सशस्त्रका महानिरीक्षकलाई निलम्बन गर्न सिफारिस

तस्बिर स्रोत, ciaa facebook
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा संलग्नता रहेकोले थप अनुसन्धान गर्नुपर्ने भन्दै सशस्त्र प्रहरीका महानिरीक्षकलाई बिहीबारदेखि लागू हुने गरी निलम्बन गर्न सिफारिस गरेको छ।
बन्दोबस्तीका सामग्री ढुवानीमा व्यापक अनियमितता गरेको आरोपमा अख्तियारले महानिरीक्षक कोषराज वन्तमाथि थप अनुसन्धान गरिने जनाएको छ।
उनका साथै सशस्त्रका अन्य केही पदाधिकारीलाई पनि अख्तियारले निलम्बनको सिफारिस गरेको छ।
अनियमितता
अख्तियारले बिहीबार एक विज्ञप्ति जारी गर्दै सशस्त्रका महानिरीक्षकमाथि खासगरी गत दुई वर्षमा भएका केही बन्दोबस्ती ढुवानीका सन्दर्भमा व्यापक अनियमितता देखिएको भन्दै थप अनुसन्धानका लागि निलम्बनको सिफारिस गरेको जनाएको छ।
त्यसबारे जानकारी दिंदै आयोगका प्रवक्ता कृष्णहरि पुष्करले भने, “सामानहरुभन्दा अस्वाभाविक बढी सामानहरु ढुवानी गरेको देखाई झुट्टा बील तथा पत्रहरु तयार पारी सम्झौता विपरित ढुवानीकर्तासंग मिलेमतो गरी व्यापक आर्थिक अनियमितता गरेको पाइयो। तत्सम्बन्ध अन्य कागजात र प्रमाण संकलन गर्नु पर्ने देखियो।”
सो काण्डमा अख्तियारले महानिरीक्षक वन्तबाहेक सशस्त्रका प्रहरी नायव उपरीक्षक द्वय सुमनजंग थापा र रामकृष्ण महर्जन तथा प्रहरी निरीक्षक बिनबहादुर थापालाई समेत निलम्बन गर्न सिफारिस गरेको छ।
“उहाँहरु पदमा बहाल रहिरहँदा आफु विरुद्धको प्रमाण लोप वा नष्ट गर्न सक्ने र अनुसन्धानमा समेत वाधा अवरोध गर्न सक्ने भन्ने आयोगको ठम्याइ भयो। त्यही भएर आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन दफा १९ को खण्ड ३ बमोजिम सरोकारवालालाई हामीले आजैको मितिदेखि निलम्बन हुने गरी लेखि पठाएका छौं,” पुष्करले भने।
दुई साता अगाडि पूर्व मन्त्री सहित झण्डै तीन दर्जनविरुद्ध अकूत सम्पतिको शंकामा पत्र काटेको अख्तियारले बिहीबार सशस्त्रका महानिरीक्षकलाई निलम्बनको सिफारिस गरेको हो।
उनी विरुद्ध मुद्दा चलाउन अगाडि थप छानबिन गरिने अख्तियारका अधिकारीहरुले बताएका छन्।







