निम्त्याउन सक्छ।

जब त्यस्तो हुन्छ फुटबलको सर्वोच्च निकाय फिफाले हस्तक्षेप गर्न सक्छ र टोलीलाई खराब अचरणमा दोषी ठहर गर्दै प्रतिबन्ध लगाउनसक्छ।

उक्त संस्थाले सन् २०२२ मा कैयौँ देशहरूमाथि प्रतिबन्ध लगाइसकेको छ।

मङ्गलवार क्रोएसियाका समर्थकहरूले क्यानडाका गोलरक्षक मिलान बोर्जानको सर्बियाली परिवारलाई लिएर अभद्र व्यवहार प्रदर्शन देखाएपछि त्यसबारे अनुसन्धान गर्ने निर्णय फिफाले गरेको छ।

क्रोएसियाका समर्थकको किन आलोचना भइरहेको छ

समर्थकहरूले बोर्जानलाई लक्षित एउटा ब्यानर प्रदर्शन गरेका थिए जसमा उनको परिवारको गृहनगरको नाम एउटा ट्र्याक्टरको निर्माताको लोगोमाथि उल्लेख गरिएको थियो।

उक्त खेलमा क्यानडा ४-१ गोल अन्तरले पराजित भएको थियो।

युगोस्लोभियासँगको विभाजनपछि बोर्जानको परिवारले सन् १९९५ मा निनस्थित आफ्नो गृहनगर छाडेको थियो।

त्यसबेला सर्बियाली आदिवासीहरू ट्रयाक्टरमा भागेका विवरणहरू आइरहेका थिए।

बोर्जानको परिवार सन् २००० मा क्यानडा बसाइँ सरेको थियो।

फिफाले लैङ्गिक अल्पसङ्ख्यक विरुद्ध अपमानजनक नारा लगाएको आरोपमा मेक्सिको र एक्वडरविरुद्ध पनि अनुशासनको कारबाही अघि बढाएको छ।

यदि कारबाही भएको अवस्थामा ती राष्ट्रिय टोलीहरूलाई जरिवाना गराइन्छ वा उनीहरूले रित्तो मैदानमा पनि खेल्नुपर्ने हुनसक्छ।

फिफाले समर्थकहरूले गर्ने दुर्व्यवहारप्रति ‘शून्य सहनशीलता नीति’ अवलम्बन गर्ने बताएको छ।

उक्त संस्थाले तीन चरणको निर्णय प्रक्रियालाई अवलम्बन गर्ने गरेको छ जसमा रेफ्रीलाई खेललाई रोक्न, निलम्बन गर्न वा म्याचलाई नै अन्त्य गरिदिने अधिकार दिइएको छ।

खेलाडीहरूलाई उनीहरूको वर्ण, जाति र यौनिक पहिचानका आधारमा दुर्व्यवहार गरिएको खण्डमा उनीहरूले यस्तो निर्णय लिनसक्छन्।

कस्तो सजायको व्यवस्था छ

सन् २०१९ मा उसले त्यस्ता विभेदकारी दुर्व्यवहारका लागि गराइने जरिवानालाई वृद्धि गराएको छ।

समर्थकहरूले नियम तोडेको खण्डमा उसले न्यूनतम २०,००० स्विस फ्र्याङ्क अर्थात् २८ लाख ७९ हजार रुपियाँ जरिवाना गराउनसक्छ।

उक्त टोलीले कम्तीमा एउटा खेलका लागि आफ्नो रङ्गशाला आंशिक रूपमा बन्द गराउनुपर्ने हुन्छ।

सन् २०१९ मा उसले कैयौँ टोलीहरूलाई दण्डित गरेको छ।

अघिल्लो वर्ष यौनिक विभेद झल्काउने नाराबाजी गरेका कारण मेक्सिकोमाथि १ लाख स्विस फ्र्याङ्क अर्थात् १ करोड ३७ लाख रुपैयाँ जरिवाना गरेको थियो।

उसले विश्वकपका दुई वटा छनौट खेल समर्थक बिना नै खेलाउनु परेको थियो।

हङ्गेरीको फुटबल सङ्घमाथि २ करोड ७५ लाख जरिवाना गराइएको थियो र समर्थकहरूलाई दुई वटा खेलमा प्रतिबन्ध लगाइएको थियो।

त्यसबेला हङ्गेरीका समर्थकहरूले इङ्ग्लिस फुटबल टोलीका अश्वेत खेलाडीमाथि घृणा झल्कने व्यवहार देखाएका थिए। 

समलिङ्गी सम्बन्धलाई गैर कानुनी मान्ने कतारलाई विश्वकप आयोजना गर्न दिएकोमा फिफाले आलोचना खेपिरहेको छ।

खेलाडी र समर्थकहरूलाई त्यस्ता यौनिक अल्पसङ्ख्यक समुदायप्रति समर्थन जनाउने टोपी वा आर्मब्यान्ड हटाउन भनिएका विवरण आएका छन्। 

यद्यपि कतारले सबैलाई आफूले स्वागत गरिरहेको जनाएको छ।