बीबीसी १०० विमिन २०२४ः यो वर्ष सूचीमा को-को छन्?
बीबीसीले सन् २०२४ का लागि संसारभरिबाट १०० जना प्रेरक तथा प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ।
उक्त सूचीमा नोबेल शान्ति पुरस्कार विजेता नादिया मुराद, बलात्कार पीडित र अभियानकर्मी जीजेल पेलिको, कलाकार श्यारोन स्टोन, ओलिम्पिक खेलाडी रेबेका एन्ड्राडे र एलिशन फिलिक्स, गायिका रे, भिजूअल आर्टिस्ट ट्रेसी एमिन, वातावरणवादी अभियानकर्मी एडेनिके ओलाडोसु र लेखिका क्रिस्टिना रिभेरा गार्जा छन्।
गाजा,लेबनन,युक्रेन र सुडानको घातक द्वन्द्व र मानवीय सङ्कटदेखि संसारभरि भएका निर्वाचनपछि समाजमा देखिएका ध्रुवीकरणका साक्षी बन्न पुगेका महिलाहरूले सहनशील भएर समस्याका सामु अडिग रहन धेरै मेहनत गर्नुपरेको छ।
बीबीसी १०० विमिनले यो वर्ष महिलाहरूले बेहोर्नुपरेको समस्याको भारलाई उजागर गर्दै आफ्नो सहनशील क्षमताको उपयोग गरेर उनीहरूको वरपरको विश्व परिवर्तन हुँदै जाँदा त्यसैअनुरूप परिवर्तनका लागि अघि बढ्न गरेको प्रयासको कदर गर्छ। यो सूची जलवायु सङ्कटले निम्त्याएको सङ्कटकालको असरबारे सोधखोज गर्न पनि प्रतिबद्ध छ, जसका निम्ति आफ्ना समुदायलाई सहयोग गर्न लागिपरेका जलवायु अभियानकर्मीहरूको उदाहरणीय कामलाई पनि उजागर गरेको छ।
यी नामहरू कुनै निश्चित क्रममा छैनन्।
संस्कृति र शिक्षा

स्भेत्लाना अनोखिना, रुस
मानव अधिकार अभियानकर्मी
वर्षौँदेखि स्भेत्लाना अनोखिनाले पूर्वी युरोप र एशिया जोड्ने रुसको मुस्लिमबहुल नोर्थ कोकसस क्षेत्रका घरेलु हिंसापीडितहरूलाई त्यहाँबाट अन्यत्र भाग्न सघाएकी छन्।
अन्य स्वयंसेवकहरूसँग मिलेर उनले सन् २०२० मा 'मारेम प्रोजेक्ट' स्थापना गरिन्। यसले दागेस्तान, चेच्न्या तथा नोर्थ कोकससका अन्य गणराज्यहरूमा रहेका जोखिममा परेका महिलाहरूलाई सहयोग गर्छ। तिनका निम्ति उद्धार तथा अस्थायी आवास व्यवस्था गर्नुका साथै कानुनी अनि मनोपरामर्श सेवा पनि उपलब्ध गराउँछ।
सन् २०२१ मा चेचेन र दागेस्तानी सुरक्षा फौजले उनले सञ्चालन गरेको महिला आश्रयस्थलमा कारबाही गरेपछि अनोखिनाले रुस छाडिन्।
रुसी सशस्त्र फौजलाई बदनाम गरेको भन्दै गत वर्ष अधिकारीहरूले उनीविरुद्ध फौजदारी अनुसन्धान थालेका छन्।

हमिदा अमन, अफगानिस्तान
मिडिया तथा शिक्षा उद्यमी
जब तालिबानले अफगान किशोरीहरूलाई माध्यमिक शिक्षाबाट वञ्चित गर्यो, तब मिडिया उद्यमी हमिदा अमनले बेगम एकेडेमी सुरु गरिन्। स्कूल जान नपाएकाहरूलाई यसले अनलाइनमार्फत् निःशुल्क मल्टिमिडिया कोर्स पढाउँछ।
गत वर्ष यसले दारी र पस्तो भाषामा ८,५०० भिडियो बनाएर उपलब्ध गरायो जसले ७ देखि १२ कक्षासम्मको पाठ्यक्रम समेटेको छ।
मार्चमा अमनले बेगम टेलिभिजन सुरु गरिन्। बेगम एकेडेमीका कोर्सहरूलाई यो शैक्षिक च्यानलले भूउपग्रहमार्फत् प्रसारण गर्छ।
यसअघि उनले रेडिओ बेगम सञ्चालन गरेकी थिइन्। सन् २०२१ मा तालिबानले सत्ता हत्याएपछि महिलाहरूका निम्ति महिलाहरूले नै यो स्टेशन सञ्चालन गरेका थिए।

पेलस्तिया अलाकाद, प्यालेस्टिनी भूभाग
पत्रकार तथा कवयित्री
गाजामा युद्ध सुरु हुँदै गर्दा २२ वर्षीया प्लेस्तिया अलाकादले स्नातक तहको पढाइ सकेकी थिइन्। युद्ध सुरु हुनासाथ इजरेलले हवाई आक्रमण गर्दा उनले आफू र आफ्नो घर देखिने एउटा भिडिओ पोस्ट गरेकी थिइन्।
त्यो भिडिओ भाइरल भयो। त्यसपछि गाजाबारे ताजा जानकारी, कविता र दैनिकी पोस्ट गर्दा इन्स्टाग्राममा उनलाई ४० लाख जनाले फलो गरे। ती पोस्टहरूमा आधारित उनको संस्मरण 'आइज अफ गाजा' चाँडै प्रकाशित हुने छ।
अलाकादले 'वन यङ वर्ल्ड्ज् जर्नलिस्ट अप द यिअर २०२४' को उपाधि पाएकी छन्। उनले 'वर्ल्ड गभर्मन्ट समिट' जस्ता उच्च तहका मञ्चमा प्यालेस्टिनीहरूको पक्षमा वकालत गरेकी छन्।
अलाकादले नोभेम्बर २०२३ मा गाजा छोडिन्। उनले बेइरुतमा सञ्चारमाध्यमसम्बन्धी विषयमा स्तानकोत्तर तह पढ्न छात्रवृत्ति पाएकी छन्।

क्रिस्टिना अस्सी, लेबनन
फोटोपत्रकार
फोटोपत्रकार क्रिस्टिना अस्सी सन् ११९० को दशकमा लेबननमा हुर्किएकी हुन् जति बेला त्यहाँ गृहयुद्धका कारण लामो समयसम्म स्थिरता थियो। यसले गर्दा द्वन्दलाई अभिलेख गर्न र युद्धमा नदेखिएका कथाहरू भन्न उनी दृढ भइन्।
उनको जीवनले सन् २०२३ को अक्टोबरमा दुःखद मोड लियो जब दक्षिण लेबननमा भएको इजरेली हमलामा गम्भीर घाइते भइन्।
त्यो हमलामा समकक्षी पत्रकार इस्साम अब्दल्लाह मारिए, अन्य पाँच सहकर्मीहरू घाइते भए र अस्सीले एउटा खुट्टा गुमाइन्।
यो घटनाका कारण उनले पत्रकारहरूको सुरक्षाका विषयमा वकालत गर्न थालिन्। सन् २०२४ मा प्यारिसमा भएको टर्च र्यालीमा समभागी भइन् जसलाई उनले कामको सिलसिलामा मारिएका सम्पूर्ण पत्रकारहरूलाई समर्पित गरिन्।

ट्रेसी एमिन, यूके
कलाकार
मानिसहरूलाई तिनका यौन अनुभव बताउन हौस्याउने 'माई बेड' र 'द टेन्ट'जस्ता रचनासहित सन् १९९० को दशकमा ट्रेसी एमिन चर्चाको शिखरमा पुगिन्।
त्यसयता उनलाई कला क्षेत्रमा सहजै चिन्न थालियो। आत्मस्वीकार्यताले भरिएका र आत्मकथाजस्ता लाग्ने उनको कलाशैलीलाई मन पराइन्छ।
लन्डनमा मिडिया बहस निम्त्याएको 'माई बेड'को पहिलो प्रदर्शन भएको २५ वर्ष पुगिसकेको छ। कुनै समय ब्रिटिश कला जगत्की विवादित कलाकार एमिनलाई यो वर्ष राजा चार्ल्सद्वारा दृश्यात्मक कला क्षेत्रमा उनले पुर्याएको योगदानका निम्ति 'डेम' उपाधि दिइएको छ।
नयाँ प्रतिभाहरूलाई सघाउ पुर्याउन उनले यूकेको मार्गेटमा ट्रेसी एमिन फाउन्डेशनको स्थापना गरेकी छन्।
महिला भएको हुँदा हामीसँग चुनौती जुझ्न सक्ने सामर्थ्य जतिसकेको धेरै आवश्यक पर्छ.... मलाई लाग्छ अहिलेको समयमा महिलाको निम्ति अझ दह्रो एकता र सङ्घर्ष चाहिएको छ।
ट्रेसी एमिन

श्यारोन क्लाइन्बाउम, अमेरिका
यहुदी धर्मगुरु
न्यूयोर्कमा यहुदी समुदायभित्रकी एक अग्रणी धर्मगुरु श्यारोन क्लाइन्बाउमले एलजीबीटीक्यू+ अधिकार र धर्मको क्षेत्रमा परिवर्तन गराउन तीन दशक बिताएकी छन्।
सन् १९९२ मा बेइत सिम्च्याट टोराह मण्डलीको पहिलो रबाईको रूपमा नियुक्ति पाएकी उनले सन् १९९०को दशकको एड्स सङ्कट लगायतको उतारचढावमा आफ्नो समुदायको नेतृत्व गरिन्।
उनले ट्रान्स र नन-बाइनरी व्यक्तिहरूलाई समावेश गर्ने मण्डलीको सदस्यताको विस्तारको निरीक्षण गरिन् र यो अहिले अमेरिकाको सबैभन्दा ठूलो एलजीबीटीक्यू+मैत्री यहुदी प्रार्थनास्थल बनेको विश्वास गरिन्छ।
उनले यसै वर्ष अवकाश लिइन्। उनी सामाजिक न्यायका कार्यक्रमहरू ल्याउने प्रमुख पात्र हुन्। राष्ट्रपति जो बाइडनले उनलाई अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोगमा नियुक्त गरे।
आनन्द आध्यात्मिक र राजनीतिक प्रतिरोधको कार्य हो।
श्यारोन क्लाइन्बाउम

क्रिस्टिना रिभेरा गार्जा, मेक्सिको/संयुक्त राज्य अमेरिका
लेखिका
सिद्धहस्त लेखिका क्रिस्टिना रिवेरा गार्जाले पछिल्ला केही वर्षमा कैयौँ पुरस्कार प्राप्त गरेकी छन्। त्यसमा सन् २०२४ को संस्मरण विधामा उनको किताब 'इन्भिन्सिबल समर'ले पुलिट्जर पुरस्कार प्राप्त गरको छ जसमा स्त्रीहत्याको मुद्दामाथि प्रकाश पारिएको छ।
उनकी बहिनी लिलियानाको कथामार्फत् – लिलियानाका भूतपूर्व प्रेमीले ९० को दशकमा उनको हत्या गरेर भागेका थिए तर उनीमाथि कहिल्यै मुद्दा चलाइएन – लेखिका आफ्नो नजिकको व्यक्ति गुमाएपछि शोकाकुल बन्छिन् र त्यस्तो देशमा न्यायको खोजी सुरु गर्छिन् जुन विश्वमै स्त्रीहत्याको दर सबभन्दा धेरै भएकोमध्ये एक हो।
रिभेरा गार्जा यूनिभर्सिटी अफ ह्यूस्टनको स्पेनिश भाषामा सिर्जनात्मक लेखनसम्बन्धी विद्यावारिधि कार्यक्रमकी संस्थापक तथा अध्यक्ष हुन्।
भाषामाथि लगातार तथा सम्पूर्ण रूपमा खेल्नु ता कि अन्ततः कथाले महिलाको पक्षलाई व्यक्त गर्न सकोस् र त्यसले कुनै पनि अवस्थासँग जुझ्न सक्ने आधार बनाउन सकोस्।
क्रिस्टिना रिभेरा गार्जा

लिन्डा ड्रोफ्न गुन्नार्सडोटिर, आइसल्यान्ड
महिला आश्रय व्यवस्थापक
आइसल्यान्डिक विमिन्स् शेल्टर'मा लिन्डा ड्रोफ्न गुन्नार्सडोटिरले घरेलु हिंसाका कारण भाग्न बाध्य महिलाहरूलाई सहयोग गर्छिन्।
महिलाहरूको निम्ति बस्नलायक उत्कृष्ट ठाउँहरूको सूचीमा आइसल्यान्ड बारम्बार आइरहन्छ। तर त्यहाँ लैङ्गिक हिंसा निरन्तर उच्च रहने गरेको छ।
उक्त आश्रयस्थलको व्यवस्थापकका रूपमा उनले नयाँ संरचना बनाउने आयोजना हाँक्छिन्। महिलाहरूका लागि निश्चित उद्देश्यसहित निर्मित त्यो आइसल्यान्डकै पहिलो आश्रयस्थल हुने छ।
गुन्नार्सडोटिरका अनुसार २० वर्षअगाडि आश्रयस्थलमा बस्ने ६४% महिला फेरि तिनलाई हिंसा गर्नेहरूकहाँ नै फर्कन्थे भने अहिले त्यो अनुपात ११% मा घटेको छ। सुधारिएको सेवाका कारण यस्तो हुन सकेको उनले बताइन्।

जोहाना बहामोन, कोलम्बिया
सामाजिक अभियानकर्मी
कोलम्बियाको एउटा कारागार भ्रमण गरेपछि अभिनेत्री जोहाना बहामोनको जीवन बदलियो। उनी जीवनमा "दोस्रो मौका" आवश्यक भएकाहरूका लागि काम गर्न प्रेरित भइन्।
सन् २०१२ मा उनको करिअर अभिनयबाट कारागार सुधारको पैरवीतर्फ अघि बढ्यो। उनले कोलम्बियाका कैदीबन्दी तथा रिहा भएकाहरूलाई सहयोग गर्न 'फुन्डेशन एक्कन इन्टर्ना' नामक एक गैरनाफामूलक संस्था खोलिन्।
यस संस्थाले देशभरिका १ लाख ५० हजारभन्दा बढी मानिसलाई सहयोग गरेको र १३२ हिरासत केन्द्रसम्म पुगेको बताइन्छ।
उनी सन् २०२२ को 'दोस्रो मौका कानुन' वा 'जोहाना बहामोन विधेयक'को प्रवर्धनकर्ता पनि हुन्। यो विधेयकले जेलमुक्त मानिसलाई रोजगारी तथा तालिमको अवसर बलियो बनाउन आर्थिक सहयोग प्रणाली स्थापना गरेको छ।
सामना क्षमता भनेको कठिनाइबाट उठ्नु र अगाडि बढ्नु मात्र होइन, आफ्नो निर्णयलाई व्यक्तिगत विकासका लागि अवसरमा रूपान्तरण गर्नु पनि हो।
जोहाना बहामोन

शीन डेवे, म्यान्मार
चलचित्र निर्माता
झोलामा ड्रोन भेटिएपछि पुरस्कार विजेता वृत्तचित्र निर्माता शीन डेवेलाई पक्राउ गरिएको थियो।
यो वर्ष उनलाई सैनिक शासनमा रहेको म्यान्मारमा प्रतिआतङ्कवाद मामिलामा मुद्दा चलाइयो। बन्द इजलासमा उनलाई वकिल राख्न दिइएन र आजीवन कारावासको सजाय सुनाइयो।
यी चलचित्र निर्माताले सन् १९८८ देखि नै सैनिक शासनको विरोध गर्दै आएकी छन्। जेल जीवन उनको निम्ति नौलो होइन।
उनले एक दर्जन छोटा वृत्तचित्रको निर्देशन गरेकी छन्। कैयौँले अन्तर्राष्ट्रिय ध्यान तानेको छ, उदाहरणका लागि सन् २००७ मा प्रजातन्त्र समर्थित विरोध प्रदर्शनबारे उनले बनाएको वृत्तचित्र हो, जतिबेला हजारौँ बौद्ध भिक्षुहरूले सैन्य शासकहरूको विरोधमा प्रदर्शनमा भाग लिएका थिए।

जनिलसिल्सिन्जत तुर्गन्बाइभा, किर्गिस्तान
सङ्ग्रहालय प्रबन्धक
जनिलसिल्सिन्जत तुर्गन्बाइभा किर्गिस्तानकोका सांस्कृतिक सम्पदाको संरक्षण र पुनरुत्थानका लागि दत्तचित्त छिन्।
उनी बिश्केकमा एउटा सांस्कृतिक सङ्ग्रहालय चलाउँछिन्। त्यसमा राष्ट्रिय कलाकृतिहरू प्रस्तुत छन्। उक्त सङ्ग्रहालय धेरै मानिसको आकर्षणको केन्द्र हो।
उनी किर्गिज साहित्यको संरक्षण पनि संलग्न छिन्। त्यसमा किर्गिज क्षेत्रका ४० जनजाति योद्धाको कथा समाविष्ट 'मानस' महाकाव्य पनि पर्छ।
यूनेस्कोले पहिचान गरेको उक्त महाकाव्यको एउटा संस्करणमा पाँच लाख पङ्क्ति छन्। त्यसलाई संसारकै सबैभन्दा लामो महाकाव्य मानिन्छ। यो ‘होमरको द ओडेसी’ भन्दा २० गुना लामो छ। यो किर्गिज महाकाव्य वाचन गरेर मनोरञ्जन दिने ‘मनस्ची’ गायकहरू तुर्गन्बाइभाको कामबाट लाभान्वित भएका छन्।

शाहनुश पार्सिपुर, इरान/संयुक्त राज्य अमेरिका
लेखिका तथा अनुवादक
शाहनुश पार्सिपुर एक विख्यात इरानी उपन्यासकार हुन्। उनले आफ्नो कृतिमा पितृसत्तात्मक समाजमा विद्यमान महिला यौन उत्पीडन र विद्रोहजस्ता निषेधित मुद्दाहरूलाई समाविष्ट गरेकी छन्।
उनले इरानी राष्ट्रिय टेलिभिजन र रेडिओमा कथालेखन र निर्माणको काम गर्दै व्यावसायिक जीवनयात्रा सुरु गरेकी थिइन्। तर सन् १९७९ को क्रान्तिअघि दुई कवि अभियानकर्ताहरूलाई फाँसी दिइएको विरोधमा उनले राजीनामा दिइन्। परिणामस्वरूप उनी पहिलो पटक जेल परिन्।
क्रान्तिपछि उनका कृतिलाई इरानमा प्रतिबन्ध लगाइयो। उपन्यास 'वुमन विदाउट मेन' मा कौमार्यको विषय खुलेआम लेखेको भन्दै उनलाई फेरि कारागार पठाइयो। उक्त विषयवस्तुमा पछि इरानबाहिर एउटा चलचित्र बन्यो।
पार्सिपुरले आफ्नो लेखनमा जेलको अनुभव सुनाएकी छन्। उनी सन् १९९४ देखि अमेरिकामा निर्वासनमा बस्दै आएकी छन्।

