कोभिड भारतः कोरोना भाइरस महामारीले कसरी अहिलेको भयावह अवस्था ल्यायो

    • Author, विकास पाण्डे
    • Role, बीबीसी न्यूज, दिल्ली

सोमवार भारतको सङ्घीय सरकारका एक वरिष्ठ अधिकारीले पत्रकारहरूसँग कुरा गर्दै देशमा राजधानी दिल्ली तथा अन्यत्र कतै पनि अक्सिजनको कुनै अभाव नरहेको बताएका थिए।

उनले त्यसो भन्दै गर्दा उनी रहेको स्थानभन्दा केही माइल मात्रै पर रहेका कतिपय साना अस्पतालहरूले आफूहरूकहाँ अक्सिजन सकिएको र विरामीहरूको ज्यान जोखिममा पर्न लागेको भन्दै गुहार मागिरहेका थिए।

तीमध्येको एउटा बाल अस्पतालका मुख्य चिकित्सकले बीबीसीसँग कुरा गर्दै आफूकहाँ रहेका विरामी बालबालिकाको जीवन कठिनतापूर्वक जोगाउन सकिएको बताए। किनकि त्यहाँ अन्तिम समयमा स्थानीय राजनीतिज्ञको सहयोगमा अक्सिजन जुटाउन सकिएको थियो।

तर भारतको गृह मन्त्रालयका एक वरिष्ठ अधिकारी पीयूष गोयलले अक्सिजन ढुवानीको मात्र समस्या रहेको बताएका छन्।

उनले अस्पतालहरूलाई स्थापित निर्देशिकाहरू अन्तर्गत रहेर सोचविचार गरेर मात्र अक्सिजनको प्रयोग गर्न अस्पतलाहरूलाई सुझाव पनि दिएका छन्।

तर बीबीसीसँग कुरा गरेका चिकित्सकहरूले अत्यावश्यक परेका बिरामीलाई मात्र अक्सिजन दिने गरिएको बताएका छन् किनकि बिरामीका लागि पर्याप्त हुनेगरी अक्सिजन उपलब्ध नै छैन।

विज्ञहरूका अनुसार अक्सिजनको अभाव अन्य विभिन्न समस्यामध्ये एउटा मात्र हो। ती समस्याले भारतको सङ्घीय र राज्य सरकारहरू कोरोनाभाइरस महामारीको यो पछिल्लो लहरबाट पुगेको क्षतिबाट जोगिन अलिकति पनि तयारी अवस्थामा नरहेको भन्ने देखाउँछन्।

चेतावनी

यस्तो अवस्थाप्रति निकै समयअघि देखि नै विभिन्न चेतावनीहरू जारी भैरहेका थिए।

नोभेम्बर महिनामा स्वास्थ्य मामिलाको एक संसदीय स्थायी समितिले देशमा अक्सिजन आपूर्तिको समस्या रहेको र अस्पतालहरूमा शय्याहरू एकदमै अपर्याप्त रहेको बताएको थियो।

फेब्रुअरी महिनामा बीबीसीसँगको कुराकानीमा पनि कतिपय विज्ञहरूले देशमा "कोभिडको सुनामी आउने" चिन्ता व्यक्त गरेका थिए।

मार्च महिनाको आरम्भतिर पनि सरकारले गठन गरेको वैज्ञानिकहरूको एक विज्ञ समूहले अधिकारीहरूलाई सचेत तुल्याउँदै देशका अझ तीव्र गतिमा सङ्क्रमण फैलाउन सक्ने कोरनाभाइरसको प्रकार देशभरि फैलन सक्ने बताएका थिए।

तर सरकारले सङ्क्रमण रोक्ने कुनै प्रयास नगरेको उक्त समूहका एकजना वैज्ञानिकले बीबीसीलाई बताए। सरकारले यी आरोपहरूका सम्बन्धमा कुनै टिप्पणी गरेको छैन।

यो सबै हुँदै गर्दा गत मार्च ८ तारिखमा देशका स्वास्थ्यमन्त्रीले भारत "कोरोनाभाइरस महामारीको अन्तिम चरणमा पुगेको" घोषणा गरेका थिए।

गत ज्यानुअरी फेब्रुअरीमा दैनिक सङ्क्रमणको सङ्ख्या २०,००० झरेको थियो। गत सेप्टेम्बरमा सङ्क्रमण उच्च दरमा रहँदा त्यस्तो सङ्ख्या औसतमा दैनिक ९०,००० थियो।

