तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
यसपालिको आमनिर्वाचनमा महिला उम्मेदवारका प्रमुख चुनावी मुद्दा के छन्?
- Author, मतिना त्वानावासु
- Role, बीबीसी न्यूज नेपाली
आगामी मङ्सिर ४ गते हुने आमनिर्वाचनमा आफ्नो जित सुनिश्चित बनाउन शिक्षा र स्वास्थ्यदेखि नीति निर्माणका मुद्दा लिएर जनताको घरघरमा पुगिरहेका छन् महिला उम्मेदवारहरू।
कोही पहिलो पटक त कोही दोहोर्याएर यो अभियानमा होमिएका छन्।
कोही दलीय झण्डा बोकेर दलबलसहित हिँडिरहेका छन् भने कोही स्वतन्त्र उम्मेदवारका रूपमा एक्लै पनि घरघर पुगिरहेका छन्।
श्रोतसाधन‚ साथ सहयोग‚ अनुभव‚ अवस्था‚ भूगोल इत्यादिमा भिन्नता देखिए पनि सबैमा जित्ने हुटहुटी उस्तै देखिन्छ।
चुनावी प्रचारप्रसारको दौडधुपमा रहेका केही महिला उम्मेदवारहरू आफैँ के भन्छन्?
रञ्जु दर्शना
स्वतन्त्र,काठमान्डू−५
मानसिक स्वास्थ्य मेरो पहिलो र प्रमुख मुद्दा हो।
घर-घरमा मानसिक समस्यासँग जुझिरहेका व्यक्तिहरू भेटिन्छन्।
उपचारको लागि कहाँ जाने कसको सहयोग लिने भन्ने अन्योल छ।
मानसिक स्वास्थ्यसँग सम्बन्धित समयसापेक्ष नीति छैन।
मानसिक स्वास्थ्य सम्बन्धी नीति नियम बनाउन अग्रणी भूमिकामा रहने वाचा गरेकी छु।
शिक्षा क्षेत्रको सुधार र क्रमिक विकास महिला सशक्तीकरण र नेतृत्व विकास‚ समावेशी संरचनाहरूको निर्माण, सार्वजनिक प्रशासन‚ सुशासन‚ जलवायु परिवर्तन‚ यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक एलजीबीटीआईक्यूसँग सम्बन्धित एजेन्डा पनि जनतालाई बुझाउँदै आएकी छु।
यी र अन्य मुद्दाहरूसहितको घोषणापत्र तयार पारी घरदैलोमा हिँडिरहेकी छु। स्वतन्त्र उम्मेदवार हुँ। दलीय दबाव छैन।
आफ्नो एजेन्डा घरघर र व्यक्ति व्यक्तिसम्म पुर्याउन आफैँ पुग्नु पर्ने र त्यसमा समय लाग्नु मेरो चुनौती हो।
घरदैलो गर्ने क्रममा मानिसहरूले मेरो उम्मेदवारीप्रति देखाएको समर्थन र मलाई तेर्स्याएका प्रश्नले उहाँहरूले ममा सम्भावना देख्नुभएको छ‚ सद्भाव र विश्वास ममाथि छ भन्ने बुझेकी छु।
पुष्पा भुसाल
नेपाली कांग्रेस, अर्घाखाँची-१
मैले गठबन्धनबाट उम्मेदवारी पाएकी छु।
त्यसैले लोकतन्त्रलाई बलियो बनाएर विकास र समृद्धिलाई अघि बढाउन पर्छ भन्ने पहिलो मुद्दा उठाएका छौँ। अधिकार र संविधानको लागि गठबन्धन जिताउन पर्छ भनेका छौँ ।
अर्घाखाँचीमा धेरै आमा समूह, महिला समूह छन्।
तिनका माध्यमबाट निर्वाहमुखी होइन स्वरोजगारी सिर्जना गर्न सरकारको लगानी बढाउन पर्छ भनिरहेका छौँ।
अर्घाखाँचीमा त्यसको सम्भावना ठूलो छ।
बाटाहरू बनाउन धेरै समय नलगाउने, विकासका अन्य कामहरू पनि समयमै सम्पन्न गरी कृषि, धार्मिक र पर्यटकीय विकासको प्रशस्त सम्भावना भएको अर्घाखाँचीमा यहाँका युवा र अन्यको लागि रोजगारी सिर्जना गर्ने मुद्दा लिएर घरघर पुगिरहेका छौँ।
सामाजिक सुधारका विषयलाई प्राथमिकतामा राखेका छौँ। वृद्धवृद्धा र अपाङ्गता भएकाहरूको लागि बढी राहतको प्याकेज, त्यो पनि घरघरमै पुर्याउनु पर्ने विषय उठाएका छौँ।
मेरो राजनीतिक पृष्ठभूमिले मलाई सघाएको छ। तर हरेक घरदैलोमा पुगून् भन्ने आम जनताको चाहना कम समयका कारण पूरा गर्न सजिलो छैन।