शुुआन फुयोङ, भियतनाम
चलचित्र निर्देशक, लेखिका, ग्यालरी सञ्चालक
शुआन फुयोङ ९५ वर्ष पुग्न लागिन्। यी लेखिकाले चलचित्र निर्देशन पनि गरेकी छन्।
उनी भियतनाममा भएका दुइटा युद्धकी साक्षी हुन्। भियतनामलाई फ्रान्सबाट देश स्वतन्त्र बनाउन भएको युद्धमा उनी १६ वर्षको उमेरमा सहभागी भएकी थिइन्।
चिकित्साशास्त्र पढेकी उनी एउटा क्लिनिकको प्रमुख बनिन्। युद्धका संवाददाता बनिन् र भियतनाम टेलिभिजनका लागि फिल्म निर्देशक पनि। उनी साइगोनको पतन जस्ता ऐतिहासिक घटनाक्रमको साक्षी पनि हुन्।
६२ वर्षको उमेरमा अवकाशको जीवन बिताउनुको साटो उनले 'लोटस ग्यालरी' स्थापना गरिन् जुन हो चि मिन्ह सिटीको प्रथम निजी ग्यालरीहरूमा पर्छ। उक्त ग्यालरीले भियतनामी कलालाई विश्वसामु प्रस्तुत गर्ने प्रयास गरेको छ।

युजिनिया बोनेट्टी, इटली
महिला पादरी
सिस्टर युजिनिया बोनेट्टीले मानव तस्करी र शोषणबाट पीडित आप्रवासी महिलाहरूलाई सहयोग गर्न अफ्रिकाका अन्य महिला पादरीहरूसँग मिलेर १०० वटाभन्दा बढी आश्रयस्थलको व्यवस्थापन र त्यस्तो सञ्जालको स्थापना गरेकी छन्।
उनले रोममा बलजफ्ती यौन व्यवसायमा लगाइएका महिलाहरूको सहयोगमा थुप्रै रात बिताएकी छन्। उनी मानव तस्करीविरुद्ध सचेतना फैलाउने काम गर्ने 'स्लेभ्स नो मोर' नामको संस्थाकी अध्यक्ष पनि बनिन्।
बोनेट्टी केन्यामा २४ वर्षसम्म मिशनरी अर्थात् इसाई धर्म प्रचारक थिइन् र उनले विभिन्न देशका अधिकारीहरूलाई मानव तस्करी रोक्ने उपायहरू विकसित गर्न तालिम पनि दिएकी छन्।
अवकाश लिनुअघि उनलाई क्याथोलिक इसाईहरूका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसले रोमको कोलोसिअममा सन् २०१९ मा आयोजित वार्षिक समारोहमा प्रार्थना लेख्ने विशेष भूमिका दिएका थिए।

सुु मीन, चीन
सडक यात्री तथा उत्प्रेरक
उमेरले ५० को दशकमा रहेका बेला अपमानजनक वैवाहिक सम्बन्धबाट फुत्किएर सु मीन चीनभरि एक्लै यात्रामा निस्किन्। साथमा थियो उनको कार, पेन्सन र एउटा टेन्ट।
सन् २०२० मा सुरु गरेको त्यो यात्राले उनलाई २० वटाभन्दा धेरै प्रान्तका १०० वटाभन्दा धेरै सहरहरूमा पुर्यायो।
उनले सम्पूर्ण यात्राको विवरण तयार गरिन्। उनको कथाले सामाजिक सञ्जालमा तातो बहस निम्त्यायो। किनकि उनले समाजमा 'आन्टी'को सङ्ज्ञा पाउने मध्यम उमेरका अन्य महिलाहरूलाई यथास्थितिविरुद्ध उभिन साहस दिइन।
अहिले उनको सामाजिक सञ्जालहरूमा ६० लाख फलोअरहरू छन्। उनको जीवन यसै वर्ष प्रदर्शनमा आएको 'लाइक अ रोलिङ स्टोन' फिल्ममा परिणत हुन पुग्यो।

रक्सी मुरेे, यूके
अपाङ्गता अधिकार पैरवीकर्ता
मल्टिपल स्क्लरोसिस' भएकी एक 'प्यान्सेक्सुअल' व्यक्तिका रूपमा आफ्नो अनुभवलाई खुलेर बताउने रक्सी मुरे आफ्नो प्ल्याट्फर्मलाई दीर्घरोगीलाई सशक्तीकरण गर्न तथा चिकित्सा, परोपकार तथा कर्पोरेट क्षेत्रमा हुने बहिष्करणलाई चुनौती दिन प्रयोग गर्छिन्।
मुरे आफ्नो अभियानमा फ्याशन क्षेत्रमा उनको विगत प्रयोग गर्दै ससम्मान हिँडडुलका साधन प्रयोग गर्न सहयोग गर्दै छिन्। अल्पसङ्ख्यक तथा जातीय विविधतायुक्त समूहभित्रका अपाङ्गता भएका मानिसहरूको उपस्थिति प्रवर्धन गर्न उनी प्रयासरत छिन्।
उनी 'द सिक एन्ड सिकनिङ' पड्कास्टकी संस्थापक हुन्। यो पड्कास्टले दुःख व्यवस्थापनदेखि यौनस्वास्थ्य र शरीर एवं यौनबारे सकारात्मक सोचाइलगायतका विषयमा अपाङ्गता तथा रोगहरूसँग बाँच्नुपर्दाको अनुभवबारे काँटछाँट नगरिएका कथा प्रस्तुत गर्छ।
एक क्वेअर, गैरश्वेत तथा अपाङ्गता भएकी महिलाका रूपमा मेरा लागि सामना क्षमता भनेको गहन रूपमा व्यक्तिगत र महत्त्वपूर्ण रूपमा सामूहिक तत्त्व पनि हो। यो मजस्ता मानिसहरूलाई सीमान्तीकृत गर्ने प्रणालीलाई चुनौती दिने शक्ति हो।
रक्सी मुरेे

हेलेन मोलिन्युक्स, यूके
सह-संस्थापक, मोनुमेन्टल वेल्स वीमिन
सन् २०२१ अघि, वेल्समा वेल्स महिलामा समर्पित कुनै सालिक थिएन।
त्यसैले वकिल हेलेन मोलिन्युक्सले वेल्स महिलाहरूको सार्वजनिक प्रतिनिधित्वमा सुधार तथा उनीहरूको योगदान र उपलब्धिलाई चर्चामा ल्याउने उद्देश्यले सहसंस्थापककी रूपमा गैरनाफामूलक संस्था स्थापना गरिन्।
समुदायका सदस्यहरूको सुझावलाई आधार बनाउँदै मोलिन्युक्स र उनको टिमले पाँचजना महिलाको कथा नबिर्सिएको सुनिश्चित गर्न उनीहरूको सालिक ठड्याउने योजना बनाए।
उक्त समूहले अहिलेसम्म चार जनाको प्रतिमा स्थापना गरेका छन्। पहिलो पटक वेल्सकी पहिलो अश्वेत प्रधानाध्यापक बेटी क्याम्पबेलको सालिक कार्डिफमा स्थापना गरियो। त्यस्तै एलेन मोर्गानको माउन्टेन एश, क्रानोग्वेनको ल्यानग्रानोग र लेडी रोन्डाको न्यूपोर्टमा स्थापना गरिएको छ।

हिन्दा अब्दी मोहम्मद, सोमालिया
पत्रकार
हिन्दा अब्दी मोहम्मदको सानै उमेरदेखि लेखनमा रुचि थियो। उनले जिग्जिगिया सहरमा भएको हिंसाबाट हर्गेसातिर भागेका मानिसहरूका कथाहरू आफ्नो दैनिकीमा लेखिन्।
अहिले उनी मुलुकको पहिलो र एकमात्र सबै महिला रहेको मिडिया टीम बिलानकी प्रमुख सम्पादक हुन्।
यो समूह कार्यस्थलमा सोमाली महिलाहरूले भोग्नुपरेको लैङ्गिक विभेदविरुद्ध लड्न गठन गरिएको थियो – सोमालियामा रहेको त्यस्तो चुनौती संयुक्त राष्ट्रसङ्घीय रिपोर्टमा पनि उल्लेख गरिएको छ।
बिलानको उद्देश्य पत्रकारहरूका लागि विश्वमा सबैभन्दा खतरा रहेका देशहरूमध्ये एक सोमालियामा विभिन्न सामाजिक मुद्दा उजागर गर्नु रहेको छ। जस्तो कि एचआईभी सङ्क्रमण भएपछि लुकेर बसिरहेकाहरू, दुर्व्यवहारमा परेका अनाथहरू र समुदायले त्यागेका 'एल्बिनो'हरूका कथा।

याश्मिन म्जली, प्यालेस्टिनी भूभाग
डिजाइनर
फ्याशन डिजाइनर याश्मिन म्जलीका सिर्जनाहरू प्यालेस्टिनी जनजीवन र परम्पराबाट प्रेरित हुने गर्छन्।
अमेरिकाको दक्षिणी क्षेत्रमा हुर्केकी उनी पछि वेस्ट ब्याङ्कको रमल्लाहमा बसाइँ सरिन्। त्यहाँ नै उनले सन् २०२० मा 'नोल कलेक्टिभ' नामक आफ्नो ब्र्यान्ड स्थापना गरिन्।
उनको फ्याशन कम्पनीले पारिवारिक तहमा सञ्चालित लुगा सिउने पसल, प्राकृतिक रङ्ग बेच्ने स्थानीय मसला पसल र महिला सहकारीहरूसँग मिलेर लत्ताकपडाको सामूहिक उत्पादन गर्छ। सूचीकार, बुनकर, इम्ब्रोइडरी गर्नेहरू र बुट्टा कुँद्नेहरूसँग मिलेर गरिने काममा परम्परागत कला र सीपको प्रयोग हुन्छ। यसबाट कपडा तयार पार्ने प्यालेस्टिनी परम्परागत कला अनि कौशलको पनि सम्मान हुन्छ।
म्जलीले आफूले उत्पादन गर्ने लुगाकपडाको प्रयोगबाट प्यालेस्टिनीहरूको भोगाइको कथा भन्ने गर्छिन्। उनले 'डेनिम'बाट बन्ने ज्याकेट र टी-शर्टहरूमा "नट योर हबिबि" (म तिम्री प्यारी होइन) भन्ने नारा लेखेर, संसारभरि नै सडकहरूमा महिलाहरूले भोग्नुपर्ने हैरानीविरुद्ध अभियान चलाएकी छन्।

ओलिभिया म्याक्भे, यूके
शृङ्गारविज्ञ
एलोपीशा' नामक कपाल झर्ने रोग लागेको पत्ता लागेपछि उनले 'विग'को संसारबारे खोज्न थालिन्। नयाँनयाँ शैलीमा वैकल्पिक कपाल लगाउँदै उनले कपाल झरेका महिलाहरूलाई हौसला दिई सशक्तीकरण गर्न अन्लाइन प्ल्याट्फर्म स्थापना गरिन्।
झन्डै पाँच लाख फलोअर भएकी उनी 'विग' लगाउने चलनलाई सामान्यीकरण गर्छिन् र एलोपीशा तथा महिला स्वास्थबारे जनचेतना पनि जगाउँछिन्।
नोर्दन आयरल्यान्डकी यी शृङ्कारविज्ञ तथा इन्फ्लुअन्सरको किशोरावस्थादेखि नै कपाल झर्न थालेको थियो।
अचेल उनी विगबारे कार्यशाला पनि गर्छिन् र पुनः आत्मविश्वास प्राप्त गर्नेतर्फको आफ्नो यात्राबारे बताउँछिन्। एलोपीशा भएका महिलालाई एकीकृत हुन र यसबारे कुराकानीलाई सामान्य बनाउनका लागि सुरक्षित स्थान निर्माण गर्न उनी प्रयत्नरत छिन्।
सामना क्षमता भनेको हामी महिलाले लगाउने मुकुट हो। जुनसुकै परिस्थिति भए पनि हामी आफूवरिपरिको परिस्थितिमा आफूलाई बदल्न, रूपान्तर गर्न र त्यसमै सफल हुन हामी सक्षम छौँ।
ओलिभिया म्याक्भे

दिलोरोम युल्दोशेभा, उज्बेकिस्तान
सूचीकार तथा व्यवसायी
दुई वर्षअघि दिलोरोम युल्दोशेभाले कृषिसम्बन्धी काम गर्दा एउटा दुर्घटनामा दुवै खुट्टा गुमाइन्। तर त्यसले ठूलो सपना देख्न उनलाई रोक्न सकेन।
उनले नयाँ सिप सिक्ने चाहिन्। अन्य उज्बेक महिलाहरूलाई जीवनयापनमा पनि सहयोग गर्न उनले आफ्नै सिलाइ व्यवसाय सुरु गर्ने निधो गरिन्।
उनले आधारभूत उद्यमशीलता र स्रोत व्यवस्थापन सिकिन् र ४० भन्दा धेरैलाई सिकाएर शिष्य बनाइन्। केही महिनाभित्रै उनको कम्पनी फस्टायो र निःशुल्क कार्यशालाहरू चलायो। उनले कामदार र विद्यार्थीहरूको पोसाक तयार गर्ने जिम्मा पाइन्।
त्यसपछि त उनको व्यवसाय उनी र दर्जनौँको सङ्ख्यामा अन्य महिलाहरूको निम्ति आम्दानीको स्रोत बन्न पुग्यो।

इडानिया डेल रियो, क्युबा
फेशन व्यवसायी
अन्तर्राष्ट्रिय बजारमा अनलाइनमार्फत् स्थानीय कपडा बेच्ने क्ल्यानडेस्टिन क्युबाको पहिले स्वतन्त्र ब्रान्ड हो। ग्राफिक डिजाइनर इडानिया डेल रियो यसलाई सहसंस्थापक हुन्।
राष्ट्रपति राउल क्यास्ट्रोको पालामा स्वतन्त्र व्यवसायका लागि उनले ल्याएका खुकुला नियमहरू भएका कारण यो कम्पनीको जन्म भएको हो।
हभानाका धेरैजसो महिला डिजानरहरूले बनाएका उत्पादानहरुमा क्युबन संस्कृति झल्किन्छ र यस टापुमा रहेका सिर्जनाहरूलाई थप प्रेरित गर्ने लक्ष्य राखेको छ। इडानिया डेल रियोले कम्पनीको उत्पादनमा पुनः प्रयोगको अवधारणा ल्याई दिगो अभ्यासमा केन्द्रित रहेका छन्।
हभाना इन्सटिच्यूट अफ डिजाइनबाट स्नाताक गरेकी उनले फेशन व्यवसाय सुरुआत गर्नुअघि ग्यालरी, थिएटर र चाडपर्वहरूका लागि पोस्टरहरू डिजाइन गरेकी थिइन्।

लेस्ली लोको, घाना/यूके
आर्किटेक्ट
वास्तुकलामा लोकतान्त्रिकरण' वा वास्तुकलालाई सबैको पहुँचमा पुर्याउने कार्यले लेस्ली लोकोलाई रोयल इन्स्टिच्यूट अफ ब्रिटिश आर्किटेक्ट्सको २०२४ स्वर्ण पदक दिलायो। यस क्षेत्रको यो विश्वकै सबैभन्दा प्रतिष्ठित पुरस्कार हो। सन् १८४८ मा इन्स्टिच्यूटको स्थापना भएयता उक्त पुरस्कार जित्ने उनी पहिलो अश्वेत महिला हुन्।
सीमान्तकृत समुदायका मानिहरूलाई यस उद्योगमा भित्र्याउने कार्यमा उनी गत दुई दशकदेखि लागिपरेकी छिन्।
भेनिस बिएनाले अफ आर्किटेक्चरको क्युरेट गर्ने उनी पहिलो अफ्रिकी मूलकी महिला बनिन्। उक्त कार्यक्रमलाई उनले डिकार्बनाइजेशन र डिकोलोनाइजेशनम केन्द्रित गरिन्।
घानाको आक्रास्थित अफ्रिका फ्युचर्स इन्स्टिच्यूटकी उनी संस्थापक हुन्। यसले वास्तुकला तथा पहिचानबीचको सम्बन्धको अध्ययन गर्छ।
लामो समयसम्म आफ्नो मार्गमा अविचलित रहनु नै सामर्थ्य हो। चाहे बेवास्ता नै किन नभएको होस्। वास्तवमा विरोधभन्दा पनि बेवास्तालाई बेहोर्न कठिन हुने गर्छ।
लेस्ली लोको

पूजा शर्मा, भारत
बेवारिस शवको अन्तिम संस्कारकर्ता
पूजा शर्मा दिल्लीमा पछिल्लो तीन वर्षदेखि बेवारिसे शवहरूको अन्तिम संस्कार कार्य गर्दै आएकी छन्।
आफ्नो भाइको मृत्यु हुँदा अन्तिम संस्कारका निम्ति सघाउन कोही पनि नआएपछि उनी यस कार्यतर्फ प्रेरित भएकी हुन्।
शर्माले पुरोहितहरू र आफ्नै समुदायबाट अवरोध खेप्नुपरेको छ। हिन्दू धर्ममा यो कार्य परम्परागत रूपमा पुरुषहरूले गर्दै आएका छन्।
विरोध हुँदाहुँदै उनले विभिन्न धर्म र पृष्ठभूमिका ४,००० भन्दा बढी मानिसका शवको अन्तिम संस्कार गरिसकेकी छन्। सामाजिक सञ्जालमार्फत् आफ्ना कार्यहरूको चर्चा गर्दै उनी हरेकले मृत्युका बेला पाउनुपर्ने सम्मानपूर्ण हकबारे पैरवी गर्छिन्।

अनााट हफ्म्यान, इजरेल
धार्मिक अभियानकर्मी
अनाट हफ्म्यानले यहुदी धर्ममा लैङ्गिक समानता र धार्मिक बहुलवादका लागि अभियान चलाएर दशकौँ बिताएकी छन्।
उनी 'विमिन अफ द वाल' नामक संस्थाकी संस्थापक सदस्य हुन्। उक्त संस्थाले जेरुसलेमको ओल्ड सिटीमा अवस्थित पवित्र पर्खाल 'वेस्टर्न वाल' मा यहुदी महिलाहरूले पनि प्रार्थना गर्न पाउनुपर्ने समानताको अधिकारको माग गर्छ। केही वर्षयता उनले त्यस स्थानमा महिलाले प्रार्थना गर्दा ओढ्नेको प्रयोग गर्न र सामूहिक रूपमा पवित्र ग्रन्थ टोराह पढ्नमा प्रतिबन्ध लगाउने नियमहरूको विरोध गर्दै आएकी छन्।
हफ्म्यानले समानता र सामाजिक न्यायको प्रवर्धन गर्ने आन्दोलन 'रिफर्म मूभ्मन्ट'को कानुनी तथा पैरवी गर्ने अङ्ग 'इजरेल रिलिजस एक्शन सेन्टर'की कार्यकारी निर्देशकका रूपमा २० वर्षसम्म काम गरेकी छन्।
त्योभन्दा अघि उनी जेरुसलेम नगर परिषदकी सदस्य थिइन्। त्यस बेला उनले अल्ट्रा-अर्थोडक्स अर्थात् अतिकट्टर नीतिहरूलाई चुनौती दिने गर्थिन्।

