तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सन्दीप लामिछाने: काठमाण्डू जिल्ला अदालतद्वारा पुर्पक्षका लागि थुनामा राख्न आदेश
नाबालिग बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत काठमाण्डूले आदेश दिएको छ।
उनको मुद्दामा गत मङ्गलवारदेखि थुनछेक बहस सुरु भएको थियो।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डूका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले बीबीसीसँग भने, "सन्दीप लामिछानेको मुद्दामा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ।"
उनका अनुसार जिल्ला अदालत काठमाण्डूका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
लामिछानेको मुद्दामा थुनछेक बहस सकिएपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो।
जबरजस्ती करणीको आरोपसहित यसै साता सरकारी वकिलहरूले लामिछानेविरुद्ध मुद्दा दायर गरेका थिए।
लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम १० देखि १२ वर्षको कैद सजाय हुनुपर्ने माग गरिएको काठमाण्डू जिल्ला अदालतले जनाएको छ।
सरकारी वकिलको कार्यालयले पीडितलाई क्षतिपूर्तिस्वरूप पाँच लाख रुपैयाँ दिनुपर्ने माग दाबी पनि गरेको छ।
लामिछानेले चाहिँ आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै आएका छन्।
हिरासतमा पर्नुअघि पनि लामिछानेले "आफूलाई फसाइएको र त्यसविरुद्ध कानुनी लडाइँ लड्ने" सामाजिक सञ्जालमार्फत् बताएका थिए।
करिब एक महिनादेखि उनी प्रहरी हिरासतमा थिए।
केन्द्रीय कारागरमा लगिने
अदालतको आदेश बमोजिम अब लामिछानेलाई सुन्धारास्थित केन्द्रीय कारागरमा लगिने काठमाण्डू प्रहरी परीसरका प्रवक्ता दिनेश मैनालीले बीबीसीलाई जानकारी दिएका छन्।
यसबीचमा प्रहरीले तीन पटक अदालतबाट म्याद थपेर अनुसन्धान गरेको थियो।
प्रहरीले आफ्नो अनुसन्धान पूरा गरी कार्तिक ६ गते जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डूमा त्यसलाई रायसहित पेस गरेको थियो।
प्रहरीका अनुसार पीडित भनिएकी किशोरी १७ वर्षकी छन् र उनले आफन्तको सहयोगमा गत भदौ २१ गते काठमाण्डूको गौशाला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।
जिल्ला अदालतले लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि गत भदौ २३ गते नेपाल क्रिकेट सङ्घको कार्य सम्पादन समितिले उनलाई राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको थियो।
नेपालमा उजुरी दर्ता हुँदा उनी क्यारिबीअन लीग खेल्न जमैकामा थिए।
सम्पर्कविहीन र पक्राउ
आरोपहरू सार्वजनिक भएपछि उक्त लीगलाई बीचमै छाडेर केही समय सम्पर्कविहीन भएका लामिछाने त्यसको केही समयपछि नेपाल फर्केका थिए।
प्रहरीले सन्दीप लामिछाने निर्धारित समयभित्र नेपाल नआएपछि उनी विरुद्ध इन्टरपोलमार्फत् सूचना पनि जारी गरेको थियो।
त्यसपछि सन्दीपले पहिलो पटक फेसबुक स्टेटस लेख्दै आफूलाई फसाइएको र त्यसविरुद्ध कानुनी लडाइँ लड्ने जनाएका थिए।
लामिछाने सन् २०२१ को डिसेम्बरमा नेपालको कप्तानमा नियुक्त भएका थिए।
लामिछाने पहिलो पटक सन् २०१९ मा क्यारिबीअन प्रीमिअर लीग (सीपीएल) को खेलाडी बोलकबोल प्रक्रिया (अक्शन) मा महँगो मूल्यमा सकारिएका थिए।
उनले भारत, क्यारिबीअन, अस्ट्रेलिया, अफगानिस्तान, बाङ्ग्लादेश र पाकिस्तानका लीगमा खेलेका थिए।