गद्दीत्याग गर्ने जापानी सम्राटको 'चाहना'

तस्बिर स्रोत, Reuters
जापानका सम्राट आकिहितोले गद्दी त्याग गर्ने आफ्नो चाहना रहेको संकेत गरेका छन्।
विरलै गरिने एक टेलिभिजन भाषणमा देशवासीलाई सम्बोधन गर्दै उनले बुढ्यौली र खराब स्वास्थ्यका कारण आफूले सम्पूर्ण जिम्मेवारीहरु पालना गर्न गाह्रो भैरहेको बताए।
तर उनले स्पष्ट रुपमा गद्दी त्याग गर्ने चाहिं भनेनन्।
जापानमा गद्दीनशीन सम्राटले गद्दीत्याग गर्ने कुनै कानुनी प्रावधान छैन।
देशमा सम्मानित ८२ वर्षीय सम्राटले देशवासीका नाममा गरेका आफ्नो हालसम्मकै दोस्रो टेलिभिजन सम्बोधनका क्रममा त्यस्तो चाहनाको संकेत गरेका हुन्।

तस्बिर स्रोत, Reuters
जापानमा सम्राटले राजनीतिक वक्तव्य दिन नपाउने हुनाले सम्राट आकिहितोले स्पष्ट रुपमा आफूले गद्दी त्याग्न चाहेको नबताएका हुन् भनिंदैछ।
तर सम्राटको भाषण प्रसारण भए लगत्तै प्रधानमन्त्री शिन्जो आबेले आफूले सम्राटका चाहनाहरुलाई गम्भीरतापूर्वक लिने र त्यस सम्बन्धमा के गर्न सकिन्छ छलफल गर्ने बताए।
उपचार
मुटुको शल्यक्रिया गराइसकेका सम्राट आकिहितोले प्रोस्टेट क्यान्सरको पनि उपचार गराएका छन्।
उनी सन् १९८९ मा आफ्ना पिता हिरोहितोको निधनपछि जापानी राजगद्दीमा आशिन छन्।

यदि सम्राट आकिहितोले वास्तवमै गद्दी त्याग गरे भने सन् १८१७ मा सम्राट कोकाकु पछि त्यसो गर्ने उनी पहिलो जापानी सम्राट बन्नेछन्।
टोक्योमा रहेका बीबीसी सम्वाददाता रुपर्ट विंगफिल्ड-हेज भन्छन्, प्रधानमन्त्री शिन्जो आबेको सरकारलाई समर्थन गर्ने दक्षिणपन्थी राष्ट्रवादीहरु सम्राटको चाहना पुरा गर्न कुनै नयां कानुन बनाउने पक्षमा देखिंदैनन्।

तस्बिर स्रोत, Reuters
हालको कानुनी प्रावधान बमोजिम सम्राटहरु आफ्नो निधन नभएसम्म राजगद्दीमा कायमै रहन्छन्।
सम्राट आकिहितोका उत्तराधिकारीका रुपमा ५६ वर्षीय युवराज नारुहितो छन् भने उनीपछिको रोलक्रममा उनका भाइ राजकुमार फुमिहितो आकिशिनो छन्।
जापानमा महिलाले राजगद्दीमा आशिन हुने प्रावधान छैन, त्यही भएर युवराज नारुहितोकी छोरी राजकुमारी आइको आफ्नो बुबाको उत्तराधिकारी बन्न पाउंदिनन्।