हर्बिया अल हिमियारी, यमन
सम्पदा संरक्षण इन्जिनियर
यमनमा भएको वर्षौँको युद्धपछि क्षतिग्रस्त भएका ऐतिहासिक महत्त्वका धेरै भवनहरूलाई इन्जिनियर हर्बिया अल हिमियारीले नयाँ जीवन दिने अभियान सुरु गरिन्।
यूनेस्कोजस्ता संस्थाहरूसँग सहकार्य गर्दै उनले ओल्ड सना र देशभरि गरेर दर्जनौँ पुरातात्त्विक महत्वका भवनहरूको जीर्णोद्धार गरेकी छन्। यूनेस्कोले १६,००० भन्दा बढी ठाउँको सर्वेक्षण गरेको छ।
उनले सम्पदा संरक्षणको क्षेत्रमा गरेको कामले ऐतिहासिक महत्त्वका ठाउँलाई संरक्षणमा गरेको मात्र नभई धेरै मानिसको जीवनस्तरमा पनि सुधार ल्याइदिएको छ।
अल हिमियारीले स्थानीय बासिन्दालाई परम्परागत निर्माण शिल्पमा तालिम दिने र किशोरीहरूलाई यो उद्योगमा लाग्न पनि प्रेरित गरेकी छन्।

माहेदेर हेलिसेलेइजी, इथिओपिआ
फोटोग्राफर
सुक्खा नदी र विनाश भएका बालीनालीका परिदृश्यमा काम गरेकी फोटोग्राफर माहेदेर हेलिसेलेइजीले आफ्नो देशमा गम्भीर खडेरीका कारण कसरी परिवारहरूले आफ्ना छोरीहरूको बालविवाह गराइदिए भनेर अभिलेख राखिन्। यसले उनलाई सन् २०२३ को 'कन्टेम्पोररी अफ्रिकन फोटोग्राफी प्राइज' जितायो।
मानव अधिकारका क्षेत्रमा काम गर्ने संस्थाहरूले सन् २०५० सम्ममा जलवायु सङ्कटका कारण बालविवाहका जोखिममा रहेका बालिकाहरूको सङ्ख्या विश्वव्यापी रूपमा एकतिहाइले बढ्ने अनुमान गरेको छ।
हेलिसेलेइजीले खिच्ने तस्बिरहरू उनले दैनिक कुराकानी गर्ने व्यक्त्तिहरूको इतिहास र अनुभवको प्रतिबिम्ब हो।
उनका काम धेरै प्रतिष्ठित स्थानहरूमा प्रदर्शन गरिएको छ जसमा यस वर्षको 'अफ्रिकन बियनाले अफ फोटोग्राफी' हो।

मारिया टेरेसा होर्ता, पोर्चुगल
कवयित्री
लेखिका तथा पत्रकार मारिया टेरेसा होर्ता पोर्चुगलकी प्रमुख नारीवादीमध्येकी एक तथा कैयौँ पुरस्कार विजेता पुस्तकहरूकी रचनाकार हुन्। उनलाई उनले सहलेखन गरेको विश्वस्तरमा प्रशंसित 'न्यू पोर्चुगिज लेटर' का निम्ति अधिक चिनिन्छ।
सन् १९७२ मा त्यहाँको अधिनायकवादी सरकारले उनको आख्यान, कविता र प्रेमसम्बन्धी काव्यमाथि तत्काल प्रतिबन्ध लगाएको थियो भने होर्ता र उनका सहलेखकले अश्लीलता र "प्रेस स्वतन्त्रताको दुरुपयोग गरेको" मुद्दा खेप्नुपरेको थियो।
तीनजना मारियाहरूको मुद्दा भनेर चिनिने उक्त घटना पत्रपत्रिकामा छाउनुका साथै विश्वव्यापी प्रदर्शनलाई प्रेरित गर्यो।
सन् १९७४ मा कार्नेशन क्रान्तिले त्यहाँको सत्ता ढालेपछि उनीहरू विरुद्धको मुद्दा टुङ्गियो र यो वर्ष उक्त ऐतिहासिक घटनाको ५० वर्ष पुग्यो।

मार्गरिता बेरिन्तस, आर्जेन्टिना
संस्थापक, सूप किचन
सुरुमा जम्मा १५ जनाका लागि खाना वितरण गर्ने 'सूप किचन' खोलेकी बेरिन्तस अहिले प्रत्येक दिन ५,००० जनालाई खुवाउँछिन्। उनी आर्जेन्टिनामा भोकमरीविरुद्धको लडाइँमा आफ्नो प्रतिबद्धताका लागि परिचित छिन्। यो देशका चार करोड ६० लाख मानिसमध्ये ५३ प्रतिशत हाल गरिबीमा रहेको बताइन्छ।
आर्जेन्टिनाको सबैभन्दा गरिब क्षेत्रमध्ये एकमा जन्मिएकी बेरिन्तसले कलिलै उमेरदेखि कठिनाइ भोगिन्। उनले सन् १९९६ मा 'लस पिल्टोन्स' नामक 'सूप किचन' खोलिन्। पछि यही संस्था एक प्रतिष्ठानका रूपमा विकसित भयो। यसले हाल बालस्याहार केन्द्र, स्वास्थ्यकेन्द्र, सिलाइ कार्यशाला तथा पुस्तकालय सञ्चालन गर्छ।
सामुदायिक सेवाको उनको कामले विभिन्न व्यवसाय र सेलेब्रटीहरूको सहयोग पाएको छ। फुटबल खेलाडी लिओनेल मेस्सीले हालै उनको हस्ताक्षरसहितको जर्सी बेरिन्तसलाई दिएर लिलामीमा राख्न भनेका छन्।
मनोरञ्जन तथा खेल

नोइल्ला वियाला न्वादेई , घाना
एफ्रो-पप सङ्गीतकार
गायक र रचनाकार नोइल्ला वियाला न्वादेई उनको स्टेज नामा वियालाबाट चिनिन्छिन्। सिसाला भाषामा यसको अर्थ 'गरिछाड्ने व्यक्ति' भन्ने लाग्छ।
उनी आफ्नो विशेष फ्याशन र अद्वितीय शैलीका लागि चिनिन्छिन्। उनले मञ्चमा लगाउने लुगा र गहनाहरूमा उत्तरी घानास्थित उनको गृहनगरको परम्परा झल्किन्छ।
उनका धेरै गीतहरूमा अफ्रिकी महिलाहरूले भोगेका शोषणका बारेमा छन्। वियालाले बालविवाह रोकथामका लागि यूएन र घानाका अधिकारीहरूसँग नजिकबाट काम गरेकी छन्।
उनले गृहनगर फुन्सीमा कला केन्द्र, सामुदायिक रेडिओ र रेस्टुराँ खोलेर रोजगारीका र सिर्जनात्मक हुने अवसर दिएकी छन्।

ट्रेसी अटो, अमेरिका
आर्चर
सन् २०१९ मा घरमै केटा साथीले गरेको आक्रमणका कारण उनको छातीभन्दा मुनिको शरीर चल्न छाड्यो र उनले आफ्नो बायाँ आँखा पनि गुमाइन्। त्यसअघि फिटनेस मोडल बन्ने सपना सँगालेकी उनी फेरि पनि सक्रिय जीवनमा फर्कन दृढ थिइन्।
सन् २०२१ को मार्चमा अटोले पहिल्यै कहिले पनि हात नहालेको विधा 'आर्चरी'मा रुचि देखाइन्। आफूले पहिलो पटक हानेको तीर नै निसानामा परेपछि उनी उक्त खेलमा रमाइन्।
यो वर्ष उनले प्यारिसमा पहिलो पटक पारालिम्पिक खेलिन्। अपाङ्गताका कारण उनले तीरबाट निसाना बनाउन मुखको सहारा लिन्छिन्।
पाँच वर्षदेखि उनले आफ्नो अनुभवलाई घरेलु हिंसा पीडितहरूको पैरवी गर्न पनि प्रयोग गर्न थालेकी छन्।

रेबेका अन्ड्राड, ब्रजिल
जिम्न्यास्ट
ओलिम्पिक्समा छ पदक जितेकी जिम्न्यास्ट रेबेका अन्ड्राड ब्रजिलकै सर्वाधिक पदक विजेता ओलम्पिक खेलाडी हुन्। उनले नौवटा विश्व उपाधि विजेता पनि हुन्।
प्यारिस ओलम्पिक्स २०२४ मा 'फ्लोर एक्सर्साइज'मा संसारकै सर्वाधिक पदक विजेता जिम्न्यास्ट सिमोन बाइल्सलाई पछि पार्दै उनले स्वर्ण पदक जितिन्। पदक समारोहको समयमा बाइल्स अमेरिकी जिम्न्यास्ट जोर्डन चाइल्स उनको अगाडि झुकेको भिडिओ भाइरल बन्यो र यो वर्षको ओलिम्पिक्सको प्रतीकजस्तै बन्यो।
उनका आमाका आठ सन्तान थिए। उनी १० वर्षको उमेरमा प्रशिक्षणका लागि साओ पाउलोबाहिर रहेको बस्तीबाट हिँडेर जान्थिन्। उनकी एकल आमाले उनको प्रशिक्षणको खर्च जुटाउन अरूको घरमा सरसफाए गर्ने काम गर्थिन्।
यो स्थितिमा आइपुग्ने क्रममा उनी धेरै पटक घाइते पनि भइन्। उनले मानसिक स्वास्थ्यबारे ख्याल दिनुपर्ने विषयमा खुलेर बोल्ने गरेकी छन्।
पुरानो अवस्थामा फर्किने सामर्थ्यको सम्बन्ध आफूसँग हुने कुरामा हामी आफूले गर्ने व्यवहार र सहकर्मीलाई नराम्रो अवस्थामा पनि राम्रो पक्ष हेर्न सघाउनुसँग छ।
रेबेका अन्ड्राड

हदिका कियानी, पाकिस्तान
गायिका तथा गीतकार
पाकिस्तानकी चर्चित सङ्गीतकर्मी हदिका कियानी आफ्नो विविधतापूर्ण स्वर र मानवीय सहायतामा उनको योगदानको निम्ति परिचित छन्।
सन् १९९० को दशकमा उनले प्रसिद्धि कमाइन्। दक्षिण एशियाली महिला पप सङ्गीतको क्षेत्रमा उनको ख्याति बन्यो। उनी राष्ट्रसङ्घीय विकास कार्यक्रमका लागि सद्भावना दूत पनि बनिन्।
पाकिस्तानमा सन् २०२२ मा भएको विनाशकारी बाढीपछि उनले बलोचिस्तान र दक्षिण पन्जाब क्षेत्रमा पीडितहरूलाई सहायता र राहत दिन 'वसीला-ए-राह' परियोजना आरम्भ थिइन्।
उनले विस्थापित परिवारलाई सहायता गर्न मानिसहरूलाई सार्वजनिक रूपमा आग्रह गरेकी थिइन् र गत वर्ष उक्त परियोजनाले प्रभावित क्षेत्रमा ३७० वटा घर र अन्य सुविधाहरू निर्माण गरेको घोषणा गरेको थियो।

फिर्दा मार्स्या कुर्निया, इन्डोनेशिया
हेभी मेटल ब्यान्ड सङ्गीतकार
फिर्दा मार्स्या कुर्निया हिजाब लगाउने सबैजना महिला सदस्य भएको हेभी मेटल ब्यान्ड 'भोइस अफ बेसप्रट' की मुख्य गायिका र गितारवादक हुन्। उनी लैङ्गिक र धार्मिक मान्यतालाई चुनौती दिन कठिन मान्दिनन्।
इन्डोनेशियामा सबैभन्दा धेरैले बोल्ने भाषा सुन्डनीज र अङ्ग्रेजी भाषामा गाइने गीतले पितृसत्ताप्रति आफ्नो निराशा व्यक्त गर्ने गर्छन्।
अतिरूढीवादी मुस्लिमहरूले यसको विरोध गर्ने गरेका छन्। उनीहरूले हेभी मेटल ब्यान्डको सुरु हुँदा राम्रो प्रतिक्रिया व्यक्त गरेका थिएनन्।
तर १० वर्षअघि पश्चिम जाभाको गरुटस्थित आफ्नो विद्यालयमा उक्त ब्यान्ड सुरु गरेयता सो समूहले लामो यात्रा गरिसकेको छ। यो वर्ष उनीहरूले ग्ल्यास्टन्बरीमा कार्यक्रम गरेका थिए। यो सङ्गीत समारोहको ५४ वर्षे इतिहासमा भाग लिने पहिलो इन्डोनेशियाली ब्यान्ड थियो।

जाकिया खुदादादी, अफगानिस्तान
तेक्वान्दो पारालिम्पियन
जाकिया खुदादादी सन् २०२४ को प्यारिस गेम्समा पारालिम्पिक शरणार्थी टोलीका तर्फबाट पदक जित्ने पहिलो सदस्य बनिन्।
एउटा हातबिना जन्मिएकी उनले ११ वर्षको उमेरदेखि नै लुकिछिपी तेक्वान्दोको प्रशिक्षण लिएकी थिइन्। पश्चिम अफगानिस्तानको हेरातस्थित गृहनगरमा गोप्य रूपमा सञ्चालित जिममा उनले प्रशिक्षण लिएकी थिइन्।
सन् २०२१ मा तालिबान पुन: सत्तामा आएपछि टोक्योमा भएको पारालिम्पिकमा उनलाई खेल्ने अवसर दिइएन।
तर अन्तर्राष्ट्रिय पारालिम्पिक कमिटीको हस्तक्षेप अनि फ्रान्सको समर्थनमा उनलाई अफगानिस्तानबाट उद्धार गरियो र तालिबानले सत्ता हत्याएपछि कुनै अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा भाग लिने उनी पहिलो अफगान महिला भइन्।
ओलिम्पिक पदकसम्मको मेरो यात्राले अफगान महिला, शरणार्थी महिला र सबै महिलाको सामर्थ्य बताउँछ। हार नमानेर अघि बढ्दा महिलाले गर्न नसक्ने केही छैन भन्ने हामीले निरन्तर पुष्टि गरिरहेका छौँ।
जाकिया खुदादादी

क्लोई जाओ, यूके
चलचित्र निर्देशक
ओस्कर पुरस्कार विजेता चलचित्र निर्देशक तथा लेखिका क्लोई जाओ उक्त विधामा अक्याडमी अवार्ड जित्ने हालसम्मकै तीन महिलामध्ये एक र पहिलो गैरश्वेत महिला हुन्।
बेइजिङमा जन्मिएकी उनी पछि यूके र अमेरिका गइन्। उनी आफूलाई घुमन्ते भन्छिन् - त्यही विषयलाई उनको चलचित्र 'नोम्याडल्यान्ड' (२०२०) ले उजागर गरेको छ।
आफ्ना सुरुसुरुका चलचित्रहरूमा जनजाति समुदायको प्रतिनिधित्व गराएकी उनले मार्भल यूनिभर्सका विविध कलाकारहरूलाई निर्देशन गरेकी छन्। मानवजातिलाई कुन विषयले आपसमा गाँस्छ भन्ने विषयमा उनको विशेष रुचि रहेको छ।
यो वर्ष उनले म्यागी ओ'फारेलद्वारा लिखित शेक्सपिअरकालीन कथावस्तु चित्रण गरिएको चर्चित 'ह्याम्नेट' उपन्यासमा आधारित चलचित्रको निर्देशन गरिरहेकी छन्। उक्त चलचित्र सन् २०२५ मा सार्वजनिक हुने छ।
यदि हामीले काम गरिरहेको क्षेत्रको संरचना बदल्दैनौँ भने हाम्रो कुनै मूल्य हुन हामी ठ्याक्कै पुरुषजस्तै हुनुपर्ने हुन्छ। मलाई लाग्दैन त्यसो गरेर हामी सशक्त हुन सक्छौँ।
क्लोई जाओ

झिइङ (तान्या) जेङ, चिली
टेबल टेनिस खेलाडी
चिनियाँ-चिलियन टेबल टेनिस खेलाडी झिइङ जेङ वा तान्याले ५८ वर्षको उमेरमा २०२४ मा प्यारिस ओलम्पिकमा पहिलो पटक सहभागिता जनाएकी थिइन्।
धेरै लामो समय भइसकेको थियो: आफ्नी आमा कोच भएका कारण उनी १२ वर्षको उमेरमा नै व्यावसायिक खेलाडी बनिसकेकी थिइन्। उनले चिनियाँ राष्ट्रिय टीमबाट खेल्न छानिएकी थिइन्, तर उनी पछि चिली गइन्। त्यहाँ उनले आफ्नो ध्यान व्यवसायमा केन्द्रित गर्न खेल छोडिदिइन्।
कोभिड १९ महामारीका कारण तान्या जेङ टेबल टेनिसमा फर्किन्।
सन् २०२३ सम्ममा उनी चिलीको खेल जगत्मा सर्वोच्च वरीयतामा पुग्ने महिला बनिन्। उनले दक्षिण अमेरिकी च्याम्पिअनशिप र प्यान अमेरिकन गेम्समा चिलेको प्रतिनिधित्व गरिन्। त्यसपछि उनको ओलिम्पिकका लागि छनोट हुने सपना पूरा गरिन्।

म्याडिसन टेभ्लिन, क्यानडा
टक शो कार्यक्रम सञ्चालक र मोडल
अजुम आई क्यान नामक अभियानमा खेलेको म्याडिसन टेभ्लिनको भिडिओ यो वर्ष विश्वभरि भाइरल भयो र त्यसले डाउन्स सिन्ड्रमबाट प्रभावितहरूविरुद्ध रहेका पूर्वाग्रह मेट्यो।
जनचेतना जगाउने उक्त भिडिओ १५ करोड पटक हेरियो र सकारात्मक प्रभाव पारेकोमा पुरस्कृत पनि भयो। कान्स लायन्स फेस्टिभलमा भिडिओले प्रतिष्ठित गोल्ड लायन पुरस्कार पायो।
अभिनेत्री तथा मोडल टेभ्लिनले न्यूयोर्क फेशन वीकमा भाग लिएकी छन्। उनले क्लिन्टन ग्लोबल इनिशिएटिभको कार्यक्रममा समावेशी विषयमा बोलेकी छन् तथा क्वीन्सी जोन्स एक्सेपशनल एड्भोकेसी अवार्ड जितेकी छन्।
हु डु यू थिङ्क आई एम? नामक प्रतिष्ठित टक शो कार्यक्रमका साथै २१ क्वेश्चन्स नामक पडकास्ट उनले सञ्चालन गरेकी छन्।
सामर्थ्य भनेको कसैले तपाईँलाई कम आँकेमा वा बेवास्ता गरेमा पनि पछि नहट्नु नै हो... त्यो भनेको आफूले विश्वास गरेको विषयमा सदा डटिरहनु हो।
म्याडिसन टेभ्लिन