औपचारिक प्रचारप्रसारको लागि दिइएको समय छोटो भएकाले सञ्चार र प्रविधिको राम्रो उपयोग समेत गर्न पाइएको छैन। तै पनि चुनाव भयरहित र प्रलोभनमुक्त भए हाम्रो सफलता निश्चित छ। तर चुनौती त्यसैमा छ।
विद्या भट्टराई
नेपाल कम्युनिष्ट पार्टी-एमाले,गण्डकी−२‚
आम रूपमा सांसद भनेको विकासको कर्ता हो भन्ने बुझाइ छ।
सांसदलाई हेर्ने नजर व्यक्तिपिच्छे फरक छ।
पहिलो कुरा त सांसद भनेको नीति निर्माता हो। उसले नीति निर्माण गर्ने हो। नीतिको पुनरावलोकन गर्दै नीतिहरूको संशोधन पनि गर्ने हो भन्ने कुरा बुझाउन जरुरी छ।
चुनाव प्रचारप्रसारको क्रममा जनतालाई सांसदको भूमिका‚ आफूले विगतमा संसद्मा उठाएका विषयवस्तुबारे जानकारी गराउने काम गरिरहेकी छु।
यस अघिको निर्वाचनमा जाँदा एजेन्डा मेरोभन्दा पनि पार्टीको थियो।
रवीन्द्र अधिकारीले पूरा गर्न नसकेका धेरै कामहरू पूरा गर्न विद्या उत्तराधिकारी भएर आइन् भन्ने खालका अभिव्यक्ति त्यति बेलाको थियो।
तर अहिले अवस्था फेरिएको छ।
म आफ्नो भनाइ र दृष्टिकोणसहित आएकी छु।
नीतिगत परिवर्तनको सवालको नेतृत्व म गर्छु। आज पनि विभेद छ‚ असमानता छ‚ लैङ्गिक विभेदहरू थुप्रै बाँकी छन् त्यो हटाउन म क्रियाशील हुन्छु। समन्वयपूर्ण विकास मोडेललाई अघि सार्छु।
मेरो निर्वाचन क्षेत्रमा भूक्षयका कारण, नदी कटानका कारण बस्तीहरू असाध्यै जोखिममा छन्।
उच्चस्तरको स्वास्थ्य सेवा दिने स्वास्थ्य केन्द्रको अभाव छ।
यी समस्या समाधानमा नेतृत्वदायी भूमिका खेल्नेछु भन्ने प्रतिबद्धता जनता समक्ष गर्दैछु।
मेरो अभिव्यक्तिप्रति आम जनताले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।
विद्याले चुनाव जित्नुपर्छ भन्ने भावना व्यापक रूपमा देखिरहेकी छु।
यो अवसर पनि हो र म यसको सम्मान गर्दै अघि बढ्ने छु।
एल्सा झा
एकीकृत शक्ति नेपाल, महोत्तरी−३
महोत्तरी ३ को शिक्षामा विकास गर्ने मेरो पहिलो प्रमुख चुनावी एजेन्डा हो। त्यसपछि कृषि र कृषिबाट रोजगारी।
सम्भावना प्रशस्त छ तर त्यसको सदुपयोग नभएको देखेर खेतीयोग्य उर्वर जमिन‚ पानीका विभिन्न श्रोतहरूको उचित प्रयोगबाट यहाँका बासिन्दाको जीवनस्तर उकास्ने सोच योजना छन्।
सरसफाइमा काम गर्न निकै बाँकी छ। युवाहरूलाई रोजगारी र रोजगारीको लागि कृषिको औद्योगीकरणको योजना लिएर घरघर गइरहेकी छु। विकासको नाममा बनेका कयौँ बाटाहरू अझै धुलाम्मे छन्, अधुरै छन्।
नदीनाला र बनजङ्गलमाथि सीमित व्यक्तिको पहुँचका कारण आम मानिसको जीवन प्रभावित बनेको छ।
कयौँ मानिसहरू चरम गरिबी सहेर बसेका छन्।
मेरो मातृभूमिको यो विकराल समस्या देखेर शिक्षा क्षेत्रको मान्छे भइकन पनि म यहाँको विकासमा यहाँका मानिसहरूको दैनिकीमा सकारात्मक परिवर्तनको संवाहक बन्न सक्छु भन्ने आँटले उम्मेदवार भएर आएकी हुँ।
राजनीति नजानेको मान्छे भनेर ममाथि औँलाहरू तेर्स्याइएका छन्।
म छलकपटवाला राजनीति गर्न जान्दिनँ तर विकास गर्ने नीति जान्दछु। आफू जन्मिएको ठाउँमा म नौलो र अनौठो हेराइमा परेकी छु।
माइती गाउँको विकासको लागि मेरो उम्मेदवारीले यहाँका युवा तथा महिलाहरूमा सकारात्मक प्रभावको परिणाम देखिरहेकी छु।
मत खसाल्ने दिनसम्म पुग्दा धेरैको मन र मत पाउने अवस्था बनिसक्ने छ भन्ने विश्वास लिएकी छु।
