स्वर्गीय राजाको थप जग्गा ट्रष्टको नाममा

तस्बिर स्रोत, nepal trust
स्वर्गीय राजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको थप १५ हजारभन्दा बढी रोपनी जग्गा सरकारी स्वामित्वमा आएको अधिकारीहरुले बताएका छन्।
विदेशी बैंकहरुमा सम्पत्ति रहेको भन्ने विभिन्न अड्कलबाजी भए पनि अहिलेसम्म विदेशमा स्वर्गीय राजपरिवारका सदस्यकै नाममा भने केही नभेटिएको, उनीहरुको सम्पत्ति खोजविन गर्ने जिम्मा पाएको नेपाल ट्रस्टले जनाएको छ।
अहिलेसम्म सरकारी स्वामित्वमा आएका जग्गा र पुँजीलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा ट्रष्टले तयार पारिरहेको गुरुयोजना मस्यौदाको प्रारम्भिक चरणमै रहेको बताइएको छ।
स्थापनाको ७ वर्षमा आफूले स्वामित्वमा लिएको जग्गा पछिल्लो समेत गरी २२ हजार रोपनीभन्दा बढी पुगेको ट्रष्टले जनाएको छ।
हल्ला
ट्रस्टका सहसचिव प्रज्ज्वल शर्मा अर्यालले भने, "१५ हजार २ सय ७३ रोपनी थप आएको छ। त्यसमा काठमाडौं, सुर्खेत, धनकुटाको जग्गा छ। यो समेत गर्दा २२ हजार रोपनीभन्दा बढी हुन्छ।"
यसबाहेक स्वर्गीय राजा वीरेन्द्रको नाममा स्वदेशकै विभिन्न बैंकहरुमा २७ करोड रुपैँया र ४५ हजार बेलायती मुद्रा रहेको ट्रष्टले जनाएको छ।
त्यस्तै केही बैंक तथा होटलमा गरी एक लाख ८१ हजार कित्ता सेयर पाइएको अधिकारीहरुले बताएका छन्।
देशमा चलअचल सम्पत्ति भेटिए पनि अहिलेसम्म विदेशमा भने चर्चा गरिए जस्तो राजा वीरेन्द्रको परिवारका सदस्यहरु चार जनाकै नाममा कुनै रकम नभेटिएको ट्रस्टले बताएको छ।
अध्ययन
सहसचिव अर्यालले भने, "त्यो पत्ता लागेको छैन, हामीले पनि हल्ला सुनेको हो, उहाँहरुको आफ्नै नाममा केही भेटिएको छैन। नक्कली नाममा भएको विषय कसैले सुराकी नदिइ खोज्न सकिन्न।"
राजा वीरेन्द्रको परिवारको सम्पत्ति खोजबिन गर्ने जिम्मा पाएको ट्रस्ट आफै अनुसन्धानमा उत्रने भन्दा पनि सुराकीहरुले दिने सूचनामा भर पर्नुपर्ने अवस्था रहेको स्वयम् अधिकारीहरु नै स्वीकार्छन्।
अहिलेसम्म नेपाल ट्रस्टमा आएको चलअचल सम्पत्तिलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा केही ठाउँमा विशेषज्ञको टोली खटेर प्रारम्भिक अध्ययनको काम पनि भइरहेको बताइएको छ।
त्यसरी गरिने अध्ययनको आधारमा गुरुयोजना तयार पारी काम शुरु गर्न अझै २ वर्ष लाग्ने बताइएको छ।