एलिसन फेलिक्स, संयुक्त राज्य अमेरिका
ट्र्याक एन्ड फील्ड खेलाडी
विश्व च्याम्पिअनशिपका २० पदक र ओलिम्पिक्सका ११ पदकसहित एलिसन फेलिक्स इतिहासकै सबभन्दा सफल ट्र्याक एन्ड फील्ड खेलाडी हुन्।
प्रि-इक्ल्याप्सिआ नामक समस्याबाट पीडित भएर महिनै नपुगी छोरीलाई जन्म दिएकी उनले मातृस्वास्थ्य अधिकारको खरो वकालत गर्दै आएकी छन्। अमेरिकाका अश्वेत महिलाहरूको मातृस्वास्थ्योपचारका निम्ति हालै उनले मेलिन्डा फ्रेन्च गेट्स संस्थाबाट २ करोड डलरको अनुदान पाएकी छन्।
सन् २०२४ को प्यारिस ओलिम्पिकका बेला ओलिम्पिक भिलेजमा 'नर्सरी' खोल्न यी पूर्वखेलाडीको ठूलो योगदान रह्यो।
साथै यो वर्ष उनी इन्टरन्याश्नल ओलिम्पिक कमिटी एथ्लिट्स कमिशनमा निर्वाचित भइन्। महिला खेलमा केन्द्रित आफ्नै स्पोर्ट्स व्यवस्थापन कम्पनी पनि उनले खोलेकी छन्।
कठिन परिस्थितिको सोझो सामना गर्न चाहिने बल र सौन्दर्य खोज्नु नै वास्तविक सामर्थ्य हो। साथै हरेक हारलाई अगाडि बढ्ने ऊर्जाको रूपमा लिनु पनि सामर्थ्य हो।
एलिसन फेलिक्स

विनेश फोगाट, भारत
कुस्तीबाज
तीन पटक ओलिम्पिक खेलेकी विनेश फोगाट भारतकी सबैभन्दा सफल कुस्ती खेलाडीमध्ये हुन्। साथै खेलमा महिलाहरूलाई हेर्ने दृष्टिकोणकी उनी खरो आलोचक पनि हुन्। उनले विश्व च्याम्पिअनशिप, राष्ट्रमण्डल तथा एशियाली खेलकुदमा पदक जितेकी छन्।
यो वर्ष ओलिम्पिक फाइनलमा पुग्ने उनी प्रथम भारतीय महिला खेलाडी बनिन्। तर तौलका कारण अन्तिममा अयोग्य घोषित भइन्। त्यसपछि उनले खेलजीवनबाट सन्न्यास लिइन् र राजनीतिमा प्रवेश गरिन्।
परम्परागत लैङ्गिक मान्यताकी खरो आलोचक फोगाटले भारतीय कुस्ती महासङ्घका वृजभूषण सिंहविरुद्धको महिनौँ लामो विरोधको नेतृत्व गरेकी थिइन्। सिंहमाथि महिला खेलाडीलाई यौनदुर्व्यवहार गरेको आरोप लागेका थिए। तर उनले ती आरोप अस्वीकार गर्दै आएका छन्।
एक प्रदर्शनका क्रममा प्रहरीले फोगाट र अरू व्यक्तिलाई पक्राउ गरेपछि उक्त विरोधप्रदर्शनबारे सञ्चारमाध्यममा निकै चर्चा भएको थियो।
दिन खराब भयो भने पनि आफूलाई फेरि उभ्याउन सक्नु नै सामर्थ्य हो।
विनेश फोगाट

जोअन चेलिमो मेली, केन्या/रोमानिआ
लामो दूरीकी धाविका
यो वर्षको 'युरोपिअन च्याम्पिअनशिप्स हाफ माराथन'मा रजत पदक जितेकी केन्यामा जन्मिएकी रोमानियाकी ओलम्पिअन जोअन चेलिमो लामो दूरीको दौडमा प्राप्त उपलब्धिहरूका निम्ति प्रसिद्ध छिन्।
खेलका अलावा उनी लैङ्गिक हिंसामा परेर बच्न सफल महिलासमेत हुन्। उनी आफ्नो निजी अनुभवलाई ती खतरा उजागर गर्न प्रयोग गर्न चाहन्छिन् जुन धावकहरूले प्राय: सामना गर्नुपर्छ।
सन् २०२१ मा सहधावक तथा विश्वकिर्तिमानी एग्नेस टिरोप मारिएपछि उनले 'टिरोप्स एन्जल्स' नामक सङ्गठनको सहस्थापना गरिन्, जसले आफ्ना व्यापक क्रियाकलापहरूद्वारा लिङ्गमा आधारित हिंसाविरुद्ध पैरवी गर्छ।
यो वर्ष ओलम्पिक धाविका रेबेक्का चेप्टेगेई उनका पूर्व'पार्टनर'द्वारा मारिएपछि नारीहत्याविरुद्ध कारबाहीको आवाज पुन: चर्कियो।
मेरो विचारमा जब हामीले हाम्रो पीडा हाम्रो कथाको अन्त्य नभई केही ठूलो कुराको सुरुवात हो भन्ने निर्णय गर्छौँ, वास्तविक परिवर्तन सोही बिन्दुबाट सुरु हुन्छ।
जोअन चेलिमो मेली

इन्ना मोद्जा, माली
कलाकार तथा जलवायु पैरवीकर्ता
इन्ना मोद्जा जलवायु न्याय पैरवीकर्ता, सङ्गीतकार र चलचित्र निर्माता हुन्। उनले महिला खतनाको विरोधदेखि दिगोपनसम्मका अभियानमा संलग्न छिन्।
१२ देशमा फैलिएको सहारा मरुभूमिको दक्षिणमा रहेको साहेलमा मरुभूमि विस्तारलाई नियन्त्रण गर्ने महत्त्वाकाङ्क्षी प्रयासबारे बनाइएको वृत्तचित्तर ‘द ग्रेट ग्रीन वाल’की उनी निर्माता हुन्। उनले त्यसमा अभिनय पनि गरेकी छन्।
उनी संयुक्त राष्ट्रसङ्घको 'मरुभूमीकरण नियन्त्रण गर्ने सन्धि'की सद्भावनादूत हुन्। उक्त भूमिकामा उनी जलवायु परिवर्तनबाट प्रभावित समुदायको आवाजलाई प्रोत्साहन गर्छिन्।
उनी ‘कोड ग्रीन’ नामक एउटा गैरनाफामूलक संस्थाको सहसंस्थापक पनि हुन्। उक्त संस्थाले सकारात्मक कार्यलाई प्रेरित गर्न नयाँ प्रविधि र 'गेमिङ'लाई प्रयोग गर्छ।
पूर्ववत् रूपमा फर्किने सामर्थ्यको सम्बन्ध महिला र युवतीहरूलाई रूपान्तरणकारी समाधान खोज्ने नेतृत्व गर्ने क्षमताको विकाससँग हुन्छ।
इन्ना मोद्जा

ग्याबी मोरेनो, ग्वाटेमाला
सङ्गीतकार
ल्याटिन सङ्गीत क्षेत्रकी चर्चित सङ्गीतकार तथा रचनाकार ग्वाटेमालाकी ग्याबी मोरेनो सन् २०२४ मा ग्रामी फर बेस्ट ल्याटिन पप एल्बमको उपाधि जितेपछि मूलधारमा प्रवेश गरेकी हुन्।
दुईवटा भाषामा कम्पोज गरिएको र अमेरिकी, सोल तथा ल्याटिन लोक सङ्गीतबाट प्रभावित उनको सङ्गीत र भावपूर्ण स्वले उनी सांस्कृतिक विरासतमा सम्पन्न रहेको झल्काउँछन्।
बाल अधिकारको वकालत गर्ने युनिसेफकी सद्भावना दूत हुने उनी ग्वाटेमालाकी प्रथम महिला पनि हुन्।
उनले अनुमानित २७ लाख बालबालिका स्कूले शिक्षाभन्दा बाहिर रहेको देशमा हालसालै गुणस्तरीय शैक्षिक सामग्रीमा पहुँच बढाउन एउटा अभियान शुरू गरेकी छन्।

किम येजी, दक्षिण कोरिया
ओलिम्पिक शूटर
आकर्षक व्यक्तित्व र उनले खेलमा हात पारेका उपलब्धिहरूका कारण किम येजी यसपालि विश्वको दृष्टिमा परिन्।
उनले जुलाईमा आफ्नो पहिलो ओलिम्पिक १० मिटर एअर पिस्तोल प्रतियोगितामा नै रजत पदक जितिन्। केही महिनाअगाडि मात्रै उनले २५ मिटर पिस्तोलमा विश्व कीर्तिमान बनाएकी थिइन्।
उनका भिडिओहरू चाँडै सोशल मिडियामा भाइरल भए। क्षमताको मात्र होइन, उनको शान्त स्वभावत, एकाग्रता, उनको लागि बनाइएको भिन्न चस्मा र साई-फाईबाट प्रेरित छविको पनि प्रशंसा भयो।
किम येजी मातृत्वसँग आउने जिम्मेवारीबारे खुलेर बोलेकी छिन्। उनले आफ्नो ५ वर्षीय छोरीसँग समय बिताउन खेलबाट केही समयका लागि विश्राम लिएकी छन्।
खेलकुदको माध्यमबाट हामी पूर्ववत् स्थितिमा फर्किने सामर्थ्य, सामूहिक भावना र दृढताको प्रदर्शन गर्छौं। मेरो विचारमा यी यस्ता मान्यताहरू हुन् जसले खेल मैदानबाट टाढा फराकिलो सामाजिक परिवर्तनलाई प्रेरित गर्छन्।
किम येजी

रे, यूके
गायिका
गायिका तथा गीतकार रेले यस वर्षको 'ब्रिट अवार्ड्स'मा इतिहास रचिन्। आफू मनोनीत भएकामध्ये सात वटामध्ये उनले छवटा पुरस्कार हात पारिन्। उनी वर्षको उत्कृष्ट गीतकारको उपाधि पाउने प्रथम महिला पनि बन्न सफल भइन्।
सन् २०२१ मा रेले आफ्नो एल्बम निकाल्न रेकर्ड कम्पनी ‘पोलिडोरसँग’ सात वर्ष सङ्घर्ष गर्नुपरेको कुरा सामाजिक सञ्जालमा लेखेकी थिइन्।
उनले आफ्नो पहिलो स्टूडिओ एल्बम ‘माई ट्वेन्टी फर्स्ट सेन्चुरी ब्लूज’ सन् २०२३ मा स्वतन्त्र कलाकारको रूपमा निकालिन्। उक्त एल्बम निकै सफल बन्यो।
उनले सङ्गीत उद्योग र बाहिर हुने यौन उत्पीडन, लागुऔषध दुरुपयोग, ‘बडी डिस्मोर्फिआ’ अर्थात् आफ्नो स्वरूपबारे निकै चिन्ता लिने मानसिक स्वास्थ्यको अवस्था लगायतका सङ्घर्षका विषयमा र गीतकारहरूलाई उचित पारिश्रमिक दिनुपर्ने सन्दर्भमा खुलेर कुरा गर्ने गरेकी छन्।

नाओमी वातानाबे, जापान
हास्य कलाकार
जापानकी सबैभन्दा प्रभावशाली व्यक्तिमध्येकी एक नाओमी वातानाबेले उनको देशमा नयाँ पुस्ताका महिला हास्य कलाकारहरूको निम्ति बाटो बनाइदिएकी छन्।
पुरुष कलाकारको वर्चस्व रहेको जापानको हास्य क्षेत्रमा परम्परागत अवरोध छिचोल्दै महिला मुख्य कलाकारको रूपमा उनले दिएका प्रस्तुतिलाई धेरै रुचाइयो।
व्यक्तिको शरीरसम्बन्धी परम्परागत सोच परिवर्तन गराउन वातानाबेले सघाएकी छन्। त्यसका लागि उनले 'पोचाकवाई' अर्थात् 'खाइलाग्दो र सुन्दर' नामक अभियान चलाएकी छन्। उनले प्लस साइज पहिरनको पहिलो जापानी ब्र्यान्ड पनि सुरु गराएकी छन्।
जापानी टेलिभिजन र चलचित्रमा सफलता हासिल गरेकी उनी विश्वव्यापी हास्य क्षेत्रमा प्रवेश गर्ने उद्देश्यले अहिले अमेरिका पुगेकी छन्।
कसरी सशक्त भइरहने? म सोच्ने गर्छु, 'यदि तपाईँलाई म मन पर्दैन भने मलाई कृपया एक वर्षको समय दिनुहोस्। सायद मैले तपाईँको मन बदल्दिनेछु।' म सधैँ यही मनस्थितिमा हुन्छु।
नाओमी वातानाबे

हेन्द सब्री, ट्युनिसिया
नायिका हेन्द सब्री अरब सिनेमा जगत्की निकै चर्चित महिला हुन्। उनको करिअरको महत्त्वपूर्ण नारीवादी फिल्म 'द साइलन्सेस अफ द प्यालेस' मा ट्यूनिशियाका महिलाहरूले भोगका सामाजिक र यौनशोषणबारे उजागर गरिएको थियो।
उनी सन् २०१९ मा 'भेनिस फिल्म फेस्टिभल'मा जाने पहिलो अरब महिला भइन्।
हालसालै उनले खेलेको 'ओल्फाज डटर्स' ट्यूनिशियाबाट सन् २०२४ मा ओस्कर अवार्डका लागि चयन भएको थियो भने 'बेस्ट डक्युमेन्ट्री फिचर'मा मनोनीत भएको थियो।
गाजामा भइरहेको युद्धमा भोकमरीलाई हतियार बनाएको भनी त्यसको विरोध गर्दै नोभेम्बरमा सब्रीले यूएनको सद्भावना राजदूतबाट राजीनामा दिइन्।
यो बच्नका लागि मात्र होइन; यो पुनर्निर्माण र सङ्घर्षमार्फत् जीवनको उद्देश्य प्राप्ति पनि हो...पीडालाई कार्यमा परिणत गर्ने।
हेन्द सब्री

एलाहा सोरूर, अफगानिस्तान
गायिका तथा सङ्गीतकार
अफगानिस्तानमा महिलाहरूको आवाजलाई सार्वजनिक जीवनबाट मेटाइन लागेका बेला गायिका एलाहा सोरूरले दमनका विरुद्ध लड्न तथा हौसलाको सन्देश दिन 'नान, कर, आजाद' (रोटी, काम, स्वतन्त्रता) नामक गीत लेखिन्।
अल्बेनियामा यसै वर्षको अक्टोबरमा भएको अभूतपूर्व अखिल अफगानिस्तान महिला सम्मेलनमा यो गीत सार्वजनिक गरियो।
चलचित्र, रङ्गमञ्च तथा सङ्गीत क्षेत्रमा काम गरेकी विभिन्न पुरस्कारप्राप्त यी कलाकारले प्रायजसो आफ्नो मञ्चलाई महिलाअधिकारको पैरवीका लागि उपयोग गरेकी छन्।
हजारा नामक अल्पसङ्ख्यक जातीय समूहकी सोरूरलाई सन् २००९ मा लोकप्रिय कार्यक्रम 'अफगान स्टार'ले अगाडि ल्याएको थियो। तर सङ्गीतमा करिअर अगाडि बढाउन खोज्दा उनले हिंसा सहनुपर्यो, फलतः सन् २०१० मा देश छाडिन्।

श्यारोन स्टोन, संयुक्त राज्य अमेरिका
नायिका
हलीवुड स्टार श्यारोन स्टोनले विगत तीन दशकमा पर्दाभित्र र बाहिर दुवै ठाउँमा राम्रो छाप पारेकी छन्।
सन् १९९०को दशकको सुरुतिर हिट चलचित्र‘बेसिक इन्स्टिङ्क्ट’ले उनलाई प्रसिद्ध बनायो। उनले अभिनय गरेको ‘टोटल रिकल’ र ‘क्यासिनो’ले उनलाई ओस्करमा मनोनीत गरायो।
कलाकारितमा मात्र सीमित नभई स्टोनले विभिन्न उद्देश्यसहितका परोपकारी कार्यहरू गरेकी छन्। एचआईभी लागेका मानिसहरूका लागि उनले गरेको कामका लागि नोबेल पुरस्कार विजेताहरूले उनलाई ‘पीस समिट अवार्ड’ले सम्मानित गरेका थिए।
यस वर्षको सुरुमा उनलाई ‘गोल्डन ग्लोब इन्टरन्याश्नल आइकन अवार्ड’ले सम्मानित गरियो।
पूर्ववत् अवस्थामा फर्किने सामर्थ्य आफ्नो इच्छामा पनि भर पर्छ। हामीले आफ्नो गति निर्धारण गर्नपर्छ। तपाईँले कि चिन्ता रोज्नुपर्छ कि आनन्द।
श्यारोन स्टोन
राजनीति तथा पैरवी

एन चुमापन (वाड्डाओ), थाईल्यान्ड
एलजीबीटीक्यू+ अधिकारकर्मी
थाईल्यान्डले यसै वर्ष वैवाहिक समानतासम्बन्धी एक विधेयक पारित गरी कानुनका रूपमा लागु गरेसँगै यो देश समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने पहिलो दक्षिणपूर्वी एशियाली देश भएको छ। एन 'वाड्डाओ' चुमापनसँग यसमा खुसी हुनुपर्ने धेरै कारणहरू छन्।
उनले संसद्मा यो विधेयक पारित गराउन अग्रणी भूमिका खेलेकी थिइन्। त्यसका लागि उनले संसद्का दुवै सदन 'हाउस अफ रेप्रिजेन्टटिभ्स' र 'सिनेट'मा कानुनी समीक्षा आयुक्तका रूपमा काम गरेकी थिइन्।
ब्याङ्कक प्राइड'की सहसंस्थापक रहेकी उनको स्थायी ठेगाना दक्षिणी थाईल्यान्डको ग्रामीण भेग चुमापन हो। यी क्वेअर समलिङ्गी महिला अधिकारकर्मी विगत एक दशकभन्दा अघिदेखि मानवअधिकार तथा 'एलजीबीटीक्यू प्लस' समुदायको पारिवारिक अधिकारका लागि पैरवी गर्दै छिन्।
सन् २०२० मा थाईल्यान्डमा भएको युवा प्रदर्शनमार्फत् उनी प्रजातन्त्रपक्षीय फेमिनिस्ट लिबरेशन फ्रन्टको नेत्रीका रूपमा उदाइन्। आफ्नो अभियानका कारण उनले आठ राजनीतिक मुद्दा खेपिन्।

फाउजिया अल-ओताइबी, साउदी अरब/यूके
महिला अधिकारकर्मी
फाउजिया अल-ओताइबीले लामो समयदेखि सामाजिक सञ्जालमार्फत् साउदी अरबमा पुरुष अभिभावकत्व प्रणालीको अन्त्यका लागि अभियान चलाउँदै आएकी छन् ।
तर सरकारी निकायले त्यसबारे सोधपुछ गर्न बोलाएपछि उनले देश छाड्ने विचार गरिन्।
महिला अधिकारकर्मी समेत रहेकी उनकी बहिनी मनाहेल अल–ओताइबीलाई यस वर्षको सुरुमा पक्राउ गरी ११ वर्षको जेल सजाय सुनाइयो। अधिकारवादी समूहका अनुसार उनलाई आफ्नो रुचिको पोसाक र अनलाइन माध्यममा उनले अभिव्यक्त गरेका धारणाका कारण पक्राउ गरिएको थियो।
अल-ओताइबीले आफ्नी बहिनीको रिहाइका लागि निरन्तर अभियान चलाइरहेकी छन्। साउदी अरबमा मतभिन्नता राख्ने व्यक्तिहरूमाथि गरिएको दमनका क्रममा सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा धेरै जना जेल परेका छन्।