अनुराधा थापामगर
नेपाल मजदुर किसान पार्टी-नेमकिपा, भक्तपुर−२
देश र जनताको सेवा गर्नु हाम्रो जीवनको लक्ष्य हो भनेर लागिरहेका छौँ।
देशको सीमा सुरक्षा‚ कृषिमा आत्मनिर्भरता‚ शिक्षा स्वास्थ्य निःशुल्क गराउन सङ्घर्ष गर्ने‚ स्वदेशमै रोजगारीको व्यवस्था गराउन सङ्घर्ष गर्ने‚ जति पनि औद्योगिक कलकारखानाहरू निजीकरण गरिए तिनको राष्ट्रियकरणको लागि सङ्घर्ष गर्ने‚ एमसीसी सम्झौता‚ नागरिकता विधेयक‚ एसपीपी साझेदारी जस्ता विषयहरू छन् ती सबै खारेजी गराउनको निमित्त सङ्घर्ष गर्ने र पहिले भएका जति पनि देशघाती सन्धि र सम्झौताहरू छन् ती खारेजी गराउन सङ्घर्ष गर्ने र अहिले कम्युनिस्ट भनेर लागिरहेका दलहरू जो चुनावबाट नै समाजवाद आउँछ भनेर खोटा विचार वा भ्रम छरिरहेका छन् ती खोटा विचारहरूको खण्डन गरेर जनतालाई सचेत बनाउने मुद्दा लिएर हामी घरदैलो गरिरहेका छौँ।
साथसाथै चुनावअघि सामान बाँड्ने‚ पैसा बाँड्ने‚ भोजभतेर गर्ने वा विभिन्न जालझेल गरेर जनताको मत किन्न खोज्ने दलहरूको प्रवृत्तिविरुद्ध नेपाल मजदुर किसान पार्टी अघि बढिरहेको छ।
देश र जनताको पक्षमा कानुन निर्माण गर्ने विषय चुनावी मुद्दा बनाएर हामी चुनावी मैदानमा होमिएका छौँ।
अञ्जना विशंखे
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), काठमाण्डू−१०
काठमाण्डू क्षेत्र नं १० का जनतासमक्ष यहाँको पर्यावरण जोगाउने आफ्नो प्रमुख मुद्दा रहेको बताउँदै आएकी छु।
यो क्षेत्रको इतिहास‚ पर्यावरण‚ सम्पदा‚ यो क्षेत्रका महिलाहरूको उत्पादन र सीप पूरै नकारेको र बेवास्ता गरिएको देखिन्छ।
यहाँका महिलाहरूको सीप‚ सम्पदा संरक्षण तथा प्रत्यक्ष सरोकार राख्ने विषयबारे आवाज उठाउने प्रतिबद्धतासहित घरघरमा पुगिरहेकी छु।
म यही ठाउँमा जन्मेकी हुँ।
यहाँका हरेक समस्यासँग परिचित छु।
यो ठाउँको विकास‚ समृद्धि सम्पदा संरक्षणमा म तपाईँहरूको साथमा ५ वर्षसम्म मात्र होइन जिन्दगीभर नै निरन्तर काम गर्नेछु।
त्यस कारणले गर्दा मलाई एकचोटी काम गर्ने अवसर दिनुहोस् भन्दै घरदैलो गरिरहेकी छु।
हामी मितव्ययी छौँ। निर्वाचन आयोगले भनेभन्दा बढी रकम खर्च गर्दैनौँ। भ्रष्टाचारलाई मौलाउन दिँदैनौँ।
रामकुमारी झाँक्री
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), गुल्मी−२
म तीन महिनादेखि गुल्मीमा छु।
मैले ग्रामीण तहका बस्तीका मुद्दा र समस्याहरू पहिचान गरेकी छु र तिनको समाधानको उपाय पनि पहिचान गरेकी छु।
यहाँका स्थानीय जनताका आकाङ्क्षाहरू सामूहिक हुन् जसको सम्बोधन गर्न ३ तहको सरकारको समन्वय आवश्यक छ। त्यसको नेतृत्व मैले गर्नेछु।
गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको प्रवाहमा नीतिगत सुधार आवश्यक छन्।
जुन मेरो र मतदाताको लागि जरुरी विषय हुन्।
अरूले गफ गरेका काम नगरेका छन् तर म काम गर्ने गरी भूमिका खेल्छु।
युवाको हिसाबले‚ महिला भएकोले‚ जनजातिको हिसाबले‚ अनि मेरो भेगीय हिसाब र मेरो राजनीतिक अनुभवका कारण पनि मलाई सुन्ने र साथ दिनेको सङ्ख्या निकै ठूलो छ।
सबैको घरघरमा पुगेर आफ्नो मुद्दाबारे छलफल गर्न पहुँच सहज छैन। चुनौती यही नै हो।