उत्तराखण्डमा सुरुङभित्र फसेका ४० मजदुरको उद्धार प्रयासः पाइपबाट खानेकुरा र अक्सिजन पठाइयो

तस्बिर स्रोत, GETTY IMAGES
भारतमा उत्तराखण्ड राज्यमा एउटा भत्किएको सुरुङमा गत आइतवारदेखि फसिरहेका ४० जना मजदुरको ज्यान जोगाउने प्रयास उद्धारकर्मीहरूले गरिरहेको बताइएको छ।
फसिरहेका ती मजदुरहरू उक्त भत्किएको सुरुङ निर्माणमा संलग्न थिए।
त्यहाँ पहिरोका कारण उक्त निर्माणाधीन सुरुङको केही भाग भत्किँदा मजदुरहरू त्यहाँ फसेका बताइएको छ।
अधिकारीहरूले बाहिरबाट ती मजदुरहरूसँग सम्पर्क स्थापित गर्न सफल भएका छन्।
उनीहरूलाई खानेकुरा, पानी र अक्सिजन पठाइएको छ।
अधिकारीहरूले मङ्गलवार राति वा बुधवारसम्म ती मजदुरहरूलाई उद्धार गर्न सकिने अनुमान गरेका छन्।
कसरी भत्कियो सुरुङ?
उत्तरकाशी जिल्लामा निर्माण भइरहेको उक्त सुरुङ उत्तराखण्डका प्रसिद्ध तीर्थस्थलहरूलाई जोड्न यातायात व्यवस्थामा सुधार ल्याउने सङ्घीय सरकारको महत्वाकाङ्क्षी राजमार्ग परियोजनाको एक भाग हो।
कतिपय हिमाल र हिमनदीहरू रहेको उक्त क्षेत्रमा हिन्दू धर्मावलम्बीहरूका केही प्रसिद्ध तीर्थस्थलहरू पनि छन्।
त्यस क्षेत्रका एक वरिष्ठ प्रहरी अधिकारी अर्पण यदुवंशीले बीबीसी हिन्दीलाई बताएअनुसार आइतवार स्थानीय समयानुसार बिहान ५ बजे निर्माणाधीन सुरुङमा दुर्घटना भएको थियो। मजदुरहरूले काम गरिरहेको अवस्थामा सिल्क्यारा सुरुङको मुखदेखि २०० मिटरभित्रको भाग भत्किएको उनले बताए।
नजिकै गएको पहिरोले सुरुङ क्षेत्रमा ठूलो मात्रा ढुङ्गामाटो थुप्रिँदा सुरुङ भत्किएको बताइएको छ। त्यसले गर्दा सुरुङभित्र अक्सिजनको आपूर्ति पनि काटिएको बताइएको छ।

तस्बिर स्रोत, GETTY IMAGES
आइतवार राति वाकीटकी यन्त्रको माध्यमबाट सुरुङमा फसेका मजदुरहरूसँग सम्पर्क स्थापित भएको थियो।
सुरुङभित्र निर्माण कार्यका लागि पानी लग्न बनाइएको पाइपलाइनको प्रयोग अहिले ती मानिसहरूसम्म अक्सिजन, खानेकुरा र पिउने पानी पुर्याउन भइरहेको छ।
फसिरहेका मानिसको उद्धार गर्न त्यस क्षेत्रमा उत्खनन सुरु गर्नुअघि उद्धारकर्मीहरूले त्यहाँ थुप्रिएको ढुङ्गामाटोको कैयौँ मिटर अग्लो विशाल डङ्गुर हटाउनुपर्ने छ। त्यसका लागि एक्स्कभेटर र अन्य ठूला उपकरणहरूको प्रयोग भइरहेको छ।
मजदुरहरूसम्म पुग्न मङ्गलवार बिहान ढुङ्गामाटोले पुरिएको सुरुङको भागमा ९०० मिमिको पाइप छिराउनका लागि त्यस स्थानमा ड्रिल गर्ने प्रयासमा उद्धारकर्मीहरू लागिरहेका राज्य सरकारले जनाएको थियो।
राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले उद्धारकार्यमा राष्ट्रिय र राज्य तहका विपद् उद्धार टोलीहरू संलग्न छन्।
उनको कार्यालयबाट जारी वक्तव्यमा भनिएको छ, “सुरुङमा फसेका सबै मजदुरहरू सुरक्षित छन् र उनीहरूलाई छिटो बाहिर निकाल्न सबै प्रयास गरिएको छ।”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