हाला अल्करिब, सुडान
युद्धमा हुने यौनहिंसा विरुद्धको अभियानकर्ता
स्ट्रटीजिक इनिशटिभ फर विमिन इन द होर्न अफ अफ्रिका (एसआईएचए) की क्षेत्रीय निर्देशक, प्रमुख अभियानकर्ता र लेखिका अल्करिबले लैङ्गिक हिंसालाई ध्यानमा राखेर विभिन्न अभियानको नेतृत्व गर्छिन्।
सुडानमा सन् २०२३ को एप्रिलमा युद्ध सुरु भएपछि एसआईएचएले द्वन्द्वकेन्द्रित यौन हिंसाका घटनाहरू नियालेर महिलाहरूलाई सहयोग दिइरहेको छ।
सन् २०२४ मा यूएनको एउटा प्रतिवेदनले समस्याको 'कहालीलाग्दो' स्तर औँल्याउँदै चेतावनी दियो। उसले अर्धसैन्य बल र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ)ले "जघन्य अपराध" गरेको आरोप लगायो। तर आरएसएफले ती आरोप खण्डन गर्यो।
उक्त्त प्रतिवेदनका अनुसार जुलाई २०२२ सम्ममा युद्धमा भएका यौनहिंसाबाट बाँचेका कम्तीमा ४०० जनालाई सहयोगका लागि सिफारिस गरिएको थियो। त्यसलाई घटनाको सानो अंशको रूप मात्र भनिएको छ।

नेज्ला उसुक, टर्की
गाउँ प्रमुख र वन संरक्षण अभियानकर्ता
हालसालै पश्चिम टर्कीको इकिज्को क्षेत्रका प्रमुख चुनिएकी किसान नेज्ला इस्सिक गत पाँच वर्षदेखि वनफँडानीविरुद्ध अभियान चलाइरहेकी छिन्।
एउटा कोइलाखानी बनाउने प्रस्तावका कारण जब नजिकैको आक्बेलन वनमा धम्की आयो, उसुक र केही स्थानीय महिलाहरूले त्यसविरुद्ध मुद्दा दर्ता गरे र खानी बनाउन लागि गरिएको वनफँडानीको विरोध गरे।
कहिलेकाहीँ उनीहरूको वातावरण अभियानका कारण प्रहरी र जङ्गलको सुरक्षाका लागि बसेका प्रदर्शनकारीहरूबीच हिंसात्मक झडपहरू पनि भए। तर उसुक र अन्य गाउँलेहरू जस्तोसुकै चुनौती भए पनि डगमगाइनन्। (बिनाअनुमति जङ्गलमा प्रवेश गरेको भनेर उनीहरूलाई जरिवाना तिर्न भनिएको थियो। तर पछि उक्त निर्णय खारेज भयो।)
घर, खेत, सडकमा विरोधमा भएका महिलाहरू ... उनीहरूले नै विश्वलाई सुन्दर बनाएका छन् र निस्सन्देह उनीहरुले नै यो विश्वलाई बचाउने छन्।
नेज्ला उसुक

सुसन कोलिन्स, संयुक्त राज्य अमेरिका
सिनेटर
सुसन कोलिन्स पाँचौँ पटक मेनबाट सिनेटर बनेकी हुन्। उनी अमेरिकाको सिनेटमा रिपब्लिकन पार्टीबाट सर्वाधिक समय सदस्य बन्ने महिला हुन्।
महत्त्वपूर्ण कानुन बनाउने क्रममा उनी पटकपटक पार्टीको सीमाबाट बाहिर गएकी छन्। 'एड्भ्यान्सिङ मेनोपज एन्ड मिड-लाइफ विमिन्स् हेल्थ एक्ट' ल्याउने ६ सिनेटरमध्ये उनी पर्छिन्। उक्त कानुन बनेपछि रजोनिवृत्तिको अनुसन्धान, उपचार र जनजागरणका लागि आगामी पाँच वर्षमा २७.५ करोड डलर लगानी हुने छ।
कोलिन्सले 'न्याश्नल अल्जाइमर्स् प्रोजेक्ट एक्ट' मस्यौदा पनि बनाएकी हुन्। उक्त कानुनले अल्जाइमर्स् रोग रोकथाम र उपचारसम्बन्धी राष्ट्रिय योजनासँग समन्वय गर्छ। उनले उक्त परियोजनालाई सन् २०३५ सम्म खर्च सुनिश्चित गराएकी छन्। यसले डाउन्स् सिन्ड्रम भएका व्यक्तिहरूलाई पनि समाविष्ट गर्छ।

ड्यानिएला क्यान्टोर, इजरेली/प्यालेस्टिनी भूभाग
सांस्कृतिक अभियानकर्मी
कोभिड महामारीका बेला सुरु गरिएको 'कल्चर फर सोलिड्यारिटी' नामक एउटा परियोजनाकी सहसंस्थापकका रूपमा ड्यानिएला क्यान्टोरले तेल अभिभका स्थानीय परिवारहरूलाई खानेकुरा र अन्य सहायता प्रदान गरेकी छन्।
अर्की सहसंस्थापक आल्मा बेकसँग मिलेर उनी 'हाउस अफ सोलिडारिटी' नामक संस्था चलाउँछिन्। उक्त संस्था मानिसहरूलाई भेटघाट गर्न, बहस गर्न र सांस्कृतिक गतिविधि तथा कार्यशाला गर्न एउटा वैकल्पिक स्थान बन्न पुगेको छ।
उनले हालै आफ्नै लेखन र आफैँले खिचेका तस्बिरहरूको सङ्कलनसहित एउटा कला पुस्तक प्रकाशित गरेकी छन्, जसमा इजरेल र प्यालेस्टिनी भूभागमा रहेका समुदायहरूको पहिचानको राजनीतिकको सूक्ष्म विशेषताहरूको अध्ययन गर्न तिनका खानेकुराको संस्कृतिको प्रयोग गरिएको छ।
विमिन पीस सिट- इन नामक समूहका अन्य सदस्यहरूसँगै क्यान्टोर पनि मध्यपूर्वमा तत्काल युद्धविराम र दिगो शान्ति सहमतिको माग गर्दै आयोजना हुने प्रदर्शनहरूमा सहभागी हुने गर्छिन्।
जब महिलाहरूले उनीहरूमा निहित करुणाभावको सदुपयोग गर्छन् तब हामीले अन्यायपूर्ण प्रणालीहरूको पहिचान गरेर आफ्नो अगाडिको बाटोको पुनः परिकल्पना गर्न सक्छौँ।
ड्यानिएला क्यान्टोर

जिना मोदरेस गोर्जी, इरान
महिला अधिकारकर्मी
कुर्दिश पत्रकार तथा अधिकारकर्मी जिना मोदरेस गोर्जी 'जिभानो विमिन्स् असोसिएशन'की सहसंस्थापक हुन्। उक्त संस्थाले महिला हिंसाविरुद्ध लड्न शिक्षा, प्रदर्शन र सहायता अभियान चलाउँछ।
इरानमा 'महिला, जीवन, स्वतन्त्रता आन्दोलन' सुरु भएयता उनी दुई पटक पक्राउ परिन्। उनी पहिलो पटक राज्यसत्ताविरुद्ध प्रचारबाजी गरेको आरोपमा २१ वर्ष जेल परेकी थिइन्। अहिले उनी घटाएर दुई वर्ष चार महिना बनाइएको सजाय भोग्दै छिन्।
मोदरेस गोर्जी इरानमा कानुन सुधारका लागि जनताको समर्थन जुटाउनका लागि 'दश लाख हस्ताक्षर अभियान'की सदस्य थिइन्। उक्त अभियानले महिलामाथि भेदभाव गर्ने कानुनहरूमा सुधार गर्नुपर्ने माग गरेको थियो।
उनी कुर्दिश महिला फोटोग्राफरहरूको एउटा समूह, महिलाहरूको एउटा पोडकास्ट र प्रेरणादायी कुर्दिश महिलाहरूबारे लेखिएको बालपुस्तकमा संलग्न छिन्।

लिलिया चनिशभा, रुस
राजनीतिक कार्यकर्ता र पूर्वबन्दी
राजनीतिक कार्यकर्ता लिलिया चनिशभा अन्तर्राष्ट्रिय बन्दी साटाफेर हुँदा गत अगस्टमा रिहा भएका २६ जनामध्ये एक हुन्। आफ्नो स्वतन्त्रता पुन: प्राप्त गरेपश्चात् उनले रुस छाडिन्।
चनिशभा दिवङ्गत रुसी विपक्षी नेता एलेक्सी नभाल्नीको बश्कोर्तोस्तानस्थित कार्यालय सम्हाल्ने गर्थिन्। उनी भ्रष्टाचारबारे अनुसन्धान, निष्पक्ष चुनाव र वाक् स्वतन्त्रताका लागि वकालत गर्थिन्।
उनी सफल लगानीकर्ता पनि हुन्। नभाल्नीका निम्ति काम गर्नुअघि उनी मस्कोमा अन्तर्राष्ट्रिय फर्महरूका लागि कर परामर्शदाता थिइन्।
सन् २०२१ मा उनलाई उग्रवादको अभियोगमा साढै नौ वर्ष जेल चलान गरिएको थियो। रिहा हुनुअघि उनले दुई वर्ष नौ महिना जेलमा बिताइन्।

एलिनाभ जाङ्गोकर, इजरेल
बन्धक मुक्ति अभियानकर्मी
अभियानकर्मी तथा एकल आमा एलिनाभ जाङ्गोकरका २४ वर्षीय छोरा माटानलाई अक्टोबर ७ मा इजरेलमा भएको हमास नेतृत्वको हमलाका क्रममा बन्धक बनाइएको थियो। उनका छोराका पार्टनर इलानालाई पनि बेग्लै घटनामा अपहरण गरिएको थियो र पछि बन्दी साटासाट गर्दा मुक्त गरिएको थियो।
त्यस बेलादेखि उनले प्रत्येक साता विरोधप्रदर्शनमा भेला हुन जनतालाई आह्वान गरेर, नेताहरूलाई उपयुक्त कदम चाल्न भनेर बन्धक सङ्कटमाथि मानिसहरूको निरन्तर ध्यान केन्द्रित गराइरहने काम गरेकी छन्।
बन्धकहरूलाई घर फर्काउने उपाय पत्ता लगाउन विफल भएको भन्दै जाङ्गोकर इजरेली सरकारको कडा आलोचक बनेकी छन् यद्यपि उनले विगतमा प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको सत्ताधारी पार्टीको पक्षमा मतदान गरेकी थिइन्।
बाँकी रहेका बन्धकहरूको मुक्तिको लागि एउटा युद्धविराम सम्झौता हुनुपर्ने उनको माग छ।

हुवाङ जी, ताइवान
राजनीतिकर्मी
लैङ्गिक समानताको वकालत गर्नेमा नाम कहलाइएकी हुआङ जीले यो वर्ष ज्यानुअरीमा संसद्को चुनाव जितेर इतिहास रचिन्। किनभने उनी ताइवानमा खुलेर आएकी एलजीबीटीक्यू+ समुदायका तर्फबाट पहिलो सांसद बनिन्।
उनले आफ्नो राजनीतिक जीवनमा ठूलाठूला सुधारको पक्षमा काम गरेकी छन्। तिनमा एकल महिला र समलिङ्गी महिलाहरूका लागि प्रजनन उपचार प्राप्त गर्नेदेखि न्यून आय भएका तथा अपाङ्गता भएका महिलाका लागि महिनावारीका बेला सहुलियतप्राप्त सामग्री उपलब्ध गराउनु पनि छ।
सन् २०२३ मा सार्वजनिक रूपमा आफू समलिङ्गी भएको जनाएपछि उनले आफूले भोगेका दुर्व्यवहारबारे पनि खुलेर बोलिन्। डीपफेक पोर्नोग्राफीबाट समेत पीडित उनी डिजिटल यौनहिंसाविरुद्ध लड्न विद्यमान कानुनलाई बलियो बनाउन वकालत गरिरहेकी छन्।
चुनौती सामना गर्ने सामर्थ्य विविधता स्वीकार्नुमा आधारित हुन्छ। जति किसिमका विचार हामी संलग्न गर्न सक्छौँ हामी त्यति बलियो बन्छौँ - खास गरी कुनै बेला कमजोर ठानिएका महिला र एलजीबीटीक्यू+को आवाज।
हुवाङ जी

अमान्डा जुुराउस्की, संयुक्त राज्य अमेरिका
प्रजनन अधिकार पैरवीकर्ता
सन् २०२२ को अगस्टमा अमान्डा जुराउस्कीले आफ्नो गर्भ खेर जान लागेको थाहा पाइन्। डाक्टरले उनको भ्रूण बाँच्न नसक्ने बताएका थिए।
जुराउस्की टेक्ससमा बस्छिन् र उनलाई गर्भपतन गर्न मनाही गरिएको थियो। दुई महिनाअघि सर्वोच्च अदालतले 'रो भर्सस वेड'लाई उल्ट्याएपछि राज्यले बिरामीको ज्यान जोखिममा परेको अवस्थामा बाहेक अन्य प्रक्रियामा प्रतिबन्ध लगाएको थियो। त्यसको तीन दिनपछि उनी रक्तचाप घटेर 'सेप्टिक शक'को अवस्थामा पुगिन्। ज्यान जोखिममा परेपछि अन्ततः उनको गर्भपतन गराइयो।
महिलाहरूले गर्भपतन गर्न अस्वीकार गरेको 'रो भर्सस वेड'लाई उल्ट्याएपछि मार्च २०२३ मा जुराउस्की र उनी जस्तै अन्य १९ महिलाले राज्यविरुद्ध मुद्दा दायर गरे। टेक्ससको सर्वोच्च अदालतले गर्भपतनप्रतिबन्धको चुनौती अस्वीकार गरेको छ।
उनले प्रजनन अधिकार पुनर्स्थापना र रक्षाका लागि प्रतिबद्ध रहने प्रण गरेकी छन्।

ग्युअरलिन एम. जोजेफ, हेइटी
आप्रवासी अधिकार अभियानकर्मी
आप्रवासीको अधिकारको निम्ति अभियान चलाउने ग्युअरलिन एम. जोजेफले अमेरिकामा जातीय विभेद र राजनीतिबीचको अन्तरसम्बन्धबारे काम गर्छिन्।
उनी महिलाले अगुवाइ गरेको संस्था हेइटीएन ब्रिज अलायन्सको संस्थापक हुन्। उक्त संस्थाले अफ्रिकी मूलका नागरिकमा केन्द्रित भएर काम गर्छ।
उनको नेतृत्वमा अलायन्सले डोनाल्ड ट्रम्पविरुद्ध फौजदारी अभियोग दर्ता गरेको थियो। उनले राष्ट्रपतीय चुनावको अभियानका क्रममा स्प्रिङफिल्ड ओहायोमा एउटा भाषणमा हेइटीका आप्रवासीहरूले कुकुर-बिरालो जस्ता 'घरपालुवा जनावर' खाइरहेको आधारहीन आरोप लगाएका थिए।
जोजेफ लामो समयदेखि हेइटीका नागरिक निष्कासनको खुला रूपमा आलोचना गर्दै आएकी छन्।

काशा ज्याकलिन नवागेसरा, युगान्डा
विविधता र समावेशी अभियानकर्मी
युगान्डामा समलैङ्गिक गतिविधि गैरकानुनी छ र यसमा जेल सजाय समेत हुन सक्छ। एलजीबीटीक्यू+ पैरवीकर्ता नवागेसरा यी दमनकारी कानुनहरू बदल्न सङ्घर्षरत छिन्।
एक खुला समलिङ्गी महिलाका रूपमा उनले एलजीबीटीक्यू+प्रतिको द्वेषपूर्ण धारणाविरुद्ध अफ्रिकाभरि गहिरो प्रभाव पारेकी छन्।
नवागेसराले एलजीबीटीक्यू+विरुद्धको सन्देशका निम्ति पत्रपत्रिकाहरू र युगान्डाको सरकारलाई सफलतापूर्वक कानुनको दायरामा ल्याएकी छन्। उनले समलैङ्गिकताविरुद्धका कानुनहरूलाई युगान्डाको अदालतमा दुई पटक चुनौती दिएकी छन् भने अहिले सन् २०२३ को ऐनलाई चुनौती दिइराखेकी छन्।
उनका शैक्षिक उपलब्धिहरूमा युगान्डाको कुम्बा विश्वविद्यालयबाट डिग्री, स्टान्फर्ड विश्वविद्यालयबाट विद्वत्वृत्ति तथा यूएन, युरोपेली संसद् तथा अफ्रिकी आयोग आदिमा विविधतासम्बन्धी पहलका निम्ति योगदान आदि छन्।

जीजेल पेलिको, फ्रान्स
बलात्कार पीडित र अभियानकर्ता
नाम गोप्य राख्न पाइने अधिकार छोडेर आफ्नो कथा संसारसामु राखेकी जीजेल पेलिको साहस र सामर्थ्यकी प्रतीक बनेकी छन्।
उनका पूर्वपतिले लागुऔषधि सेवन गराएर उनको बलात्कार गरेको र अरू दर्जनौँ मानिसलाई पनि उनको बलात्कार गर्न लगाएको स्वीकार गरेका छन्। ती अधिकांश घटना हुँदा तस्बिर खिचिएको थियो।
कानुनले पेलिकोलाई अज्ञात बस्न पाउने अधिकार दिएको थियो। तर उनले अभियुक्तहरूलाई "लज्जाबोध" होस् भनेर खुला सुनुवाइ गर्न र भिडिओ देखाउन आग्रह गरिन्। बलात्कारका घटनामा संलग्न ५० जनामध्ये केहीले आरोप स्वीकार गरेका छन्, तर अधिकांशले यौन क्रियाकलापमा मात्र संलग्न भएको बताएका छन्।
सुनुवाइ अन्तिम चरणमा पुग्दा विश्वभरिका महिलाहरू ती फ्रान्सेली हजुरआमाबाट प्रेरित हुने र यो मुद्दाले फ्रान्सेली कानुन र बलात्कार तथा सहमतिबारे मानिसको दृष्टिकोण परिवर्तन हुने ठान्छिन्।

महरङ्ग बलोच, पाकिस्तान
चिकित्सक तथा राजनीतिकर्मी
पााकिस्तानको बलोचिस्तान प्रान्तमा मानिसहरू जबर्जस्ती बेपत्ता बनाइएका घटनाको विरोधमा भएका प्रदर्शनहरूमा भाग लिइरहेका सयौँ महिलाहरूमध्ये महारङ्ग बलोच पनि एक हुन्।
सान् २००९ मा उनका बुवालाई सुरक्षा अधिकारीहरूले लगेको आरोप लागेको थियो। दुई वर्षपछि उनको शव भेटिँदा त्यहाँ यातनाका सङ्केतहरू थिए।
सन् २०२३ को उत्तरार्धमा बलोचको नेतृत्वमा सयौँ महिलाहरूले राजधानी इस्लामाबादसम्म एक हजार माइल (१,६०० किमि) यात्रा गर्दै बेपत्ता बनाइएका आफ्ना परिवारका सदस्यको स्थिति सार्वजनिक गर्न माग गरे। त्यस क्रममा उनलाई दुईचोटि पक्राउ गरियो।
लामो समयदेखि राष्ट्रवादी विद्रोहको केन्द्रबिन्दु बनेको बलोचिस्तान प्रान्तका प्रदर्शनकारीहरूले विद्रोहको प्रतिरोधमा भएको कारबाहीका क्रममा आफ्ना निकटतम व्यक्तिहरूलाई पाकिस्तानका सुरक्षा निकायले नियन्त्रणमा लिई मारेको दाबी गरेका छन्। इस्लामाबादका अधिकारीहरू यो स्वीकार गर्दैनन्।
बलोच याचेटी (एकता) कमिटी' नामक आफ्नै मानव अधिकारवादी समूहअन्तर्गत यी चिकित्सक मुख्य अभियानकर्मी भएकी छन्। मानव अधिकारको क्षेत्रमा उनले गरेको कामलाई कदर गर्दै टाइम म्यागजीनले उनलाई १०० 'उदाउँदा नेताहरू'को सूची '१०० नेक्स्ट २०२४' मा राखेको छ।

