'संसारको सबैभन्दा पुरानो चर्पी': चीनको शिआनमा २४०० वर्ष पुरानो शौचालय फेला पर्यो

तस्बिर स्रोत, Chinese Academy of Social Sciences
- Author, आहमेन खवाजा
- Role, बीबीसी विश्व सेवा
चीनमा पुरातत्वविद्हरूले संसारको हालसम्म फेला परेका मध्ये सबैभन्दा पुरानाो शौचालय फेला पारिएको बताएका छन्, जस्मा फोहर बगाउन 'फ्लश गर्ने व्यवस्था' समेत रहेको देखिन्छ।
उक्त चर्पीको संरचना २२०० देखि २४०० वर्ष पुरानो हुनसक्ने अनुमान गरिएको छ। त्यो समय राज्यहरूबीच लडाईँ भैरहने 'वारिङ्ग स्टेट्स पिरिअड' देखि हान राजवंशको आरम्भसम्मको अवधि हो।
वैज्ञानिकहरूले पानी राखिने बट्टा र फोहर बग्ने पाइप समेतको उक्त चर्पीको संरचना शाआन्शी प्रान्तको शिआन शहरमा एउटा पुरातात्विक उत्खननका बेला फेला पारेका हुन्।
चीनको सरकारी सञ्चारमाध्यमका अनुसार चर्पीको भत्किएको टुक्रा र बाङ्गो आकारको फोहर बग्ने पाइप गत ग्रीष्मयाममा उक्त युएयाङ्ग पुरातात्विक उत्खननस्थलमा अनुसन्धानकर्ताहरूको एउटा टोलीले फेला पारेको थियो।
"चीनमा उत्खनन गरेर फेला पारिएको यो पहिलो र एकमात्र 'फ्लश गर्न मिल्ने व्यवस्था भएको' शौचालय हो," पुरातत्वसम्बन्धि अध्ययन अनुसन्धान हुने चिनियाँ प्राज्ञिक संस्था, चाइनिज अक्याडमी अफ सोसल साइन्सेजको इन्टिट्यूट अफ आर्केओलजी, का एकजना अनुसन्धानकर्ता लिउ रुइले चाइना डेली समाचार संस्थालाई बताए।

तस्बिर स्रोत, Getty Images
युएयाङ्गमा एक प्राचिन राजदरबार परिसरको भग्नावशेषमा रहेका दुईवटा ठूला भवनहरूको उत्खनन गर्ने क्रममा उक्त चर्पी फेला परेको अनुसन्धानकर्ताहरूले बताएका छन्।
"त्यो देख्दा त्यहाँ रहेका सबैजना अचम्ममा परेका थियौँ र त्यसपछि हामी सबै हाँस्न थाल्यौँ।"

तस्बिर स्रोत, Getty Images
'विलासी बस्तु'
यो नयाँ पुरातात्विक खोजको नतिजा गत हप्ता सार्वजनिक गरिएको थियो। यस्ले चीनका बारेमा पुनः व्यापक चासो जगाइदिएको छ र चीनको प्राचिन सम्भ्रान्त शासकहरूको सापेक्षित रूपमा विकसित दुनियाँका बारेको ज्ञानमा दुर्लभ प्रकाश पारिदिएको छ।
अनुसन्धानकर्ताहरूले त्यो चर्पीलाई एक "विलासी बस्तु" भनेका छन् जुन विशेषगरी उच्च ओहोदाका अधिकारीहरू वा चीनका सम्राटको सुविधाका निम्ति मात्र प्रयोगमा आउने गर्थ्यो। पुरातत्वविज्ञहरू भन्छन् हरेक पटक प्रयोग हुँदा सम्भवतः सुसारेहरूले उक्त चर्पीको पानी जम्मा गरिने खण्डमा पानी खन्याउने गर्दथे।
शौचालयमा केही रहस्य लुकेको छ की?
वैज्ञानिकहरूले त्यसमा मानव मलमुत्रको केही अवशेष फेला पार्न सकिने अनुमान गरेका छन् जसलाई विश्लेषण गरेर अध्ययन गर्न सकियोस्।
त्यस्तो अध्ययनबाट त्यो समयमा मानिसहरूले के कस्तो खानेकुरा खाँदा रहेछन् भनेर थाहा पाउन सकिन्छ।
प्राचिन चिनियाँ राजवंशहरूलाई बुझ्ने एक व्यापक प्रयासको एक अंशका रूपमा त्यस्तो अध्ययन पर्दछ।
अध्ययनले त्यो समयका मानिसहरूको जीवनयापन कस्तो थियो, तिनीहरूका सहरहरू कसरी निर्माण गरिएका थिए भन्ने बारे पत्ता लगाउने प्रयास गर्ने उक्त अध्ययन संस्थानले एक वक्तव्यमा जनाएको छ।
पुराना अवधारणाको विस्थापन
चीनमा गरिएको यो पछिल्लो अनुसन्धान महत्वपूर्ण छ किनकि प्रयोगपछि सजिलोसँग पानी बगाउन मिल्ने अथवा फ्लश गर्न मिल्ने आधुनिक चर्पीको आविष्कार गरेको भनेर सन् १८६०को दशकका इङ्गल्याण्डका टमस क्र्यापरलाई जस दिने गरिन्छ।

