युक्रेन युद्ध: रुसी सैनिक फर्किएपछि खेअरसनमा युक्रेनी झन्डा फहराइयो

युक्रेनी झण्डा

तस्बिर स्रोत, Unian/Telegram

रुसी सैनिकहरू फिर्ता भएपछि लामो समय रुसको नियन्त्रणमा रहेको खेअरसन शहरमा पुनः युक्रेनी झन्डा फहराइएको छ।

सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूमा युरोपेली सङ्घको झन्डा पनि देखिएको बीबीसीले पुष्टि गरेको छ।

युक्रेनको रक्षा मन्त्रालयले आफ्नो फौज त्यहाँ जाँदै गरेको र उक्त शहर आफ्नो नियन्त्रणमा आइसकेको जनाएको छ।

स्थानीयवासीहरू युक्रेनी झन्डासहित सडकमा आउन सहज देखिएको अवस्थामा त्यहाँबाट रुसी उपस्थिति हटिसकेको आकलन गरिएको छ।

यसअघि रुसले खेअरसनबाट आफ्ना सैनिकहरू फिर्ता हुने क्रम सकिएको जनाएको थियो।

मस्कोस्थित रक्षा मन्त्रालयले आफ्ना सबै सैनिकहरू सबेरै डिनिपो नदी पार गरेर फर्किसकेको जनाएको छ।

उसले कुनै पनि सैनिक अस्त्रहरू पश्चिमपट्टि रहेको युक्रेनी भूभागमा नछोडिएको बताएको छ।

खेअरसन गत फेब्रुअरीमा युक्रेनमाथि हमला सुरु भएयता रुसले कब्जा गरेको एक मात्र क्षेत्रीय राजधानी थियो। यहाँबाट रुसी सैनिक फिर्ता हुनुले रुसमाथि ठूलो धक्का लागेको विश्लेषणहरू भएका छन्।

बीबीसीको जिज्ञासामा क्रेम्लिनका प्रवक्ताले रुसी राष्ट्रपति भ्दादिमिर पुटिनमाथि कुनै पनि अपमान नभएको बताएका छन्।

युक्रेनी झण्डा

तस्बिर स्रोत, UNIAN

उक्त स्थानबाट आएका तस्बिरहरूमा रुसी सैनिकहरूको उद्धारका लागि प्रयोग भएको पुल भत्काएको बनाइएको देखिन्छ।

उक्त पुल किन भत्कियो भन्ने स्पष्ट नभए पनि कतिपय रुसी समाचार स्रोतहरूले आफ्ना सैनिकहरू फर्किने क्रम सकिएपछि रुसी पक्षले नै पुल भत्काएको दाबी गरेका छन्।

उक्त पुल कसले भत्कायो भन्ने दाबीको बीबीसीले स्वतन्त्र पुष्टि गर्न सफल भएको छैन।

भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेनी पाइलट

यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले अघि बढिरहेका युक्रेनी सैनिकहरूले दर्जनौँ शहर र गाउँहरूमा पुनः आफ्नो नियन्त्रण कायम गरेको बताएका छन्।

युक्रेनी विदेशमन्त्री दिमित्रो कुबेलाले रुसी सैनिकहरू फिर्तीलाई युक्रेनको जितको रूपमा अर्थ्याएका छन्।

नजिकैको माइकोलाइभ शहरस्थित एक बहुतल्लो भवनमा भएको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा छ जना मारिएको युक्रेनी अधिकारीहरूले जनाएका छन्।

रुसलाई धक्का

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनी खेअरसनबाट रुसी सेना फिर्ता हुने निर्णय रुसी सैन्य लक्ष्यका निम्ति ठूलो धक्का भएको बताएका छन्।

रुसको घोषणा पछिपनि यसअघि खेअरसन भित्रका नागरिकहरूले रुसी सैन्य बलका चेचेन सेनाहरू सहर, क्याफेहरू र सडकहरूमा घुमिरहेको बताएका थिए।

र, शहरको परिधिमा रहेका युक्रेनी सिपाहीहरूले शत्रुले आफूहरूलाई फसाउन खोजिरहेको हुन सक्ने भएकाले आफूहरू सतर्क रहेर अगाडि बढिरहेको बताएका थिए।

पछिल्ला साताहरूमा युक्रेन अगाडि बढ्नमा केही सुस्त भएको थियो। यद्यपि युक्रेनी क्षेप्यास्त्र आक्रमणका कारण केही पुलहरू ध्वस्त भएका कारण निप्रोमा रुसको आपूर्ति लाइनहरू प्रभावित बन्यो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, किएभ