बोकोहरामसँग संघर्षविराम: नाइजेरिया सेना

बोको हरामले ६ महिना अघि अपहरण गरेका किशोरीहरु रिहा होलान् कि भन्ने आशा पलाएको छ

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, बोको हरामले ६ महिना अघि अपहरण गरेका किशोरीहरु रिहा होलान् कि भन्ने आशा पलाएको छ

नाइजेरियाको सेनाले इश्लामवादी लडाकुहरु बोको हराम सँग संघर्षविराम गरेको घोषणा गरेको छ।

सेनाले भनेको छ, बोको हरामले अपहरण गरेका स्कुले किशोरीहरु मुक्त गरिनेछन्।

नाइजेरियाका सेना प्रमुख एलेक्स बादेले संघर्षविराम घोषणा गरेका हुन्, बोकोहरामले सार्वजनिक वक्तव्य जारी गरेको छैन।

बोको हरामले सन २००९देखि संघर्ष गर्दै आएको छ र यो वर्ष मात्रै २ हजार सर्वसाधारण मारिएको बताइन्छ।

आक्रोश

करिब ६ महिना अघि दुइ सय भन्दा धेरै स्कूले किशोरीहरुलाई अपहरण गरेपछि बोकोहराम विरुद्ध विश्वव्यापी आक्रोश पैदा भएको थियो।

ति किशोरीहरुको बोर्नो राज्यको उत्तर पूर्वी शहर चिबोकबाट अपहरण गरिएको थियो र उनीहरुलाई निरन्तर नियन्त्रणमा राखिएकोमा उनीहरुको सुरक्षित रिहाइलाई लिएर नाइजेरियाको सरकारको आलोचना हुँदै आएको थियो।

'हाम्रा छोरीहरु फिर्ता ल्याउ' भन्ने अभियानका सदस्यहरुले शुक्रबार ट्वीट गर्दै हामीहरुले उक्त समाचार ठूलो अपेक्षासाथ हेरिरहेका छौं भनेका छन्।

सेना प्रमुख बादेले नाइजेरिया र क्यामरुनबीच भएको तीनदिने गोप्य सुरक्षा बैठक पछि संघर्षविरामको जानकारी दिएका हुन्।

उनले भनेका छन्, नाइजेरियाली सेनाहरुले सहमतिको पालना गर्नेछन्।

‘सावधानीपूर्वक आशावादी’

नाइजेरियाका राष्ट्रपतिका सहायक हसन टुकुरले बीबीसीलाई भनेका छन्, उक्त संझौता चाडको मध्यस्थतामा एकमहिना लामो संझौता वार्तापछि गरिएको हो।

वार्ताक्रममा सरकारी प्रतिनिधिमण्डलले इश्लामवादी समुहसँग दुइपटक भेटेका थिए।

टुकुरले भने बोको हरामले एकतर्फी संघर्षविराम विहिबार घोषणा गरेकाले सरकारले त्यसको प्रतिक्रिया दिएको छ।

उनी भन्छन्, "उनीहरुले केटीहरु स्वतन्त्र गर्नेमा आश्वस्त तुल्याएका छन् त्यसैले म सावधानीपूर्वक आशावादी छु।"

उनका अनुसार आगामी साता चाडको राजधानीमा हुने अर्को बैठकमा उनीहरुको रिहाइको व्यवस्थाको प्रक्रिया निर्धारण गरिनेछ।

संझौता वार्ता बोको हराम नेता अबु बकर शेकाउको स्वीकृतिमा गरिएको बताइएको छ।

संझौता

बीबीसीसँग नाइजेरियाली सरकारका प्रवक्ता माइक ओमेरीले भने- बोको हरामलाई संघर्षविराम अन्तर्गत कुनै भूभाग दिइनेछैन र सरकारले उनीहरुलाई के सुविधा दिने हो सार्वजनिक गर्दैन।

उनी भन्छन्, हामी केटीहरु बाहेक उनीहरुले नियन्त्रणमा लिएका अरु समुहको रिहाइका लागि पनि नजिक पुगिसकेका छौं।

बीबीसीका संवाददाता वील रोस भन्छन् नाइजेरियाका अधिकारीहरुले संझौतावार्ताबारे यस अघि कुनै संकेत गरेका थिएनन्।

तर छिमेकी राष्ट्र चाडमा त्यसो भइरहेको हल्ला चलेको थियो र यो अप्रत्यासित घटनाक्रम हो।

नाइजेरियामा हाम्रा छोरी फिर्ता देउ भन्ने अभियान चलाइएको छ

तस्बिर स्रोत, AP

तस्बिरको क्याप्शन, नाइजेरियामा हाम्रा छोरी फिर्ता देउ भन्ने अभियान चलाइएको छ

यदि यो साँचो भयो भने दशकौं यता नाइजेरियालीहरुलले सुन्ने सबभन्दा राम्रो समाचार हुनेछ।

गहिरो शंका

धेरै नाइजेरियालीहरु जिहादीहरुबाट कुनै निश्चित भनाइ नआएकाले गहिरो शंकामा छन्।

सेनाले विगतमा पनि उत्तरपूर्वी नाइजेरियाको द्वन्द्वबारे जारी गर्ने गरेका विज्ञप्तीहरु स्थलगत परिस्थितिभन्दा फरक हुने गरेका छ्न।

त्यसैले यहाँका धेरैले हिंसा रोकिएपछि र बन्धकहरु रिहा गरिएपछि मात्रै खुशीमनाउ गर्नेछन्।

मे २०१३मा राष्ट्रपति गुडलक जनाथनले उत्तरका बोर्नो, योबे अडामावामा संकटकाल लगाएर इश्लामवादी विद्रोहीलाई नियन्त्रणमा लिने बताएका थिए।

तर बोको हरामले यो वर्ष आक्रमण झन बढाएको थियो।

यो समुहले मुश्लीमहरुलाई पश्चिमा मुलुकसँग जोडिएका सामाजिक गतिविधि या राजनीतिमा जान रोक लगाउने नीति अगाडि सारेको छ।

उसले विद्यालय र कलेजहरुलाई पश्चिमा प्रतिनिधि भन्दै तिमाथि आक्रमण गर्दै आएको छ।