विमानको टुक्रा फ्रान्स पठाईंदै

तस्बिर स्रोत, AFP
हिन्द महासागरको रियुनियन नामक एक दुर्गम टापुमा पाइएका भग्नावशेष बोइङ्ग सेभन सेभन सेभन विमानकै टुक्रा हुन सक्ने मलेसियाका प्रधानमन्त्रीले जनाएका छन्।
विमानको पखेटाको टुक्रा हुन सक्ने ठानिएका ती वस्तु कतै मलेसियन एयरलाइन्सको फ्लाइट एमएच थ्री सेभन्टीको हो कि भनेर थप अनुसन्धानका लागि फ्रान्सको टुलुजमा पठाइने प्रधानमन्त्री नजीब रज्जाकले बताए।
प्रबल
प्रारम्भिक विवरणहरुका अनुसार दुई मिटर लामो उक्त टुक्रा बोइङ्ग सेभन सेभन सेभन विमानकै हुने सम्भावना प्रबल छ।
समुद्रमाथिबाट हराएको एक मात्र बोइङ्ग सेभन सेभन सेभन विमान मलेसियन एयरलाइन्सको फ्लाइट एमएच थ्री सेभन्टी नै हो।
सन् २०१४ को मार्च महिनामा मलेसियाको क्वालालम्पुरबाट बेइजींगतर्फ उडेको सो विमान हराउँदा त्यसमा २३९ मानिस सवार रहेका थिए।
मलेसियाली अनुसन्धानकर्ता, सरकारी अधिकारी र उक्त एयरलाइन्सका अधिकारीहरुको टोली समेत फ्रान्स जान लागेको छ।
अष्ट्रेलियाको सरकारले सो भग्नावशेष फेला पर्नुलाई महत्वपूर्ण भनेको छ।
पहिचान
सबै विमानका भागहरुमा विशिष्ट सिरियल नम्बर दिइएका हुन्छन् जसबाट तिनको पहिचानमा सघाउ पुग्ने गर्छ।
एक वर्ष अघिदेखि हराइरहेको उक्त विमानको खोजीकार्य रियुनियन टापुभन्दा ६ हजार किलोमिटर पूर्वमा केन्द्रित थियो।
तर विज्ञहरु भन्छन्, विमानको टुक्रा समुद्रमा तैरिंदै तैरिंदै त्यहाँसम्म पुगेको हुन सक्छ।
बिहीबार फ्रान्सको नियन्त्रणमा रहेको रियुनियन टापुमा एक नगर कर्मचारीले नराम्ररी बिग्रिएको सुटकेश जस्तो लाग्ने वस्तु भेटेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
उक्त टापु मडागास्करबाट ६ सय किलोमिटर पूर्वमा अवस्थित छ।
एमएच थ्री सेभन्टीको खोजीकार्य अष्ट्रेलियाको नेतृत्वमा दक्षिणी हिन्द महासागरमा केन्द्रित थियो।








