'बिजुली निकाल्न जलविद्युत कम्पनी'

नागरिकलाई जलविद्युतमा लगानीको अवसर दिने उद्देश्यले कम्पनी स्थापना गरिएको अधिकारीहरु बताउँछन्
तस्बिरको क्याप्शन, नागरिकलाई जलविद्युतमा लगानीको अवसर दिने उद्देश्यले कम्पनी स्थापना गरिएको अधिकारीहरु बताउँछन्

जनताबाट रकम जुटाएर विद्युत उत्पादन गरी देशलाई लोडशेडिङमुक्त बनाउने उद्देश्यले जलविद्युत उत्पादन कम्पनी दर्ता गरिएको उर्जामन्त्रीले बताएका छन्।

मंगलबार दर्ता गरिएको उक्त कम्पनीले यसै साताबाट काम थाल्ने बताइएको छ।

कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुबाट पनि उर्जा उत्पादनमा लगानी जुटाउने उद्देश्य लिएको छ।

साथै विभिन्न जलविद्युत आयोजना निर्माणका लागि सर्वसाधारणलाई पनि सेयर बेच्ने लक्ष्य राखेको छ।

कम्पनी

यसै हप्ता आफ्नो कार्ययोजना प्रस्तुत गरेका उर्जामन्त्री जनार्दन शर्माले मंगलबार जलविद्युत उत्पादन कम्पनी दर्ता गरेर कामको थालनी गरेको मन्त्रालयका अधिकारीहरुले बताएका छन्।

उक्त कम्पनी मार्फत सर्वसाधारणहरुले आफुले चाहेको जलविद्युत आयोजनामा लगानी गर्न सकिने उर्जा मन्त्री शर्माले बताए।

उनले भने," कम्पनीलाई विद्युत प्राधिकरणसंग इज्जातपत्र नभएका बाँकी ठुला जलविद्युत आयोजना निर्माणको इज्जाततपत्र हामी प्रदान गर्छौं। र त्यो इज्जातपत्र लिएर जनतासंगको सहभागितामा विद्युतको विकास गर्छौं।"

सरकारी, निजी, नेपाल विद्युत प्राधिकरण र सहायक कम्पनी मार्फत २ वर्ष भित्र ८ सय ५० मेगावाट विजुली उत्पादन गर्ने सरकारी लक्ष्य रहेको उक्त कम्पनीले राखेको छ।

नेपालमा जलश्रोतबाट बिजुली उत्पादन गर्ने अपार सम्भावना रहेको बताइन्छ
तस्बिरको क्याप्शन, नेपालमा जलश्रोतबाट बिजुली उत्पादन गर्ने अपार सम्भावना रहेको बताइन्छ

र त्यसका लागि सर्वसाधारणलाई करोडौँ कित्ता शेयर निष्कासन गर्ने कम्पनीको योजना रहेको छ।

लगानी

कम्पनीले थाल्ने परियोजनाहरुमा सर्वसाधारणले ३० प्रतिशत लगानी र सम्वन्धित क्षेत्रका जनताको हकमा १० प्रतिशत लगानी गर्न दिने योजना रहेको पनि उर्जा मन्त्री शर्माले बताए।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको रकमको सदुपयोग यो क्षेत्रमा गर्न उपयुक्त हुने भन्दै उर्जा मन्त्री शर्माले भने," उहाँहरुले कम्तीमा १० प्रतिशत विद्युत क्षेत्रमा लगानी गर्नु भयो भने त्यो उहाँहरुको एउटा पेन्सन जस्तो वचत भइरहन्छ। र फर्केर आएपछि त्यसबाट थप लाभ लिन पनि सक्नुहुन्छ।"

उर्जा मन्त्रालयले नयाँ कम्पनीले यसै हप्ता कार्यालय उपलब्ध गराउने जनाएको छ।

तर प्रशासनिक ढिलासुस्तीका कारण नेपालका कतिपय आयोजनाहरु समयमा हुन नसकिरहेका थुप्रै उदाहरण रहेकोले यो नयाँ कम्पनीले कसरी द्रुत गतिमा काम गर्ने वातावरण बनाँउछ भन्नेमा सर्वासाधारणको चासो बढी हुने देखिएको छ।