केमी बाडेनोख, यूके
ब्रिटेनमा कन्जर्भेटिभ पार्टीकी नेत्री
नोभेम्बर महिनामा पार्टी नेत्री निर्वाचित केमी बाडेनोख यूकेमा कुनै पनि ठूलो राजनीतिक दलको नेता बन्ने पहिलो अश्वेत महिला हुन्।
उनी हाल नोर्थ वेस्ट एसेक्सकी सांसद हुन्। यसअघि वाणिज्यमन्त्री र महिला तथा समानता मामिलाकी एक कनिष्ठ मन्त्री पनि थिइन्।
बाडेनोखको जन्म नाइजिरिआली आमाबुवाबाट लन्डनमा भएको थियो तर उनी नाइजिरिआको लेगोस र अमेरिकामा हुर्किन्। उनी १६ वर्षको उमेरमा लन्डन फर्किन् र कम्प्युटर इन्जिनियरिङ र कानुन विषयमा डिग्री हासिल गरिन्।
राजनीतिक जीवनभन्दा पहिले उनी एउटा निजी ब्याङ्क काउट्सकी अशोसिएट डाइरेक्टर र 'द स्पेक्टेटर' पत्रिकामा डिजिटल डाइरेक्टर थिइन्।

लोर्डेस बार्रेटो, ब्रजिल
यौनकर्मीका अधिकार अभियानकर्ता
धेरै अभियानमा प्रमुख भूमिका खेलेकी लोर्डेस बार्रेटोले आफ्नो जीवन यौनकर्मीहरूका अधिकारका लागि वकालत गरेर बिताएकी छिन्।
उनले आफ्नो सक्रियता एमेजन क्षेत्रको बेलेम दो पाराबाट सुरु गरेकी हुन् र सन् १९८० को दशकमा ब्रजिलियन नेटवर्क अफ प्रोस्टिच्युट्सका सहसंस्थापक भइन् जुन ल्याटिन अमेरिकामा सुरु भएको पहिलो यौनकर्मीहरुको सङ्गठित आन्दोलनमध्येको एक थियो।
अहिले ८० को दशकमा रहेकी बार्रेटोले समाजमा रहिआएको पूर्वाग्रहलाई दशकौँदेखि चुनौती दिँदै आएकी छिन्।
ब्रजिलमा एचआईभी नियन्त्रणका नीतिहरु ल्याउन उनको भूमिका उल्लेखनीय थियो र सुनखानी उत्खनन गर्ने समुदायमा एचआईभीको रोकथामका लागि पनि अभियान चलाइन्। सन् २०२३ मा उनले आफ्नो आत्मकथा प्रकाशित गरिन्।
हाम्रा कथाहरूको मूल्य रहोस्, तर हामीलाई मौन नगराइयोस्। सपना देख्ने विशाल क्षमता भएका हामी महिलाहरु लक्ष्य प्राप्ति, सोच्ने शक्त्ति र समाज परिवर्तन गर्ने सक्छौँ।
लोर्डेस बार्रेटो

लतिशा मक्कर्डन, आयरल्यान्ड
आइरिश ट्राभलर मुभमन्ट, अभियानकर्मी
तलिशा मककर्डन केवल २० वर्षकी भइन्। तर उनले पहिल्यैदेखि आफूलाई घुमन्ते आइरिश समुदायको सशक्त पैरवीकर्ताका रूपमा स्थापित गराएकी छन्।
सोही समुदायको सदस्यका रूपमा उनी आयरल्यान्डका जातीय अल्पसङ्ख्यकहरूप्रतिको रूढिवादी धारणाविरुद्ध लड्न चाहन्छिन्। त्यसका साथै घरेलु हिंसामा परी बाँच्न सफल भएकी उनी आफ्नो आवाजमार्फत् महिला र किशोरीहरूलाई हिंसाविरुद्ध लड्न प्रेरित गर्छिन्।
यूनिभर्सिटी अफ गल्वेमा कानुन पढिरहेकी उनी 'आइरिश ट्राभलर मुभमन्ट न्याश्नल यूथ फोरम', 'न्याश्नल विमिन्स् काउन्सिल अफ आयरल्यान्ड' र यात्रीहरूलाई सघाउने समूह 'मिन्केरस ह्वाइडन'सँग पनि आबद्ध छिन्।
उनी सन् २०२९ को चुनावमा भाग लिएर आयरल्यान्डको भविष्यका निम्ति अर्थपूर्ण काम गर्ने आशामा छिन्।

हाना-राविती माइपी-क्लार्क, न्यूजील्यान्ड
राजनीतिज्ञ
बाइस वर्षीया हाना-राविती माइपी-क्लार्क न्यूजील्यान्डको संसद्मा चुनिने अहिलेसम्मकै कम उमेरकी 'माओरी' महिला हुन्।
आफ्नो पहिलो मन्तव्यका क्रममा परम्परागत 'हाका माओरी' नृत्य प्रस्तुत गरेर चर्चामा आउनुका साथै उनले आदिवासीहरूको प्रतिनिधित्व बढाउन माग गरिन्। हालै पनि उनले एउटा विवादास्पद विधेयकको विरोधमा अर्को 'हाका'को नृत्य प्रस्तुत गरेर सदन ठप्प पारिन्।
उनी 'माओरी' अधिकार, सांस्कृतिक संरक्षण तथा वातावरणीय मुद्दाहरूबारे लगनसाथ वकालत गर्छिन्। सत्र वर्षको छँदा उनको चन्द्रमासको पात्रोसम्बन्धी पहिलो पुस्तक प्रकाशित भएको थियो।
राजनीतिमा आदिवासी युवाका रूपमा आवाज उठाउने कार्यका निम्ति यो वर्ष उनले प्रतिष्ठित 'वन यङ वर्ल्ड पोलिटिशन अफ दि यिअर' उपाधि प्राप्त गरिन्।
महिलाहरूले आफूलाई स्वागत गरिँदैन भनी थाहा भएका ठाउँमा प्रवेश पाउन ढोका भत्काउनपर्छ, चाहे त्यो स्थानीय, राष्ट्रिय वा विश्वस्तरकै राजनीति नै किन नहोस्।
हाना-राविती माइपी-क्लार्क

क्याथरिन मार्टिनेज, भेनेजुएला
मानवअधिकार अधिवक्ता
भेनेजुएलाको कराकसस्थित जोसे म्यानुएल दे लोस रिओस बालअस्पतालका प्रायः साना बिरामी कम आय भएका तथा एकल अभिभावक भएका परिवारका छन्।
क्याथरिन मार्टिनेजले स्थापना गरेको गैरसरकारी संस्था 'प्रेपरा फामिलिआ' उनीहरूलाई लत्ताकपडा, औषधि र खानाजस्ता अत्यावश्यक सामग्री र मनोवैज्ञानिक सहयोग प्रदान गर्छ।
मानवअधिकार अधिवक्ताका रूपमा उनी आफू र आफ्नो समूहले अस्पतालको परिवेशमा भएका घटनामध्ये बालबालिका र उनीहरूको हेरचाह गर्ने महिलाको मानवअधिकार उल्लङ्घन भनी मानेका घटनाको अभिलेख राखी पीडितलाई क्षतिपूर्ति प्राप्त गर्न सहयोग गर्छिन्।
भेनेजुएलामा कुपोषणको दर पनि उच्च भएका कारण उनको संस्थाले बालबालिका तथा गर्भवती महिलालाई निःशुल्क पोषक सामग्री प्रदान गर्न एक केन्द्र खोलेको छ।

नादिया मुराद, इराक
नोबेल शान्ति पुरस्कार विजेता
सन् २०१४ ताका आईएस भनिने इस्लामिक स्टेट समूहले इराकमा गराएको यजिदीहरूको जातीय संहार झेलेकी नादिया मुरादले यौनहिंसाका पीडितहरूको निम्ति वकालत गर्दै आएकी छन्। मानव अधिकार अभियानकर्मी उनले नोबेल शान्ति पुरस्कार पाएकी छन्।
उनलाई आईएसका विद्रोहीहरूले कब्जा गरेर जबर्जस्ती दास बनाएका मात्र थिएनन्, उनीमाथि दुर्व्यवहार र बलात्कार गरेका थिए। तीन महिनापश्चात् उनी भाग्न सफल भएकी थिइन्। त्यसयता द्वन्द्वसँग सम्बन्धित यौनहिंसाबारे विश्वमा चेतना जगाउने उद्देश्यले उनले आफूले खेपेको सास्तीलाई बहादुरीपूर्वक सुनाउँदै आएकी छन्।
मानव अधिकारसम्बन्धी वकिल अमाल क्लूनीसँग मिलेर उनले आईएसलाई उत्तरदायी बनाउने प्रयास गरिरहेकी छन्। पीडित समुदायको पुनर्स्थापना एवं क्षतिपूर्तिलाई सघाउन उनले 'नादियाज् इनिशटिभ' सुरु गरिन्।
यजिदी नरसंहारको १० वर्षपश्चात् उनी उक्त सङ्घर्षको एक प्रतीक बनेकी छन्।
मैले भन्ने गर्छु समानता र न्याय: सत्य, आशा र करुणाका निम्ति हामीले 'आत्माको अस्त्र' उठाउनु पर्छ।
नादिया मुराद

एनी सिनान्डुकु म्वाङ्गी, डीआर कङ्गो
खानी व्यवसायी
खानी व्यवसायी महिलाका रूपमा एनी सिनान्डुकु म्वाङ्गीले उद्योगभित्रका असमानता र यौन दुर्व्यवहारविरुद्ध भुइँ तहको अभियानको नेतृत्व गर्छिन्,जहाँ खानीहरूका आधा कालिगढ महिला छन्।
राष्टिय 'वोमेन्स माइनिङ नेटवर्क रेनाफेम'की नेतृ म्वाङ्गीले आफूलाई 'मदर बोस'का रूपमा प्रस्तुत गर्नुका साथै खानीस्थलहरूमा पुरुष सहकर्मीहरूबाट हुने यौन शोषणबाट बच्न महिलाहरूलाई नेतृत्वमा राख्छिन्।
इलेक्ट्रिक कारजस्ता स्वच्छ उर्जामा आधारित उत्पादनहरूका निम्ति विश्व स्तरमा 'कोबाल्ट' तथा अन्य खनिज पदार्थहरूको माग बढिरहेका बेला उनी महिलाहरूको रोजीरोटीमाथिको लगानीमार्फत् यस क्षेत्रबाट बालश्रम हटाउने आशासमेत गर्छिन्।

फेङ युआान, चीन
महिला अधिकार पैरवीकर्ता
चीनमा लामो समयदेखि महिला अधिकारहरूका बारे पैरवी गर्दै आएकी फेङ युआन 'इक्वालिटी बेइजिङ' संस्थाकी संस्थापक निर्देशक हुन्। सन् २०१४ मा स्थापित उक्त संस्था कानुन सुधार, क्षमता अभिवृद्धि र एक हेल्पलाइनमार्फत लैङ्गिक हिंसाविरुद्ध सङ्घर्षरत छ।
हालैका वर्षहरूमा उनले चीनको 'मी टू' पीडितहरूलाई सहयोग गरेकी छन् र कार्यस्थलमा हुने यौन दुर्व्यवहार रोक्न रोजगारदाताहरूलाई प्रशिक्षण पनि दिएकी छन्।
फेङले सन् १९८६ देखि २००६ सम्म महिलाका मुद्दाहरूमा केन्द्रित पत्रकारिता गरेकी थिइन्।
सन् १९९० को मध्यदेखि उनले महिला र सञ्चारमाध्यम, एचआईभी एड्स, नेतृत्व क्षमता,र युवा सशक्तीकरण लगायतका विषयमा विभिन्न गैरसरकारी प्रयासहरू स्थापना गर्न सघाउँदै आएकी छन्।

एन्जेला रेनर, यूके
उपप्रधानमन्त्री
यूकेको राजनीतिमा शीर्षमध्येको पदमा रहेकी एन्जेला रेनर जुलाईमा भएको निर्वाचनपछि गठित सरकारमा उपप्रधानमन्त्री छिन्।
स्टकपोर्टमा जन्मिएकी र हुर्किएकी उनले सानै उमेरदेखि आमाको हेरचाह गरेकी थिइन्। सोह्र वर्षको उमेरमा गर्भवती भएकी उनले स्कूल छाडिन्। उनले स्थानीय काउन्सिलका लागि सामाजिक क्षेत्रमा काम गरिन्। बिस्तारै उनी अघि बढ्दै ट्रेड युनियनकी प्रतिनिधि बनिन्।
संसद्मा पहिलो पटक सन् २०१५ मा उनी लेबर सांसदका रूपमा एस्टन-अन्डर-लाइन क्षेत्रबाट निर्वाचित भइन्। उक्त निर्वाचन क्षेत्रमा जित्ने उनी प्रथम महिला सांसद पनि हुन्। पछि उनले अरू कार्यभारका अतिरिक्त महिला तथा समानतासम्बन्धी छायामन्त्रीकी रूपमा पनि काम गरिन्।
हाल उनी आवास, समुदाय तथा स्थानीय सरकार मामिलासम्बन्धी मन्त्री पनि हुन्।

अरुणा रोय, भारत
सामाजिक अभियानकर्ता
अरुणा रोय गरिबहरूको हक र अधिकारका लागि सक्रिय अभियानकर्ता हुन्। ग्रामीण समुदायसँग मिलेर काम गर्न उनले सरकारी जागिर छाडिन्।
उनी मजदुर किसान शक्ति सङ्गठनकी सहसंस्थापक हुन्। यो संस्थाले मजदुरहरूको ज्याला र पारदर्शिताको क्षेत्रमा काम गर्छ। उनले सन् २००५ मा नागरिकलाई सरकारको जबाफदेहिता खोज्न सक्षम बनाउने कानुनको कार्यान्वयन गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।
रोय चार दशकदेखि जनताले नेतृत्वमा भएका कार्यक्रमहरूको अग्रपङ्क्तिमा छिन्। उनले ‘एशियाको नोबेल पुरस्कार’ भनिने रामोन म्याग्सेसेसहतिका पुरस्कार पाएकी छन्।
उनी भारतीय महिला राष्ट्रिय महासङ्घकी अध्यक्ष हुन्। उनले आफ्नो आत्मकथा‘द पर्सनल इज पोलिटिकल’ प्रकाशित गरेकी छन्।
ठूलो सपनामा अलमलिँदा हामी प्राय: आफू नजिकको सपना सम्झिन सक्दैनौँ।
अरुणा रोय

रुथ लोपेज, एल साल्भाडोर
वकिल
कानुन र न्यायमा समर्पित रुथ लोपेज मध्य अमेरिकामा प्रजातन्त्र विस्तारका लागि काम गर्ने क्रिस्टोसाल सङ्गठनकी प्रमुख कानुन अधिकृत हुन्।
उनले एल साल्भाडोरमा भ्रस्टाचार विरोधी, निर्वाचन कानुन तथा त्यहाँ मानव अधिकार संरक्षणमा ध्यान केन्द्रीत गरिरहेकी छन्।
आफ्नो देशको सरकार र संस्थाहरूकी कटु आलोचक उनले सामाजिक सञ्जालमार्फत् नागरिकहरूको अगुवाइमा राजनीतिक पारदर्शिता र सार्वजनिक जबाफदेहिताको व्यापक प्रवर्द्धन गरेकी छन्।
यसै वर्षको सुरुमा एल साल्भाडोरमा नायिब बुकेले राष्ट्रपति पदको दोस्रो कार्यकालका निम्ति पुन: निर्वाचित भएपछि उनको काम थप महत्त्वपूर्ण बनेको छ। अपराधविरुद्ध कारबाही चलाएका कारण आफ्नो लोकप्रियता बढेको देखेका बुकेलेले आफूलाई 'विश्वकै सबभन्दा गजबका तानाशाह' बताउँछन्।

रोजमेरी वाइड्लर-वल्टी, स्वीट्जरल्यान्ड
शिक्षक तथा जलवायु अभियानकर्मी
क्लीमा सिनियोरिनेन - वा जलवायु संरक्षणका लागि ज्येष्ठ महिला - की सहअध्यक्षको रूपमा रोजमेरी वाइड्लर-वल्टीले मानव अधिकारसम्बन्धी युरोपेली अदालतमा स्वीस सरकारविरुद्ध नौ वर्ष लामो मुद्दा लडेर जितिन्।
अन्य २००० महिला, पूर्वप्राथमिक तहका शिक्षक र काउन्सिलरहरूको साथ लिएर उनले विश्वव्यापी तापक्रम वृद्धिद्वारा सिर्जित हिटवेभप्रति स्वीस सरकारको कदमले उनीहरूको स्वास्थ्य अधिकार हनन भएको र उनीहरूको उमेर र लिङ्गका कारण उनीहरू थप जोखिममा परेको भन्दै पैरवी गरेकी थिइन्।
एप्रिलमा उक्त अदालतले कार्बन उत्सर्जन कटौतीका लक्ष्य हासिल गर्न स्वीस सरकारले चालेका कदम अपर्याप्त भएको फैसला गर्यो।
पछि स्वीस संसद्ले उक्त अदालतको फैसला अस्वीकार गरे पनि यो घटनाले जलवायु मुद्दामा कानुनी लडाइँबारे नयाँ नजीर स्थापित गरेको थियो।

युमी सुजुकी, जापान
जबर्जस्ती बन्ध्याकरणविरुद्धको मुद्दाकी वादी
सेलेब्रल पाल्सी' नामको शारीरिक समस्यासहित जन्मिएकी युकी सुजुकीमाथि सानै उमेरदेखि भेदभाव भएको थियो। उनी केवल १२ वर्षको छँदा 'हिस्टेरेक्टोमी'को सामना गर्नुपर्यो, जसमा शल्यक्रिया प्रक्रियाद्वारा गर्भाशय निकालिन्छ।
युजनिक्स' कानूनअन्तर्गत सन् १९५० को दशकदेखि १९९० को दशकसम्म जापानमा सुजुकीजस्ता अपाङ्गहरूको जबर्जस्ती बन्ध्याकरण गरिएको थियो। उक्त कानून सन् १९९६ मा मात्रै निष्क्रिय पारियो।
सुजुकी तथा अन्य ३८ जना वादीले सरकारविरुद्ध मुद्दा दायर गरे र वर्षौँपछि उनले मुद्दा जितिन्। जुलाई महिनामा जापानको सर्वोच्च अदालतले उक्त अभ्यासलाई असंवैधानिक ठहर्याउँदै सरकारलाई पीडितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन आदेश दियो।
अधिकारीले बिनासहमति १६,००० बन्ध्याकरण गराएको स्वीकारेका छन्।
विज्ञान, स्वास्थ्य तथा प्रविधि