तस्बिर स्रोत, Getty Images
तर इतिहासकारहरूले त्यो समयभन्दा शताब्दीऔँ अगाडि महारानी एलिजाबेथ प्रथम नै त्यस्तो फ्लश गर्न मिल्ने शौचालयको पहिलो प्रयोगकर्ता भनेर उल्लेख गरिसकेका थिए।
उनका धर्मपुत्र सर जन ह्यारिङ्गटनले उनका निम्ति वाटर क्लोजेट भनिने, शौचपछि पानी बगाएर फोहर सफा गर्न सकिने, व्यवस्थाको सन् १९५२ मा नै आविष्कार गरिदिएका थिए। त्यस्तो व्यवस्थामा पानी रहने सिस्टर्न भनिने भाँडा केही उचाइमा राखिने र शौचालयको प्रयोग गरेपछि त्यो पानीलाई फोहर बगाउन लिभरहरूको मद्दतले मलमुत्र रहने भाँडामा हाल्न सकिने प्रणाली रहेको थियो।
र त्यसमा जडान गरिएको पाइपहरूमार्फत मलमुत्र बहेर बाहिर जान्थ्यो।

तस्बिर स्रोत, Getty Images
र सन् १७७५ मा घडी निर्माता अलेक्जाण्डर कमिङ्ग्स्ले अंग्रेजीको एस अक्षरको जस्तो आकार भएको पाइपको निर्माण गरे जुन चर्पीको बेसिनको मुनि रहन्छ। त्यसको बाङ्गो आकारले दुर्गन्धलाई कम गर्न पाइपमा केही मात्रामा पानी बाँकी नै राख्छ र बाहिरबाट मलमुत्रको खराब गन्ध शौचालय कक्षमा आउँदैन।
तर हाल संसारका धेरै स्थानमा प्रचलनमा रहेको फ्लश गर्न मिल्ने शौचालयको डिजाइन भने टमस क्रयापरले बनाएको जस्तो नै हो। उनले सरल तर धेरै नै प्रभावकारी 'यू' अक्षरको आकारका पाइपहरू विकसित गरे र 'एस' आकारका पाइपहरूलाई विस्थापित नै गरिदिए।
आधुनिक समयका चिनियाँ शौचालयहरू
हालको आधुनिक समयमा फ्लश गर्न मिल्ने शौचालयहरूको उपलब्धता र पहुँच चीनको थुप्रै भागमा सहज रूपमा छैन र त्यो समस्याका रूपमा विद्यमान छ।

तस्बिर स्रोत, Getty Images
चीनका राष्ट्रपति शि जिनपिङले आफ्नो शासनको सुरुको समयमा देशका शौचालयहरूमा "क्रान्ति" ल्याउने र ग्रामिण क्षेत्रमा सरसफाइको अवस्थामा सुधार ल्याउने प्रतिवद्धता व्यक्त गरेका थिए।
आधुनिक शौचालयअघिको समय

तस्बिर स्रोत, Getty Images
घरघरमा ढल र निकाशको व्यवस्थासहित फ्लश गर्न मिल्ने शौचालयको व्यवस्था हुनुअघि संसारभरी नै मलमुत्र त्याग गर्न मानिसहरू घर बाहिरका खुला स्थानहरूको प्रयोग गर्ने गर्दथे भने घरभित्रको प्रयोगका निम्ति कोपरा भनिने भाँडाको प्रयोग हुने गर्थ्यो।
र मेचमा बसेको जस्तो गरेर शौच गर्न मिल्ने आधुनिक शौचालयको निर्माण गरेको भनिने देशमा धेरै मानिसहरूले कोपराको फोहर घरको झ्यालबाट बाहिर बाटोमा समेत फाल्ने गर्दथे। फाल्नुअघि 'माथिबाट केही खस्दैछ होसियार' भनेर कराउने पनि गरिन्थ्यो।

तस्बिर स्रोत, Getty Images








