'मानिसको नाकमा एन्टिबायोटिक्स'

antibiotics

तस्बिर स्रोत, SCIENCE PHOTO LIBRARY

तस्बिरको क्याप्शन, औषधिले नछुने ब्याक्टेरिया अर्थात सुपरबगको खतरा बढ्दै गएको खबरमाझ नाकसम्बन्धी नयां नतिजा आएको छ

नाकमा रहेका जीवाणुहरुले उत्पादन गर्ने यौगिकले कयौं डरलाग्दा रोग निम्त्याउने ब्याक्टेरिया, भाइरस वा अन्य जीवाणुहरुलाई मार्न सक्ने बताइएको छ।

कतिपय औषधिले नछुने मेथिसिलिन रेसिस्टेन्ट स्टाफाइलोकोकस अरियस(एमआरएसए) भनिने ब्याक्टेरियालाई पनि यस्तो यौगिकले खतम पार्न सक्ने जनाइएको छ।

तर यस्तो यौगिकलाई प्रभावकारी औषधिमा रुपान्तरण गर्न अझ कयौं वर्ष लाग्न सक्ने अनुसन्धानमा संलग्न जर्मन वैज्ञानिकहरुले बताएका छन्।

स्रोत

जर्मनीको टुबगेन विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले मानव शरीर नयां औषधिहरुका लागि अहिलेसम्म उपयोग नगरिएको स्रोत भएको बताए।

यसअघि प्राय: सबै एन्टिबायोटिक्स माटोमा रहने ब्याक्टेरियामा पाइएको थियो तर उक्त विश्वविद्यालयको अनुसन्धान टोलीले मानव शरीरमा खोजी गर्यो।

मानव शरीर झट्ट हेर्दा एउटा रणमैदान जस्तो देखिदैंन।

तर मसिनो रुपमा केलाउंदा प्रतिस्पर्धी ब्याक्टेरियाबीच ठाउँ र खानाका लागि संघर्ष देखिन्छ।

त्यो संघर्षमा ती ब्याक्टेरियाले एन्टिबायोटिक्सलाई अस्त्रको रुपमा प्रयोग गरिरहेको लामो समयदेखि नै अनुमान गरिदैं आएको छ।

न्यून

नाकमा आक्रमण गर्न रुचाउने ब्याक्टेरियामध्ये स्टाफाइलोकोकस अरियस हो जसमा एमआरएसए पनि पर्दछ।

यो ३० प्रतिशत मानिसहरुको नाकमा पाइन्छ।

यो किन सबैको नाकमा पाइदैंन त?

वैज्ञानिकहरुले नाकमा प्रतिद्वन्द्वी ब्याक्टेरिया स्टाफाइलोकोकस लुग्डुनेन्सिस भएका मानिसहरुमा स्टाफाइलोकोकस अरियसले आक्रमण गर्ने सम्भावना न्यून रहेको अनुसन्धानमा पाए।

त्यसबाट नयां एन्टिबायोटिक बनाउन आवश्यक अनुवंश वैज्ञानिकहरुले निर्क्यौल गरे र त्यसलाई लुग्डुनिन नाम दिए।

मुसाहरुमा गरिएको अनुसन्धानले छालामा देखिएको संक्रमण पनि त्यसले निको पार्न सक्ने देखाएको छ।