टाउकोमा गम्भीर चोटको उपचार के?

    • Author, सु्रेन्द्र फुयाल
    • Role, संवाददाता, बीबीसी नेपाली

नेपालमा टाउकोमा लाग्ने गम्भीर चोटका कारण हुने मृत्युदर कम गर्न घाइते वा विरामीलाई प्राथमिक उपचारपछि छिटो भन्दा छिटो सुविधा सम्पन्न अस्पताल पुर्याउनुपर्नेमा दुई वरिष्ठ मस्तिष्क शल्यचिकित्सकहरुले जोड दिएका छन्।

नेपालमा टाउकोमा गम्भीर चोट लागेका ३० देखि ४० प्रतिशत घाइते वा विरामीको उचित उपचारको अभावमा ज्यान जाने गरेको विज्ञहरु बताउँछन्।

अहिले स्थिति सुधारोन्मुख भए पनि टाउकोमा हुने गम्भीर चोटका कारण हुने मृत्युदर कम गर्न नेपालमा ठाउँ ठाउँमा सुविधासम्पन्न अस्पतालहरु आवश्यक रहेको उनीहरुको सुझाव छ।

हालै नेपाल भ्रमणमा आएका ब्रीटेनका वरिष्ठ न्युरोसर्जन अर्थात मस्तिष्क शल्यचिकित्सक हेन्री मार्शका विचारमा काठमाण्डूमा टाउकोमा गम्भीर चोट वा मस्तिष्क सम्वन्धी रोगको उपचारको निम्ति सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरुले सन्तोषजनक सेवा दिइरहेका छन्।

उपायहरु

तर त्यस्ता अस्पतालहरु नेपालका सबै क्षेत्रमा निर्माण हुन सके टाउकोमा हुने गम्भीर चोटका कारण हुने मृत्युदर कम गर्न सकिन्छ।

न्युरो अस्पताल बाँसबारी काठमाण्डू

तस्बिर स्रोत, BBC

तस्बिरको क्याप्शन, नेपालमा भविष्यमा बन्ने हरेक प्रदेशमा सुविधा-सम्पन्न न्युरो अस्पताल बन्नु् पर्ने सुझाव विज्ञहरुको छ

उनले भने, “न्युरोर्जरीको दायरा निकै फराकिलो छ: केही जटिल शल्यक्रियाहरु हुन्छन् भने केही सामान्य हुन्छन्। सामान्य किसिमका समस्याहरु स्थानीयस्तरमा हेर्न सकियोस् भने जटिल किसिमका समस्याहरुलाई आइ सी यु जस्ता सेवा र उचित र महंगा उपकरणहरु भएका क्षेत्रीय वा केन्द्रका अस्पतालमा पुर्याउनुपर्ने हुन्छ।”

टाउकोमा गम्भीर चोट लागेका घाइतेलाई प्राथमिक उपचारपछि वीर, त्रिवि शिक्षण वा न्युरो अस्पताल जस्तो सुविधासम्पन्न अस्पतालमा पुर्याउन सके उनीहरुको ज्यान जोगाउन सकिने मस्तिष्क शल्यचिकित्सकहरु बताउँछन्।

तर कठिन भूगोल भएको नेपालमा मस्तिष्कमा गम्भीर चोटको उपचार सेवा काठमाण्डू, विराटनगर, धरान, भरतपुर र पोखरामा मात्र सीमित छ।

अनुभव

हेन्री मार्श र उपेन्द्र देवकोटा
तस्बिरको क्याप्शन, विज्ञहरु भन्छन् टाउकोमा गम्भीर चोट लागेका घाइतेलाई प्राथमिक उपचार लगत्तै नजिकैको ट्रमा अस्पताल पुर्याइहाल्नु पर्छ

हेन्री मार्ससंगै ब्रीटेनमा काम गरेका नेपाली मस्तिष्क शल्यचिकित्सक प्रोफेसर उपेन्द्र देवकोटा उचित परामर्शको अभावमा दुर्गम भेगका शिरमा गम्भीर चोट लागेका घाइते निकै लामो समयपछि मात्र सुविधा सम्पन्न अस्पताल आइपुग्ने गरेको अनुभव सुनाउँछन् ।

“उचित परामर्श पाएर सहि अस्पतालमा नभेट्टाएर हामीकहाँ टाउकोमा चोट लागेका विरामी निकै ढिलो आएका उदाहरण छन्। स्थानीय तहका सरकारी निकायले तत्कालै केन्द्रको सरकारी अस्पताल पठाउनु पर्छ, अन्यत्र होइन।”

केहि वर्ष अघि सम्म मस्तिष्क रोगको उपचारको लागि न्युरोसर्जरी सेवा काठमाण्डूको वीर अस्पतालमा मात्र सीमित थियो।

काठमाण्डूको बाँसबारीस्थित न्यासनल इन्स्टिच्युट अफ न्युरोलोजिक एण्ड एलाइड साइन्सका प्रमुख समेत रहेका प्रोफेसर देवकोटाका विचारमा टाउकोमा गम्भीर रोग वा चोट लागेका विरामीलाई सक्दो छिटो सुविधा सम्पन्न क्षेत्रिय अस्पताल पुर्याउनु पर्छ।

ब्रीटिश न्युरोसर्जन हेन्री मार्सले विगत केही साता न्युरो अस्पताल बासबारीमा नेपाली न्युरो सर्जनहरुसँग आफ्ना अनुभव साट्न व्यस्त थिए।

उनका विचारमा नेपालका शहरहरुमा बग्रेल्ती खुलेका निजी अस्पतालहरुबाट गुणस्तरीय सेवा सुनिश्चित गर्न सरकारले ठोस पहल गर्न जरुरी छ।

उनको भनाइ छ जसरी भूकम्पबाट जोगिन घर बनाउदा भवन संहिता पालना गर्नु पर्ने नियम भएजस्तै निजी स्वास्थ्य केन्द्रहरुका निम्ति पनि स्पष्ट नियम र मापदण्ड लागू गराउन अति जरुरी छ।