'अब विदेशमा गहन प्रशिक्षण'

नेपाली क्रिकेट टोली श्रीलंकाका पूर्व खेलाडी पुबुदु दशानायकेको प्रशिक्षणमा छ

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, नेपाली क्रिकेट टोली श्रीलंकाका पूर्व खेलाडी पुबुदु दशानायकेको प्रशिक्षणमा छ

विश्व क्रिकेटको डिभिजन तीन प्रतियोगिता जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई भावी प्रतियोगिताको तयारीका लागि अफ्रिकि मुलुकमा लगेर गहन प्रशिक्षण दिनुपर्ने टोलीका प्रशिक्षक पुबुदु दशानायकेले बताएका छन्।

नेपाली क्रिकेट टोलीले आगामी जनवरी महिनामा अफ्रिकाको नामिबियामा गएर डिभिजन दुई का खेलहरु खेल्ने हुनाले त्यस्तो प्रशिक्षण आवश्यक रहेको उनको धारणा छ।

विहिबार अफ्रिकि देश युगाण्डालाई हराएर नेपालले मलेसियामा भएको प्रतियोगिताको उपाधि जितेको हो।

अघिल्लो संस्करणको डिभिजन तीन प्रतियोगिताको उपाधि पनि युगाण्डालाई हराउँदै नेपालले नै जितेको थियो।

चुनौती

एक दिन अगाडि नै डिभिजन दुई मा बढुवा भइसकेकाले उपाधि उचाल्ने समयमा नै नेपाली खेलाडीहरुको ध्यान आगामी जनवरीको दोस्रो हप्तादेखि नामिबियामा हुने प्रतियोगितामा केन्द्रीत भइसकेको छ।

प्रशिक्षक पुबुदु दशानायके अबको तीन महिना नेपाली क्रिकेटको भविष्यको लागि निकै महत्वपूर्ण रहेको बताउँदै त्यसको लागि अन्तर्राष्ट्रिय भ्रमणको आवश्यकता रहेको बताए।

त्यसमाथि अफ्रिकि देशका विकेटहरुमा बानी बसाउनु महत्वपूर्ण हुने उनको भनाई छ।

उनले भने, “नामिविया जानु अगाडि म अफ्रिकी महादेशहरुमा खेलाडीहरुलाई लान चाहन्छु ताकि त्यहाँको वातावरणमा उनीहरु अभ्यस्त हुन सकुन्, त्यसको लागि राम्रो देश दक्षिण अफ्रिका हो, नेपाल फर्कनासाथ म यो कुरा क्रिकेट संघसँग राख्नेछु।”

संयोग

विहिबारको फाइनल खेलले प्रतियोगिताको अघिल्लो संस्करणलाई फेरी एकपटक सम्झाएको थियो।

गतवर्ष जस्तै यसपटक पनि नेपाल समूह चरणमा युगाण्डा संग हारेको थियो भने निर्णायक खेलमा हारको बदला लिंदै उपाधि जितेको थियो।

यसपालि फरक यतिमात्र भयो की गतवर्ष नेपालले ५ विकेटले जितेको थियो भने यसपालि ६२ रनले।

यसपालिको प्रतियोगिता अवधिभर नेपालको ब्याटिङ्ग निकै आकर्षक देखियो।

फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले २ सय २३ रन जोडेको थियो जसमा प्रारम्भिक तीन ब्याट्सम्यानले ५० रन नघाएका थिए।

लय

डिभिजन तीनको अघिल्लो संस्करणमा पनि नेपालले युगाण्डालाई हराएर उपाधि जितेको थियो

तस्बिर स्रोत, icc

तस्बिरको क्याप्शन, डिभिजन तीनको अघिल्लो संस्करणमा पनि नेपालले युगाण्डालाई हराएर उपाधि जितेको थियो

२ सय २४ रनको लक्ष्य लिएर मैदानमा प्रवेश गरेको युगान्डा १६१ रनमा समेटियो।

नेपाली प्रशिक्षक पुबुदु दशानायके नेपालको ब्याटिङ पक्षमा आएको सुधार डिभिजन दुई को लागि महत्वपुर्ण हुने बताउँछन् ।

“प्रारम्भिक ब्याट्सम्यानहरुले प्राय सबै खेलमा राम्रो गरे, विशेषगरी अप्ठेरो स्थितिमा पानी परेका बेला उनीहरुले खेले, म प्रारम्भिक ब्याट्सम्यानहरुलाई पूर्ण अंक दिन चाहन्छु।”

प्रतियोगिता अवधिभर नेपालको बलिङ्ग आक्रमण पनि मजबुत नै देखिएको थियो।

प्रतियोगितामा सबैभन्दा बढी विकेट लिने किर्तीमान १४ विकेट लिएका नेपाली अफ स्पिनर बसन्त रेग्मीको नाममा रह्यो।

जनवरी अगाडि नेपाली टोली अब अर्को महिना श्रीलंका भ्रमणमा रहने कार्यक्रम छ।

त्यहां टोलीले तीन दिवसीय, एकदिवसीय र ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिता खेल्ने कार्यक्रम रहेको नेपाल क्रिकेट संघ(क्यान) जनाएको छ ।