वैदेशिक रोजगार: अनियमितता रोक्ने 'प्रविधि'

महिला

रामेछापकी अञ्जली तामाङले कुवेतको एउटा व्यापारिक केन्द्रमा आकर्षक तलबसहितको जागिर खुलेको थाहा पाउन न कुनै पत्रिकामा छापिएको विज्ञापन हेर्नुपर्‍यो, न त म्यानपावर कम्पनी नै धाउनुपर्‍यो।

आफ्नै स्मार्टफोनमा भएको 'वैदेशिक रोजगार' नामक एपमार्फत् उनले थाहा पाइन्, त्यो जागिरमा छानिँदा, भिसा र टिकटको खर्च समेत लाग्दैन।

त्यही जानकारीका आधारमा उनले एउटा म्यानपावर कम्पनीमार्फत् कुवेत जाने आवेदन दिइन् र अन्तर्वार्ताबाट जागिरका लागि छानिइन्।

श्रम तथा रोजगार मन्त्रालयले शुरू गरेको उक्त एप प्रयोगमार्फत् अञ्जलीले जस्तै सुविधा धेरैले लिन सक्ने सरकारी अधिकारीहरूले बताएका छन्।

सहयोग

एपमार्फत् सेवा लिएकी अञ्जली भन्छिन्, "एपले धेरै सहयोग गरेको छ, सूचना सबै अपडेट हुँदोरहेछ, इन्टरनेटको जमाना पनि भएर हो कि?"

'वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली'मा श्रम मन्त्रालय अन्तर्गतका कार्यालयहरू मात्र नभई विदेशस्थित नेपाली दूतावास, अध्यागमन विभाग तथा राहदानी विभाग समेत जोडिएका छन्।

वैदेशिक रोजगारीको सूचना सजिलै सरोकारवालासम्म पुर्‍याउन र अनियमितता रोक्न त्यस्तो सेवा शुरू गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सूचना प्रविधि अधिकृत राजु श्रेष्ठले बताए।

उनले भने, "पासपोर्ट नम्बर हालेर मान्छेको नाम के हो, कुन म्यानपावरबाट, कुन मुलुकमा, कुन कम्पनीमा, कति तलबमा, कति समयका लागि गएको सबै देखिन्छ।"

सुविधा

बिचौलियामार्फत् हुने ठगी रोकिनुका साथै धेरै माग आएको देखाएर कामदारलाई झुक्याउने चलन समेत न्यून हुने अधिकारीहरूको विश्वास छ।

उनकाअनुसार सेवाग्राहीले अनलाइनबाट फाराम भर्न र अन्य सुविधा लिन पनि सक्छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट

पहिले नेपालबाट श्रम स्वीकृति लिएर जानेको मात्र विवरण राख्ने गरिएकोमा नयाँ प्रणालीमार्फत् अब फर्केर आउनेको समेत तथ्याङ्क राखिने अधिकारीहरूको भनाइ छ।

अधिकारीहरूले नयाँ प्रणालीमार्फत् रोक्ने लक्ष्य लिएको ठगी र अनियमितताले प्रवृतिकै रूपमा जरो गाडिसकेको ठान्ने कतिपय जानकारहरु त्यसलाई प्रविधिले मात्र रोक्न नसक्ने बताउँछन्।