विराट कोहली: आफू बसेको होटेलको कोठामा खिचिएको भिडिओप्रति कोहलीको आपत्ति

तस्बिर स्रोत, Getty Images
भारतका चर्चित क्रिकेट खेलाडी विराट कोहलीले आफ्नो सुरक्षालाई लिएर "धेरै डराएको" बताएका छन्। आफ्नो होटलको कोठामा अपरिचित व्यक्ति देखापरेको भिडिओ शेअर भएपछि उनले यस्तो बताएका हुन्।
सुरुमा सामाजिक सञ्जालमा अन्यत्रै शेअर गरिएको भिडिओमा कसैले पर्थस्थित कोहली बस्ने होटलको कोठामा आफूलाई रेकर्ड गरेको देखिन्छ।
उक्त होटलले त्यसबारे अनुसन्धान जारी रहेको र "कन्ट्र्याक्टरले राजीनामा दिएको" जनाएको छ।
कोहलीले इन्स्टाग्राममा भनेका छन्, "यस्तो खालको दुराग्रह र गोपनीयताको हनन् मलाई मान्य छैन।
"यदि होटलको मेरै कोठामा मेरो गोपनीयता सुरक्षित हुनसक्दैन भने मैले आफ्नो व्यक्तिगत ठाउँ भनेर कुन ठाउँलाई मान्न सक्छु?"
यो लेखमा Instagram बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Instagram cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
Instagram पोस्ट समाप्त
उक्त भिडिओको क्याप्सनमा "किङ्ग कोहलीको होटलको कोठा" लेखिएको छ। पूर्व कप्तान कोहली क्रिकेटमा एउटा असाध्यै चर्चित नाम हो।
कोहलीले थप लेखेका छन्, "म बुझ्न सक्छु कि प्रशंसकहरू आफ्नो मनपर्ने खेलाडीलाई हेर्न र भेट्न एकदमै उत्साही हुन्छन् र मैले त्यसको सधैँ सम्मान गर्ने गरेको छु।"
"तर यो भिडिओ भने भय उत्पन्न गराउने खालको छ र मेरो गोपनीयतालाई लिएर यसले मलाई एकदमै अत्याएको छ।"
उक्त प्रतियोगिताको आयोजक तथा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का प्रवक्ताले भनेका छन्: "गोपनीयताको यो तरिकाको खुल्ला उल्लंघनले आइसीसीलाई अत्यन्तै निराश बनाएको छ।"
"हामी यस्तो घटना नदोहोरियोस् र खेलाडीको गोपनीयताको पूर्ण रूपमा सम्मान होस् भनेर होटल र सुरक्षा प्रदान गर्नेहरूसँग निरन्तर कुरा गर्नेछौँ।"
क्राउन रिजोर्टका प्रवक्ताले भनेका छन्: "क्राउन पर्थमा पाहुनाको गोपनीयताबारे हामी सचेत छौँ।"
निराश
"हाम्रा पाहुनाको सुरक्षा र गोपनीयता हाम्रो पहिलो प्राथमिकता हो र यो घटना घटेको प्रति हामी असाध्यै निराश भएका छौँ।"
"हामी हाम्रा पाहुनासँग माफी चाहन्छौँ र यो घटना दोहोरिनेछैन भनेर आवश्यक कदमहरू पनि चालिरहनेछौँ।"
"यस्ता खालका हर्कतका लागि हामी शुन्य सहनशील छौँ, हामीले हाम्रा टोली सदस्यका लागि तय गरेका शर्तभित्र यो पटक्कै पर्दैन।"
"यो मुद्दा सुल्झाउन क्राउनले तत्कालै कदमहरू चालेको छ जसमा अनुसन्धान सुरु गर्ने, संलग्न व्यक्तिहरूलाई राजीनामा गर्न लगाउने रहेका छन्। सुरुमा सामाजिक सञ्जालमा राखिएको भिडिओलाई पनि हटाइएको छ।"
"अनुसन्धान जारी रहँदा हामीले हाम्रो तर्फबाट माफी माग्न भारतीय क्रिकेट टोली र अन्तर्राष्ट्रिय क्रिकेट परिषद्सँग पनि सहकार्य गरिरहेका छौँ।"