इनास अल-गूल, प्यालेस्टिनी भूभाग
कृषि इन्जिनियर
युद्धका कारण गाजामा पानीको अभाव हुँदा इनास अल-गूलले केही समाधान खोज्ने सोचिन्।
समुद्रको पानीबाट नुन छुट्ट्याएर पिउन मिल्ने पानी निकाल्न उनले काठ, सिसा र त्रिपालजस्ता पुराना सामान प्रयोग गरेर सौर्य ऊर्जाबाट चल्ने एउटा उपकरण निर्माण गरिन्।
गाजा स्ट्रिपको दक्षिणमा रहेको खान यूनिस क्षेत्रमा अवस्थित शिविरमा बस्ने धेरैका लागि यो उपकरण 'जीवनरक्षक' बनेको छ। त्यहाँ अक्टोबर २०२३ देखि पानी र सरसफाइका सेवासुविधाहरू क्षतिग्रस्त भएका छन्।
अल-गूल विस्थापित प्यालेस्टिनीहरूलाई सहयोग गर्न आफ्नो सीप प्रयोग गर्न कटिबद्ध छन्। उनले सौर्य ऊर्जाबाट चल्ने कुकर पनि बनाएकी छन्। उनीले डसना र झोलाजस्ता सामान बनाउनका लागि पुनर्प्रयोगीय सामग्री खोज्न पनि जानेकी छन्।

सफा अलि, सुडान
प्रसूति विशेषज्ञ
गत वर्ष सुडानमा आफू कार्यरत अस्पतालनजिकै भीषण लडाइँ हुँदा डा सफा अलिले लगातार गोलाबारी भइरहेका बेला अस्पताल छोड्न मानिनन्।
स्त्रीरोग विशेषज्ञ यी वरिष्ठ डाक्टरले सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेसबीच भएको हिंस्रक झडपबीच स्वयंसेवी कर्मचारी र गर्भवती महिलाहरूलाई सुरक्षित स्थानमा पुर्याउन मद्दत गरिन्।
अहिले अल साउदी म्याटर्निटी हस्पिटलमा काम गरिरहेकी यी डाक्टरले शल्यचिकित्सा गरेर बच्चा जन्माउन सहयोग गर्छिन् र जारी द्वन्द्वबीच महिलाहरूको स्वास्थ्य समस्याको उपचार गर्छिन्।
उनले करिब २० जना नयाँ महिला डाक्टरहरूलाई अबस्टेट्रिक शल्यचिकित्सा सिकाउन तालिम दिन्छिन् जसले त्यो देशमा भएको डाक्टरहरूको कमी सम्बोधन गर्न सहयोग गर्नेछ।
महिलाहरूको प्रतिरोधको माध्यमबाट उपचार, न्याय र भविष्यको वाचामार्फत् हामी त्रासमा बाँच्नुपर्ने छैन भन्ने मेरो विश्वास छ। यो उनीहरूको तागत हो र यसले मलाई अँध्यारा दिनहरूमा पनि आशा अझै बाँकी छ भन्ने सम्झाउँछ।
सफा अलि

शिलशिला आचार्य, नेपाल
दिगो विकास उद्यमी
शिलशिला आचार्य नेपालमा एउटा ठूलो प्लास्टिक पुनः प्रयोगसम्बन्धी सञ्जाल चलाउँछिन्। फोहर व्यवस्थापनसम्बन्धी अभ्नी भेन्चर्स नामको उनको संस्थाले सीमान्त समुदायका सदस्यलाई रोजगारी दिनुका साथै हरित क्षेत्रमा थप महिलालाई प्रोत्साहित गर्न ध्यान केन्द्रित गरेको छ।
आचार्यले सन् २०१४ मा 'धन्यवाद, म आफैँ झोला बोक्छु' भन्ने अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन। जसले किनमेलमा प्लास्टिक झोलाको प्रयोगमा प्रतिबन्ध लगाउन प्रेरित गरेको थियो।
वातावरण तथा फोहोर व्यवस्थापन अभियानकर्मी हिमालय सफाइको एउटा ठूलो अभियानका पछाडि पनि थिइन्। त्यस क्रममा पर्वतारोहीहरूले छाडेका ११९ टन फोहर सङ्कलन गरिएको थियो।
उनको कामको परिणाम नै हो, आदिवासी महिलाहरूले सङ्कलन गरेको फोहरबाट शृङ्गारका सामान, म्याट र डालो बनाएर आफ्नो जीवन निर्वाहमा सहज बनाएका छन्।

शिरीन आवेद, प्यालेस्टिनी भूभाग
बालरोग विशेषज्ञ
बम आक्रमण हुँदा र स्रोतसाधनको चरम अभाव हुँदा पनि शिरीन आवेदले गाजामा जन्मेका शिशुहरूको स्याहार गर्न छोडिनन्।
सन् २०२३ मा इजरेल-गाजा युद्ध सुरु भएपछि उनी बस्ने भवन ध्वस्त भएपछि आवेद विस्थापित भइन्। तर ती बालरोग विशेषज्ञले नजिकैको शिविरमा बसेर भए पनि नवजात शिशुहरूको हेरचाह गरिरहिन्।
गाजाका प्रमुख अस्पतालहरूमा नवजात एकाइहरूमा वर्षौं काम गरेकी विशेषतः भर्खरै अल-शिफा मेडिकल कम्प्लेक्समा प्रसूति केन्द्रको निर्देशकको अनुभव बटुलेकी उनले आपत्कालीन कार्यविधि बनाइन्। त्यसले चिकित्सकहरूलाई सीमित स्रोत र साधन उपलब्ध हुँदा जीवनरक्षा गर्ने उपचार प्रदान गर्न सक्षम बनाउँछ र त्यसका लागि अन्य चिकित्सकहरूलाई प्रशिक्षित गर्छ।
विभिन्न व्यवधानका कारण उनी आफ्ना दुई छोरीसहित यो र्षको सुरुतिर गाजाबाट बाहिर गइन्। तर उनले चिकित्सहरूलाई टाढैबाट सघाउन छाडेकी छैनन्।

नूर इमाम, इजिप्ट
महिला-प्रविधि व्यवसायी
यौन स्वास्थ्यसम्बन्धी शिक्षाकर्मी नूर इमामले स्वस्थ मासिक धर्म, प्रजनन स्वास्थ्य र यौन सचेतता जस्ता विषयमा मुख्य ध्यान केन्द्रित गरेकी छन् जुन विषयलाई सामान्यतया मध्यपूर्व र उत्तर अफ्रिकी क्षेत्रमा महिलालाई खुला चर्चा गर्न सामाजिक रूपमा निषेध गरिएको छ।
इमाम मदरबिइङ नामको संस्थाको प्रमुख कार्यकारी अधिकृत र सह-संस्थापक हुन्। महिला-प्रविधिसँग सम्बन्धित उक्त कम्पनीले प्रविधिमार्फत स्वास्थ्य सेवामा महिलाहरूको पहुँचमा सुधार गर्ने उद्देश्यका साथ कायरोस्थित एउटा क्लिनिक र डिजिटल प्लेटफर्मबाट सेवा प्रवाह गर्छ।
गर्भनिरोधकबारे विश्वसनीय सूचनामा पहुँच अनि कुनै सङ्कोचबिना संवेदनशील विषय पत्ता लगाउन सहयोग दिलाउँदै उनले महिलाहरूलाई तिनको शरीरबारे प्रमाणमा आधारित ज्ञान दिएर सशक्त तुल्याउने उद्देश्य राखेकी छन्।

रोजा भास्क्वेज एस्पिनोजा, पेरु
रसायन जीवशास्त्री
हजुरआमाको परम्परागत उपचार ज्ञानबाट प्रेरित वैज्ञानिक रोजा भास्क्वेज एस्पिनोजा अत्याधुनिक विज्ञान तथा परम्परागत ज्ञानको मिश्रणमार्फत् पेरुको अमेजन जैविक विविधताको संरक्षणमा लागिपरेकी छन्।
एमजन रिसर्च इन्टरन्याश्नलकी संस्थापक उनी जनजाति समुदायसँग मिलेर जङ्गलका जैविक विविधताको अध्ययन गर्छिन्।
बारम्बार अत्यन्त विकट क्षेत्रमा भ्रमण गर्ने एस्पिनोजाले एमजनको चर्चित 'बोइलिङ रीभर'मा नयाँ ब्याक्टेरिया पत्ता लगाइन्। साथै उनले पेरुका नचिल्ने मौरी र मेडिकल महको रासायनिक विश्लेषण गरेकी छन्।
दक्षिण अमेरिकाकै सबभन्दा ठूलोमध्येक आशानिन्का जनजाति समुदायको उनी अन्तर्राष्ट्रिय सद्भावनादूत हुन्।

ओल्गा ओलेफिरेन्को, युक्रेन
किसान
सन् २०१५ मा बुबा बितेपछि ओल्गा ओलिफेरिन्कोले बुवाको कृषि फारम खोल्ने सपनालाई मूर्त रूप दिन खोजिन्। त्यसका लागि उनले पशुपक्षी किनिन् तर आर्थिक सङ्कट आइपरेपछि ती सबै बेचिदिइन्।
तर उनी आफ्ना बुवाको चाहना त्याग्न चाहन्नथिन्। उनका बुवा जलसेनामा कमान्डर थिए। डोन्बासको अग्रमोर्चामा खटिँदा उनको मृत्यु भएको थियो।
गत वर्ष उनले 'युक्रेनी पूर्वसैनिक कोष'मा आर्थिक सहायताका माग्दै व्यावसायिक योजना पेस गरिन्।
ओलेफिरेन्काले आधुनिकीकरण, नयाँ कृषि प्रविधिहरूको प्रयोग र स्थानीय समुदायका लागि रोजगारी सिर्जनामा ध्यान केन्द्रित गर्दै फेरि आफ्नो कृषि फारम चलाउन थालिन्। त्यहाँ उनलाई अग्रसरता र नेतृत्वका लागि प्रेरणाको रूपमा हेरिन्छ।

कातालिन कारिको, हङ्गेरी
बायोकेमिस्ट तथा नोबेल पुरस्कार विजेता
हङ्गेरीकी कातालिन कारिकोको संशोधित मेसिन्जर आरएनए (एमआरएनए)सम्बन्धी निकै प्रशंसा पाएको शोधलाई बायोएनटेक/फाइजर र मोडर्नाले कोभिड-१९ विरुद्धको खोप बनाउन प्रयोग गरेका थिए।
यसले उनलाई "आधुनिक कालमा मानवस्वास्थ्यमाथि उत्पन्न ठूलो चुनौतीका समयमा अभूतपूर्व दरमा खोप विकास गर्न" योगदान गरेबापत नोबेल पुरस्कार दिलायो। उनका सहकर्मी ड्रू भाइस्मनसँगै उनले यो पुरस्कार हात पारेकी हुन्।
एमआरएनएले हाम्रो डीएनएलाई प्रोटीन बनाउन लगाउँछ। यो एकदम नाजुक हुनुका साथै यसमा काम गर्न निकै कठिन हुन्छ, तर कारिको यसले औषधिको क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्छ भन्नेमा ढुक्क थिइन्।
महामारी आउनुअघि प्रयोगात्मक अवस्थामा रहेको यो प्रविधि गम्भीर कोभिड-१९ बाट जोगाउन अहिले संसारमा लाखौँ मानिसलाई दिइसकिएको छ।
आफ्नो लक्ष्यमा केन्द्रित भएर काम गर्नुहोस्। सदैव अरूले होइन आफू के गर्न सक्छु भन्नेबारे केन्द्रित हुनुहोस्। विफल हुनुभयो भने यसबाट सिक्नुहोस्। उठ्नुहोस् र उस्तै उमङ्गका साथ अघि बढ्नुहोस्।
कातालिन कारिको

गाब्रिएला सालास क्याब्रेरा, मेक्सिको
प्रोग्र्यामर तथा डेटा वैज्ञानिक
गाब्रिएला सालास क्याब्रेरा संलग्न नभएसम्म उनको मातृभाषा 'नाहुअत' 'गुगल ट्रान्स्लेट'मा थिएन।
यी इन्जिनियरले आफ्नोसँगै मेक्सिकोका अन्य आदिवासी भाषाहरूलाई 'गुगल ट्रान्स्लेट'मा समावेश गर्न गुगलसँग सहकार्य गरिन्। उनको भाषामा अनुवाद गर्ने प्रणाली यसै वर्ष सर्वसाधारणको प्रयोगका लागि खुला भइसकेको छ।
उनको कामले आर्टिफिशल इन्टेलिजन्स (एआई) को शक्ति सदुपयोग गर्दै कम प्रतिनिधित्व भएका भाषालाई समृद्ध बनाएको छ र प्रविधि उद्योगमा आदिवासी महिलाको उपस्थितिलाई बढाएको छ।
उनी 'अब्जेक्ट-ओरिएन्टेड प्रोग्र्यामिङ' तथा एआईकी विशेषज्ञ हुन्। उनी स्पेनको मड्रिडस्थित उनिभर्सिदाद पोलितेक्निकामा डेटा साइन्स पढ्दै छिन्।
महिलाको सामना क्षमता त्यस्तो ज्वाला हो, जुन कहिल्यै निभ्दैन। यसले दुःखलाई उद्देश्यमा बदल्छ र पछ्याउनेहरूलाई उज्यालो बाटो देखाउँछ।
गाब्रिएला सालास क्याब्रेरा

नेअमी चन्डा, जाम्बिया
किसान र प्रशिक्षक
एउटा प्रशिक्षण कृषि केन्द्रमा प्रशिक्षकका रूपमा कार्यरत नेअमी चन्दा आफ्नो समुदायलाई जमिनको सुरक्षा गर्ने र सम्मान गर्ने उपायहरूको प्रयोग गर्न सिकाउने अभियानमा छिन्।
उनी 'वातावरण सुहाउँदो' सीपहरूमा केन्द्रित छिन्। जस्तै, थोरै थोपाथोपा पानी प्रयोग गरिने सिँचाइ प्रविधि वा छोटो चक्र भएका बाली जसमा जलवायु परिवर्तनसँग जुध्ने उपायको केन्द्रमा महिलाहरूलाई राख्ने गरिन्छ।
बालिका शिक्षासँग सम्बन्धित 'क्याम्फेड' नामक गैरसरकारी संस्थासँग मिलेर चन्डाले १५० युवतीहरूलाई परिवर्तित परिस्थितिअनुकूल कस्तो कृषि प्रविधि अपनाउने र जाम्बियाको सुदूर उत्तरमा जलवायु सङ्कटका कारण समस्यासँग कसरी जुध्ने भन्ने विषयमा सिकाउँछिन्।

एडनिके टिटिलोपे ओलाडोसु, नाइजिरिआ
जलवायु न्याय पैरवीकर्ता
महिला तथा जलवायुसम्बन्धी नाइजिरिआली अधिकारकर्मी एडनिके टिटिलोपे ओलाडोसु 'आई लीड क्लाइमेट एक्शन' नामक संस्थाकी संस्थापक हुन्। त्यो जलवायु परिवर्तनसँग जुध्न युवा र महिलाहरूले थालेको पहल हो।
उनले नाइजिरिआ, नीजर, चाड र क्यामरूनको सङ्गममा रहेको 'लेक चाड'लाई प्रभावित पारिरहेको वातावरणीय सङ्कटबारे जनचेतना फैलाउन काम गरेकी छन्। त्यहाँ घट्दो पानीको स्रोतले द्वन्द्व चर्काइदिएको छ।
ओलाडोसुको कामले सामाजिक र पर्यावरणीय दुवै खालका समस्यालाई सम्बोधन गर्छ। खास गरी त्यसबाट अफ्रिकी महिला प्रभावित हुने भएकाले मरुभूमीकरणका कारण खाद्य सुरक्षामा सीधा प्रभाव परेको इलाकामा दिगो कृषिसम्बन्धी सीप महिलाहरूलाई सिकाउँछिन्।
सन् २०१९ यता संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बन्धी विभिन्न सम्मेलनहरूमा भाग लिँदै उनले नीतिनिर्माताहरूलाई अफ्रिकामा पर्यावरणीय जोखिम खेप्न सक्ने क्षमतालाई प्राथमिकता दिन आग्रह गरेकी छन्।
जलवायु सङ्कट यस्तो मुद्दा हो जसले हाम्रा सामुन्ने जित्नुबाहेक अरू कुनै विकल्प छाडिदिएको छैन। यो सङ्कटको सामना गर्न हामीले प्रविधि र नवप्रवर्तनमा गम्भीर लगानी गर्नुपर्छ।
एडनिके टिटिलोपे ओलाडोसु

सुबिन पार्क, दक्षिण कोरिया
संस्थापक, स्टेअर क्रशर क्लब
ह्वीलचेअर प्रयोगकर्ता सुबिन पार्कले सोलमा आफूलाई मन लागेको ठाउँमा जान सम्भव नभएको थाहा पाएपछि उनले यो मुद्दा उजागर गर्न आईटी प्रोजेक्ट व्यवस्थापकका रूपमा काम गरेको अनुभव र दक्षता प्रयोग गर्न थालिन्।
पार्क स्टेअर क्रशल क्लबकी सह संस्थापक हुन्। यो गैरनाफामुखी आयोजना हो जसले दक्षिण कोरियामा ह्वीलचेअरमैत्री नरहेका बाटोहरूको सूचना सङ्कलन गर्छ।
यो आयोजनाको लक्ष्य उपयोगकर्ताहरूका लागि पहुँचयुक्त स्थानहरूको एउटा नक्सा बनाउनु हो।
अहिलेसम्ममा २,००० भन्दा बढी नागरिकले स्टेअर क्रशर क्लब कार्यक्रममार्फत् डेटाबेसमा सूचना दिएका छन् र देशभरिबाट १४,००० स्थान ह्वीलचेअरमैत्री छन् कि छैनन् भन्ने जानकारी स्थापित भएको छ।

सारा बर्काई, यूके/एरट्रिया
डीआईवाई' अर्थात् आफैँले बनाउन सकिने विज्ञानका उपकरणका डिजाइनर
सुडानमा जन्मिएकी एरिट्रेअन र लन्डनमा हुर्किएकी सारा बर्काई उनको परिवारमा विश्वविद्यालय जाने पहिलो व्यक्त्ति हुन् र उनले बालविकास अध्ययन गरिन्।
उनी 'एम्बेस्सा प्ले' नामक सामाजिक उद्यमकी संस्थापक हुन् जसले बालबालिकाले आफैँ सिक्न मिल्ने अध्ययन सामग्रीहरू डिजाइन गर्छ र उनीहरूलाई खेलौना डिजाइनमा पनि सहभागी हुन प्रेरित गर्छ।
बर्काईका कामले विद्यालय जान नसकेका विभिन्न देशका बालबालिकालाई खेलको माध्यमबाट शिक्षामा पहुँच दिन्छ।
थुप्रै सम्मानहरूमध्ये उनको सिर्जनशील 'आइडिया' सामाजिक समावेशीकरणका लागि 'फोर्ब्स ३० मुनिका ३०' मा छनोट भएको थियो।
सामना गर्ने क्षमताले व्यवहारमा आशा अर्थात् मायाको जगमा अझ राम्रो भविष्यप्रतिको प्रतिबद्धता जगाउँछ।
सारा बर्काई

