तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
महाधिवेशनको सङ्घारमा रहेका दलहरूमा नेतृत्व पुस्तान्तरण किन कठिन
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
प्रमुख राजनीतिक दलहरू पार्टी नेतृत्व चयन गर्ने महाधिवेशनमा केन्द्रित भएका छन्।
आगामी पुसभित्रै नेपालका प्रभावशाली तीन राजनीतिक दलहरूले महाधिवेशन सक्ने तयारी गरिरहँदा ती दलको प्रमुखमा दोहोरिन अहिलेकै नेतृत्वको अभ्यास सुरु भएको छ।
सरकारको नेतृत्व गरिरहेको कांग्रेस र प्रमुख प्रतिपक्ष एमालेले मङ्सिरमा महाधिवेशन तय गरेका छन् भने सत्ता गठबन्धनको प्रमुख साझेदार माओवादीले पुसमा राष्ट्रिय सम्मेलन गर्दै छ।
तर युवा नेता र राजनीतिक विश्लेषकहरूले नेपालका प्रभावशाली राजनीतिक पार्टीको आगामी महाधिवेशनबाट नेतृत्वमा पुस्तान्तरण हुने सम्भावना अन्त्यतै न्यून रहेको बताएका छन्।
राजनीति विश्लेषक मुमाराम खनाल पार्टीभित्र र बाहिर उनीहरूको नेतृत्वबारे देखिएका असन्तुष्टि ढाक्न वैधानिक रूपमा निर्वाचित भएर पार्टी नेतृत्वमा दोहोरिन मात्रै दलहरूका अधिवेशन हुन लागेको बताउँछन्।
"पहिलो पुस्ताको नेतृत्वलाई असक्षम भएको आरोप लागिरहेको छ। उनीहरूको उमेर पार्टीमा नेतृत्व गरेको समय र नेतृत्वमा रहँदाको प्रदर्शन हेरेर पार्टी बाहिर जनस्तरको र पार्टी भित्र नेता कार्यकर्ताको असन्तुष्टि पनि छ," उनी भन्छन्।
"तर उनीहरू पार्टीभित्र औपचारिक रूपमा अधिवेशनहरू गरेर हामी त निर्वाचित भएर आएका छौँ र हाम्रो नेतृत्व अकाट्य छ भनेर देखाउन खोजिरहेका छन्।"
विधान संशोधन गरेर ओलीलाई बाटो
संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेले पार्टी नेतृत्व चयनका लागि आगामी मङ्सिरमा दशौँ महाधिवेशन गर्दै छ।
विगतमा पटक-पटक एउटै कक्षा दोहोर्याएर नपढ्ने बताउने गरेका ओलीले आगामी महाधिवेशनमा उम्मेदवार हुनेबारे आफैँले मुख खोलेका छैनन्। तर उनी निकटका नेताहरूले नेतृत्वमा ओलीको 'आवश्यकता' रहेको बताउँदै आएका छन्।
ललितपुरको गोदावरीमा आइतवार सम्पन्न एमालेको विधान महाधिवेशनले आगामी महाधिवेशनपछि पनि एमालेको नेतृत्व गर्न ७० वर्षे ओलीलाई बाटो खोलिदिने निर्णयलाई अध्यक्षमा उनी दोहोरिने तयारीको रूपमा हेरिएको छ।
७० वर्षपछि पार्टी कार्यकारी पदबाट अवकाश लिनुपर्ने विधान संशोधन गर्दै गोदावरी महाधिवेशनले त्यसपछि पनि पार्टी कार्यकारी पदमा रहन सक्ने व्यवस्था गरेको छ।
"कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष नपुग्दासम्म उम्मेदवार हुन पाउने कार्यकालको बीचमा ७० पूरा भएमा सो कार्यकाल भरी आफ्नो जिम्मेवारीमा रहेर काम गर्न पाउने," संशोधित विधानबारे एमाले उपमहासचिव विष्णु पौडेलले भने।
