लाइबेरियामा स्वास्थ्यकर्मीहरुको हडताल

इबोला

तस्बिर स्रोत, Getty

तस्बिरको क्याप्शन, लाइबेरियामा इबोला संक्रमणका कारण अहिलेसम्म ९५ जना स्वास्थ्य कार्यकर्ताहरुको मृत्यु भैसकेको छ

लाइबेरियामा इबोला महामारी जारी रहेका बेला नर्स तथा स्वास्थ्य सहायकहरुले आह्वान गरेको राष्ट्रव्यापी हडताल प्राय: असफल भएको जनाइएको छ ।

स्वास्थ्य कार्यकर्ताहरुले व्यक्तिगत सुरक्षासंबन्धी थप उपकरणहरु, बीमा तथा जोखिम भत्तामा वृद्धि आदिको माग गरिरहेका छन्।

लाइबेरियामा इबोला संक्रमणका कारण अहिलेसम्म ९५ जना स्वास्थ्य कार्यकर्ताहरुको मृत्यु भैसकेको छ।

आह्वान

हडतालको आह्वानका बावजुद अधिकांश स्वास्थ्य कार्यकर्ताहरु काममा फर्केको बताइएको छ।

लाइबेरियाको न्याशनल हेल्थ वर्कर्स एसोसियसनले इबोलाबाट संक्रमित विरामीहरुको उपचारमा संलग्न स्वास्थ्य कार्यकर्ताहरुलाई दिइने जोखिम भत्तामा वृद्धि गरिनुपर्ने माग गरेको छ।

तर अधिकारीहरुले संक्रमण व्यापकरुपमा फैलिएकाले यसअघि सहमत भएजति भत्ता दिन नसकिने जनाएका छन्।

लाइबेरियाका सहायक स्वास्थ्य मन्त्री टल्बर्ट निन्स्वाले सबै स्वास्थ्यकर्मीहरुलाई काममा फर्कन आह्वान गरे।

उनले भने, “हामीले अर्थ मन्त्रालय मार्फत विश्व बैंकजस्ता वित्तीय संस्थाहरुसंग इबोला संक्रमितहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई थप आर्थिक प्रोत्साहन दिनेबारे छलफल गरिरहेका छौं। इबोला विरुद्ध हालै प्राप्त भएको प्रगति कायम राख्‍न पनि सबै स्वास्थ्यकर्मीहरुलाई काममा फर्कन हामी अपील गर्दछौं।“ लाइबेरिया इबोला संक्रमणबाट सबैभन्दा नराम्रोसंग प्रभावित अफ्रिकी मुलुक हो।

संक्रमण

गत मार्च महिनामा इबोला संक्रमण पत्ता लागेयता लाइबेरिया, सियरा लियोन, गिनी तथा नाइजेरियामा चार हजार जनाभन्दा बढीको ज्यान गैसकेको छ।

झण्डै बयालिस लाख जनसंख्या भएको लाइबेरियामा झण्डै पचास जना चिकित्सकहरुमात्रै कार्यरत छन्।

इबोला संक्रमणका कारण अहिलेसम्म त्यहाँ ९५ जना स्वास्थ्य कार्यकर्ताहरुको ज्यान गैसकेको छ।

इबोलासंग जुध्ने प्रयासहरुबीच समन्वय गर्न संयुक्त राष्ट्र संघले घानामा एउटा नयाँ केन्द्र खोल्न लागेको छ।

प्रभावित मुलुकहरुमा खाद्य आपूर्तिमा समस्या देखिएको बताइएको छ।

लाइबेरियामा चुनाव नै पर सारिएको छ।

विश्व स्वास्थ्य संगठनकी महानिर्देशक मार्गरेट चानले भनिन्, इबोला संक्रमणले धेरै गरीब मुलुकहरुका समुदाय तथा सरकारहरुको अस्तित्वमाथि नै खतरा उत्पन्न गरीदिएको छ।