रिक्ता अख्तर बानु, बाङ्ग्लादेश
नर्स र स्कूल संस्थापक
पेसाले नर्स रिक्ता अख्तर बानु उत्तरी बाङ्ग्लादेशको सुदूर इलाकामा बस्छिन्, जहाँ अटिस्टिक वा अपाङ्गता भएका बच्चा हुनु एक अभिशापको रूपमा हेरिन्छ।
अटिस्टिक र सेरेब्रल पल्सी भएकी आफ्नी छोरीलाई स्थानीय प्राथमिक विद्यालयले भर्ना गर्न नमानेपछि उनले आफ्नो जमिन बिक्री गरिन् र आफ्नै स्कूल खोलिन्।
रिक्ता अख्तर बानु लर्निङ डिस्अबिलिटी' स्कूलले अहिले ३०० जना विद्यार्थी भर्ना गर्छ र समाजमा त्यस्ता बच्चाप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याएको छ।
यो स्कूल सुरुमा अटिस्टिक वा सिकाइमा समस्या भएका बच्चाहरूका लागि बनाइएको भए पनि अहिले यो स्कूलले विभिन्न किसिमका मानसिक र शारीरिक अक्षमता भएका केटाकेटीलाई पनि शिक्षा दिने गरेको छ।

ब्रिजिट बाप्टिस्ट, कोलम्बिया
पर्यावरणविद्
यौनिक अल्पसङ्ख्यक समुदायकी सदस्य तथा जीवशास्त्री ब्रिजिट बाप्टिस्टले जैविक विविधता र लैङ्गिक पहिचानबीचको समानताबारे अनुसन्धान गर्छिन्।
पारिस्थितिक प्रणालीको प्रभावकारी संरक्षणका लागि 'प्रकृति' को भावना विस्तार गर्ने गरी प्रजाति र ल्यान्डस्केपको विश्लेषण गर्न उनले लैङ्गिक अल्पसङ्ख्यकहरू दृष्टिकोण प्रयोग गरेकी छन्। उनले सन् २०१८ को 'टेड-एक्स टक'मा कोलम्बियाको राष्ट्रिय रूख 'क्विन्डिओ वाक्स पाम'को उदाहरण दिँदै त्यसको जीवनकालमा "विज्ञानले कसरी निरन्तर यौन र लिङ्ग परिवर्तनको विषयमा जानकारी दिएको छ" भनेर चर्चा गरिन्।
एक प्रसिद्ध शिक्षाकर्मी बाप्टिस्टले १० वर्ष अलेक्जेन्डर भन ह्युमबोल्ड्ट इन्स्टिच्युटको निर्देशककी रूपमा काम गरिन्। उनी अहिले बोगोटास्थित दिगो उद्यमशीलतामा केन्द्रित उच्च शिक्षा दिने संस्था युनिभर्सिदाद-ईएएनकी अध्यक्ष हुन्।
उनले उच्च शिक्षा अध्ययनमा एलजीबीटीक्यू+ समुदायका थप मानिसलाई समावेश गराउन आर्थिक स्रोतको जोहोका निम्ति अभियान चलाएकी छन्।

काउना माल्ग्वी, नाइजिरिया
कन्टेन्ट मोडरेटरहरूको यूनिअनकी नेत्री
काउना माल्ग्वी प्रविधि र आर्टिफिशल इन्टेलिजन्स (एआई)को क्षेत्रमा काम गर्नेहरूको अधिकारमा सक्रिय प्रखर अभियानकर्ता तथा क्लिनिकल मनोवैज्ञानिक हुन्। उनी नाइजिरियामा 'कन्टेन्ट मोडरेटर्स यूनियन'को नेतृत्व गर्छिन् र एआई प्रणालीहरूमा हुने प्रशिक्षणमा जाने सबै अदृश्य श्रमको बारेमा जागरुकता बढाउँछिन्।
फेसबुकका लागि 'आउटसोर्स' गरिएको कन्टेन्ट मोडरेटरको रूपमा काम गर्दा उनी आफूले बलात्कार, आत्महत्या र बाल दुर्व्यवहारका भिडिओहरू देखेको बताएकी छन्। उनका अनुसार त्यस्ता सामग्रीका कारण उनी अनिद्रा र भ्रान्तिबाट पीडित भएका थिइन्।
एक भित्रिया सूचकले कार्यवातावरण उपयुक्त नभएको भन्दै उजुरी गरेपछि अवैधानिक रूपमा सम्झौता अन्त्य गरिएको विषयमा केन्यामा फेसबुकको माउ कम्पनी मेटा र त्यसका सब्कन्ट्र्याक्टरविरुद्ध मुद्दा दर्ता गर्ने १८४ पूर्वमोडरेटरमध्ये उनी एक हुन्।
उनले कन्टेन्ट मोडरेटरहरूको अधिकारको पक्षमा बोल्दै उनले युरोपेली संसद्मा बयान दिएकी छन्।
महिलाहरूले प्राविधिक प्रगति र मानसिक स्वास्थ्य दुवैलाई महत्त्व दिने दृष्टिकोण ल्याएर हाम्रो खण्डित संसारको वास्तविकतालाई चुनौती दिन र परिवर्तन गर्न सक्छन्।
काउना माल्ग्वी

ओल्गा रुडनिएभा, युक्रेन
संस्थापक, सुपरह्युमन्स सेन्टर
युक्रेनमा रुसको अतिक्रमणपश्चात् ओल्गा रुडनिएभालाई लडाइँमा घाइतेहरूको सहयोग हुने कुनै काम गर्न मन लाग्यो।
युद्धमैदानमा हातखुट्टा गुमाएकाहरूलाई धेरैले पीडित माने, तर रुडनिएभाको नजरमा उनीहरू 'सुपरह्युमन्स' थिए जसलाई सकेको मद्दत गर्नु पर्छ।
उनले लभिभमा सुपरह्युमन्स ट्रमा सेन्टर स्थापना गरिन्। विशेषज्ञहरूको टोलीसहित प्रमुख कार्यकारीको रूपमा उनले त्यसलाई सञ्चालन गर्छिन्। सो केन्द्रले बिरामीहरूलाई कृत्रिम हातखुट्टा दिन्छ र हालै त्यहाँ पुनर्स्थापना केन्द्र पनि खुलेको छ।
सञ्चालनमा आएको दुई वर्षमै उक्त केन्द्रबाट २००० मानिसले फाइदा लिइसकेका छन्।
हरेक बिहान एअर साइरनको आवाजसँग उठ्नु र देशको लागि निरन्तर लड्नु नै सामर्थ्य हो। थोरै हुँदा पनि हरेक दिन धेरै गर्न सक्नु सामर्थ्य हो।
ओल्गा रुडनिएभा

स्नेहा रेवनूर, संयुक्त राज्य अमेरिका
एआई विज्ञ
मात्र २० वर्षको उमेरमा स्नेहा रेवनूर आफ्नो क्षेत्रमा निकै अगाडि पुगिसकेकी छन्। उनी 'इन्कोड जस्टिस'की संस्थापक हुन्। जुन ३० देशमा १.३०० भन्दा धेरै सदस्यसहित सुरक्षित, न्यायसङ्गत आर्टिफिशल इन्टेलिजन्स (एआई) का लागि एउटा विश्वव्यापी युवा आन्दोलनको स्वरूपमा छ।
रेवनूरको कामले उदाउँदो प्रविधिले उत्पन्न खतरा कसरी कम गर्ने भन्नेबारे काम गर्छ र यो महत्त्वपूर्ण कुराकानीमा युवाहरूलाई संलग्न गराउँछ।
उनी स्ट्यान्फर्ड यूनिभर्सिटीकी विद्यार्थी हुन् र सेन्टर फर एआई एन्ड डिजिटल पलिसीको 'समर फेलो' पनि हुन्।
उनी हालै 'टाइम म्यागजीन'को एआईमा १०० जना सबभन्दा प्रभावशाली व्यक्तिहरूको सूचीमा परेकामध्ये सबैभन्दा कान्छी सदस्य पनि हुन्।
एआईको क्रान्तिकारी क्षमतामाथि ग्रहण लाग्नुअगाडि नै त्यसको जोखिमबाट अगाडि बढ्न हामीसँग अवसर छ। त्यो मेरा लागि चुनौतीको सामनाको सामर्थ्य हो : भविष्यभन्दा माथि उठेर भविष्यको पुन: कल्पना गर्नु।
स्नेहा रेवनूर

जोर्जिना लङ, अस्ट्रेलिया
मेडिकल अङ्कोलजिस्ट
लक्षित थेरपीहरू र 'इम्युनो-अङ्कोलजी'का माध्यमबाट जोर्जिना लङ क्यान्सरबाट हुने मृत्यु रोक्न चाहन्छिन्।
लङ मेलानोमा इन्स्टिच्यूट अस्ट्रेलियाकी सहसंयोजक हुन्। उनी सन् २०२४ मा विश्वकै पहिलो पटक आफ्ना सहकर्मी रिचर्ड स्कोलिअररका निम्ति मिलेर उपचार योजना बनाएपछि चर्चामा आइन्, जसका कारण उनी क्यान्सरमुक्त बने। स्कोलिअरलाई छिटोछिटो बढ्ने प्रकृतिको विशेष खालको मस्तिष्कको क्यान्सर भएको थियो।
लङ र उनको समूहले (जसमा बिरामीसमेत सामेल छन्) ट्युमर हटाउन शल्यक्रिया गर्नुअघि संयुक्त रूपमा औषधिहरू प्रयोग गर्दा 'इम्युनोथेरापी'ले राम्ररी काम गर्ने पत्ता लगाएका छन्।
उनको नवीन कार्य मेलानोमाको कैयौँ वर्ष लामो शोधबाट प्रेरित छ, जसलाई छालाको क्यान्सर भएको भनी निदान भएका हजारौँ रोगीको ज्यान बचाएको श्रेय दिइन्छ।
भविष्यका नेताहरूले सहानुभूति र साझा मानवीय भावनाको प्रवर्धन गर्नुपर्छ, गएगुज्रेका प्रणालीलाई चुनौती दिन मानिसहरूलाई सशक्त बनाउनुपर्छ र समस्याको रचनात्मक समाधान खोज्ने कोसिस गर्नुपर्छ।
जोर्जिना लङ

साशा लुचिओनी, क्यानडा
कम्प्युटर वैज्ञानिक
आर्टिफिशल इन्टलिजेन्स (एआइ)को द्रुत विकासका माझ वर्तमान विश्वमा उक्त उद्योगको कार्बन फुटप्रिन्टलाई बेवास्ता गरिन्छ।
एआईकी अग्रणी वैज्ञानिक साशाले डेभलपरहरूलाई तिनले कोड बनाउँदा हुने कार्बन उत्सर्जन नाप्न सक्ने टुल बनाउन सघाएकी छन्। त्यसलाई १३ लाख पटक डाउनलोड गरिएको छ।
हगिङ फेस नामक ग्लोबल स्टार्ट अपकी उनी जलवायु प्रमुख हुन्। यसले ओपन सोर्स एआई मोडलमा काम गरेर 'मसिन लर्निङको सहज पहुँच' स्थापित गर्न चाहन्छ।
उनको ध्यान एआईको दिगोपनामा छ। एआई स्टार्ट अप कम्पनीहरूले तिनको जलवायु प्रभाव तुलना गर्न सक्ने इनर्जी स्टार रेटिङ प्रणालीको विकास गर्न उनी चाहन्छिन्।

सुनिता विलियम्स, संयुक्त राज्य अमेरिका
अन्तरिक्षयात्री
नासाकी अन्तरिक्षयात्री सुनिता विलियम्स ५ जुनमा बोइङ स्टारलाइनरमा सवार हुँदा उनको अन्तर्राष्ट्रिय स्पेस स्टेशन आईएसएसको आठदिने यात्रा सुरु हुन लागेको थियो।
तर यानमा उत्पन्न विविध समस्याका कारण उनी र उनका सहकर्मी ब्यारी विल्मोरलाई फेब्रुअरी २०२५ सम्म पृथ्वीमा फर्कन नसक्ने अवस्था आएको जानकारी गराइयो।
विलियम्स सेनाबाट अवकाशप्राप्त विमानचालक हुन् र अन्तरिक्षमा धेरै हिँडेकी र अन्तरिक्षमा म्याराथन दौडेको रेकर्ड सन् २००७ मा राखेकी महिला हुन्।
अहिले पृथ्वीबाट ४०० किलोमिटरमाथि परिवार र साथीसम्बन्धीहरूबाट टाढा रहे पनि उनले चुनौती सामना गर्ने सामर्थ्य दर्शाउँदै अन्तरिक्षको आफ्नो बसाइलाई खुसीपूर्वक स्वीकार्दै अन्तरिक्षयानलाई आफ्नो 'खुसीको स्थान' भनेकी छन्।

सिल्भाना सान्तोस, ब्रजिल
जीववैज्ञानिक
अगुवा जीववैज्ञानिक सिल्भाना सान्तोस अनुवंशशास्त्रको क्षेत्रमा आफूले पत्ता लगाएको महत्त्वपूर्ण खोजको सम्पूर्ण जस संयोगलाई दिन्छिन्। उनले आफ्नो घरकै बाटोमा कुनै अज्ञात रोग लागेका एक परिवारलाई भेटेकी थिइन्।
अनुसन्धान गर्दै जाँदा उनले उनीहरूलाई 'एसपीओएन सिन्ड्रम' नामक एक दुर्लभ स्नायुसम्बन्धी समस्या भएको पत्ता लगाइन्। यसका कारण उत्तरपूर्वी ब्रजिलमा 'प्रग्रेसिभ परालसिस' हुने गरेको पनि उनले पत्ता लगाइन्।
सेरिन्हा दस पिन्तोस नामक नगरमा अनुसन्धान सुरु गरेको २० वर्षमा उनले यस्तो समस्या भएका स्थानीयबासीलाई रोग निदानका लागि महत्त्वपूर्ण सहयोग गरेकी छन्।
उनी ग्रामीण ब्रजिलका गरिब बस्तीहरूमा दुर्लभ आनुवंशिक रोग र नजिकको सम्बन्ध भएका मानिसहरूबीच हुने विवाहबीचको सम्बन्धबारे अध्ययन गर्छिन्।
सामना क्षमताको शक्ति तपाईँ कसरी देखाउनुहुन्छ? जीवन एक चक्र हो भन्ने महसुस गरेर। अत्यधिक तातो खडेरीमा पनि हामी बाँच्छौँ। वर्षायाममा हामी फलफूल उमार्छौँ र हुर्काउँछौँ।
सिल्भाना सान्तोस

सामिया, सिरिया
मनोपरामर्शदाता
सामिया मनोपरामर्शदाता हुन्। (उनको व्यक्तिगत सुरक्षाका लागि बीबीसीले उनको नाम गोप्य राखेको छ।) उनले वर्षौंदेखिको द्वन्द्वका कारण उत्पन्न समस्या खेप्दै आएका सिरियालीहरूलाई सहयोग गर्दै आएकी छन्।
लामो समयदेखि चलेको गृहयुद्धले लाखौँ मानिसहरूको ज्यान गइसकेको छ र बाँचेकाहरूमध्ये धेरै जना प्रायः कठिन अवस्थामा छन्। उनीहरू डिप्रेशन र चिन्ताजस्ता मानसिक स्वास्थ्य समस्याबाट पीडित छन्।
इन्टरन्याश्नल रेस्क्यू कमिटी'द्धारा सञ्चालित मानसिक स्वास्थ्य क्लिनिकमा कार्यरत सामियाले उत्तरपूर्वी सिरियामा विस्थापित मानिसहरू र शरणार्थी शिविरमा रहेका तिनका परिवारलाई परामर्श दिन्छिन्।
स्रोतसाधनको अभाव भए पनि उनी आफ्ना बिरामीहरूको मानसिक स्वास्थ्य सुधार्न समर्पित छिन् र सङ्कटको अवस्थामा जागरुकता बढाउन प्रतिबद्ध छिन्।
१०० विमिन के हो?
बीबीसीले हरेक वर्ष विश्वभरिबाट १०० जना प्रभावशाली र प्रेरक महिलाहरूलाई छनोट गर्ने गरेको छ। हामी वृत्तचित्र बनाउँछौँ र उनीहरूको बारेमा लेख तथा अन्तर्वार्ता तयार पारी बीबीसीमा प्रकाशन तथा प्रसारण गर्छौँ।
बीबीसी १०० विमिन'लाई इन्स्टाग्राम र फेसबुकमा फलो गर्नुहोस्। सामाजिक सञ्जालमा चर्चा गर्दा #BBC100Women प्रयोग गर्नुहोस्।
१०० विमिन कसरी चयन गरिन्छ?
अनुसन्धान र ४१ वटा बीबीसी भाषा सेवाहरूका साथै बीबीसी मिडिया एक्शनको सुझावका आधारमा बीबीसी १०० विमिन टीमले नामहरूको सूची तयार पार्यो।
हामीले उल्लेखनीय कामहरू गरेर विगत १२ महिनामा समाचारमा चर्चामा आएका, प्रेरणादायी कथा भएका अथवा महत्त्वपूर्ण उपलब्धि हासिल गरेका वा समाचारमा छाप छोडेका महिलाहरूलाई सट्न खोजेका थियौँ।
प्राप्त नामहरूको सूचीलाई यो वर्षको मुख्य शीर्षक 'रिजिल्यन्स' अर्थात् कठिन परिस्थितिमा पनि अडिग रहेर अघि बढ्ने विशेष गुण झल्काउने उदाहरणीय व्यक्ति र कामहरूसँग पनि दाँजेर तयार पारिएको छ। हामी यो वर्ष संसारभरिका महिलाहरूले भोग्नुपरेका सङ्घर्षमय समयलाई उल्लेख गर्न चाहन्छौँ। यो समयावधिमा महिलाहरूले आफ्नो समुदाय र विश्वको तहमा नै परिवर्तन र उन्नत जीवनका लागि सङ्घर्ष जारी राखेका छन्। हामीले जलवायु परिवर्तनको क्षेत्रमा क्रियाशील महिलाहरूको नाम पनि संलग्न गरेका छौँ।
हामीले व्यापक राजनीतिक परिदृश्यका प्रतिनिधि आवाजहरूलाई पनि समेट्ने प्रयास गरेका छौँ र विभिन्न शीर्षक र विभाजित विचारलाई पनि समेट्ने प्रयास गरेका छौँ।
यो सूची क्षेत्रीय प्रतिनिधित्व झल्कने गरी पनि तयार पारिएको छ र अन्तिम चयन अघि 'उपयुक्त निष्पक्षता' को अभ्यास पनि गरेका छौँ। यो सूचीमा प्रस्तुत भएका सबै महिलाहरूले यसका लागि आफ्नो अनुमति प्रदान गरेका छन्।


ओझेलमा पारिएको महिला क्रिकेटले दिँदै छ नेपाललाई खुसी
नवजात छोरीहरूको हत्या गर्ने काम छोडेर बचाउन थालेका सुँडेनीहरूको कथा
'महिला भएकाले पटकपटक आफूलाई प्रमाणित गर्नुपर्यो'