|
साहित्यभन्दा फरक | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
साहित्य र पत्रकारिताको भाषा फरक हुन्छ किनभने दुवैको उद्देश्य तथा प्रकृति फरक छ। साहित्यको सृजना मूलतः आत्माभिव्यक्ति र आत्मसन्तुष्टिका निम्ति गरिन्छ भने पत्रकारिता लक्षित समूह वा आम जनतासम्म सूचना तथा विचार सम्प्रेषणका लागि गरिन्छ र उनीहरूकै सन्तुष्टि यसको लक्ष्य हुन्छ। साहित्य कल्पनाको संसार हो, पत्रकारिता यथार्थको सञ्चार: साहित्यकार आफ्नो मर्जी अनुसार चल्ने भएकाले उसले भाषामा अनेक प्रयोग गर्न सक्छ, विशेषण र अलंकारको लर्को लगाउन सक्छ अनि व्याख्यात्मक―सूत्रात्मक, घुमाउरो―जटिल जुनसुकै शैली समात्न सक्छ। पत्रकारिता भने आम पाठक/दर्शक/श्रोताको मर्जीलाई सर्वोपरि मान्दै, कुनै पनि किसिमको लहडी प्रयोगबाट मुक्त सोझो, सपाट र स्पष्ट―सरल―सम्प्रेषणीय भाषा―शैली मार्फत अघि बढ्छ। बढ्नुपर्छ। • "भोक, प्यास र निद्राले पानीको चुटाइमा लुत्रुक्क परेको बाघजस्तो म मरेको बिरालो काखी च्यापेर ठिमीको उकालो हिंड्न बाध्य भुच्चुक जस्तै भएर उहाँहरूको डेराभित्र लोथ्रयालोथ्रयाक पस्न पुगें।" डा. तारानाथ शर्माको 'पाताल प्रवास' बाट उद्धृत यो वाक्यांश साहित्यिक शैलीबाट पत्रकारिताको शैलीमा ल्याउँदा यस्तो हुन पुग्छ: म भोक, प्यास र निद्राले लखतरान भएर उहाँहरूको डेरामा पुगें। • "न्यूयोर्क महानगरी पुग्न लाग्दा हडसन नदी पारि चित्रमा देखे जस्तै तर औधि छोइने पाराले म्यानह्याटन देखियो। म्यानह्याटन न्यूयोर्कको केन्द्र हो। "त्यसको मध्य भागमा गोलाकारमा चुच्चिंदै गएको विश्वप्रसिद्ध एम्पायर स्टेट बिल्डिङ, पुछारमा आकाशै छेडौंला जस्तो उचालिएका जम्ल्याहा वर्ल्ड ट्रेड सेन्टर र जताततै अरू गगनचुम्बी भवनहरू तँछाड र मछाड गर्दै उचालिएका थिए। "भवन निर्माण कलाको सम्पूर्ण सीप खन्याएर उभ्याइएको विश्वको राजधानी न्यूयोर्कलाई वास्तविक रूपले आफ्ना आँखाले पिउन पाउँदा म गद्गद् भएँ। "आकाशबाट ठ्याक्क दूरी मिलाएर खिचेको चित्र भन्दा पनि राम्रो जिउँदो म्यानह्याटन मध्यान्ह पछिको न्यानो घाममा अपूर्व सुन्दरता बोकेर त्यसै त्यसै मडारिएको जस्तो मलाई लाग्यो। ...संसारमा यति राम्रो शहर अरू छैन। "संसारमा यति धेरै मान्छेहरू एक ठाउँ भेला कतै हुँदैनन्। संसारमा यसरी फैलिएको शहर अरू कुनै छैन। संसारमा यति थुप्रै गगनचुम्बी महलहरू कुनै शहरमा पनि छैनन्। "मर्नुभन्दा अगाडि एकपल्ट मलाई न्यूयोर्क अँगाल्ने रहर थियो र आज त्यो पूरा हुँदै थियो।" उही पुस्तकबाट उद्धृत, पहिलोपल्ट न्यूयोर्क पुग्न लाग्दाको यो शब्दचित्र पत्रकारिताको भाषामा प्रस्तुत गर्दा यस्तो हुन जान्छ: न्यूयोर्क पुग्नु अघि टाढैबाट त्यसको केन्द्र म्यानह्याटन देखियो। गगनचुम्बी भवनहरूले भरिएको त्यस ठाउँको बीचमा एम्पायर स्टेट बिल्डिङ र पुछारमा वर्ल्ड ट्रेड सेन्टरका जम्ल्याहा भवन सबैभन्दा अग्ला देखिन्थे। न्यूयोर्क संसारको सबैभन्दा राम्रो, ठूलो र व्यस्त शहर हो। त्यहाँ घुम्ने मेरो रहर आज पूरा हुँदै थियो। |
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||