ओली अध्यक्षमा दोहोरिँदा एमाले विधान अनुसार दोस्रो तहका धेरै नेताहरूको एमाले नेतृत्वमा पुग्ने महत्त्वाकाङ्क्षा पूरा हुन पाउने छैन।
पार्टी नेतृत्वका आकाङ्क्षी ठानिएका ईश्वर पोखरेल, सुवास नेम्वाङ, युवराज ज्ञवाली, भीम रावल, रामबहादुर थापा लगायतका नेताहरू एमालेको आगामी महाधिवेशनअघि नै ७० वर्ष पुग्ने भएकाले उम्मेदवार हुन पाउँदैनन्।
पाँच वर्षदेखि पार्टीको नेतृत्व गरिरहेका ओलीलाई गत महाधिवेशनमा चुनौती दिएका माधव नेपालसहित एमालेमा असन्तुष्ट समूह पार्टीबाट अलग भइसकेका कारण आगामी महाधिवेशनमा ओली आफैँ अघि सरे उनी दोहोरिने सम्भावना धेरै रहेको एमाले नेताहरू बताउँछन्।
कांग्रेसमा देउवाले नछोड्ने
सरकारको नेतृत्व गरिरहेको कांग्रेसको महाधिवेशन पनि एमालेको सँगसँगै आगामी मङ्सिरका लागि तय भएको छ।
साढे पाँच वर्षयता पार्टीको नेतृत्वमा रहेका ७४ वर्षीय सभापति देउवाले कांग्रेस नेतृत्वमा दोहोरिने आकाङ्क्षा निकटस्थहरूसँग राखिसकेका छन्।
"आजभन्दा छ महिना अगाडि नै विभिन्न बैठकहरूमा र आफूनिकट केन्द्रीय पदाधिकारीहरूसँग '१४ औँ महाधिवेशनमा म पनि सभापतिको उम्मेदवार हुँ, विधानले दिएको छ, मेरा केही कामहरू अधुरा छन् म पनि उम्मेदवार हुन्छु तपाईँहरूले सहयोग गर्नुहोस्' भन्नुभएकोले हामीले त्यसैलाई उम्मेदवारीको आकाङ्क्षा आधिकारिक हो भन्ने ठानेर तयारी गरिरहेका छौँ," देउवानिकट केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले बीबीसीसँग भने।
गत असारमा आफू निकट नेताहरूलाई बुढानीलकण्ठस्थित निवासमा बोलाएर देउवाले आफूले सभापतिमा उम्मेदवारी दिने जानकारी गराएका थिए।
अघिल्लो महाधिवेशनमा दोस्रो चरणको निर्वाचनबाट सभापतिमा निर्वाचित भएका देउवालाई पार्टी नेतृत्वमा आउन ओलीलाई जति सहज नभएको बताइन्छ।
तर उनीसँग प्रतिस्पर्धा गर्न कांग्रेसमा अरू आधा दर्जन नेताहरू आकाङ्क्षी छन्।
पार्टीमा उनलाई चुनौती दिने समूहका नेताहरूबाट धेरै आकाङ्क्षी हुँदा देउवालाई महाधिवेशन सहज हुने उनी निकट नेताहरूको बुझाइ छ।
देउवाले एक कार्यकाल सभापतिमा दोहोर्याउने उनीनिकट नेता विश्वकर्माको दाबी गर्छन्।
देउवा यसअघि पनि केही वर्ष कांग्रेस विभाजित भएर बनेको कांग्रेस प्रजातान्त्रिकको सभापति भइसकेका नेता हुन्।
प्रचण्डको अरूमाथि अविश्वास
सत्ताधारी गठबन्धनको प्रमुख साझेदार माओवादीले पनि आगामी पुसमा पार्टीको महाधिवेशन तय गरेको छ।
३२ वर्षसम्म पार्टी नेतृत्वमा रहेका माओवादी अध्यक्ष प्रचण्डले पार्टीमा आफ्नो उत्तराधिकारी तय भई नसकेको भन्दै अध्यक्षमा दोहोरिने सङ्केत गरिसकेका छन्।
