बलिवुडः 'डलर जोगाउन' भन्दै अभिनेत्री नोरा फतेहीको नृत्य कार्यक्रम बाङ्ग्लादेशद्वारा रद्द

नोरा फतेही

तस्बिर स्रोत, Getty Images

बाङ्ग्लादेशको सरकारले राजधानी ढाकामा हुन लागेको एकजना बलिवुड अभिनेत्री नोरा फतेहीको नृत्य कार्यक्रम रद्द गरिदिएको बताइएको छ।

बाङ्ग्लादेशको सांस्कृतिक मामिलासम्बन्धी मन्त्रालयले सोमवार एक सूचना जारी गर्दै त्यस्तो जानकारी दिएको हो।

डलर बचाउन शो रद्द

बाङ्ग्लादेश सरकारले भनेको छ उसको यो निर्णय देशमा अमेरिकी डलरको सञ्चितिको अवस्थालाई जोगाउन लक्षित हो।

उक्त सूचना अनुसार भारतीय फिल्म उद्योगकी अभिनेत्री नोरा फतेहीलाई "विश्व अवस्था हेर्दा अनि (देशको) विदेशी मुद्रा सञ्चिति जोगाइराख्न" 'डान्स शो' गर्न अनुमति नदिइएको हो।

ढाकामा आयोजित 'विमीन लीडरशीप कोअपरेशन' भनिएको महिला नेतृत्वसम्बन्धी कार्यक्रममा नोरा फतेहीको नृत्य कार्यक्रम राखिएको थियो।

नोरा फतेही

तस्बिर स्रोत, Getty Images

मन्त्रालयले भनेको छ बाङ्ग्लादेशको केन्द्रीय ब्याङ्कले डलर भुक्तानीमा कडाइ गर्न निर्देशन दिएको हुनाले विदेशी मुद्राको भण्डार कायम राखिराख्ने उद्देश्यले पछिल्लो कदम चाल्नु परेको हो।

अहिले संसारका कैयन् देशहरूमा जस्तै बाङ्ग्लादेशको अर्थव्यवस्थामा पनि समस्या देखापरेको छ।

गत वर्ष उसको डलर भण्डार ४६.१३ अर्ब डलर रहेकोमा अहिले त्यो खस्किएर ३६.३३ अर्ब डलरमा झरेको छ।

जानकारहरूका अनुसार यति रकमले बाङ्ग्लादेशको केबल चार महिनाको मात्र आयात धान्न सक्छ।

नोरा फतेही बलिवुडकी सबभन्दा चर्चित मध्येकी एक नृत्य कलाकार हुन्।

उनी केही टिभी रियालिटी शोहरूकी जज पनि हुन्।