अफ्गानिस्तानःअफिम उत्पादनमा 'वृद्धि'

तस्बिर स्रोत, BBC World Service
संयुक्त राष्ट्रसंघका अधिकारीहरुले पछिल्लो वर्षको तुलनामा अफ्गानिस्तानमा अफिमको उत्पादनमा ४३ प्रतिशतले वृद्धि हुनु चिन्ताको विषय भएको बताएका छन्।
लागुऔषध तथा अपराध मामिलासम्बन्धी राष्ट्रसंघीय कार्यालयका अनुसार त्यहाँ अफिमको बिरुवा रोप्ने क्षेत्रफलमा १० प्रतिशतले वृद्धि भएर २ लाख १ हजार हेक्टर पुगेको छ।
प्रति हेक्टर जग्गामा राम्रो उत्पादकत्व भएकोले अफिमको उत्पादन समग्रमा बढेको राष्ट्रसंघले जनाएको छ।
हेरोइन बनाउनका लागि चाहिने मुख्य कच्चा पदार्थ उत्पादन गर्ने अफ्गानिस्तान विश्वकै सबैभन्दा ठूलो मुलुक हो।
बाध्यता
अफ्गानिस्तानमा अफिम खेती गर्नु अपराध भएपनि गरीब किसानहरुका लागि अझै नगद आर्जन गर्ने उत्पादनको रुपमा रहिआएको छ।
आफ्नो नियन्त्रणमा रहेका क्षेत्रमा तालेबान लडाकु समूहले पनि अफिम खेतीबाट कर उठाउँदै आएको छ, जुन रकम उसले सैन्य गतिविधिमा खर्च गर्दछ।
लागुऔषध तथा अपराध मामिलासम्बन्धी राष्ट्रसंघीय कार्यालयका कार्यकारी निर्देशक युरी फिदोतोफले अफिम उत्पादनसम्बन्धी आंकडा नियन्त्रण प्रयासका लागि चिन्ताजनक झट्का भएको बताएका छन्।
मर्फिन जस्ता पीडा कम गर्ने शक्तिशाली औषधि उत्पादनमा पनि अफिमको बिरुवा प्रयोग हुने गर्दछ। धेरै मुलुकले औषधि बनाउने प्रयोजनका निम्ति आफैंले त्यसको बिरुवा लगाउँछन्।
तर अफ्गानिस्तानमा हुने खेती मूलतः अवैध लागुऔषध कारोबारकै लागि हुने गर्दछ।
नजरअन्दाज
अफ्गानिस्तान सरकारसँग अफिम खेती निर्मूल पार्ने विशेष कानुन नै छ तर राज्य नियन्त्रित क्षेत्रमा पनि त्यसको खेती गरेको पाइन्छ र त्यसलाई नजरअन्दाज गरेको आरोप अधिकारीहरुमाथि लाग्ने गरेको छ।
यसै वर्षको शुरुतिर बीबीसीका दक्षिण एसिया संवाददाता जस्टिन रोव्लाट्ट अफिम खेती हुने उत्तर-पूर्वी अफ्गानिस्तान पुगेका थिए, जहाँका एकजना किसानले त्यसबारे स्थानीय सरकार परिचित रहेको र त्यसबाट मात्रै कसैले राम्रो आय आर्जन गर्न सकिने उनीहरुलाई समेत ज्ञान भएको बताएका थिए।
मुलुकको दक्षिणी क्षेत्रमा सबैभन्दा बढी अफिम उत्पादन हुन्छ, जुन क्षेत्रले मात्रै कूल उत्पादनमा ५४ प्रतिशतले योगदान पुर्याएको छ।
हेलमण्ड प्रान्तमा फेरि तालेबान समूह उदाएको देखिएको छ, जहाँ ८० हजार हेक्टरभन्दा बढी जमिनमा अफिम खेती गरिन्छ।