एमालेमा जस्तै माओवादीमा पनि प्रचण्डलाई चुनौती दिने नेताहरू पाखा लागिसकेका छन्।
पार्टीमा प्रचण्डलाई चुनौती दिँदै आएका मोहन वैद्य, बाबुराम भट्टराई, रामबहादुर थापा र नेत्रविक्रम चन्द जस्ता नेताहरू माओवादीबाट अलग भइसकेका छन्।
गत साता माओवादी समर्थित विद्यार्थी सङ्गठनको सम्मेलनमा विद्यार्थी नेताहरूले पार्टीमा नेतृत्व हस्तान्तरणको सवाल उठाएपछि प्रचण्डले त्यस बारेमा मुख खोले।
"हुँदाहुँदा अब त भित्रकै साथीहरूले पनि भन्न थाले अब त प्रचण्डबाट केही माखो मर्दैन भन्छन्, मलाई त अनौठो लाग्छ हेर्नूस्, मेरो अगाडि त तपाईँ नै हो तपाईँबाहेक कोही छैन भन्छन् तर पछाडि गएर अब प्रचण्डबाट केही हुँदैन अब अर्को तयारी म त्यस्तो सुन्छु," उनले भने।
"साँच्चिकै गर्दिने साथी भयो सबैलाई समेटेर लाने भयो भने त म त बसेर किताब लेख्न पाए सबैभन्दा खुसी हुन्थे तर यसो हेर्छु छाँट" भन्दै उनले ओठ लोपार्दा हलमा सहभागी विद्यार्थीहरूले होहल्ला गर्दै समर्थन जनाएका थिए।
माओवादीले यसअघि गरेका अधिवेशनहरू पनि प्रतिस्पर्धात्मक नभएको भन्दै पार्टीभित्र र बाहिर प्रश्न उठ्ने गरेको छ।
किन हुँदैन नेतृत्व पुस्तान्तरण?
एमालेबाट अलग भएर नयाँ गठन भएको एकीकृत समाजवादीको नेतृत्व डेढ दशक एमालेको नेतृत्व गरिसकेका नेता माधवकुमार नेपालले गरेका छन्।
उनले अझै पाँच वर्ष आफूले सक्रिय राजनीति गर्ने बताएका छन्।
विसं २०६२-६३ को परिवर्तनपछि उदय भएका दलहरूले पनि समयमा अधिवेशन र नेतृत्व हस्तान्तरण गर्न सकेका छैनन्।
परिवर्तन उल्टाएर नेपालमा संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको एजेन्डा उठाउँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीमा पनि पुस्तान्तरण हुन सकेको छैन।
आगामी कात्तिकमा महाधिवेशन तय गरेको राप्रपामा पनि यसअघि राप्रपाकै विभाजनबाट बनेका दलहरूको नेतृत्व गरिसकेका नेताहरू नेतृत्वका आकाङ्क्षी देखिएका छन्।
राजनीतिक विश्लेषक खनाल नेपालका राजनीतिक दलहरूमा दोस्रो वा तेस्रो पुस्ताका नेताहरूले हस्तक्षेप गरेर पार्टीको प्रणाली तोड्न नसकेका कारण पुस्तान्तरण हुन नसकेको बताउँछन्।
"दोस्रो पुस्तालाई पार्टीको सिस्टमले दिएको छैन। तर दोस्रो पुस्ताले त्यो समस्या बुझेकै छैन, पहिलो पुस्ताले मलाई नेतृत्व हस्तान्तरण गरेन भन्ने मात्रै बुझेको छ," खनाल भन्छन्।
"पहिलो पुस्ताका लागि जे कुराले पार्टी बलियो छ, दोस्रो पुस्ताका लागि त्यो कुरा वाधक छ तर आफूले बुझ्दासम्म उ अहिलेको पहिलो पुस्ताजस्तो नभई पार्टी चलाउनै सक्दैन।"