पाकिस्तानद्वारा भारतको आलोचना

तस्बिर स्रोत, AFP
भारतीय सेनाले पाकिस्तानसंगको सीमा क्षेत्रमा संदिग्ध उग्रवादीहरुविरुद्ध सैन्य कारवाही गरिएको जनाए लगत्तै पाकिस्तानी पक्षबाट भारतको आलोचना गरिएको छ।
भारतीय सेनाका एक अधिकारीका अनुसार पाकिस्तान प्रशासित कश्मीर स्थित स्थित विद्रोहीले बनाएको आक्रमणको योजना विफल तुल्याउन पछिल्लो कारवाही गरिएको हो।
पाकिस्तानले चाहिँ भारतले कुनै कारवाही नगरेको तर सीमापारिबाट चलाइएको गोली लागेर आफ्ना दुई सैनिकहरु मारिएको बताएको छ।
भारतीय सेनाका एक अधिकारीले भने, ‘सर्जिकल स्ट्राइक्स’ भनिएको कारवाहीमा आतंकवादी र उनीहरुलाई सघाउनेहरुतर्फ ठूलो हताहति भएको छ।
कारवाही
सो कारवाही भारत नियन्त्रित कश्मिरबाट भारतीय सेनाले सीमापारी पाकिस्तान नियन्त्रित कश्मीर तर्फ गरेको बताइएको छ।
“विना कुनै कारण” भारतपट्टिबाट गोली हानिएपछि आफ्ना दुई सैनिक मारिएको बताउने पाकिस्तानले कश्मीर क्षेत्रमा गरिएको भनिएको भारतीय कारवाहीको हल्ला “भ्रामक” भएको जनाएको छ।
भारतीय सेना र विदेश मन्त्रालयको संयुक्त पत्रकार सम्मेलनमा भारतीय अधिकारीहरुले आफ्नो देशभित्र अनधिकृत रुपमा प्रवेश गर्न खोज्ने आतंकवादीहरुलाई निशाना बनाउन पछिल्लो कारवाही गरिएको बताए।
भारतीय सेनाका लेफ्टिनेन्ट जनरल रणवीर सिंहले पाकिस्तान आफ्नो भूमिमा “आतंवादी क्रियाकलाप रोक्न विफल” भइरहेको बताए।
उनले भने, “केही विश्वसनीय सूचनाका आधारमा भारतीय सेनाले सीमापारीबाट आक्रमणको तयारी भइरहेका स्थलहरुलाई निशाना बनाइ कारवाही गरिएको थियो।”
'हस्तक्षेप'
पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले भारतीय फौजले “अनावश्यक गोली हान्ने काम गरेर नाङ्गो हस्तक्षेप” गरेको बताए।
उनले आफ्नो देशको सार्वभौमिकताको रक्षा गर्न आफ्नो सेना सामर्थ्यवान रहेको पनि बताए।
पाकिस्तानी सेनाले एक वक्तव्यमा भनेको छ, "तथाकथित आतंकवादी अड्डामा 'सर्जिकल स्ट्राइक्स' गरेको भन्ने भ्रम फैलाएर भारतले नकारात्मक असर पुर्याउन खोजीरहेको छ।"
मुसलमान बहुल कश्मिरको सीमालाई लिएर भारत र पाकिस्तानबीच दशकौंदेखि विवाद चलिआएको छ।
तर यो महिनाको शुरुमा १८ जना भारतीय सैनिक एक विद्रोही कारवाहीमा मारिएपछि तनाव थप चर्किएको हो।
सो आक्रमणको दोष भारतले पाकिस्तानलाई लगाएको थियो।
तर पाकिस्तानले त्यसलाई अस्वीकार गर्दैआएको छ।