त्यसपछि प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरसलाई पराजित गरिएको घोषणा गरे र सबै सार्वजनिक जमघट खुला गरियो। त्यसपछि मानिसहरूले कोभिडबाट जोगिने सबै सुरक्षाका उपायहरू अपनाउन उपेक्षा गर्न थालेका देखियो।

ठूला राजनीतिक भेलाहरू भए त्यसमा प्रधानमन्त्री मोदी तथा अन्य मन्त्रीहरूले पनि नाकमुख ढाक्ने मास्क नलगाईकनै सम्बोधन गरेको तथा सहभागिता जनाएका देखियो। लाखौँलाख मानिसहरू सहभागी हुने कुम्भ भेलाको आयोजनालाई अनुमति दिइयो।

व्यवहार

सुरक्षाको सन्देश दिने नेताहरूको व्यक्तिगत व्यवहार भने ठिक उल्टो भएको एकजना सार्वजनिक नीति तथा स्वास्थ्य प्रणालीका विज्ञ डा. चन्द्रकान्त लहरिया बताउँछन्।

एकजना प्रसिद्ध भाइरसविज्ञ डा. शाहिद जमील भन्छन् " सरकारले कोरोनाभाइरसको दोस्रो लहर आउन लागेको देख्दै देखेन र असमयमा नै उत्सव मनाउन थाल्यो।"

कुरा अझ योभन्दा पनि धेरै छ। अहिलेको विपद्ले भारतमा सार्वजनिक स्वास्थ्य प्रणालीमा सरकारी लगानीको अवस्था कति कमजोर रहेछ र त्यो कति बेवास्ताको सिकार भएको रहेछ भन्ने पनि राम्ररी उजागर गरिदिएको छ।

एकजना विज्ञ भन्छन्, "भारतको स्वास्थ्य प्रणालीको पूर्वाधार पहिले नै ध्वस्त थियो। मध्यमवर्ग र धनीहरूले बल्ल थाहा पाउँदैछन्।" महामारीअघि पैसा भएकाहरूले आफ्नो स्वास्थ्य उपचारका लागि सधैँ निजी अस्पतालहरूमा गएर सेवा लिने गरेका थिए। तर गरिबहरूले सधैँ नै डाक्टरलाई जँचाएर उपचार पाउन सङ्घर्ष गरिरहनुपर्थ्यो।

विगत छ वर्षदेखि भारतमा निजी तथा सार्वजनिक स्वास्थ्य सेवाको क्षेत्रमा भएको खर्च देशको कुल गार्हस्थ्य उत्पादनको ३.६ प्रतिशत रहेको छ।

विकसित देशहरूले स्वास्थ्य सेवा क्षेत्रमा त्यो भन्दा निकै धेरै खर्च गर्छन्। उलपब्ध तथ्याङ्कअनुसार सन् २०१८ मा देशको कुल गार्हस्थ्य उत्पादनको अमेरिकाले १६.९ प्रतिशत र जर्मनीले ११. २ प्रतिशत स्वास्थ्य क्षेत्रमा खर्च गरेको थियो।

तयारी

कतिपय "अधिकार सम्पन्न समिति" हरूले गत वर्ष नै कोरोनाभाइरसको अर्को लहरसँग जुध्ने तयारीका बारे कुरा गर्दै थिए। तर हाल अक्सिजन,अस्पतालको शय्या र आवश्यक औषधिको समेत अभाव हुन गएको अवस्थाले विज्ञहरूलाई समेत विस्मयमा पारिदिएको छ।

"पहिलो लहर केही सुस्त हुन थालेको बेलादेखि नै तिनीहरूले दोस्रो लहरका लागि आवश्यक तयारी गर्नुपर्ने थियो। तिनीहरूले त्यसै बेला नै अक्सिजनको उलपब्धता, रेम्डेसिभिरजस्ता औषधिको मौज्दातको लेखाजोखा गरेर उत्पादन र अन्य क्षमता बढाउन सक्थे," महाराष्ट्र राज्यका भूतपूर्व स्वास्थ्य सचिव महेश जगाडेले बीबीसीसँग भने।

अधिकारीहरू भन्छन्ः भारतले माग उच्च भएको अवस्थालाई समेत धान्न सक्नेगरी पर्याप्त अक्सिजन उत्पादन गर्छ तर समस्या त्यसको ढुवानीको मात्रै हो। विज्ञहरू भन्छन् यो समस्याकारी अवस्थाको समाधान उहिल्यै भइसक्नुपर्ने थियो।